१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

समुदायका लागि विद्यालय

काठमाडौँबाट १९ किलोमिटर टाढा फर्पिङ क्षेत्रका ६ गाउँ विकास समितिहरू क्रमशः चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुँडेचौर र छैमलेका स्थानीय शिक्षाविद् तथा सामाजिक अगुवाको सक्रियतामा समुदायका लागि विद्यालय अवधारणाको अभ्यास भैरहेको छ। विद्यालय शिक्षालाई समाजसँग जोडी व्यावहारिक र जीवनोपयोगी बनाउने स्थानीय पहल सफलता उन्मुख छ।
समुदायका लागि विद्यालयअर्न्तगत विकासका लागि सशक्तीकृत महिला समाज, शिखरापुर क्याम्पस, शेषनारायण महिला विद्यालय, सुसेली साहित्य प्रतिष्ठान, सामुदायिक अध्ययन केन्द्र, शिखरापुर खुल्ला विद्यालय, शिखरापुर सीप विकास केन्द्र र सामुदायिक पुस्तकालय एउटै स्थान र संयुक्त व्यवस्थापनमा संचालन भइरहेका छन्। जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग, गाविस, जिविस, महिला विकास कार्यालय, जिल्ला कृषि कार्यालय र विभिन्न दातृसँस्था समुदायको कार्यक्रममा सहभागी भएका छन्। कार्यक्रमको योजना निर्माण, कार्यान्वयन र अनुगमन तथा समीक्षा स्थानीय समुदायकै नेतृत्वमा हुन्छ।
फर्पिडलाई गुणस्तरीय शिक्षाको नमुना शैक्षिक गाँउ बनाउने अभिप्रायबाट प्रारम्भ यो अवधारणा क्रमशः ाठमाण्डौको दक्षिण भेगका ६ र मकवानपुरका ५ गाविसमा विस्तार हुँदैछ। अभिभावक र समुदायको चाहनाअनुसार अंग्रेजी भाषा शिक्षणलाई पूर्वप्राथमिक तहदेखि लागू गरिँदैछ। समाजका हुने खाने र हुँदा खानेबीच बढिरहेको भेद र दूरी कम गर्न विद्यालय शिक्षा, सीप विकास तालीम, आयआर्जन, व्यवसाय प्रवर्द्धन र समुदायका संस्थामा विपन्न वर्गलाई प्राथमिकता दिइएको छ।
स्थानीय स्तरको यो प्रयास विभिन्न शैक्षिक सिद्धान्त र अनुभवहरुबाट प्रेरित देखिन्छ। उदाहरणका लागि फिनल्याण्डको माध्यमिक विद्यालय शिक्षाको नीति अध्ययनशील समाज ( लर्निङ सोसाइटी) को निर्माण रहेको छ। शिक्षाविद् जोन दुवेले शिक्षक र विद्यार्थीबीच समाजको अन्तर्क्रिया नै शिक्षा हो भनेका थिए। अर्थात्, समुदाय आफँैंमा खुला विद्यालय हो जहाँ व्यक्ति तथा समूहले एकअर्काको अनुभव र सिकाइको आदानप्रदानबाट एकीकृतरुपमा एकैस्थलमा सबै उमेरका मानिसले जीवनोपयोगी ज्ञान, सीप, अवधारणा र प्रवृत्तिको विकास गर्छन्।
अष्ट्रेलियाली प्राथमिक शिक्षाको अनुकरणजस्तै देखिने गरिी समुदायका लागि विद्यालय अवधारणाले फर्पिडमा पाँच ई विधिलाई प्रवर्द्धन गरिरहेको देखिन्छ। यी पाँच ईमा विद्यार्थी तथा अभिभावकलाई समुदाय र विद्यालयका गतिविधिमा सक्रियतापूर्वक संलग्न (इन्गेज) गर्ने , विद्यालय र समुदायको विकास र उन्नतिका लागि अध्ययन, अनुसन्धान र खोजी (एक्स्प्लोर) गर्नेे, स्थानीय स्रोत, साधन र सीपका आधारमा विद्यार्थी तथा समुदायको रुपान्तरणका लागि अभ्यास तथा प्रयोग (एक्स्पेरिमेन्ट) गर्ने, भए गरेका काम, सफलता, विफलता र सिकाइको वर्णन व्याख्या (एक्स्प्लेन) गर्ने र आफूले गरेका योजना र सम्पन्न कामको मूल्यांकन (एभ्यालुएट) गर्ने गराउने प्रक्रियालाई परियोजना चक्रका रुपमा आत्मसात् गर्ने पर्छन्। फर्पिडमा यस प्रक्रिया अपनाइएकाले आन्तरिक तथा वाह्य सिकाइ संस्थागत भएको र सिकाइको प्रयोग भावी योजना निर्माण तथा कार्यान्वयनमा भइरहेको पाइन्छ। यस अवधारणाको अगुवाइ स्थानीय समुदायले र त्यसको सहजीकरण शिक्षक तथा समाजसेवीले गरेकाले यसको स्थायित्वमा पनि ढुक्क हुन सकिन्छ।
करीब २ सय विद्यार्थी रहेको क्याम्पसमा अधिकांश स्थानीय सीमान्तकृत समुदायका छन्। तिनमा १ सय १५ जना गाँउका छोरी तथा बुहारीलेे उच्च शिक्षामा पँहुच पाएका छन्। खुल्ला विद्यालयमार्फत् १ सय ३१ विद्यार्थी एसएलसीको परीक्षा तयारी गर्दैछन्। विद्यालय जान नपाएका १५ वर्षका किशोरीदेखि ७३ वर्षसम्मका करीब ५० जना महिलाले बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म शिक्षा पाइरहेका छन्। समुदायका पुरुष तथा महिलाको विद्यालयको व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुधारमा उत्तिकै सक्रिय सहभागिता र योगदान रहेको छ। स्थानीय महिलाहरु यस अवधारणाले महिलालाई विद्यालयमा ल्याएको, डर र लाज भगाएको र , मान्छे चिनाएको ठान्न्छन्। फलतः महिलाको चेतनाको स्तर पनि विकसित भएको छ। महिलाहरु आफ्नो अधिकारका बारेमा सचेत भएका छन्। महिला र विद्यालयको सम्बन्ध नजिक भएको छ र आमाहरुले छोराछोरीको पढाइमा ध्यान दिन थालेका छन्।
म्याकिन्सेलेे गरेको गुणस्तरीय शिक्षासम्बन्धी विश्वब्यापी अध्ययनबाट फिनल्याण्ड, सिंगापुर, हङकङ, दक्षिण कोरिया आदि देशको शिक्षा अमेरिका र बेलायतकोभन्दा पनि राम्रो रहेको पत्ता लागेको छ। त्यहाँ बालबालिका ७ वर्ष पुगेपछिमात्र ९ वर्षे अनिवार्य शिक्षाका लागि भर्ना हुन्छन्। कक्षा १० देखिको पढाइ अनिवार्य नभए पनि ५ प्रतिशत विद्यार्थीले मात्रै त्यसपछिको अध्ययन छाडेको पाइन्छ। सबै बालबालिकालाई समानस्तरको शिक्षाबाट पे्ररित फिनल्याण्डको शिक्षा नीतिबाट नेपालले सिक्ने कुरा धेरै छन्। शिक्षामा सबैको पहुँच, गुणस्तरमा क्रमिक सुधार, निपुणता र लचकता फिनल्याण्डको शिक्षा नीतिका विशेषता हुन्। साधारण वा प्राविधिक शिक्षा अध्ययनमा कुनै रोकटोक छैन। बरु एउटा अध्ययन गर्दागर्दै अर्कोमा पनि भर्ना हुनेलाई विशेष कक्षाको व्यवस्था गरिन्छ। शिक्षा नीति र प्रणालीमा सबैको विश्वास छ। यसले शिक्षण पेसालाई व्यावसायिक र मर्यादित, विद्यालयको स्वायत्ततालाई सम्मान र असल नेतृत्वको प्रवर्द्धन गर्छ।
नेपालमा पनि यस वर्षदेखि पाँच वर्षे विद्यालय क्षेत्र सुधार योजना कार्यान्वयन हुँदैछ। फर्पिङको विद्यालय समुदायका लागि भन्ने अभियान सबै गाविस र विद्यालयमा विस्तार गर्न सके विद्यालय सिकाइलाई बालबालिकाका दैनिक जीवन र समुदायसँग जोड्ने, समुदायलाई विद्यालयको मालिक बनाउने र खुल्ला विद्यालय अवधारणालाई प्रवर्द्धन गर्ने सोचले प्राथमिकता पाएको विद्यालय क्षेत्र सुधार कार्यक्रमलेे अपेक्षित उपलब्धी हासिल गर्न सक्छ। शिक्षाको सुधारबिना समाज विकास र रुपान्तरणको कल्पनाले साकार हुन सत्तै्कन। आफ्नै प्रयास र मेहनतमा सबैले समानस्तरको शिक्षा पाउने व्यवस्थाको सिर्जना र कार्यान्वयनमा सामुदायिकस्तरमा नै उल्लेख्य काम गर्न सकिन्छ भन्ने उदाहरण फर्पिङले देखाएको छ। देशभर शिक्षाको गुणस्तर सुधारमा व्यक्तिगत र सामूहिक पहल गरेमा अन्यत्र पनि सफल हुन सकिन्छ।

प्रकाशित: ४ कार्तिक २०६६ २३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %