नेपालमा निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयहरूले अङ्ग्रेजी भाषालाई शिक्षणको माध्यम बनाउँदै आइरहेका छन्। बोर्डिङ स्कुल र अङ्ग्रेजी माध्यम स्कुल पर्याय भएका छन्। आवासीय सुविधा नभए पनि विद्यालयको नाममा 'बोर्डिङ' शब्द राखिएका छन्। बोर्डिङ नभए पनि अङ्ग्रेजी माध्यममा शिक्षण गरेको भन्ने गरेका छन्। संस्थागत विद्यालयबाहेक अङ्ग्रेजी भाषालाई शिक्षणको माध्यम बनाउने प्रचलन नेपालका सामुदायिक विद्यालयमा बढ्दै गएको छ। संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्ने नाममा अङ्ग्रेजी माध्यम बनाइएको भनिए पनि यसका अन्य अव्यक्त कारण पनि छन्। सूचना तथा सञ्चार प्रविधिमा आएको अकल्पनीय परिवर्तन, विश्वव्यापीकरणले ल्याएको अवसर र प्रभाव, वैदशिक रोजगारको अवसर एवम् प्रभाव र मानिसको जनजीवनमा आएको आधुनिकीकरण यसका प्रमुख कारण हुन्।
भाषालाई बचाउने यसको प्रयोगले हो, बोलेर हो। वैदिक संस्कृतको प्रयोग कठिन हुँदै जाँदा लौकिक र प्राकृत संस्कृत हुँदै अपभ्रंशकाल व्यतित गर्दै नेपाली भाषालगायत नेपाल र भारतका विभिन्न भागमा बोलिने भारोपेली परिवारका भाषाहरू प्रयोग भएका हुन्। अङ्ग्रेजी भाषा पनि विभिन्न चरणबाट गुजि्रदै अहिलेको अवस्थामा आएको हो। विद्यालय शिक्षामा पठनपाठन गराएर मात्र भाषा बच्ने र बचाइने विषय होइन। कक्षा ४ देखि १० सम्म र कक्षा १ देखि १० सम्म अङ्ग्रेजी अध्ययन गरेका हाम्रा विद्यार्थी अङ्ग्रेजी भाषामा कति पोख्त भए भनी समीक्षा हुनु जरुरी छ। घर र समुदायमा नबोलिने भाषा विद्यालयमा पठनपाठन गराएर मात्र जीवन्त हुन सक्दोरहेनछ भन्ने उदाहरण हामीसँग पर्याप्त छन्। भाषा त विद्यालयमा पठनपाठन गराउँदा एक हदसम्म चर्चा होला, हाम्रो संस्कृति, भेषभुषा, रहनसहनलाई विद्यालयमा पठनपाठन गराइ पनि अभ्यास गराइँदैन। अनि, यस्ता साँस्कृतिक अभ्यास कसले बचाइदिने हो? भाषाका साथसाथै संस्कृति, भेषभुषा र रहनसहनका सम्बन्धमा सम्बन्धित समुदाय नै जागरुक हुनुपर्छ।
विद्यालय तहमा अङ्ग्रेजी माध्यम भाषा बनाउनुमा अभिभावकको चाहना प्रमुख छ। आफ्ना सन्तानलाई कुन भाषामा शिक्षा दिने भन्ने विषयको निर्णय गर्ने अन्तिम अधिकार उनीहरूको आमाबाबुको हो। अधिकांश आमाबाबु (अभिभावक) मा अङ्ग्रेजी माध्यममा पठनपाठन भएका विद्यालयप्रतिको आकर्षण बढ्दो छ। सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम हुनुको मुख्य कारण पनि अङ्ग्रेजी माध्यममा पठनपाठन भएका विद्यालयप्रतिको आकर्षण नै हो। वैदेशिक रोजगारअन्तर्गत विशेषगरी खाडी मुलुक र मलेसियामा जाने नेपालीले अङ्ग्रेजी भाषामा कमजोर हुँदा भोगेका सास्ती संवेदनशील छन्। यस्ता सास्ती तथा हैरानीमा भाषा नबुझेका कारण राम्रो रोजगारी नपाउनु, खतराजन्य काम गर्न बाध्य बनाइनु, कामदारको पदोन्नति नहुनु, आफ्नो पिर मर्का व्यक्त गर्न नसक्नु आदि पर्छन्। यस्ता हैरानीका साथसाथै यिनीहरूले गुमाएका अवसर र न्युन पारिश्रमिकमा काम गर्नुपर्नाका कारण उनीहरूमा आएको चेतनाले पनि आफ्ना सन्ततिलाई अङ्ग्रेजी माध्यम भएका विद्यालयमा पठनपाठन गराउन चाहने रुचि पनि हो। घरमा बस्ने परिवार र विदेशमा कामदारका रूपमा बस्ने नेपालीहरूको मोबाइल फोन र इन्टरनेटको सुविधा विस्तारले पनि अङ्ग्रेजी भाषाप्रति मोह बढेको छ। सूचना तथा सञ्चार प्रविधिको द्रुततम् विकासका कारण मोबाइल फोनको प्रयोग, इन्टरनेटको पहुँच, स्काइप जस्ता भिडियो सम्वादप्रति नेपाली जनमानसमा बढ्दो चासोले पनि आमजनसमुदायमा अङ्ग्रेजी भाषाप्रति लगाव बढेको पक्का हो।
विद्यालय क्षेत्र सुधार योजनाको संयुक्त परामर्श बैठकका लागि अर्घाखाँची जिल्लाको क्षेत्र भ्रमणमा गएको टोलीले परामर्श बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा यसरी उल्लेख गरिएको थियो– 'अर्घाखाँचीका ४०३ वटा सामुदायिक विद्यालयमध्ये १०२ मा अङ्ग्रेजी भाषालाई शिक्षणको माध्यमका रूपमा लागु गरिएको छ। यसको मुख्य कारण अभिभावकको दबाब र संस्थागत विद्यालयसँगको प्रतिस्पर्धा रहेको जनाइएको छ। कक्षा १ देखि ३ सम्म अङ्ग्रेजीलाई शिक्षणको माध्यम भाषा बनाएकाले कक्षा १० सम्म पुर्याउने लक्ष्य राखेका छन्। शिक्षकले आफूलाई कठिन भए तापनि यो सुधारका लागि सकारात्मक पथ भएको बताएका छन्। शिक्षकले कथ्य अङ्ग्रेजी कठिन भए पनि लेख्य अङ्ग्रेजीका माध्यमबाट विद्यार्थीलाई सिकाउने गरेका छन्। अङ्ग्रेजी माध्यम बनाएका सामुदायिक विद्यालयका विद्यार्थीको पढाइ, लेखाइ र सिकाइ उपलब्धि नेपाली माध्यममा पठनपाठन हुने सामुदायिक विद्यालयका विद्यार्थीका भन्दा राम्रो देखिन्छ। अङ्ग्रेजी माध्यमका सामुदायिक विद्यालयको एसएलसी परीक्षाको नतिजा पनि राम्रो देखिन्छ। विद्यालय र जिल्ला तहमा गरिएका छलफलमा अङ्ग्रेजी भाषालाई शिक्षणको माध्यम बनाइनुका कारण अभिभावक र जनताको ठूलो दबाब नै भएको बताएका छन्। जनचाहना र अभिभावकको दबाब नकार्न सकिने अवस्था नभएपछि यसले शिक्षणको माध्यमसम्बन्धी अनुसन्धान, भाषा सिकाइ र भाषा शिक्षणको सैद्धान्तिक मान्यता र दर्शनलाई भने चुनौती दिएको छ। अङ्ग्रेजीलाई शिक्षणको माध्यम बनाउने जनचाहनालाई सामाजिक र शैक्षिक पक्षबाट अनुसन्धान गर्नुपर्ने भएको छ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषाका माध्यमबाट पठनपाठन गर्न सक्षम शिक्षकको अभाव छ भन्ने गरिन्छ। सबै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउने संस्थागत विद्यालयमा पनि सबै शिक्षकहरू अङ्ग्रेजी भाषामा सक्षम छन् भन्न सकिँदैन। यस्ता विद्यालयमा पनि अङ्ग्रेजी भाषामा सक्षम नभएका शिक्षक पनि छन्।
देशको कानुनमा भाषा विषयबाहेक नेपाली वा अङ्ग्रेजी भाषालाई शिक्षणको माध्यम बनाउन सक्ने प्रावधान राखिएको छ। कहिलेकाहीँ जनचाहना राज्यको कानुन तथा नीति विपरीत पनि हुने गर्छन् तर विद्यालय तहमा शिक्षणको माध्यम भाषा अङ्ग्रेजी र सो भाषाका माध्यममा शिक्षा प्राप्त गर्ने जनचाहना भने राज्यको विद्यमान कानुन तथा नीति बाहिर भने छैन। सूचना तथा सञ्चार प्रविधिको विकास र विश्वव्यापीकरणका प्रभावलाई ग्रहण गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी भाषालाई शिक्षणको माध्यम भाषा बनाउने कार्यमा बन्देज लगाउनु भने हुँदैन। सूचना तथा सञ्चार प्रविधिको दु्रततम् विकासका कारण हिजोका कुरा आज पुराना र आजका कुरा भोलि पुराना हुने स्थिति छ। विश्वव्यापीकरणले संसारलाई एउटा सानो गाउँ जस्तै बनाएको छ। समयको प्रवाह र जनचाहनालाई समयमै नबुझ्ने हो भने यसै त पिछडिएका छौं, झनै पछाडि पर्नेछौं। हामीलाई समयको प्रवाहलाई नबुझेका भनी अहिलेका र भावी सन्तानले धिक्कार्ने छन्।
भाषा सिकाइका सिद्धान्त, दर्शन, मान्यतालाई व्याख्या गरेर आमजनसमुदाय र अभिभावकको चाहना विपरीत सिद्धान्तको पछाडि दौड्नु भनेको दुर्घटना निम्त्याउनु हो। सिद्धान्त र जीवन फरक हुने गर्छ। आमजनताको जीवनले कहिलेकाहीँ सिद्धान्त पछ्याउँदैन। जनता सिद्धान्त र दर्शनभन्दा फरक चाहना राख्ने गर्छन्। सिद्धान्त कहिलेकाहीँ पुराना हुन सक्छन्, जनचाहना सधैँ नै नवीन हुने गर्छन्। हामीले बिर्सन नहुने कुरा के छ भने लोकतन्त्रमा जनचाहना र जनअभिमतको विपरीत जानुहुँदैन, जान सकिदैँन, जो जनचाहना विपरीत जान्छ ऊ लोकतन्त्र विरोधी हो र उसले अन्त्यमा पछुतोमात्र हात पार्ने गर्छ। आमजनता आफ्ना आवश्यकता र चाहना पूरा गर्न अगाडि बढेका उदाहरण प्रशस्त छन्। यसका लागि अभिभावक र समुदायले सामुदायिक विद्यालयमा आफ्नो चाहनाअनुसार अङ्ग्रेजी भाषालाई पठनपाठनको माध्यम बनाउन थालनी गरिसकेका छन्। समयमा नै यसप्रति नीति निर्माता र राज्य सञ्चालनमा संलग्न व्यक्ति सचेत हुनुपर्छ अन्यथा अतीतप्रति पछुताएर वर्तमान र भविष्यले माफी दिँदैन।
प्रकाशित: २३ पुस २०७० २१:४७ मंगलबार

