१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

नेपालको राष्ट्रिय रुख कुन हो?

नेपालको प्रकृतिसँग जोडिएका राष्ट्रिय पहिचान पाएका जनावर, पन्छी र फूल क्रमशः गाई, डाँफे र लालीगुराँस हुन्। संसारका अधिकांश देशले आफ्न्ाो देशको प्रतिष्ठित पहिचान र विशेष अस्तित्व बोकेका जनावर, पन्छी र फूलसँगै राष्ट्रिय रुख पनि घोषणा गरेका छन्। क्षेत्रफलको हिसाबले सानो भए तापनि कुल भू–भागको ३९.६ प्रतिशत भाग वनले ढाकिएको र जैविक विविधताको धनी देश भनेर  विश्वमा २१ औं र एसियामा ९ औं स्थानमा रहेको नेपालले भने हालसम्म पनि राष्ट्रिय रुख घोषणा गरेकोे छैन। अधिकांश देशले राष्ट्रिय रुखका रूपमा जैतुन र खस्रुलाई घोषणा गरेका छन् भने भियतनामले बाँस, जापानले चेरी/पैंयु, भारतले वर र बंगलादेशले आँपलाई राष्ट्रिय रुख मानेका छन्।भौगोलिक र जैविक विविधताका आधारमा विशिष्टरूपमा रहेको नेपालमा पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म विभिन्न प्रजातिका वनस्पति प्ााइन्छन्। नेपालमा पाइने रुखमध्ये कुनै एक प्रजातिलाई राष्ट्रिय रुख घोषणा गर्न सकिन्छ तर यसका लागि रुखको बहुउपयोगिताको पहिचान  गर्नु उचित हुन्छ। धेरै प्रजातिमध्ये गुराँस राष्ट्रिय रुखको रूपमा मान्न सकिने रुख हो  तर गुराँस नेपालको राष्ट्रिय फूलका रूपमा २०१९ सालमा नै घोषणा भइसकेको छ। । त्यस्तैगरी समी, रुद्राक्ष, लप्सी, नीम, उत्तिस, बेल, सिमलजस्ता बहुउपयोगी वृक्षले भने राष्ट्रिय रुख हुने सम्भावना नबोकेका होइनन् तर नेपालमा वातावरणीय महझ्व, सांस्कृतिक तथा धार्मिक आस्था, भौगोलिक उपलब्धता, आयआर्जन, मनोवैज्ञानिक दृष्टिकोणले विभिन्न विशेषता केलाउँदा राष्ट्रिय रुखका रूपमा 'पिपल' घोषणा गर्दा बढी उपयुक्त हुने देखिन्छ।
पिपल नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनलगायत देशमा पाइने ठूलाठूला हाँगा हुने पतझड् समूहको रुख हो। विश्वव्यापी जलवायु परिवर्तनको असर न्युनीकरणका लागि अन्य रुख र बिरुवाको तुलनामा पिपलले नै बढी मात्रामा अक्सिजन प्रवाह गर्छ। बिहानीपख घाम उदाउनुअघि नै वा प्रकाश संश्लेषण हुनुअघि नै पिपलले अक्सिजन प्रवाह गर्न थाल्छ। यसको कार्बन सोस्ने क्षमता पनि बढी भएकाले पिपल भएको स्थानमा वातावरण स्वच्छ हुन्छ। पिपल लामो अवधिसम्म बाँचिरहने वृक्ष त हो नै परापूर्वकालदेखि नेपालको मधेस, तराई, चुरे, पहाड र उच्च पहाड एवम् पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको यो रैथाने वृक्ष पनि हो। पिपलले अक्सिजन बढी प्रवाह गर्ने भएकाले परापूर्वकालदेखि नै विश्राम गर्ने थलोमा यसलाई लगाई चौतारो बनाउने प्रचलन छ।
संस्कृतमा पिपललाई 'अश्वत्थ' वा 'पिपला' भनिन्छ। पिपललाई सबैभन्दा पुरानो बिरुवाको रूपमा लिइन्छ। यो रुखको उत्पत्ति इन्दुस उपत्यका सभ्यताको (३००० बि.सी. देखि १७०० बि.सी.) मामोहेन्जोडारो सहरमा भएको मानिन्छ। 'वृक्ष राजयनमः' अर्थात् पिपललाई रुखहरुको राजा भनेर पनि चिनिन्छ। भगवान कृष्णले गीतामा भन्नुभएको छ– 'अश्वत्थः सर्ववृक्षाणां' अर्थात् सबै वृक्षमा म पिपलको वृक्ष हुँ। त्यसैगरी शास्त्रहरुमा भनिएको छ– अश्वत्थःपूजितोयत्रपूजिताःसर्व देवताः' अर्थात् पिपलको पूजा गर्नाले सबै देवताको पूजा गरेको फल प्राप्त हुन्छ।
नेपाल धर्म निरपेक्ष देश भएकाले पिपललाई राष्ट्रिय रुख बनाउने सन्दर्भमा धार्मिक हिसाबले मात्र हेरिनु उचित हुँंदैन। यसलाई सबै नेपालीको साझा र सरोकारको विषयका रूपमा लिनुपर्ने हुन्छ। हिन्दु र बुद्ध धर्माबलम्बी दुवै पिपलप्रति आस्था राख्छन््। हिन्दुमा ब्रह्मा, विष्णु र शिवको बास यही रुखमा छ भ्ान्ने मान्यता छ। हिन्दु धर्ममा पिपललाई विष्णुको अवतार मानिने हुनाले यसलाई हिन्दूहरुले पवित्र रुखका रूपमा पूजा अर्चना गर्ने गर्छन्। पिपलको रुखमा शनीको पनि बास हुने हुँदा शनिबारको दिन जल चढाउँदा वा छुँदा मात्र पनि राम्रो हुने धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ। गौतम बुद्धले बुद्धत्व अर्थात् ज्ञान यसै रुखमुनि बसेर हासिल गरेकाले बौद्ध धर्मअनुसार यस वृक्षको ठूलो महझ्व छ। पिपलको रुखको आफ्नै सङ्केतात्मक पहिचान छ– ज्ञानोदय र शान्ति। यसले धार्मिक मान्यताबाहेक आफ्नै पर्याप्त वैज्ञानिक एवम् मौलिक बहुउपयोगी पहिचान बोकेको छ। पिपलको पातको आकार हृदयको जस्तै भएका कारणले मायाको चिह्न वा वात्सल्यताको बोध गराउँछ र प्रेमको प्रतीक मानिन्छ। वैज्ञानिक दृष्टिकोणले पनि पिपलको निकै ठूलो महझ्व छ।
पिपलका आफ्नै अलौकिक औषधीय गुण छन्। यसको जरा, बोक्रा, पात तथा फलमा कुनै न कुनै औषधीजन्य गुण हुन्छ जसले विभिन्न कडा प्रवृत्तिका रोगको उपचारसमेत सम्भव हुन्छ। पचासभन्दा बढी रोगको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ। यसमा भिटामिनजन्य गुण पनि हुन्छ। बाथ, गिजाको रोग, कान दुःख्ने, पुरानो घाउ, अल्सर, वाकवाकी, गनोरिया, मधुमेह, दम, पखाला, छारेरोग, ग्यास्टिक, नपुंसकत्व जस्ता रोग र समस्याकोे उपचारका लागि पिपल प्रयोग गरिन्छ। यसको पात कमलपित्त र हृदय रोगमा पनि उपयोगी हुन्छ। कब्जियतको समस्या समाधान गर्नमा त पिपलको पातको सेवन रामवाण नै मानिन्छ। अन्य विविध रोगमा पनि यसको उपयोगिता पाइन्छ। पिपलको रुखमा झण्डै ६० किसिमका रासायनिक तझ्व प्ााइन्छन् जुन औषधीय उपयोगिताका लागि महझ्वपूर्ण छन्। अन्तर्राष्ट्रिय स्तरमा नेपालको राष्ट्रिय रुख चिनाउन विविध विशेषतायुक्त पिपललाई घोषणा गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) नेपालमा कार्यक्रम संयोजक।

प्रकाशित: ७ कार्तिक २०७० ००:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %