६ वैशाख २०७८ सोमबार
विचार

विज्ञान, स्वास्थ्य र समाजशास्त्र

विज्ञानको विकास र देशको शक्तिबीचको अन्तरसम्बन्धका विषयमा संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ् बिस्कान्सनका प्राध्यापक जे रोजर्स हलिड्ग्सबर्थलगायतका अनुसन्धानकर्ताले सन् २००८ मा जर्नल ‘नेचर’ मा एउटा लेख प्रकाशित गरे। विगत ४ शताब्दीको तथ्यांक संकलन गरी कसरी वैज्ञानिक अन्वेषणले राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षितिजमा शक्तिशाली बनाउँछ भनी प्रस्तुत गरिएको उक्त आलेख तथ्यगतरूपले खँदिलो मात्र देखिएन, बरु उक्त आलेखले अर्को शताब्दीमा विश्वको बादशाह को बन्ला भन्ने प्रक्षेपणसमेत गर्न भ्यायो।

सत्रौँ शताब्दीदेखि अठारौँ शताब्दीको मध्यसम्म फ्रान्स विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र थियो। त्यसबेला फ्रान्स विश्वको सर्वाधिक तागतिलो देश हुनुको मुख्य कारण तत्कालीन वैज्ञानिक आविष्कारमा फ्रेन्चहरूको मुख्य भूमिका हुनु देखियो। पछि शक्ति सञ्चयका लागि साइन्स महत्वपूर्ण हुने ठहर गर्‍यो जर्मनीले। अनि वैज्ञानिक अनुसन्धानलाई महत्व दियो, साइन्टिफिक रिसर्चमा रकम खर्चियो। जसै वैज्ञानिक अनुसन्धानमा जर्मनीको योगदान बढ्दै गयो शक्ति केन्द्र विस्तारै फ्रान्सबाट जर्मनीतिर सर्‍यो। त्यसैबीचमा जर्मनीले ‘म्याक्स प्ल्याड्क’ जस्ता अनुसन्धानकेन्द्रित विश्वविद्यालय खोल्यो। अठारौँ शताब्दीको उत्तराद्र्धदेखि सन् १९२० सम्म जर्मनीको चकचकी रह्यो विज्ञानमा। उक्त यथार्थलाई सन् १९०१ मा वितरण प्रारम्भ भएको संसारकै सर्वाधिक माननीय नोबल पुरस्कारको विवरणले उजागर गर्‍यो। प्रारम्भिक एघार वर्षमा १३ जर्मनी वैज्ञानिकले रसायनशास्त्र, भौतिकशास्त्र तथा आयुर्विज्ञान विद्याको नोबल पुरस्कार पाउनुले जर्मनको अनुसन्धानबारे बोल्छ नै।  

व्यापारिक जालो फिजाउँदै संसार जित्ने अभियानमा लागेको ब्रिटेनले शक्तिका लागि ‘बिजनेस’ को सफलता मात्र पर्याप्त नहुने बरु ‘साइन्स’ को योगदान उच्चतम रहने ठहर गर्‍यो। अनुसन्धानकेन्द्रित अध्ययन/अध्यापनमा जोड दियो बेलायतले। परिणमस्वरूप ‘इलेक्ट्रोन’ को अस्तित्व पत्ता लगाउने जे जे थोम्सनदेखि बिलियम ब्र्याग, फ्रेडरिक हप्किन्स, फ्रेडरिक सोडी जस्ता विश्वविख्यात वैज्ञानिक जन्मायो बेलायतले। वैज्ञानिक आविष्कारले बेलायतको विश्व विजय अभियानमा थप योगदान पुर्‍यायो। तर जसै सामाजिक सजगता बढ्दै गयो, बेलायतको थिचोमिचो खप्न उपनिवेशहरू तयार भएनन्। स्वतन्त्रता अभियान चल्यो। उपनिवेश संकुचित बन्दै गयो, बेलायतको आम्दानी  घट्यो। अनुसन्धानमा विनियोजित रकम घट्यो। बेलायती अनुसन्धान खुम्चियो।  

दोस्रो विश्वयुद्धको समाप्तिपछि संयुक्त राज्य अमेरिका आर्थिक महाशक्तिका रूपमा स्थापित भयो। अनि अनुसन्धानमा खोलाझै पैसा बगायो। वैज्ञानिक अन्वेषणको अवसरले विश्वका उत्कृष्ट दिमागहरू अमेरिका भित्रिए। संसारकै ‘क्रिम’ मस्तिष्कका कारण अब्बल दर्जाका अनुसन्धान भए। अन्वेषणमा अमेरिका अग्रणी बन्न पुग्यो। उदाहरणका लागि, विगत ५ दशकदेखि विज्ञान विधामा प्रदान गरिने ‘नोबल तथा लस्कर’ जस्ता प्रतिष्ठित ‘प्राइज’ मा अमेरिकाको वर्चश्व छ। हालैको एउटा सर्वेक्षणले संसारका उच्चतम १ प्रतिशत ‘रिसर्च आर्टिकल’ मध्य ५० प्रतिशत हिस्सा अमेरिकाको रहेको देखियो भने संसारको कुल वैज्ञानिक अनुसन्धानको ३० प्रतिशत अमेरिकामा हुने गरेको पाइयो।  

धनी राष्ट्रले अनुसन्धानमा लगानी गर्ने, उत्खननमार्फत आर्जित ‘प्याटेन्ट’ मा आधारित उत्पादन बेचेर थप पैसा कमाउने, अनि मुनाफा रकमलाई फेरि लगानी गर्ने ‘साइकल’ का कारण धनी देश अझ सम्पन्न हुने हो। जस्तो कि भारतमा उत्पादित ‘कोल्गेट’ टुथपेस्ट नेपालको बजारमा बिक्री हुँदासमेत त्यसको मुनाफा न्युयोर्क मुख्यालय भएका कारण संयुक्त राज्य अमेरिका पुग्छ।  

फाइजर र मोडर्ना कोरोना भाइरसको भ्याक्सिन उत्पादन गर्ने अग्रणी कम्पनी हुन। उत्पादित भ्याक्सिनको प्रभावकारिताका कारण संसारकै प्राथमिकतामा छन् उनीहरूले उत्पादन गरेका खोप। ती भ्याक्सिन धेरै देशमा उत्पादन हुने अनि संसारभर बिक्री वितरण हुने निश्चित छ। फाइजर र मोडर्ना अमेरिकी कम्पनी भएकाले बिक्रीबाट आएका मुनाफा अन्ततः संयुक्त राज्य अमेरिका नै आउने हो। संसारको सर्वाधिक धनी देश अझ सम्पन्न मुुलुक बन्ने हो। पैसाको तागतले शक्तिशाली अझ प्रभावशाली बन्न पुग्छ।  

अनुसन्धानले मुलुक सम्पन्न र शक्तिशाली बन्ने भए पनि रिसर्चका लागि भने धेरै धनराशि खर्चनुपर्ने हुन्छ। आधारभूत आवश्यकता धान्न नै कुल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा खर्चनुपर्ने भएकाले विपन्न मुलुकका लागि अनुसन्धान खर्च धान्न कठिन हुन्छ। त्यसैले गरिब मुलुकले खर्चिला ‘स्टेट अफ् द आर्टस’ अनुसन्धानमा रकम खर्चिनु भन्दा स्थानीय स्रोत तथा साधनमा गर्न सकिने अन्वेषणमा जोड दिनुपर्ने सल्लाह दिन्छन् विज्ञहरू। हाम्रो परिवेशमा भन्नुपर्दा नेपालमा मात्र उत्पादन हुने ‘मेडिसिनल भ्यालु’ भएका जडीबुटीको अध्ययन एक उदाहरण बन्न सक्छ। अन्यत्रसँग प्रतिस्पर्धा गर्नु नपर्ने भएपछि त्यस्ता अनुसन्धान नेपालका लागि लाभप्रद् हुने नै भयो।  

कोरोना नियन्त्रणका लागि खोप आवश्यक देखियो। फाइजर, मोडर्नालगायतका खोप निकै प्रभावकारी देखिएपछि कोभिड–१९ समस्या छिटै नै समाधान हुने आशा गरियो। तर कोभिड–१९का धेरै ‘भेरियन्ट’ हरू संसारका विभिन्न भागमा देखिए। नवीन चरित्रका भाइरसलाई प्रथम पुस्तालाई लक्षित गरी बनाइएको खोप प्रभावकारी नहुने देखियो। अणुवांशिक पदार्थ ‘आरएनए’ मा आधारित भाइरसले आफैँ नासिएबाहेकको अवस्थामा अनवरतरूपले आफ्नो स्वरूप परिवर्तन गरिरहन्छ। यद्यपि, रफ्तारका सम्बन्धमा भने एकीनका साथ भन्न कठिन छ। त्यसैले, स्वयं नासिएको अवस्थादेखि बाहेक भाइरसले आफ्ना आकृति फेरिरहने अनि नवीन चरित्रको खोप बजारमा आइरहने क्रम नरोकिन सक्छ। त्यस्तो अवस्थामा गरिब मुलुकको कुल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा खोप अभियानमै सकिन्छ। नेपाल जस्ता गरिब मुलुकमा पहिलेदेखि नै जीर्ण ‘हेल्थ सेक्टर’ अझ दयनीय अवस्थामा पुग्छ।  

दशकौँको अध्ययन/अनुसन्धान अनि बर्सेनि खरबौँ डलर खर्चँदासमेत क्यान्सरको इलाजमा खासै उन्नति/प्रगति नहुँदा मेडिकल साइन्सले सबै आयुर्विज्ञानका समस्या निराकरण गर्न सक्दैन भन्ने मान्यता छ। अहिलेसम्म भएका कारोनासम्बन्धी अनुसन्धान र अन्वेषणका प्रकाशनलाई विचार गर्दा विज्ञानले कारोनालाई ठेगान लगाउन सक्ला भन्ने कुरामा शंका देखियो। त्यस्तो अवस्थामा कस्तो रणनीति लाभप्रद् होला त भन्ने जनचासो अस्वाभाविक भएन।  

जब साइन्सले वैज्ञानिक समस्याको समाधान गर्न कठिन हुन्छ तब ‘सोसियल साइन्स’ लगायतका अन्य समाजिक संयन्त्रको सहारा अपरिहार्य बन्छ। निको नहुने अर्बुद रोगको इलाजमा गरिबले आफ्नो घरबार धरौटी राखेर अस्पतालको बिल भुक्तानी गर्ने, पछि बिरामी पनि सन्चो नहुने अनि पूरा परिवार सडकमा आउने परिस्थितिमा पुनर्जागरणको आवश्यकता देखियो। त्यस्तै अवस्थाको पुनरावृत्ति कोरोनाका सम्बन्धमा पनि नहोला भन्न सकिन्न।

पश्चिमी अफ्रिकामा सन् २०१३ देखि २०१६ सम्म इबोला भाइरसको आतंक फैलियो। भाइरसका कारण झण्डै १२ हजार मानिस मारिए। प्रत्यक्ष सम्पर्कबाट सर्ने इबोला लागेका आधा मानिस मर्ने तथ्यांक थियो। त्यस्तो खनरनाक भाइरसलाई नियन्त्रण गर्नु विज्ञानको काबुमा थिएन। इलाजको ठोस उपाए नभएपछि कसरी थोरै मानिस मर्ने अवस्था ल्याउने भन्ने विषयमा बहस हुनु अस्वाभाविक भएन। परिस्थिति विश्लेषण गर्दा मरणमा धेरै मानिस सहभागी हुने परम्परा अनि लामो दाह संस्कार विधिका कारण मृतकबाट मलामीमा इबोला सरेको देखियो।

तसर्थ, मरण संस्कारलाई छरितो अनि सुरक्षित बनाउन सके रोगीको संख्या घट्ने देखियो। परिस्थिति नियन्त्रण गर्न धर्म गुरुहरू अग्रसर भए। लामो प्रक्रियाको सट्टा छरितो अनि सुरक्षित दाहसंस्कार विधिका लागि धर्मगुरुले नै मार्गप्रशस्त गरेपछि संस्कार विधि फेरियो अनि रोगीको संख्या निकै घट्यो। विज्ञानले इबोला भाइरस नियन्त्रण गर्न असमर्थ भएको अवस्थामा मृत्यु संस्कारलाई परिमार्जन गरेर पादरीहरूले धेरै मानिसलाई मर्नबाट बचाए। विज्ञान भन्दा सामाजिक अनुशासन रोग नियन्त्रणमा प्रभावकारी देखियो।  

अहिलेसम्मको तथ्यांकले मानसिक रोगका ओखतीहरू त्यति प्रभावकारी देखिएनन्। केबल ओखतीको बलमा दिमागी रोगको इलाज जटिल बन्यो। मानसिक रोगीको इलाजका लागि बलियो सामाजिक अन्तरसम्बन्ध आवश्यक देखियो। औषधि भन्दा पारिवारिक सहयोग तथा सामाजिक सद्भाव मानसिक रोगीको इलाजका लागि महत्वपूर्ण भयो। ओखती भन्दा सामाजिक सद्भाब महत्वपूर्ण सावित भयो।  

कोभिड–१९ का कारण सबै मानिस मर्दैनन् बरु एउटा सानो जमात मात्र आर्यघाट पुग्ने हो। शरीरमा औषधि कारखानाका रूपमा रहेका ‘इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली)’ ले भाइरसका जीवाणुलाई निस्तेज गर्दा कोरोना लागेका मानिस बिनाइलाज रोग परास्त गर्न सफल भए। दुर्भाग्यवस, जसको प्रतिरक्षा प्रणाली भाइरससँग लड्ने क्रममा कमजोर सावित भए, ती बिरामी कोरोनाका कारण मरे। उपरोक्त परिस्थितिले इम्युन सिस्टम मजबुत भए कोरोनालाई परास्त गर्न सक्ने देखियो।  

कोरोनाको बदलिँदो स्वरूपका कारण खोप प्रभावकारी नहुने हो कि भन्ने चिन्ता, अनि नेपालीले भ्याक्सिनका लागि कति कुर्नुपर्ने भन्ने कुराको अनिश्चितताको बीचमा सामाजिक बनोटलाई रोग नियन्त्रणका खातिर कति र कसरी उपयोग गर्ने भन्ने विषयको बहस प्रभावकारी देखियो। ‘फास्ट फुड’ को बदला परम्परागत नेपाली खानाले इम्युन सिस्टम मजबुत पार्ने भएकाले तद्सम्बन्धी अभियान आवश्यक देखियो। खाद्यान्नमा विषादीको प्रयोग प्रतिरक्षा प्रणालीका लागि प्रतिकूल सावित भएको अवस्थामा ‘इन्सेक्टिसाइड्स तथा पेस्टिसाइड्स’ को नियोजनको वकालत सान्दर्भिक देखियो। इम्युन सिस्टम मजबुतीकरणका विधिको वकालत सान्दर्भिक देखियो।  

समष्टिगतरूपमा मेडिकल साइन्स रोगको इलाजका सम्बन्धमा अचुक ‘सुपरम्यान’ नभएकाले सबै शारीरिक समस्या समाधानका खातिर केबल तथ्यांक र विज्ञानको भर पर्नु भन्दा सामाजिक मूल्य र मान्यतालाई समेत ध्यान दिन आवश्यक देखियो।

प्रकाशित: १७ चैत्र २०७७ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?