राजा महेन्द्रको मृत्यु ‘रहस्यमय’ थियो भनेर अड्कल गर्ने केही पुराना मानिसले सुनाएका सबै कुरा सत्य नहोलान् तर अनुसन्धान नै नभएको हुँदा उनको शरीरान्तसँगै ती रहस्य शून्यमा बिलाए। २०२४ सालमा पहिलोपटक मुटुमा समस्या देखिएपछि ब्रिटेनको अस्पतालमा सघन उपचार गरेर फर्किएका राजा महेन्द्रलाई पाकिस्तान विभाजनपछि बंगलादेश नामको राष्ट्र बनाइएको घटनाले चिन्तित तुल्याएको पाइन्छ।
भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपाल तराई टुक्र्याउने योजना बनाएको दिल्लीको गुप्तचर अड्डा ‘अनुसन्धान तथा विश्लेषण ब्युरो’ (रअ) का पुराना अधिकृत एके यादव लगायतले पुस्तकमा लेखेका छन्।भारतमा बनेको डिजाइन अनुसार नेपाल, श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश (पहिलेको पूर्वी पाकिस्तान) आदिलाई आफ्नो सुरक्षा छातामा राख्ने योजना असफल बनाउन भारतको दृष्टिमा राजा महेन्द्र ठूला ‘खलनायक’ थिए। त्यसैले उनको जीवन रहुन्जेल नेपाल टुक्र्याउन वा अस्तित्वहीन गराउन सम्भव छैन भन्ने इन्दिरा गान्धीलाई थाहा थियो।
२०२८ माघ ३ देखि राजा महेन्द्र चितवनको दियालो बंगलामा बसेका थिए। उनको स्वास्थ्य स्थिति सामान्य थियो। कविता लेख्ने, गीत गुनगुनाउने, ठट्टा–रमाइलो गर्ने, स्थानीय बासिन्दासँग भेट्ने, यदाकदा सिकार खेल्ने र मिनी दरबारको बार्दलीबाट नारायणी नदी हेर्दै रमाइरहेका थिए उनी। एक दिन सिकार खेलेर फर्केका महेन्द्रलाई राति छाती दुखेर छटपटी भयो। राजा महेन्द्रको उपचारमा संलग्न डा. सुशीलचन्द्र हल्डरले मुुटु दुख्ने र केही बिसेक हुने क्रम चलिरहेका बेला दिल्लीबाट आएका चिकित्सक एमएल भाटिया समेतले राजाको उपचार गरेको लेखेका छन्, (महेन्द्र स्मृति ग्रन्थ, पृष्ठ ८४२)।
ऊबेला राजाको उपचारमा संलग्न डा. मृगेन्द्रराज पाण्डे समेत विवादमा परे। दरबारभित्र उनले स्पष्टीकरण दिनुप¥यो। दरबारसँग पुरानो सम्बन्ध रहेका मृगेन्द्रराज पाण्डेले आफू निर्दोष भएको बताएका छन्। उपचारमा संलग्न डा. सच्चेकुमार पहाडी र डा. मृगेन्द्रराज पाण्डेले हृदयाघातकै कारण राजा महेन्द्रको मृत्यु भएको बताए पनि भारतीय डाक्टर भाटिया चितवन पुगेर उपचारमा संलग्न भएपछि राजाको स्वास्थ्य झन् जटिल हुनु ‘रहस्यमय’ मान्ने पनि छन्।
राजा त्रिभुवनका पालामा २००८ देखि २०११ चैतसम्म मन्त्रिपरिषद्को बैठकमा ‘सल्लाहकार’ बनेका गोविन्दनारायण सिंहजस्ता भारतीयलाई हटाए महेन्द्रले। भारतीयले नेपालको उत्तरी सिमानामा राखेका २६ वटा सैनिक क्याम्प फिर्ता पठाए महेन्द्रले। भारतीय मुद्रा र भारतीय पाठ्यक्रम (पुस्तक) रोके उनले। नेपाल नेपालीकै मात्र हो, अरूको हक लाग्दैन भने उनले। नेपाली सेनालाई आत्मनिर्भर र बलियो बनाउन २०२२ सालमा ‘प्यारा’ गुल्म स्थापना गरे। २०२५ सालमा प्यारा फौजमा वृद्धि गरेर ‘प्यारा ओभर अल कमान्ड’ स्थापना गर्न राजा महेन्द्रको ठूलो योगदान रहेको पूर्वप्रधानसेनापति किरण शमशेरले लेखेका छन्। २०१४ सालदेखि ब्रिटेन, अमेरिका, फ्रान्स, जर्मनी, मलेसिया र भारत पठाएर महेन्द्रले सैनिक अधिकृृतलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिने प्रबन्ध मिलाए। २०२१ सालमा उनले सेनाको नफ्रीमा वृद्धि गरे।
राणाकालकै जंगी ऐनले चलेको सेनालाई आधुनिक बनाउन २०१६ सालमा सैनिक ऐन ल्याए। भर्ना, निवृत्तिभरण, पदोन्नति, बिदा आदि पारदर्शी बनाइयो। संयुक्त राष्ट्रसंघमार्फत नेपालको सैनिक कूटनीतिको व्याख्या र कार्यान्वयनका लागि मेजर जनरल पद्मबहादुर खत्रीलाई संयुक्त राष्ट्रसंघमा स्थायी प्रतिनिधि नियुक्त गरियो। प्रभावशाली राष्ट्रमा अलि बढी क्षमता भएका सुयोग्य राजदूत भए। नेपालको यो सम्पूर्ण क्रियाकलाप हेरेपछि नेपालको परराष्ट्र र रक्षा मामिला हातमा लिने भारतीय चाहनामा आघात पुग्यो। त्यसैले उपचारको बहानामा आएका भारतीयले नै कतै राजा महेन्द्रलाई मन्दविष दिएका त थिएनन् भनेर महेन्द्रका हितैषीहरू शंका गर्छन्।
नेपाल भारतकै छत्रछायामा रहोस् भन्ने दिल्लीका शासक चाहन्थे।यो बुझेका महेन्द्रले नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाए। नेपाल ५३ राष्ट्रसँग कूटनीतिक रूपमा गाँसियो। अन्तर्राष्ट्रिय संघसंस्थाको सदस्य भयो। चीनका नेता माओसँग प्रगाढ सम्बन्ध बनाए महेन्द्रले। काठमाडौंबाट चीनसम्म छुने राजमार्ग (अरनिको राजमार्ग) बनाए। मेची–महाकाली जोड्ने राजमार्ग, आफ्नै विश्वविद्यालय, हजारौँ स्कुल–कलेज बनाए। नेपालमा विश्वका नामी र धनी राष्ट्र बोलाएर अर्बौं रूपैयाँको लगानी गराए। भारत छक्क पर्यो।
दलहरूलाई प्रतिबन्ध लगाएका महेन्द्रले २०२८ फागुन ७ गते बहुदलीय व्यवस्था लागू गर्ने तयारी गरिरहेको कुरा तुलसी गिरी, कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा र श्रीभद्र शर्माले बताएका छन्। बहुदलीय व्यवस्थाको नेतृत्व गर्न महेन्द्रले बिपीलाई पत्र पठाएका थिए। सो पत्र लिएर श्रीभद्र शर्मा भारतको सारनाथ पुगेका थिए। राजा महेन्द्रले गुप्त रूपमा के गर्दै छन् भन्ने कुरा दरबारका केही कर्मचारीले भारतीय दूतावासमा रिपार्ट गर्ने गरेको बताउँछन्, कतिपय पुराना मान्छेहरू। २०२८ माघ १० गते चितवनमा भएको मन्त्रिपरिषद्को बैठकले बहुदलीय व्यवस्था घोषणाको निर्णय गर्ने निश्चित जस्तै थियो।
भारतका पक्षमा जासुसी गर्ने एक–दुई मन्त्रीले यसबारे आशंका र प्रश्न उठाएपछि राजाले रिसाएर ‘माघ १७ को क्याबिनेटमा म अन्तिम निर्णय गर्छु। राष्ट्र चलाउन सबै दलको सहायता चाहिन्छ’ भन्दै बैठक स्थगित गरे। सबैलाई समेटेर राष्ट्रवाद र प्रजातन्त्र बलियो बनाउन खोज्ने राजा महेन्द्रको चिन्तन स्वागतयोग्य थियो।यसो गर्दा, भारतलगायत कुनै पनि राष्ट्रको षड्यन्त्र रोक्न मद्दत पुग्ने उनको धारणा थियो। रहस्यको कुरा, २०२८ माघ १६ गते राति नै महेन्द्रको मृत्यु भयो। माघ १७ का दिन बहुदलीय व्यवस्थालाई मन्त्रिपरिषद्बाट अनुमोदन गराउने उनको सपना सार्थक हुन पाएन।
हृदयाघातले नै महेन्द्रको प्राण गएको हो भने २०२८ माघ १६ गते राति मृत्यु भएका राजालाई भोलिपल्ट (माघ १७) बिहान ३ बजेर ४५ मिनेटमा मृतक घोषणा गर्ने डाक्टरहरूलाई विश्वास गर्नैपर्छ।राजनीतिक, कूटनीतिक र आन्तरिक दाउपेच हेर्दा महेन्द्रमाथि चौतर्फी दबाब पनि थियो। तर भारतलाई पटक्कै मन नपरेका राजा महेन्द्र षड्यन्त्रको सिकार भएका होइनन् भनेर ढुक्क हुने आधार देखिँदैन।
न्युयोर्क टाइम्स पत्रिकाले नेपालको प्रथम संवैधानिक राजतन्त्र राजा महेन्द्रबाट स्थापित भएको चर्चा गर्दै एउटा आलेख प्रकाशित गरेको थियो, (जनवरी ३१, १९७२)। त्यसमा हिन्दुराजाको हैसियतले उनले नेपाल र नेपालीलाई समेटेको उल्लेख छ। राजा महेन्द्रको राज्यकाल र त्यसपछि पनि उनले चर्चा पाइरहे। कतिपय विदेशी अखबारले लेखे–‘डेमोक्रेसीप्रति विश्वास भएकै कारण उनले संसदीय निर्वाचन गराएका थिए।’ अमेरिका र सोभियत संघजस्ता ठूला राष्ट्रको पछि लाग्दा नेपालजस्ता राष्ट्रको स्वाभिमान कमजोर बन्छ भन्ने महेन्द्रको धारणा थियो। सबैसँग मित्रता गर्ने, पञ्चशील र असंलग्नतामा अडिग रहने नीतिका कारण विश्वमै महेन्द्रको प्रशंसा भयो। २०१७ सालको घटनापछि ब्रिटेनकी महारानी एलिजाबेथ (द्वितीय) नेपाल भ्रमणमा आइन्।यो ठूलो कूटनीतिक सफलता थियो, महेन्द्रको। नेपाल भारतको संरक्षित क्षेत्र होइन भन्ने विश्वले चाल पायो। त्यसपछि भारत निकै चिढियो। भारतीय भूमिमा केही व्यक्तिलाई पालेर नेपाललाई दुःख दिने काम भइरह्यो। तर महेन्द्र झुकेनन्।
महेन्द्रले दिल्लीमा इन्दिरा गान्धीसँग संवाद गर्दा उनले प्रश्न गरिछन्, ‘नेपालले तराईमा मेची–महाकाली जोड्ने राजमार्ग बनाउँदा सुरुमा भारतको स्वीकृति लिनुपथ्र्यो।’ महेन्द्रले प्रश्न गरेछन्– ‘महामहिम, हाम्रो भूमिमा केही गर्न तपाईंको स्वीकृति किन चाहिन्छ ? मैले बुझ्न सकिनँ।’
इन्दिरा बोलिन्– ‘पहाडमा जे गरे पनि तपाईंको खुसी। समथर भागमा भारतलाई सोध्नु राम्रो।’ महेन्द्रले इन्दिरा गान्धीको रक्षाका लागि खटिएका गोर्खाली सैनिकको टोपीमा अंकित खुकुरी देखाउँदै भनेछन्– ‘समथर देखिने ठाउँजति तपाईंको हो भने जो शिरमा खुकुरी चिह्न लिएर उभिएको हुन्छ, के त्यहाँसम्म नेपाल हुन्छ त ?’ इन्दिरा निरुत्तर भइन्। दिल्लीका पत्रकारले यस्तै प्रश्न गर्दा ‘आकारले राष्ट्र ठूलो–सानो हुने भए माहुते ठूलो हुन्छ कि हात्ती ठूलो हुन्छ भन्ने प्रश्नबारे छलफल हुनुपर्छ’ भनिदिए।
राजा महेन्द्रको निम्तोमा चीनका नेता चाउ–एन–लाई र फिल्डमार्सल चेन यी नेपाल आउँदा इलामका कलाकार सूर्य मैनाली लगायतलाई काठमाडौं बोलाएर चीनका पाहुनालाई अभूतपूर्व स्वागत गरिएको थियो। केही वर्षपहिले इलामस्थित निवासमा मैनालीले भनेका थिए– ‘धर्म, साहित्य, संस्कृति, कूटनीति, खेलकुद, रणनीति, राजनीति सबै बुझेका थिए महेन्द्रले। त्यसैले हरेक जनतालाई बलियो बनाउनुपर्छ भन्ने उनको मान्यता थियो।’ पृथ्वीनारायण शाहले राष्ट्रलाई स्वावलम्बी बनाउनुपर्छ भनेका थिए। महेन्द्रले सोही विचारलाई राष्ट्रको मूलनीति बनाए।
भारतका केही सीमित नेताले मन नपराए पनि राष्ट्रपति सर्वपल्ली राधाकृष्णन, प्रथम राष्ट्रपति राजेन्द्र प्रसाद, लेखक तथा कवि हरिवंश राय बच्चन, कूटनीतिज्ञ महाराजकृष्ण रसगोत्र, रोमेश भण्डारीलगायत धेरैले महेन्द्रलाई उच्चकोटिको व्यक्तित्व भनेका छन्। एसिया, युरोप, अमेरिका लगायत धेरै ठाउँमा पुगेर नेपाल र नेपालीलाई चिनाए उनले। सयौँ किलोमिटर पैदल यात्रा गरेर नेपालीका झुप्रा–झुप्रामा पुगे। माओले भनेझैँ उनी साम्राज्यवाद र विस्तारवादका दुश्मन थिए। राष्ट्रवादका प्रबल समर्थक थिए। राष्ट्र सर्वोच्च हुन्छ (नेसन फस्र्ट), उनको मान्यता थियो। उनले गीतमार्फत नेपालीलाई आह्वान गरेका छन्– ‘स्वदेशी बन, स्वदेश भन, सम्हाल नेपाल।’
प्रकाशित: ११ भाद्र २०७८ ०२:३२ शुक्रबार