११ माघ २०७८ मंगलबार
विचार

भाइरस इतिहासमा दोस्रो लहर

जनस्वास्थ्य मानव सभ्यताको अभिलेखित इतिहासमा धेरैजसो भयंकर महामारीहरूको प्रकोप कैयौँ वर्ष रहिरहेका थिए। रोमन साम्राज्यलाई निशाना बनाउने एन्टोनाइन प्रेल्गले १६५ इश्वीमा पहिलोपटक आक्रमण गरेको थियो। रोमन सम्राट माक्र्स ओरेलियस आफैँ यसको सिकार भए। एन्टोनाइन प्लेगको असर १८० इश्वीसम्म रह्यो। कालो मृत्युको नामले कुख्यात न्युमोनिक प्लेगको प्रकोप पनि चार वर्ष रहेको थियो। युरोपेली देशमा यो महामारी वर्ष १३४७ देखि १३५० सम्म कहर मच्चाउँदै रह्यो। जुन इलाकामा यो रोग फैलियो त्यहाँ यसको असर धेरै दिनसम्म रहेको थियो। त्यहाँको जनसमुदायलाई पूरै बर्बाद गरेपछि यो महामारीले अर्कोतर्फ आफ्नो बाटो लागेको थियो।  

सन् १८३१ देखि १८३७ सम्म पूरै युरोपमा फ्लुको महामारीले उत्पात मच्चाएको थियो। यस महामारीको तीन ठूला हमला वा लहर देखिएको थियो जुन सन् १८३१, १८३७ मा आएको थियो। सन १८८९ मा आक्रमण गर्ने फ्लुको महामारी करिवन २ वर्षसम्म जनसमुदायलाई आफ्नो चपेटामा लिँदै रह्यो। यस फ्लुबाट ३ लाख ७० हजार मानिस मारिए। इ.सं. १९१८ मा वैश्विकरूपमा फैलिएको स्पेनिस फ्लुको महामारी अहिलेसम्मको सबभन्दा बढी क्षति तवाही गराउने महामारी थियो। मार्च १९१८ देखि नोभेम्बर १९१९ सम्म स्पेनिस फ्लुको तीनवटा लहर देख्न पाइएको थियो। जसबाट दुनियाभरमा पाँच करोड भन्दा बढी मानिस मारिएका थिए। यस महामारीको प्रत्येक लहर पछिल्लो भन्दा ज्यादा नभए पनि कम खतरनाक पनि थिएन।

यद्यपि स्पेनिस फ्लुको पहिलो प्रकोपबारे सन् १९१७ मा अनुसन्धानकर्ताहरूको दुई बेग्लाबेग्लै समूहले पत्ता लगाएका थिए। जतिबेला तपाईँ लेख पढ्दै हुनुहुनेछ त्यसबेला कोभिड–१९ आफ्नो तेस्रो क्यालेन्डर वर्षमा प्रवेश गरिसकेको हुनेछ किनकि यस महामारीको पहिलो वर्ष २०१९ को आखिरी महिनामा आएको थियो। यसपछि कोरोना भाइरसको महामारी वर्ष २०२० मा बडो तेजीले पूरै विश्वमा फैलियो। अब सन् २०२१ को ४ महिना बित्न लागेको छ र अहिले पनि यो महामारी विश्वका सबै देशमा वितण्डा मच्चाइराखेको छ। कोरोना भाइरसले पूरा विश्वमा २८ लाख भन्दा बढी जनसमुदायको ज्यान लिइसकेको छ।  

महामारीहरूको इतिहास हेर्दै हामी विश्वासका साथ यो भन्न सक्छौँ कि कोभिड–१९ महामारीको व्यवहार असामान्य होइन। यसका लहर पटक–पटक आउनु कुनै पनि महामारीको सहज व्यवहार हो किनभने अहिले पनि वैश्विकरूपमा महामारीको सिकार भएका जनसमुदायको संख्या बढ्दो छ। धेरैजसो विशेषज्ञको मान्यता छ कि पहिलेका महामारी जस्तै कोभिड–१९ पनि आखिरमा गएर मौसमी बिमारीमा परिणत हुनेछ।

महामारीको लहरका जिम्मेवार कारण  

महामारीको प्रसारमा आउने उचार चढावका लागि कैयौँ कारणलाई जिम्मेवार मानिएको छ। दाइभाइ तथा साथीहरूले सन् १९१८ को स्पेनिस फ्लुको तीन चरण भएको एउटा साधारण मोडेल प्रस्तावित गरेका थिए:  

१) स्कुलहरु खोल्नु र बन्द गर्नु  

२) महामारीका बेला तापमानमा उतारचढाव हुनु  

३) महामारीका बेला मानिसको व्यवहारमा आउने परिवर्तन  

किसलर र उनका साथीहरूले महामारीपछि नयाँ कोरोना भाइरस सार्स कोभ–२ को संक्रमणका लागि निम्नलिखित कारण पहिचान गरेका छन्– संक्रमणका बेला मौसमका साथै उतारचढाव, जनसमुदायको रोग प्रतिरोधक क्षमता, नयाँ कोरोना भाइरस र अन्य कोरोना भाइरसप्रति जनसमुदायमा प्रतिरोधक क्षमताको स्थिति, महामारी रोक्न चालिएको कदम कति प्रभावकारी छ र कहिले लागु गरिन्छ।

दोस्रो लहरको प्रमुख कारण महामारीदेखि डर त्रास नभएका कारण जनसमुदायमा नियम मिच्ने व्यवहार, महामारीका कारण लगाइएका प्रतिबन्धहरूबाट अत्तालिनु, संक्रमित जनसमुदायको विस्तार र भाइरसको व्युत्पत्तिले तिनलाई एकपटक फेरि महामारीको सिकार बनाउँछ, जो पहिले यस भाइरसबाट संक्रमित भइसकेका थिए। नयाँ कोरोना भाइरसले कैयौँ उत्परिवर्तनमा आफूलाई बदल्न सक्ने क्षमता देखाएको छ। केही उत्परिवर्तनपछि बढी संक्रामक भएको देखिएको छ। भारतमा भन्न थालिएको छ कि करिव २० प्रतिशत नयाँ बिरामी यस भाइरसको दोहोरो म्युटेन्ट भाइरसको परिणाम हो। यसबाहेक ब्रिटेन र दक्षिण अफ्रिका अनि ब्राजिलका भेरिएन्टको कथा बेग्लै छ।

महामारीबाट संक्रमित जनसमुदायको संख्यामा उतारचढाव यी सबै कारणको आपसी तर पेचिलो सम्बन्धहरूको परिणाम हुने गर्छ। महामारीको प्रकोपबाट केही अरू खास कुरा पहिचान गरिएका छन्। उदाहरणका लागि सन् १९१८ को स्पेनिस फ्लु महामारीमाथि गरिएका अध्ययनबाट थाहा लाग्यो कि यस महामारीले पहिले गरिवहरूमाथि आक्रमण गरेको थियो। यसको निशानामा धनीहरू पछि परे। 

यसबाट भारतको मुम्बई सहरमा कोभिड–१९ ले पहिले झुपडीका जनसमुदायलाई निशाना बनाएको थियो अर्थात कोरोना भाइरसको पहिलो लहरले स्लममा बस्नेहरूलाई आफ्नो चंगुलमा लियो। अबको दोस्रो लहरमा बहुतले महलमा बसोबास गर्ने जनसमुदाय भाइरसको सिकार भएका छन्। अभिताभ बच्चन, अनुपम खेर यसको सिकार भएकामा केको आश्चर्य ? हाम्रै पूर्वराजा÷ रानीलाई पनि यसले भेट्टाइसक्यो।

इतिहासबाट प्राप्त शिक्षा  

महामारीको प्रकोप रोक्न जुन पारम्पारिक उपायहरू गरिन्छन् तिनमा पछिल्ला कैयौँ शताब्दीदेखि कुनै परिवर्तन गरिएका छैनन्। ती सनातनी छन् भन्न कुनै आइतबार कुर्न परेन। संक्रमित व्यक्तिलाई बाँकी जनसमुदायबाट बेग्लै राखी तिनको उपचार गर्नु, क्वारेन्टिनका उपायहरूबाट महामारीको संक्रमण रोक्ने प्रयास गर्नु, सुरक्षाका व्यक्तिगत उपायहरू प्रयोग गर्नु। जनसमुदायलाई महामारीबारे उचित संवाद सचेतना तथा तिनलाई सही जानकारी उपलब्ध गराउनु।

यी उपायमध्ये कुनै पनि एउटालाई लागु गर्नमा हेलचेक्र्याइँ गरे महामारीको सिकार हुने सम्भावना बढ्छ। यस मामलामा हामीबाट कैयौँ गल्ती भएका छन्। यही कारणले गर्दा आज भारत कोरोना भाइरसको दोस्रो लहरको नराम्रो सिकार भएको छ। हाम्रो परिवेशमा देशको दक्षिणी खुला सिमानाका कारण त्यसको असर आज नेपालगन्जतिर देख्न/सुन्न पाइन्छ। अब पनि न्यूनतम व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन हामी आफैँले गरेनौँ भने आफैँ पनि यस दुष्चक्रबाट सहजै निस्कन सक्ने छैनौँ। यस महामारीको वैश्विक स्तरमा देखिएको प्रकृति हेर्दा न यथेष्ठ मात्रामा यस्का विरुद्ध प्रभावकारी खोप नै विकसित गर्न सकिएको छ न त एउटा लहरमा प्रभावकारी देखिएको खोप अर्को लहरमा पनि उस्तै प्रभावकारी देखिन सकेको छ।

त्यसैले बुझौँ, कोभिड–१९ को लहरलाई, सझौँ कोभिड–१९ को प्रहारलाई। फेस मास्क, साबुन–पानी अनि सेनिटाइजरले निष्क्रिय पारौँ कोभिड–१९ को प्रहारलाई। अतः यस कोभिड–१९ को विश्वव्यापी लहरबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ। सरकारको काम भनेको एउटा विज्ञप्ती निकाल्नुसम्म त हो। 

(वरिष्ठ पशु चिकित्सक)

प्रकाशित: २४ वैशाख २०७८ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App