५ माघ २०७८ बुधबार
विचार

बालबालिकाको शत्रु वायु प्रदूषण

विश्व स्वास्थ्य संगठनद्वारा ‘एयर पोलेसुसन एन्ड चाइल्ड हेल्थ: प्रेसक्राइबिङ क्लिन एयर’ शीर्षकबाट वायु प्रदूषण एवं बाल स्वास्थ्यबारे जारी गरिएको प्रतिवेदन अनुसार वैश्विक स्तरमा १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत बालबालिका प्रत्येक दिन यस्तो हावामा सास फेर्छन्, जुन प्रदूषित हुने गर्छ। यस प्रदूषित वायुले बालबालिकाको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पार्छ। जसकारण यीमध्ये कैयौँ बालबालिकाको मृत्यु हुने गर्छ। विश्व स्वास्थ्य संगठनको अनुमान छ कि सन् २०१८ मा ६ लाख बालबालिका प्रदूषित वायुका कारण हुने संक्रमणबाट मरेका थिए।  

यस प्रतिवेदनका अनुसार गर्भवती महिला प्रदूषित हावाको सम्पर्कमा आउँछिन् भने उनीमा समयभन्दा पहिले बच्चा जन्माउने सम्भावना बढी हुन्छ। यसरी जन्मेको बच्चा सानो तथा जन्मदाको बेला कम तौलको हुने गर्छ। वायु प्रदूषणले मस्तिष्कको विकास एवं संज्ञानात्मक क्षमताको विकासलाई पनि प्रभावित गर्छ। साथै यो अवस्थामा ‘चाइल्डहुड क्यान्सर’ र उमेर बढ्दै गर्दा मुटुसम्बन्धी बिरामीको जोखिम बढी हुन्छ।  

प्रदूषित वायुले लाखौँ बालबालिकाका लागि विषको काम गरिरहेको हुन्छ। त्यसैले यो सुनिश्चित गरिनु आवश्यक छ कि सबै बालबालिका स्वच्छ हावामा सास फेर्न सकून्, पर्याप्त शारीरिक विकास गर्न सकून् र आफ्नो पूर्ण क्षमता प्राप्त गर्न सकून्। वायु प्रदूषणबाट प्रभावित बालबालिका कमजोर हुनुको एउटा कारण यो पनि हो कि उनीहरू वयस्कभन्दा बढी तीव्र गतिमा सास फेर्छन्। यसैले बढी प्रदूषण अवशोषित गर्छन्। नवजात शिशु एवं साना बालबालिका घरेलु वायु प्रदूषणप्रति पनि बढी संवेदनशील हुन्छन्। जहाँ खाना पकाउन, न्यानो पार्न, बत्ती बाल्न नियमित रूपले प्रदूषण फैलाउने खालका इन्धन एवं प्रादयोगिकीको उपयोग गरिन्छ, त्यहाँ बालबालिका प्रभावित हुन पुगेका हुन्छन्।  

वायु प्रदूषणले मस्तिष्कको विकासलाई प्रभावित गर्छ, जसकारण बालबालिकाको संज्ञानात्मक क्षमता कम हुने गर्छ। यस प्रकार यसले बालबालिकाको मानसिक एवं शारीरिक अवस्थालाई नकारात्मक रूपले प्रभावित गर्छ। वैश्विक स्तरमा १५ वर्षभन्दा कम उमेरका ३५ प्रतिशत बालबालिका यस्तो परिवेशमा रहन्छन्, जहाँ वायुमा कणिकीय पदार्थको स्तर विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित कणिकीय पदार्थ २.५ को तुलनामा उच्च हुने गर्छ।  

पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकामध्ये ९८ प्रतिशत विश्वका निम्न एवं मध्यम आय हुने देशमा रहन्छन्, जहाँ कणिकीय पदार्थ २.५ को स्तर उच्च छ। तुलनात्मक रूपले उच्च आय भएका देशमा पाँच वर्षभन्दा कम आयुका ५२ प्रतिशत बालबालिका यस्ता क्षेत्रमा रहन्छन्, जहाँ कणिकीय पदार्थको स्तर विश्व स्वास्थ्य संगठनबाट निर्धारित २.५ को मापदण्डभन्दा उच्च छ। सन् २०१८ मा १५ वर्षभन्दा कम आयुका बालबालिकाको सम्बन्धमा लगभग ६ लाख मृत्यका लागि वातावरण र घरेलु प्रदूषणको संयुक्त प्रभाव जिम्मेवार मानिएको छ। कम एवं मध्यम आय भएका देशमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा हुने श्वास संक्रमणका लागि खाना पकाउँदा हुने घरेलु वायु प्रदूषण र बाहिरी वायु प्रदूषण ५० प्रतिशतभन्दा बढी जिम्मेवार मानिएको छ। वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ, पाँच वर्षभन्दा कम आयुका बालबालिकामा १० मध्ये एक मृत्युका लागि वायु प्रदूषण नै जिम्मेवार ठानिन्छ।  

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार भारतले विश्वमा सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित मृत्युदर र बिमारीको बोझ सामना गर्नुपरेको छ। सन् २०१६ मा भारतमा पाँच वर्षभन्दा कम उमेरका लगभग एक लाख बालबालिकाको मृत्यु भयो, तिनको स्वास्थ्यमा जटिलताका कारण बाह्य एवं घरेलु वायु प्रदूषणको स्तर थियो। बाल मृत्युको तथ्यांक अनुसार, भारतपछि नाइजेरिया दोस्रो स्थानमा रह्यो। यसपछि क्रमशः पाकिस्तान, कंगो, इथियोपिया गणराज्य यस श्रेणीमा सामेल छन्। भारत ती देशमध्ये एउटा मनिन्छ, जहाँ पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकामध्ये ९८ प्रतिशतभन्दा बढी यस्तो क्षेत्रमा बसोबास गर्छन्, जहाँ कणिकीय पदार्थको स्तर विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित गुणस्तरभन्दा बढी छ। हामी पनि भारतकै छिमेकी भएकाले हाम्रो अवस्था पनि यसभन्दा भिन्न होला भन्न सकिने आधार भने छैन।  

सबै देशले बालबालिकाको स्वास्थ्य एवं सुरक्षालाई प्रोत्साहन गर्न विश्व स्वास्थ्य संगठनको वैश्विक वायु गुणस्तर दिशानिर्देशको लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने हुन्छ। यसलाई प्राप्त गर्न सरकारहरूले वैश्विक ऊर्जाका रूपमा जीवाश्म इन्धनमाथिको अधिक निर्भरतालाई कम गर्न ऊर्जा दक्षतामा सुधार र ऊर्जा स्रोतको उत्थानलाई सुविधाजनक बनाउने खालका उपाय अवलम्बन गर्नुपर्ने हुन्छ।  

फोहोरमैलाको राम्रो व्यवस्थापन गर्ने हो भने समुदायले जलाउने फोहोरमैलाको मात्रामा कमी आउँछ। घरमा भोजन पकाउन, न्यानो पार्न एवं प्रकाश व्यवस्थाका लागि स्वच्छ इन्धनको विशेष उपयोगले घर एवं वरिपरिको वायुको गुणस्तरलाई धेरै हदसम्म सुधार गर्न सक्छ। प्रदूषित वायुबाट बालबालिकालाई बचाउने कदम चाल्नुपर्ने हुन्छ। जस्तै: स्कुल, खेलका मैदानलाई व्यस्त सडक, राजमार्ग र बिजुलीका संयन्त्रजस्ता वायु प्रदूषणका प्रमुख स्रोतबाट टाढा राखिनुपर्छ।  

बालबालिकामा वायु प्रदूषणका कारण हुने प्रभावमा फोक्सोको विकासमा बाधा, फोक्सोको क्रियाशीलतामा कमी, श्वसनसम्बन्धी संक्रमण, मानसिक एवं शारीरिक विकासमा अवरोध, जन्मदा कम तौल हुनु, समयपूर्व बच्चा जन्मिनु, शिशु मृत्यु एवं चाइल्डहुड क्यान्सर प्रमुख हुन्। साथै वयस्क हुँदा हृदयसम्बन्धी रोग, मधुमेह एवं पक्षघातको खतरा हुन सक्छ।  

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१६ मा बाह्य एवं घरेलु प्रदूषणका कारण पाँच वर्षभन्दा कम उमेरका पाँच लाख ४३ हजार र १५ वर्ष आयुका ५२ हजार बालबालिकाको मृत्यु भयो। बालबालिका समाजका भविष्य हुन्। वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यलाई हुन सक्ने खतरालाई मनन गर्दै वैज्ञानिक एवं स्वास्थ्य विशेषज्ञले यसमाथि केन्द्रित आफ्नो प्रतिक्रिया दिनुपर्ने हुन्छ, सामूहिक एवं समन्वित प्रयासको माध्यमबाट वैज्ञानिक र स्वास्थ्य विशेषज्ञले यस जोखिमलाई प्राथमिकताका रूपमा समाधान गर्नका लागि एक साथ उभिनुपर्छ। प्रत्येक दिन प्रदूषित वायुको सम्पर्कमा आउने लाखौँ बालबालिकालाई बचाउन तत्काल सही दिशामा यथोचित कदम उठाउनुपर्नेछ। 

अन्यथा अहिले त हामी कोभिड–१९ को प्रलयकारी वैश्विक महामारीको भुमरीमा रुमलिएका छौँ, जसबाट सकुशल निस्कने उम्कने सजिलो बाटो सुदूर क्षितिजमा कतै देखिएको छैन। प्रदूषणको स्तर यथास्थितिमा रहिरहे भोलि के कस्तो स्थिति सिर्जना होला, हाम्रो कल्पनाभन्दा परको कुरा प¥यो। भनिन्छ, हिजो बाँचेका थियौँ, त्यसैले आज छौँ, आज बाँच्यौँ भने न भोलि रहौँला, नत्र कसले भोलिलाई देखेको छ र बाँचौला।

प्रकाशित: १३ भाद्र २०७८ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App