सन् १९९५ देखि युनेस्कोले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका रूपमा मनाउने निर्णयबाट यो थालनी विश्वव्यापीरूपमा भएको हो। नेपालमा प्रतिलिपिसम्बन्धी कानुनी व्यवस्था वि.सं. १९९२ को मुलकी ऐन संशोधनमा परेको थियो। स्पष्ट कानुनी व्यवस्था प्रतिलिपि अधिकार ऐन, २०२२, र तत्सम्बन्धी नियमावली, २०४६ थिए भने हाल क्रियाशील रहेको प्रतिलिपि अधिकार ऐन, २०५९ र तत्सम्बन्धी नियमावली, २०६१ छन्। यसको कार्यान्वयका लागि सरकारले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय वि.सं. २०६१ मा स्थापना गरी यस क्षेत्रको विकासमा सह्रानीय काम गरेको छ। यस वर्षको विश्व पुस्तक तथा प्रतिलिपि अधिकारसम्बन्धी दिवस मनाउनु नेपाली सर्जकहरुका लागि खुसीको कुरा हो।
प्रतिलिपि अधिकार के हो?
साहित्य, कला, ज्ञान विज्ञान तथा अन्य क्षेत्रमा मौलिक एवं बौद्धिकरूपले सिर्जन गरिएका रचना तथा ध्वनि अङ्कन, प्रस्तुति र प्रसारण जस्ता क्षेत्रमा स्रष्टालाई कानुनद्वारा प्रदान गरिने एकलौटी अधिकारलाई प्रतिलिपि अधिकार भनिन्छ। मनिसले आफ्नो अध्ययन, अनुसन्धान, अन्वेषण, सिप, दक्षताद्वारा सिर्जना गरेको रचना, लेख, कला, ध्वनि आकृतिलाई लामो समयमको मानसिक श्रम, कसरत एवं ठूलो लगानीबाट आर्जित गरेको हुन्छ जसलाई मतिष्कको उपज या माइन्ड पनि भनिन्छ। यस्तो बौद्धिक उपजको उपयोग गरी विभिन्न सामग्रीको वितरण, प्रकाशन, प्रदर्शन, प्रशारण गर्ने अधिकार त्यस्ता अनुसन्धानकर्ता, लेखक र कलाकारमा अन्तरनिहित हुने मान्यता नै बौद्धिक सम्पत्तिको प्रतिलिपि अधिकारको अवधारणा हो। बौद्धिक सम्पत्ति मानसिक सिर्जना हुन्, अमूर्त सम्पत्ति हुन्। मानिस परिवर्तनशील हुन्छ। मानिसको सिर्जनशील क्षमता पनि असीमित हुन्छ। बौद्धिक सम्पत्ति प्रणाली समाजको फाइदाको निमित्त सफलता पूर्वक प्रयोग गरिने माध्यम पनि हो। यसलाई संस्कारका रूपमा विकास गरिनु आवश्यक छ किनकि यो मानिसको आर्थिक, सांस्कृतिक तथा सामाजिक पक्षसँग प्रत्यक्ष सरोकार राख्छ।
पाठकको सामान्य दृष्टिकोण
पाठक भन्नाले विभिन्न क्षेत्रका व्यक्ति हुन्छन्, जस्तै– विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, साहित्यकार, लेखक, प्रकाशक आदि पढ्न सुन्न सक्ने जति सबै व्यक्ति पर्छन्। पाठकको सामान्य उद्देश्य लेखकका प्राप्त (लिखित, प्रकाशित) सामग्रीहरु पढ्नु हो। स्रष्टा जो कोही होस् महत्वको विषय नहुन सक्छ उसलाई।
प्रतिलिपि अधिकारको विषयवस्तु भन्नासाथै स्रष्टाको अधिकारको संरक्षणका दृष्टिकोणले विकसित कानुनी दर्शन हो भन्ने बुझिन्छ। यसले पाठकको हितको संरक्षणलाई त्यति महत्व दिएको देखिँदैन। यसको कारक पक्ष स्रष्टाले पाठकको हितका प्रतिको गैरजिम्मेवारी देखाउनु र बेवास्तापन पनि हुनसक्छ। साथै पाठकलाई जिम्मेवारीपूर्वक सम्झने, आफ्नो लेखन र सिर्जनाका लागि पाठकप्रति जवाफदेहिता प्रकट गर्ने र तत्सम्बन्धी वास्तविक तथ्य उजागर गर्ने साहसको कमी स्रष्टाहरुमा हुनु नै हो भन्न सकिन्छ। हाल नेपाली बजारमा कपी एन्ड पेस्ट गरिएका लेखन सामग्री, स्रोत उल्लेख नगरी साभार गरिएका सामग्री तथा अन्य गैरकानुनी तरिकाबाट ल्याइएका सामग्री आदिले स्रष्टाप्रतिको विश्वास र सम्मान पाठकका हृदयमा बसाउन सकिएको छैन। त्यसैले पाठकका दृष्टिमा कुनै पनि तरहका स्रोतबाट प्रकाशित र प्रसारित सामग्री हासिल गरिनु पर्याप्त मानिन्छ तर स्रष्टाका हितका प्रति आँखा चिम्लिएको पाइन्छ।
उदाहरणका लागि विद्यार्थीलाई लक्षित गरी प्रकाशित पाठ्यसामग्रीहरु “एक अनुभवी शिक्षक” का नाममा बजारमा छ्यापछ्याप्ती पाइन्छन्। त्यस्ता लेखक जो नाम प्रकाशित गर्न डराउँछन् र पाठकप्रति गैरजिम्मेवार र गैरजवाफदेही हुन्छन्, तीप्रति पाठकले किन वास्ता गर्ने? त्यस्ता प्रकाशक जो शिक्षकद्वारा हैन, विद्यार्थीद्वारा परीक्षाका लागि तयार गरिएका नोटकपीलाई नै पुस्तकका रूपमा प्रकाशित गर्छन्, पाठक र सम्पूर्ण समाजप्रति गैरजिम्मेवारी लेखक र प्रकाशकको हितका लागि पाठकले चिन्ता गर्नु भनेको नै “नदुखेको कपाल डोरी लगाएर दुखाउनु” जस्तै हो। कतिपय लेखकले आफ्नो पुस्तकमा अर्को स्रष्टाको नक्कल गर्दा परिच्छेद नै गायव गरी सार्ने, चर्को मूल्य असुल्ने गैरकानुनी प्रतिस्पर्धा गर्ने, तल्लो स्तरका कागज आदि सामग्री उत्पादनमा प्रयोग गर्ने जस्ता गुणस्तर खस्कने कामले पाठकहरु द्विविधामा पर्छन्।
पठनीय सामग्रीको अभावमा पाठकको ज्ञानप्रतिको भोक मेटिन सक्दैन, बरु तीव्ररूपमा जागा भइरहन्छ। पठनीय खुराकले नै पाठकको मनमा सन्तोष र आनन्द प्रदान गर्छ। वास्तवमा आधुनिक बदलिँदो युगसँगै नेपाली समाज पनि साक्षर र जागरुक हुँदैछ। नेपालमा वर्तमान समयमा शिक्षाको बढ्दो महत्व र विभिन्न विधामा मानिसको अभिरुचि निश्चय नै उत्साहपूर्ण छ। साथै अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्र पनि फराकिलो हुँदै गइरहेको परिप्रेक्ष्यमा नेपाली स्रष्टा र प्रकाशकहरुले पाठकहरुका अपेक्षालाई पूर्ति गर्न नसकेको कटु सत्य हाम्रा सामु देखिन्छ। त्यसैले त विदेशी लेखक सर्जकका लेखन र सिर्जना, विदेशी प्रकाशकहरुबाट प्रकाशित तथा वितरित भएको सामग्रीमा नेपाली समाज खासगरी विद्यालय, विश्वविद्यालय र अनुसन्धानका क्षेत्रमा लागेका पाठकले भर गर्ने गरेका छन्। यसबाट पनि लेखन, प्रकाशनको महत्व नेपाली समाजमा तीव्ररूपले बढ्दो छ।
अधिवक्ता
प्रकाशित: ९ वैशाख २०७१ २१:३२ मंगलबार

