८ वैशाख २०७८ बुधबार
विचार

सीमा नक्सा संग्रह पढेपछि

आखिर बुद्धिनारायण न हो, बाह्रौँ कृति सीमा नक्सा संग्रह पनि प्रकाशित गरिछाडे। अब तेह्रौँ कृति के आउँछ प्रतीक्षामा छन् बुद्धिनारायण श्रेष्ठलाई आफ्नो भन्नेहरू। नेपाली संस्कारमा आठ बाह्रलाई राम्रो मानिँदैन। सीमानक्सा संग्रह बाह्रौँ परेछ। यो पनि एउटा निहुँ भो अर्को कृति प्रकाश गर्न। म त यसो भनेर हुटहुटी लाउने मनुवा न हुँ। परिश्रम गर्ने, बुद्वि घोट्ने त अन्ततः बुद्धिनारायण ओखलढुंगे नै हो। छोरी अनु र ज्वाइँ विमल जोशीका दुई थुंगा फूल निर्भीक र नीलनले संयुक्त राज्य अमेरिकाको भर्जिनियामासार्वजनिक गरेछन्। बधाई र हार्दिकता। अमेरिकामा लेखक, ग्रन्थकार भनेपछि ठूलै इज्जत, ठूलै सम्मान हुँदोरहेछ। आप्mना मावली बाजे ग्रन्थकार भनेपछि ती नातिद्वयको पनि व्यक्तित्व अग्लिने नै भो। यी सबै तारतम्य मिल्ने मूल जरो त अन्ततः बुद्धिनारायण नै हो। मैले पाएको उनका कुनै कृतिमा पनि जन्म मिति पाइन र मन थाम्न नसकेर सोधेँ। बुद्धिनारायण वि.सं. १९९८ वैशाख १७ गते अक्षय तृतीयाका दिन जन्मिएका रहेछन्।  

आधिकारिकताका लागि पनि

सरसर्ती विचार गर्दा अन्ततः सीमानक्साको संग्रह हो। यो कुनै पनि राष्ट्रको सीमा भनेको जन्मकुण्डली हो, आमा हो, बाबु हो, सम्पत्ति मात्र होइन, सर्वस्व हो। छिमेकी वा सँधियारहरू राम्रो हुँदासम्म यस्तानक्साको खासै तात्पर्य रहेनपनि रहेनछ। तर छिमेकीले सानो मन गर्‍यो, छिमेकीको सम्पत्ति र सम्पदाउपर आँखा गाड्यो भने सीमानक्सा मूल आधार र अकाट्य दशी प्रमाण हुँदोरहेछ। त्यसैले आज बुद्धिनारायणहरूको विशेष औचित्य सावित भएको छ। एउटा बुद्धिनारायणले नेपालको पक्षमा बोलेर, लेखेर, नक्साहरू संकलन एवं प्रकाशन गरेर देशको अखण्डता अक्षुण राख्न महत्वपूर्ण योगदान गरेका छन्।

बुद्धिनारायण पुरानो पुस्ताका परे। अर्का युवा मित्र बझाङ्गी रतन भण्डारीले पनि आक्रमणको चपेटामा लिम्पियाधुरा/लिपुलेक भन्ने नाममा ऐतिहासिक अभिलेख संग्रह नामको कृति प्रकाश गरेर देशभक्तिको परिचय दिएछन्। यस्तै नयाँ नयाँ पालुवा मौलाएर पुरानो पुस्तालाई आफ्नो बौद्धिक उत्ताराधिकारी उत्पत्ति भो भनी सन्तुष्ट हुने स्थिति खडा हुनु राम्रो लाग्छ। नेपालको नापी विभागमा जीवन समर्पित गरेका र अहिले पनि त्यही नाताले निवृत्तिभरण पाइरहेका पुष्पप्रसाद ओली, तोयनाथ बरालहरूले यस्तै कृति नेपाली समाजलाई दिए क्या राम्रो हुने थियो। विषयविद्हरूले लेख्दा त्यस्ता कुराले आधिकारिकता पाउने म जस्ता बाहिरका मान्छेले लेख्दा त्यो स्तर आउँदैन। त्यो विषयका गहिराइमा बाहिरका मान्छे अपवादमा माथि पुग्न सक्छन्।  

संविधान संशोधन सर्वसम्मतिमा

प्रस्तुत सीमा नक्सा संग्रहमा ९० वटा नक्सा संग्रहित छन्। यहाँ दिइएका नक्साले नेपाल–भारतबीचको सीमा विवाद निक्र्योल गर्न यथेष्ट सहयोग पुग्ने कुरामा कुनै शंका छैन। नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले कब्जा गरेको सन्दर्भमा त्यो हाल अतिक्रमित क्षेत्र निर्विवाद नेपालको हो भन्ने पुष्टि गर्नु बुद्धिनारायण श्रेष्ठले नक्साहरूका अतिरिक्त ब्रिटिसकालीन केही चिठीपत्र, तिरो तिरेका रसिदहरू जस्ता पुराना अकाट्य प्रमाणहरू पनि मिसाएर सुनमा सुगन्ध थप्ने काम गरेका छन्। 

उनी त्यो क्षेत्रलाई गे्रटर कालापानी क्षेत्र भन्न रुचि राख्छन्। यी नक्सा सजिलोसँग प्राप्त भएका छैनन्। कति ठाउँमा त महँगो शुल्क तिरी प्राप्त भएका छन्। यो संग्रहमा भारतले एकतर्फीरूपमा गतवर्ष कात्तिक १६ गते नेपालको ३७२ वर्ग किलोमिटर क्षेत्रफल जबर्जस्ती आफ्नोमा गाभी प्रकाशित गरेको नक्सापछि स्थितिले नयाँ मोड लिएको हो। 

नेपाल सरकार तातेकै थिएन। तर स्वनाम साथीको अग्रसरतामा ज्येष्ठ नागरिक बाहुल्य भएको सीमा बचाउ अभियानले उक्त अतिक्रमित भूभागसमेत समावेश गरी नक्सा बनाइ नेपाल सरकारलाई हस्तान्तरण गरेपछि सरकार तात्यो र २०७७ जेठ ७ गते संशोधित नक्सा प्रकाशित गर्‍यो। त्यसका लागि संविधान नै संशोधन गर्नुपर्ने रहेछ। संघीय संसद्बाट त्यो संशोधन सर्वसम्मतिले पारित गरियो। संसद् हो, धेरै कुरामा मत/मतान्तर भएपनि उक्त संशोधन त्यसरी पारित हुनु भनेको जो जो जुन जुन राजनीतिक सिद्घान्त र पार्टीका भएपनि राष्ट्रको अखण्डताको मुद्दामा एक भए। यसमा प्रसन्न हुनुपर्छ भन्ने लाग्छ। यो देश भक्तिको राम्रो उदाहरण हो।  

भारतीय चरो मुसो पनि थिएन  

नक्साविद्, सीमाविद्, भूगोलविद्, जे जे भनेपनि बुद्घिनारायण श्रेष्ठले नेपालको प्रशासकीय नक्सा पहिले नेपालबाट कहिलेदेखि क–कसले नेपालमै बनाए होलान भन्ने जिज्ञासा हुनुपनि सामान्य कुरा नै भो। यस विषयमा खास पुराना लिखत भेटिँदैनन् तथापि ‘बूढो म¥यो, कुरो सर्‍यो’ भन्ने नेपाली उखानझै वि.सं. १८६४ मा रणबहादुर शाहको राज्यकालमा सुगौली सन्धि हुनुभन्दा नौ वर्षअघि सन् १८०७ मा केशव गुरुङले अङ्कन गरी प्रकाश गरेको तिष्टा र काँगडासम्म फैलिएको विशाल नेपालको सम्पूर्ण भूभाग समेटिएको लमतन्ने आकारको नक्सा थियो रे। यस नक्साबारे उनले अरू पनि कुरा लेखेका छन् जुन सीमा नक्सा संग्रह पढ्दा बोध हुन्छ। त्यतिबेलाका शासक र प्रशासनले पनि नक्साको आवश्यकता बुझेको यसबाट स्पष्ट हुन्छ। नेपालको पहिलो नक्सा २००६ सालमा नै आधुनिक जनगणनाका लागि तयार पारिएको रहेछ तत्कालीन संख्या विभागबाट। त्यही नक्सा २०१४ सालमा प्रकाशित २००९–२०११ सालमा लिइएको आधुनिक जनगणनाको प्रतिवेदनमा छापिएको कुरा पनि स्पष्ट उल्लेख गरेका छन्। सत्यमोहन जोशी जनगणनाका लागि नक्सा कोर्दै गरेका तस्बिर पनि छ सीमा नक्सा संग्रहमा।  

२०१८ सालमा मैले दार्चुला, बैतडी, डडेल्धुरा, डोटी र बझाङको जनगणना गराउँदा केन्द्रीयतथ्यांक विभागका डाइरेक्टर थीरबहादुर रायमाझीले पनि त्यो क्षेत्रको आफैँले कोरेको नक्सा मलाई दिएका थिए। जसअनुसार दार्चुलाकोव्यास गर्खाका नाबी, गव्र्याङ, बुदी आदि क्षेत्रको जनगणना गराएको थिएँ। २०१८ साल असारसम्म कालापानी, लिपुलेक र सम्पूर्ण लिम्पियाधुरा क्षेत्र निर्विवाद नेपालको थियो। त्यो भूभागमा भारतको ब्यारेक त के चरो मुसो केही पनि थिएन। बुद्घिनारायण श्रेष्ठ लेख्छन्– ‘राष्ट्रिय सुरक्षाका सन्दर्भमा सीमा व्यवस्थापन नामको पुस्तक विमोचन कार्यक्रममा पुस्तक समीक्षकमध्ये पूर्वराजदूत जर्नेल भरतकेशर सिंह पनि थिए रे।’ उनले भनेका थिए रे– कालापानी क्षेत्रमा सन् १९६० को दशकमा ७ अथवा ८ भारतीय सैनिक तैनाथ थिए। 

अहिले त पूरा बटालियन नै छ। प्रमाणले पुष्टि गरेअनुसार कालापानी नेपालको हो भनी भारतसँग कुरा उठाउनुपर्छ।’ सिंह सन् १९६१–१९६२ मा नेपाल–चीन सीमांकनमापनि संलग्न रहेछन्। यो अर्को ज्युँदो प्रमाण होइन र? उनी लेख्छन्– ‘यसबाट दरवारले स्पष्ट के निर्देशन दियो म भने स्पष्ट हुन सकिन। यो के हो स्पष्ट हुनुपर्ने।’नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले लेखेका छन्–‘हाम्रो पश्चिमतर्फकाे नक्सा लिम्पियाधुरासम्म बनाइएन। संवत् २०३१ सालमा राष्ट्रिय योजना आयोगले भारतको नक्सा कपी गरेर नेपालको राष्ट्रिय नक्सा तयार गर्न र विकास क्षेत्रसहितको क्षेत्रीय नक्सा बनाउन नापी विभागलाई निर्देशन दियो।

नक्सा बनाउने जिम्मा मैले पाएँ। म भर्खरै अफिसर भएको थिएँ। तीनवटा सिटमा राखेर नेपालको सम्पूर्ण नक्सा तयार भयो। प्रिन्ट गर्नुभन्दा पहिले हाम्रो सिमाना कहाँकहाँ राख्ने भनेर सोध्नुपर्‍यो। कालापानी र सुस्ताको नक्सामा खाली राखेर बाँकी तयार पार्‍यौँ। लिम्पियाधुरातिरको भाग खाली राखेर नक्सा तयार भयो। अर्थात् नक्सामा लिम्पियाधुरासम्म राख्ने हाम्रो मनसाय थियो। तर दरबारले हामीलाई गाली गर्‍यो। दरबारबाट भनियो,तपाईँहरूलाई आफ्नो देशको सिमाना थाहा छैन ? किन खाली राखिएको ? पछि कालापानीसमेत समेटेर लिपुलेकसम्मको नक्सा बनाउने आदेश आयो। भारतसँग छलफल गर्दै जाने र पछि लिम्पियाधुरासम्म सहमति भएपछि त्यहाँसम्मको नक्सा बनाउने भनियो। सुस्ताको हकमा पनि १८६७ अघि नारायणीको पुरानो सिमाना रौवा घोलालाई मानेर अघि जाने निर्णय भयो।’ माथिका कुराले म नक्साबारे स्पष्ट हुन सकिन।  

दुर्लभ सामग्री संकलन

बुद्घिनारायण फेरि लेख्छन्–‘नापी विभागलाई द्विविधा भइ खुँडे नक्सा बनाएर अड्किएको थियो। तत्कालीन पदाधिकारीले खुँडे पनि होइन, चुच्चे पनि होइन, तर बुच्चे नक्सा बनाउनुपर्ने। भारतले चाहिँ त्यसलाई पनि थेप्चे पारेर नेपालको सीमा अतिक्रमित नक्सा बनाएको छ। नापी विभागको २२ वर्षसम्मको अधिकृत र पाँच वर्ष महानिर्देशकको उत्तरदायित्व समालेका बुद्घिनारायणको यो सीमा नक्सा संग्रहको ४४ पृष्टको प्रस्तुतिबाट म स्पष्ट हुन सकिन। 

सन १८५६ को नक्सामा जंगबहादुरको नक्सा संलग्न गरी लिम्पियाधुराबाट उद्गमित नदीलाइ नै काली लेखिएको छ। अहिले नै भारतले किन नयाँ नक्सा निकाल्यो भन्ने प्रश्न पनि उठेको छ। भारत–चीनबीच ठूलो व्यापार छ। हवाई मार्गद्वारा वस्तुको व्यापार निकै खर्चालु हुन्छ। जलमार्ग पनि सस्तो छैन। तसर्थ उक्त लिपुलेकवाला भूमार्ग भयो भने माल निकै सस्तो पर्ने हुँदा यो परिस्थिति बनेको भन्ने छ।  

बुद्घिनारायणका नयाँ कृति र सीमानक्सासंग्रह गम्भीर भएर पढेमा अत्यन्त उपादेय छ भन्ने लाग्यो। यस ग्रन्थमा समाविष्ट नक्साहरू त्यति सजिलैसँग अन्यत्र एकै ठाउँमा पाउन सकिँदैन। सलाम छ उनलाई, यस्तो दुर्लर्भ सामग्री संकलन गरी सार्वजनिक गरेकामा। तैपनि नेपालको चुच्चे नक्सा हुनुपर्नेमा कसको निर्देशनमा बुच्चे नक्सा निस्क्यो, त्योप्रष्ट पाइन।

प्रकाशित: १७ चैत्र २०७७ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?