१ असार २०८३ सोमबार
image/svg+xml
विचार

नेपाली शिक्षामा सूचना प्रविधि

कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सिएसआइटी) विषय लिएर नेपालमा स्नातक गर्ने प्रथम समूहका विद्यार्थी कुशल गौतम अहिले सूचना प्रविधिका क्षेत्रमा भिजिसकेका छन्। उनी हाल जानकी टेक्नोलोजीमा प्राविधिकका रूपमा कार्यरत् छन्। उनी 'द न्यु समिट स्कुल' का उत्पादन हुन्। 'अपडेटेड', अनुसन्धानमूलक र प्रयोगिक विषय भएकाले यसले बजारको मागलाई सम्बोधन गर्ने भएकाले युवा पुस्ताका व्यक्तिहरु यसमा आकर्षित हुन थालेका हुन्।नेपालमा त्रिभुवन विश्वविद्यालयबाहेक अर्काे विश्वविद्यालयले यस विषयमा उच्च शिक्षा अध्ययनको स्वीकृति दिएका छैनन्। चर्चित 'फोर्ब्स' पत्रिकाले हालै गरेको सर्वेक्षणमा विश्वका १० उत्कृष्ठ रोजगारमध्ये सफ्टवेयर उत्पादकनकर्ता प्रथम स्थानमा रहेको तथा दोस्रो र तेस्रो स्थान पनि यही क्षेत्रले पाइएकामा गौतमजस्ता युवा विद्यार्थी उत्साहित छन्।
नेपालमा विद्यालय तहमा यस्ता विषयको औपचारिक अध्ययनको थालनी नभए पनि अतिरिक्त क्रियाकपालका रूपमा यस विषयले प्रवेश पाइसकेको छ। सरकारले ल्याएको ई पुस्तकालय र ई लर्निङलगायतका कार्यक्रमले केही सामुदायिक विद्यालयको स्तर माथि उकास्न पनि मद्दत मिलेको छ। चालू आर्थिक वर्षका लागि सरकारले विद्यालयमा सूचना प्रविधिका लागि एक अरब बजेट विनियोजन गरेको छ। तर कार्यान्वयन सुरु भइसकेको छैन। यसका लाग शिक्षकहरुलाई तयारी गराउन सरकारले कुनै कार्यक्रम ल्याएको छैन किनकि सबै शिक्षक धादिङका लक्ष्मण शर्माजस्ता अपडेटेड त पनि छैनन्। 
सरकारले हाल कार्यान्वयन गरिरहेको महत्वाकांक्षी कार्यक्रम विद्यालय क्षेत्र सुधार कार्यक्रम (२०६६–०७२) मा सूचना सञ्चार प्रविधियुक्त शिक्षण सिकाइको जिम्मा शिक्षा विभागलाई दिइएको छ। तर दस्तावेजमा यसमा 'तत्कालका लागि यस कार्यक्रममा बजेट प्राप्त छैन' भन्ने उल्लेख छ। चालू वर्षमा विनियोजन गरिएको एक अरब रुपियाँ पनि साँच्चिकै सबै विद्यालयमा काम गर्ने हो भने अपुग नै हुन्छ । दस्तावेजले 'सूचना आदान प्रदान तथा सचेतनाका लागि सम्बन्धित सञ्चार माध्यमको उपयोग गरी राष्ट्रिय तथा स्थानीय तहका साक्षरता अभियानलाई निरन्तर रूपमा सञ्चालन गरिनेछ' जनाउनुलाई चाहिँ सकारात्मक रूपमा लिन सकिन्छ। 
नेपालमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सिएसआइटी) मा स्नातक तह अध्ययनप्रति अभिभावक तथा विद्यार्थीप्रति चासो बढ्नुले अबको युगलाई हाँक्न सक्ने वर्गको रुचिलाई स्पष्ट पार्छ। नेपाल सन् १९९२ स्थापित नेपालमा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) क्यान इन्फोटेक र सफ्टेकजस्ता प्रदर्शनी गरेर पनि यस क्षेत्रका आमजनसमुदायको चासो बढाएको हो। पछिल्लो समयमा सरकारले पनि यस्ता कार्यक्रमलाई महत्व दिन थालेको छ। उदाहणका लागि 'विज्ञान र प्रविधि देशको उन्नति' भन्ने नाराका साथ यही असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ। शिक्षा मन्त्रालय, शिक्षा विभागले शिक्षामा सूचना र सञ्चार प्रविधिको प्रयोगका लागि विद्यालयमा कम्प्युटरको व्यवस्था तथा इन्टरनेट जडान गरी आइसीटीको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप अझ प्रभावकारी बनाउने उद्देश्यले जिल्लास्तरमा पूर्वाधार एवं इन्टरनेट विकास तथा विस्तार कार्यक्रम पठाएको छ। सोको प्रगति विवरण भने शिक्षा विभागमा आइसकेको छैन। सरकार र ओपन लनिङ सोसाइटीको सहयोगमा केही वर्ष पहिलो विद्यालयहरुमा 'वान ल्यापटप पर चाइल्ड' कार्यक्रम पनि थालनी भएको थियो। बाग्लुङका महावीर पुन तथा हाल अमेरिकामा रहेका प्राध्यापक शिव गौतमहरुको सहयोग उल्लेख्य छ। 
विद्यालय तहमा सूचना प्रविधिको प्रयोग चर्चासँगै कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक तहको पाठ्यक्रम विश्व बजारसापेक्ष र प्रभावकारी हुन थालेको पाइएको छ। त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय एवं सिएसआइटी कलेज एसोसिएसन नेपाल (सिकोन) ले केही दिनअघि काठमाडौंमा आयोजना गरेको गोष्ठीमा विज्ञहरुले को सान्दर्भिकता बढ्दै गएको बताएका छन्। त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन चिरिकशोभा ताम्राकारले हाल सान्दर्भिक बन्दै गएको यस कोर्सबारे थप जागरण ल्याउन सकेमा लोकसेवा आयोगले कम्युटर इञ्जिनियरिङ र कम्प्युटर सफ्टवेयरमा फरकफरक दरबन्दी खडा गरी विज्ञापन गर्ने थाल्ने जनाउनुभयो। त्रिविले आफ्नो शैक्षिक क्यालेन्डरलाई प्रभावित नपार सिएसआइटीजस्ता विषयलाई चार वर्षभित्रै पूरा गराउने व्यवस्था गर्ने प्रतिबद्धता व्यवहारमा देखाउनु अहिलेको चुनौती हो। 
नेपालमा हाल विज्ञान संकायमा बीएस्सी सिएसआइटी विषयमा स्नातक पढाइ हुने विभिन्न २६ वटा कलेज छन्। दश जोड दुईमा विज्ञान विषय उत्तीर्ण विद्यार्थीले यस चार वर्षे कोर्समा भर्ना पाउन सक्नेछन्। यो वर्षबाट कक्षा १२ मा कुनै एक विषय लागेका विद्यार्थीले पनि बिएस्सी सिएसआइटीमा प्रवेश परीक्षाको आवेदन फारम भर्न सक्नेछन्। यस कार्यक्रमले गहन सैद्धान्तिक ज्ञान तथा डिजाइन, प्रोग्रामिङ र कम्प्युटर एप्लिकेसनमा उच्च डिग्री प्रदान गर्ने लक्ष्य राखेको छ। त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट विज्ञान विषयमा दशजोड दुई वा प्रमाणपत्र तह उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालयले अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उत्तीर्ण भएको विद्यार्थीले यो विषय अध्ययन गर्न सक्छन्। तर यस तहमा विद्यार्थी एकैपटक आउन सक्दैनन्। यसका लागि विद्यालय तहको पाठ्यक्रम सूचना प्रविधिमैत्री हुनुका साथै विद्यालयको पूर्वाधार र शिक्षण पद्धतिलाई नै युग सुहाउँदो बनाउन आवश्यक छ।

प्रकाशित: २७ भाद्र २०७० ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %