११ असार २०७८ शुक्रबार
विचार

सम्झनामा साफल्य

सन् १९४४ मा जन्मेका साफल्य अमात्य सन् २०२१ को कोरोना माहामारीको चपेटामा परे। उनी नेपालमा एक इतिहासकार र संस्कृतिविद्का रूपमा चिनिएका छन्। हुन पनि उनी पुरातत्व विभागमा लामो समयसम्म महानिर्देशक भएर बसेका थिए। उनको नेतृत्वमा लुम्बिनीलगायत धेरै ठाउँमा पुरातात्विक उत्खनन भएका थिए र नेपालको इतिहासमा नयाँ प्रकाश पारिएको थियो।  

साफल्य अमात्य एक गम्भीर सोधकर्ता र सोचकर्ता थिए। उनले कुनै पनि विषयमा अपर्झट आफ्नो विचार दिएनन्। त्यसबारेमा खोज गरेर तथ्य फेला पारेपछि मात्र आफ्नो अवधारणा राख्ने गर्थे। सो उनले पत्रपत्रिकामा बराबर लेखिराख्ने लेखहरूबाट पनि थाहा हुन्छ।

उनले आफ्नो जीवन कालमा इतिहास र संस्कृतिसम्बन्धी धेरै पुस्तक लेखे। तिनीहरू नेपाली र अंग्रेजी भाषामा प्रकाशित भएका छन्। तीमध्ये नेपालीमा केही उल्लेख्य रहेका छन्। नेपालमा पुरातत्व, संस्कृति र संरक्षण, नेपालको इतिहासको पाँच स्वर्णिम पृष्ठ, काठमाडौँ नारायण, टुँडिखेल वरपरका केही महत्वपूर्ण स्मारक र देवलस्थलहरू, राजसंस्था र नेपाली संस्कृति, विश्व सम्पदा–काठमाडौँ उपत्यका, श्री आकाश भैरवनाथ र पानी र संस्कृति विख्यात छन्।  

त्यसैगरी अंग्रेजीमा सम् आस्पेक्ट अफ् कल्चलर पलिसी अफ् नेपाल, वाग्मती–अ मोनुमेन्ट गाइड, स्वयम्भुनाथ कन्जरभेसन मास्टर प्लान, आर्ट एन्ड कल्चर अफ् नेपाल आदि स्मरणीय छन्। राणा रुल इन् नेपाल भन्ने पुस्तक उनको विद्यावारिधि उपाधि प्राप्त गर्न लेखिएको किताब हो। सो उपाधि उनले दिल्लीस्थित जवाहरलाल विश्वविद्यालयबाट प्राप्त गरेका थिए। सो किताबमा लेखिएको कुरा आजसम्म पनि सान्दर्भिक ठानिन्छन्। 

जस्तो सन् १९५० को परिवर्तनको समयमा के/कस्ता घटना भएका थिए भन्ने किताबको अन्तमा लेखेका छन्– प्रजातान्त्रिक राजनीतिक प्रक्रियाहरू सारै जटिल भए। जुन किसिमको गतिमा त्यसबेलाको नेपालमा क्रान्ति भयो, त्यसले आफ्नो प्रजातन्त्र हासिल गर्ने लक्ष्य त पूरा ग¥यो तर यसले अव्यवस्थित समस्याहरू जन्म दियो। राणा शासनको अन्त्यतिर नेपालले इतिहासमा कहिले नदेखिएका परिवर्तन र हाँकहरू अगाडि आएर खडा भए।

हुन पनि नेपालमा सन् १९५० मा प्रजातन्त्र आयो। त्यसबाट नेपालका सबै राजनीतिक र अरू समस्या सुल्झिने आशा गरिएको थियो। तर हामीलाई थाहा छ, त्यसबाट न नेपालको विकास भयो, न प्रजातन्त्र नै सुदृढ भयो, न राष्ट्रिय अस्तित्व र अस्मिता नै बलियो भयो। यस व्यवस्थाबाट विदेशी हस्तक्षेप बढ्यो, मुख्य नदीनाला अरूको हातमा परे, नेपाली रोजगारीका लागि विदेशिनु पर्‍यो। आजसम्म पनि जसरी प्रजातन्त्रको नाउँमा खलबली र खिचातानी भइरहेको छ तिनीहरूको पूर्वजानकारी अमात्यजीले दिएका थिए।

राजसंस्था र पानीको सम्बन्धबारे उनले सो पुस्तकमा भनेका छन्– इतिहासको सुरुवातदेखि नै नेपाल एक राजतन्त्रामक देश हो। प्राचीनकालदेखि नै नेपालमा राजालाई राज्यको विकास, उन्नति, शान्ति सुव्यवस्था र भलाइका लागि जिम्मेवार संस्थाका रूपमा मान्दै आएको छ। राजाको मुख्य कर्तव्य र जिम्मेवारीमध्ये देशमा समयमा वर्षा भयो÷भएन, ठीक समयमा रोपाइँ भयो/भएन भन्ने जानकारी राख्ने र केही गरी खडेरी पर्न गएमा त्यसलाई कसरी हटाउने वा तार्ने हो ती उपाय सोची कार्यान्वयन गर्ने पनि हो।

उनले अगाडि लेखेका छन्– नेपालको इतिहासमा राजा र पानीको सम्बन्धलाई लिएर लिच्छविकालदेखि नै धेरै दन्त्य कथाहरू प्रचलित छन्। एउटा दन्त्य कथाअनुसार राजा विक्रमजीले आफ्नो बाबु विक्रमादित्यले बनाएर गएको दरवारको प्रांगणमा रहेको ढुङ्गेधाराबाट पानी नआउँदा आफ्नो प्राणको आहुति दिएर भए पनि जनताको सुख, सुविधाका लागि बनाएको धाराबाट पानी झारे भनी भनिन्छ। हाल नारायण हिटी नामले त्यो धारा प्रसिद्ध छ।

नेपालका परम्परागत नाचगानहरूको संरक्षण आजको नेपाली समाजका लागि निकै आवश्यक र सान्दर्भिक भएको पनि अमात्यजीले दर्शाएका छन्। नेपाल मण्डल काठमाडौँ उपत्यकाका धार्मिक नाचहरूबारे उनले लेखेका छन्– यी नाचहरूमा बौद्ध र हिन्दु दुवै धार्मिक ग्रन्थहरूबाट कथा र किस्साहरू मिलाइ बडो रोचक ढंगबाट जनतालाई प्रभाव पार्ने किसिमबाट प्रस्तुत गरिएका हुन्छन्।  

धार्मिक सहिष्णुताका लागि र समाजमा मेलमिलापका लागि यी नाचहरूको प्रचलन अविच्छिन्नरूपमा हुनु जरुरी छ। नेपाली कला र संस्कृति भण्डारस्वरूप रहेका यी नाचहरू बचाइराख्न सकेको खण्डमा नेपाली साहित्य, नाटक, नाट्यशास्त्र, नृत्यशास्त्र, वाद्यशास्त्र र वाद्यवादनहरू आदि सबै नै बाँचिरहन्छन् र यी सबैले नेपाल एउटा स्वतन्त्र र मौलिक संस्कृति भएको राष्ट्र हो भनी विश्वमा परिचित भइरहनेछ।

उनले यही सिलसिलामा लेखेका छन्– यी सबै धार्मिक नाच तथा नृत्य नाटिकाहरूमा देवदेवीहरुले दैत्य र दानवहरूको सम्हार गरेका पाइन्छ। यसरी धर्मले पापमाथि असलले खराबमाथि विजय गरेको कुरा नै यी नाचहरूको मुख्य सारांश हो। हाम्रो समाजमा यस्ता खराब तत्वहरूको कहिले हालीमुहाली नहोस् र यिनीहरूलाई सधैँ धर्म, सत्य र असल तत्वहरूले विजय गर्न सकोस् भन्ने नै यी नाचहरूका मुख्य अभिप्राय हुन्। अब साफल्य हामीबीच छैनन्, तर उनले हामीलाई दिएका उपहार हामीसँगै छन्। हामी तिमीलाई सम्झिरन्छौं। 

प्रकाशित: ४ जेष्ठ २०७८ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App