१ जेष्ठ २०७८ शनिबार
विचार

कोरोना कहरमा चौथो अंग

दृष्टिकोण

कोभिड–१९ ले च्याप्दै लगेपछि अघिल्लो चैत ११ गते सरकारद्वारा लकडाउन घोषणा गरिएको थियो नेपालमा। मितिले यसरी लकडाउन गरिएको १३ महिना पूरा भएको छ। यसबीचमा आजका मितिसम्म संकटबाट पार पाइने कुनै संकेत मिलेको छैन। झन् आजै वा भोलि नै कुनै पनि दिन पुनः लकडाउनको पिँजडामा थुनिनुपर्ने चिन्ताले सताइरहेको छ।

हुन त कोभिड–१९ को प्रभावले सताइनेमा न नेपाल पहिलो मुलुक हो, न त एक मात्र मुलुक नै। विश्वभर यसका भाइरसले कसैलाई सताउन छाडेका छैनन्। भूगोल र क्षेत्रका आधारमा मात्रामा कम र बढी मात्र हो। विडम्बना नै भन्नुपर्छ, विश्वकै सबैभन्दा बढी जनसंख्या पालेर बसेको तथा हाम्रो मित्रराष्ट्र भारतमा डँडेलोसरी फैलिएको कोभिडका असरले नेपाल बढी नै सताइन पुगेको पक्कै हो।

यसरी सताउने क्रममा कुनै पनि क्षेत्र अछूतो छैन। न पर्यटन न त शैक्षिक क्षेत्र, न स्वास्थ्य क्षेत्र न त कृषि नै। यावत् क्षेत्र कोभिडको चक्रव्यूहमा फसेका छन्। लाखौँ मानिस मृत्यु वरण गर्न बाध्य भएका छन्। करोडौँ यसबाट पीडित जीवन बिताउन बाध्य छन्। यस क्रममा न विकसित भनिएका मुलुक जोगिएका छन्, न त आफूलाई आधुनिकताको शिखर चढ्दै गएको दाबी गर्ने मुलुक नै। एक प्रकारले वर्षैभर पक्षघात रोगीको अवस्थामा पुर्‍याइदियो पूरै विश्वलाई। न यता फर्कन सक्ने न त उतै लर्कन सक्ने।

यस्तो अवस्थामा राज्यको चौथो अंग मानिने पत्रकारिता जगत् मात्र चोखो रहन सक्ने कुनै सम्भावनै भएन। खासगरी विपद्का बेला झनै सक्रिय हुनुपर्ने भएकाले मिडिया भनिने चौथो अंग यो अवधिमा झन् धेरै खट्नुपर्‍यो। एकातिर आफू पनि सुरक्षित हुनुपर्ने अर्कोतर्फ सर्वसाधारणलाई सूचित पनि गराउनुपर्ने भूमिकाबाट सञ्चारकर्मी भाग्न मिल्दैनथ्यो। त्यसैले उनीहरूलाई अरूजस्तो घरबाट बाहिर ननिस्कने सुविधा थिएन। यसो गर्नु पेसागत धर्म पनि हुँदैनथ्यो।  

यही भूमिका निर्वाह गर्ने क्रममा सञ्चारकर्मी जुटिरहे। त्यही कारण धेरैलाई कोरोना भाइरसले आक्रमण पनि गर्‍यो। तर पनि उनीहरूबाट आफ्नो जिम्मेवारी निर्वाहप्रति देखिएको भूमिका प्रशंसालायक रह्यो। महामारीको सूचना एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने, सुरक्षित हुने उपायहरू जानकारी गराउने तथा सरकारी निकायहरूको कमजोरी सच्याउन बारम्बार खबरदारी गर्ने भूमिका उनीहरूबाट निरन्तर भइरहे। जसको प्रभाव विभिन्न आवरणमा देखा पनि परेको छ।

विश्वभर यसका भाइरसले कसैलाई सताउन छाडेका छैनन्। भूगोल र क्षेत्रका आधारमा मात्रामा कम र बढी मात्र हो। विडम्बना नै भन्नुपर्छ, विश्वकै सबैभन्दा बढी जनसंख्या पालेर बसेको तथा हाम्रो मित्रराष्ट्र भारतमा डँडेलोसरी फैलिएको कोभिडका असरले नेपाल बढी नै सताइन पुगेको पक्कै हो।  

कोभिडबाट पत्रकारिता क्षेत्रमा पुगेको असरको कुरा गर्दा सञ्चारगृहलाई पनि पन्छाउन मिल्दैन। सञ्चारगृहहरू पनि नराम्ररी प्रभावित भएका छन्। जनविश्वास र मुनाफा आर्जन व्यावसायिक सञ्चारगृहका विशेषता हुन्। जबकि यी दुवै एकअर्कासँग अन्तरसम्बन्धित छन्। मानिस कोरोनाकै कारण घरबाहिर समेत ननिस्कने, बजारहरू बन्द हुने, यातायातका साधन समेत नचल्ने हुँदा पत्रिकाको वितरण खुम्चनु स्वाभाविकै हो। जब पत्रिका नै धेरैको पहुँचमा पुग्दैन भने आफैँ पनि रुग्णता भोगिरहेका उद्योगहरूले विज्ञापन दिने कुरै भएन। त्यसैले यस्तो अवस्थामा मुनाफाको कुरा सोच्न समेत नसकिनु स्वाभाविक हो।  

तर पनि जसोतसो बैंकको किस्ता तिर्दै, व्यवस्थापकीय खर्च व्यवस्थापन गर्दै आफ्ना सञ्चारकर्मी/कर्मचारीलाई पनि चित्त नदुखाउँदै आजका दिनसम्म एक दिन पनि नरोकीकन पत्रिकालाई निरन्तरता दिनु कम्ता चुनौती थिएन। यसका लागि सञ्चारगृहका आमसञ्चारकर्मी, कर्मचारी तथा व्यवस्थापन समूहको सुझबुझपूर्ण तथा सहयोगी भावना जिम्मेवार छ भन्न कदापि हिच्किचाउनु पर्दैन।  

धेरैले आफ्नो समस्याबारे मात्र सोच्ने गर्छन्। असम्बन्धित पक्षको समस्या थाहा हुने विषय पनि भएन। त्यसैले योबीचमा सञ्चारगृहहरू आफैँ पनि सङ्कटबाट गुज्रिरहेका सबैलाई थाहै छ तर पनि कतिपय मानिस यो वास्तविकतालाई बुझ पचाएर सञ्चारगृहप्रति नकारात्मक बनाउन अग्रसर भएका पनि देखिए। तर वास्तविकता केही गरे पनि लुक्दैन। त्यसैले त्यस्ताको प्रयास सफल नहुनु स्वाभाविक थियो।  

सञ्चारगृहको व्यवस्थापनले सारा चुनौती र अप्ठेराहरूलाई थाती राखेर सूचनाको अधिकारका लागि जुनखाले कदम चालिरहे, त्यसलाई पनि बिर्सन मिल्दैन। यस्तो अवस्थामा देखिएको सञ्चारकर्मी र सञ्चारगृह सञ्चालकको मिलिजुली प्रयास नै सर्वसाधारणको सूचनाको अधिकार प्राप्तिमा मुख्य कारक बन्यो भन्दा फरक नपर्ला।

खासमा सञ्चारकर्मी र सञ्चारगृहको परीक्षा हुने नै यस्तै बेलामा हो। जतिबेला समाज स्थिर रहन्छ, कुनैखाले समस्याहरू सामना गर्नुपर्दैन, थिचोमिचो र अन्याय देखिँदैन, सबै कुरा सहजतवरले र नियमसङ्गत तरिकाले चलिरहेको हुन्छ, त्यतिबेला पत्रकारिताको भूमिका गौण हुन्छ। जब मुलुक आपत्विपत्बाट गुज्रन्छ, महामारी जस्ता सङ्क्रमण फैलन्छन्, पीडितको आवाज सरोकारवालासम्म पुर्‍याउनुपर्ने हुन्छ, त्यतिबेला हो पत्रकारिताको खाँचो महसुस हुने। हामीलाई ताजा महामारीका रूपमा उपस्थित कोभिड–१९ ले सिकाएको पाठ पनि यही हो। त्यसैले यतिबेला सञ्चारगृह र सञ्चारकर्मीले निर्वाह गरेका भूमिकाप्रति म निकै प्रभावित छु।  

सोचौँ त, आज पत्रकारिता भन्ने चिज नभएको भए के हुन्थ्यो ? सूचनामा सबैको पहुँच कसरी पुग्थ्यो ? आवाजविहीनका आवाज कसले उठाइदिन्थ्यो ? सरकार र सङ्गठित संस्थाहरूलाई आफ्ना कमजोरी कसरी थाहा हुन्थ्यो ? यी सबै कार्यमा सञ्चार जगत्ले पुर्‍याएको योगदान पक्कै स्तुत्य छ। हो, आफू पनि सङ्कटमा परेका बेला सञ्चारकर्मीले उचित सुविधा पाउन सकेनन्, पाइरहेका सुविधा समेत कटौती भए कतिपय अवस्थामा। तर पनि पेसाको प्रकृति नै यस्तै भएकाले खाली पेट र अभावका बीच पनि सञ्चारकर्मीले जसरी महामारीका बेला सूचना प्रवाह गर्ने आफ्नो मुख्य दायित्व बिर्सेनन्, त्यसको मूल्याङ्क इतिहासले समेत पछिसम्म गर्नेमा शङ्का छैन।

यसरी निर्बाध सूचना प्रचारप्रसार गर्न सक्नुमा सञ्चारगृह सञ्चालकको पनि कम योगदान छैन। आफूलाई अप्ठेरो पर्दा वा घाटामा गएको बहानामा सञ्चारगृह नै बन्द गरिदिने हो भने सूचना प्रवाह प्रभावकारी र नियमित नहुन पनि सक्थ्यो। तर सञ्चारगृहको व्यवस्थापनले सारा चुनौती र अप्ठेराहरूलाई थाती राखेर सूचनाको अधिकारका लागि जुनखाले कदम चालिरहे, त्यसलाई पनि बिर्सन मिल्दैन। यस्तो अवस्थामा देखिएको सञ्चारकर्मी र सञ्चारगृह सञ्चालकको मिलिजुली प्रयास नै सर्वसाधारणको सूचनाको अधिकार प्राप्तिमा मुख्य कारक बन्यो भन्दा फरक नपर्ला।  

विज्ञापनमा आएको कमी, वितरणमा देखिएको समस्या तथा अन्य अत्यावश्कीय सामग्री जुटाउन झन्झटिलो प्रक्रिया जस्ता कारण ३–४ रूपैयाँमा पाइने एकप्रति पत्रिका तयार पार्न २५–३० रूपैयाँ लगानी गर्नुपर्ने वातावरण सिर्जना भयो। तर पनि सञ्चारगृहहरूले हरेस नखाई जुन प्रकारको जोखिम मोले, यसका बारेमा पनि कमै मात्र समीक्षा भएको देखिन्छ। जबकि समाचारजन्य सामग्री उत्पादनदेखि वितरण र प्रयोगसम्म पत्रिका बाँड्ने वितरकदेखि सञ्चारकर्मी हुँदै सञ्चारगृहको व्यवस्थापन पक्षसमेतको उत्तिकै भूमिका हुन्छ। कुनै पनि पक्षलाई पन्छाइदिने बित्तिकै यो प्रणाली अधुरो हुन्छ। त्यसैले सञ्चार क्षेत्रको कुरा गर्दा यो पक्ष बिर्सन मिल्दै मिल्दैन।  

सबैलाई थाहा छ, प्रभावकारिता, खटाइ, क्षमता आदिका आधारमा नेपालका सञ्चारकर्मीको उचित मूल्याङ्कन हुन सकेको छैन। पछिल्लो पटक पढे/लेखेका क्षमतावान् व्यक्तिहरूको यो पेसाप्रति अभिरुचि क्रमशः बढिरहेको छ तर यस्तो जनशक्तिलाई टिकाउन सञ्चारगृहहरूसामु चुनौती छ। त्यसैले कोभिड–१९ लगायतका कारण खराब अवस्थाबाट गुज्रिरहेका सञ्चारगृहलाई पनि सबै पक्षबाट सहयोग आवश्यक छ। यस्तो सहयोग आमपाठक वर्गदेखि सरकारसम्मको हातमा छ। सङ्कटमा वास्तविकता बुझिदिनु मात्र पनि ठूलो सहयोग हुने रहेछ। जुन कुराको महसुस कोरोनाका कारण सिर्जित लकडाउनका बेला हुन सक्यो। यस्तै प्रवृत्तिलाई निरन्तरता दिन सकियो भने आगामी दिन योभन्दा ठूला विपत्ति आइपरे पनि सञ्चार क्षेत्र आफ्नो रणमैदानबाट विचलित हुनुपर्ने देखिन्न। कोरोना कहरका बीच सञ्चार क्षेत्रले महुसस गरेको सबैभन्दा ठूलो विषय यही हो जस्तो लाग्छ।

प्रकाशित: ११ वैशाख २०७८ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?