१ जेष्ठ २०७८ शनिबार
विचार

वायु प्रदूषणबाट स्वास्थ्यमा बाधा

संयुक्त राष्ट्र संघका अनुसार दशमध्ये नौ जनाले प्रदूषित हावामा स्वास फेर्ने भएकाले मृत्युको एक मुख्य कारण वायु प्रदूषण पनि बनेको छ। प्रदूषणले ग्रस्त वायुमा देख्न नमिल्ने स–साना कण स्वास फेर्दा सिधै फोक्सोमा पुग्छन्। यसले क्यान्सर, निमोनिया, मुटु रोग साथै प्राण घातक रोग निम्त्याउने गर्छ। विश्व स्वास्थ्य संगठनले गरेको अनुमानमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाख व्यक्तिको मृत्यु हुने गर्छ। वायु प्रदूषण हुने विभिन्न कारण छन् जसमा घरायसी काम, कृषिजन्य पदार्थ, कलकारखाना तथा सवारी साधनबाट निस्कने धुवाँ–धुलो र अन्य फोहोर पर्छन्।।

खासगरी शरद ऋतुसँगै बाली भित्र्याउने याम पनि सुरु हुन्छ। खेतबारीमा काटिएका बालीका पराल नष्ट गर्नका लागि उनीहरूले त्यसमा आगो लगाउँछन् जसबाट निकै विषालु धुवाँ वायुमण्डलमा बाक्लिन्छ। यसरी निस्कने धुलो–धुवाँ वायुमण्डलमा मिसिन्छ र ओजोन तहलाई पातलो बनाउँछ। ओजोन तह पातलिएपछि सूर्यका विकिरण सोझै पृथ्वीमा पर्ने भएकाले सम्पूर्ण प्राणी र प्रकृतिलाई नै यसले असर गर्छ। प्रदूषण रोक्न नसके पनि यसलाई न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघ मिलेर काम गरिरहेका छन्। यी दुई संघ मिलेर मुख्य गरी जल र वायु प्रदूषणमा केन्द्रित रहेर काम गरिरहेका छन्। पछिल्लो समय वातावरणमा नकारात्मक परिवर्तन देखिँदै आएको छ।  

अध्ययनअनुसार अस्पतालमा आउने बिरामीहरू वातावरण प्रदूषणका कारण बढ्दै गइरहेका देखिन्छ। वायु प्रदूषणको प्रकोप ठूला भन्दा पनि साना बालबालिका र बूढापाकामा बढी परेको देखिन्छ। स्कुल जाने बालबालिकाले मास्क प्रयोग गरे पनि प्रदूषित हावापानीले उनीहरू शारीरिक तथा मानसिकरूपले कमजोर हुँदै गएका छनर। बढ्दै गएको वातावरणीय समस्याले चाँडै नै प्राकृतिक सम्पदाहरू नष्ट हुने वातावरण विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। यसरी बढ्दै गइरहेको प्राकृतिक सम्पदाहरूकोे विनाश कम गर्नका लागि वातावरणीय क्षेत्रमा काम गर्ने संघ–संस्था र विज्ञहरू लागिपरेका छन्।  

बढ्दो वातावरण हाम्रो वातावरणमा भएका सम्पूर्ण तत्वको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदूषण हो। वातावरणीय प्रदूषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुहरूका अनावश्यक परिवर्तन बुझिन्छ। वातावरणीय प्रदूषण वर्तमान विश्वको एक प्रमुख समस्या बनिरहेको छ। प्राचीन विश्वमा वातावरण मात्रै प्राकृतिक परिवर्तनहरूका कारण परिवर्तित हुन्थ्यो अनि वातावरणमा हुने प्रदूषण पनि प्राकृतिक प्रदूषण हुने गथ्र्यो तर आज पृथ्वीमा भइरहेको जनसंख्या वृद्धि प्रदूषणको मुख्य कारक बनिरहेको छ। जनसंख्याको बढ्दो चापसँगसँगै प्रदूषणका समस्या पनि बढ्दा देखिन्छन्।

प्रदूषण आफँैमा एउटा समस्या हो भने प्रदूषणका कारण उत्पन्न हुने अन्य वातावरणीय समस्याहरू पनि छन्। वातावरणीय प्रदूषणकै कारण पृथ्वीको तापक्रम वृद्धि भइरहेको, अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टि जस्ता विकराल समस्या देखापरिरहेको वातावरणीय अनुसन्धानले पुष्टि गरेको छ। अन्य ठूला समस्या पनि अप्रत्यक्षरूपमा प्रदूषणकै कारण सिर्जिका हुन। प्रदूषणका कारण देखिने यस्ता समस्याले वातावरणलाई थप प्रदूषित गरिरहेका हुन्छन्। प्रदूषणको प्रकृतिअनुसार प्रदूषणलाई प्राकृतिक कारणले हुने प्रदूषण, जस्तै– ज्वालामुखीबाट निस्कने धुवाँ, धुलोले गर्ने प्रदूषण र मानवद्वारा हुने प्रदूषण (जस्तै– फोहोरमैला, आवाज) भनी छुट्याइन्छ। कुरा जे भए पनि प्राकृतिक प्रदूषणका अप्रत्यक्ष कारक पनि मानव नै हुन्।

प्रदूषण हाम्रो वातावरणका हावा, पानी र जमिन सबैमा हुन सक्छ। यी सबै क्षेत्रका प्रदूषण प्रत्यक्ष वा परोक्ष अन्तरसम्बन्धित रहन्छन्। त्यसैले यीमध्ये कुनै एउटा क्षेत्रमा हुने प्रदूषणको प्रत्यक्ष असर त त्यहाँ रहेका प्राणीलाई हुन्छ नै, परोक्ष असर अन्य क्षेत्रका प्राणीलाई पनि हुन सक्छ। जस्तो जमिनमा हुने प्रदूषणले जल प्रदूषणमा पनि भूमिका राख्छ अनि अप्रत्यक्ष असर जलचरलाई गर्छ। आजको विश्व निरन्तर विकासतर्फ उन्मुख छ। 

औद्योगिकीकरण, सहरीकरण, उन्नतिका सूचक मानिन्छन्। तर तीव्र गतिमा भइरहेको यो विकास प्रक्रियाले बढाइरहेको प्रदूषणले विकासभित्र विनाश निम्त्याइरहेका छन्। आधुनिकीकरणसँगै फैलिरहेका उद्योग, कलकारखाना एकातर्फ विकासोन्मुखताका प्रतीक रहे भने अर्कोतर्फ त्यसबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन अभावमा देखिएका समस्या प्रदूषणका प्रमुख कारक बन्दैछन्। आज बढिरहेको प्रदूषणका नकारात्मक असरहरू अहिले भन्दा पनि कालान्तरमा अझ बढ्न सक्ने देखिन्छ। यस कारण पनि वातावरणीय प्रदूषणलाई आमचासोको विषय बनाउनुपर्ने कुराले महत्व पाएको हो।

अहिले विश्व जनसंख्याको चाप निकै तीव्र छ। करिब दश हजार वर्षअघि पृथ्वीमा जनसंख्या करिब ५० लाख भएकामा हाल यो संख्या ६ अर्ब नाघेको एक तथ्यांक देखाउँछ। जनसंख्याको आँकडाअनुसार पृथ्वीमा प्रत्येक घण्टामा ९ हजार जना थपिन्छन्। अर्थात १५० जना प्रतिमिनेटका दरले जनसंख्या वृद्धि भइरहेको छ। जनसंख्या वृद्धिसँगै मानिसका आधारभूत आवश्यकतामा पनि वृद्धि हुन्छन्। गाँस, बास, कपास जस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि पनि प्राकृतिक स्रोतहरूमाथिको परनिर्भरता बढ्ने कुरा सापेक्षित हुन्छ। वन जंगल, वन्यजन्तु, खनिज आदि जस्ता प्राकृतिक स्रोतमाथिको हस्तक्षेपमा पनि वृद्धि हुन्छ। फलतः वातावरणमा त्यसले झनै नकारात्मक असर पुर्‍याइरहेको हुन्छ। वन फँडानी जनसंख्या वृद्धिको कारण विश्वमा उत्पन्न वातावरणीय समस्याको एउटा ज्वलन्त उदाहरण हो।  

मानिस आफू बाँच्नका लागि मात्रै नभई पृथ्वीमै आधिपत्य जमाउन चाहन्छ। यसै सन्दर्भमा मानवले अन्य प्राकृतिक स्रोत सँगसँगै वनजंगल, वन्यजन्तु जस्ता जीवित प्राणीका प्रजातिहरूसँग कुनै किसिमको प्रतिस्पर्धा गरिरहेको हुन्छ। यही क्रममा दिनानुदिन वन क्षेत्रमाथि हस्तक्षेप बढाएर त्यसलाई बासस्थान (आवास क्षेत्र) तथा कृषिका लागि प्रयोग गर्ने क्रम अविकसित देशहरूमा मात्रै होइन, विकसित देशहरूमा पनि बढ्दो छ। एकातर्फ वन क्षेत्र घटाएर त्यसलाई आवास क्षेत्र तथा कृषि भूमिका रूपमा परिणत गरिँदैछ भने अर्कोतर्फ सहरीकरणले कैयौँ खेतीयोग्य ऊर्वर भूमि पनि आवासीय क्षेत्रमा बदलिँदैछन्। यसैले सहरीकरणका कारण पनि खेती उत्पादनको मात्रामा ह्रास आएको नकार्न सकिन्न। खाद्यान्न समस्या पनि अर्को आर्थिक वातावरणीय समस्या हो। सहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछ भन्दा अत्युक्ति नहोला यद्यपि आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन्। आर्थिक–वातावरणीय दृष्टिकोणले हरेक विकास निर्माणका काम निकै चुनौतीपूर्ण हुन्छन्।

पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यसकारण दिगो विकासका निम्ति वातावरण संरक्षण आजको प्रमुख आवश्यकता हो। आर्थिक विकास सँगसँगै वातावरणीय सन्तुलन कायम गर्नु आमचुनौतीको विषय हो। यो चुनौती आज विकसित मुलुकका लागि मात्रै भएर विकासोन्मुख राष्ट्रहरूका निम्ति पनि झनै टड्कारोरूपमा देखिन्छ। हाम्रो जस्तो अविकसित मुलुकका लागि पनि वातावरणीय सन्तुलन कायम गर्नु एउटा चुनौतीपूर्ण सवाल हो। वातावरणलाई सन्तुलन राख्नका निम्ति वातावरणीय प्रदूषण न्यूनीकरणका साथै विकासका पूर्वाधारहरूको उचित व्यवस्था विकासोन्मुख राष्ट्रहरूका लागि आर्थिक दृष्टिकोणले पनि चुनौतीपूर्ण छ।

यद्यपि प्रदूषणको विश्वव्यापी समस्या न्यूनीकरणका लागि यो एउटा सानो प्रयासले ठूलो भूमिका खेल्न सक्छ। आज विकसित राष्ट्रहरूमा फस्टाइरहेका उद्योग, कारखानाले गर्ने प्रदूषणको सिकार अविकसित मुलुकहरू पनि भइरहेको कुरा यथार्थपरक छ। हामी आफैँले गरेको प्रदूषणको असर मात्रै नभई अरूले गर्ने प्रदूषणको असर पनि खेप्नु परिरहेको कुरा स्पष्ट छ। यसकारण वातावरणीय प्रदूषणको असर प्रदूषण गर्नेलाई मात्रै होइन, नगर्नेहरूलाई पनि पर्ने हुनाले वातावरण जोगाउनु हामी सबैको दायित्व हुन्छ। (सेवानिवृत्त वरिष्ठ पशु चिकित्सक)

प्रकाशित: १३ वैशाख २०७८ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?