त्यस्ता अल्पशिक्षित बेरोजगारहरुबाट समाजमा अनेक किसिमका विकृति देखिनु स्वाभाविक थियो। त्यस्ता युवाले आपराधिक क्रियाकलाप व्यवसायका रूपमा अगाडि बढाउन थाले। यस्तो अवस्थाबाट उन्मुक्ति दिलाउन बौद्धिक समुदायबाट आध्यात्मिक तथा नैतिक शिक्षाको विकास गर्नेतर्फ सरकारको ध्यान आकर्षित गर्न थाले। शिक्षा मन्त्रालयको ध्यान यसतर्फ आकर्षित भएपछि गुरुकूल शिक्षा, गुम्बा शिक्षा र इस्लामिक शिक्षाका पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरिए। यसै सन्दर्भमा नैतिक शिक्षाका पाठ्यक्रम तथा पाठ्यपुस्तकले पनि विद्यालयमा प्रवेश पाएका छन्। प्राथमिक तथा निम्न माध्यमिकस्तरमा प्रयोगमा ल्याइएका नैतिक शिक्षाको मूल उद्देश्य नै नैतिकवान तथा चरित्रवान नागरिक तयार गर्नु हो। यस विषयलाई पाठ्यक्रम विकास केन्द्र सानोठिमीले सामाजिक अध्ययनको नामबाट माध्यमिक तथा उच्च माध्यमिक तहसम्म पठनपाठन गराउँदै आएको छ। सामाजिक अध्ययनको उद्देश्य पनि इतिहास, भूगोल, राजनीतिशास्त्र र अर्थशास्त्र प्रयोग गर्न सक्ने चरित्रवान नागरिक तयार गर्नु हो।
नेपाल सरकारद्वारा विकसित गरिएका नैतिक शिक्षाका पाठ्यक्रममा चारित्रिक विकास, मानवीय मूल्य र मान्यता, नागरिक कर्तव्य र दायित्व, सामूहिक जीवन पद्दति र विविधता, अनुशासन तथा सकारात्मक चिन्तन जस्ता विषयवस्तु समावेश गरिएका छन्। चारित्रिक विकासअन्तर्गतका एकाइमा धार्मिक आस्था र सहयोगका कुरा उल्लेख छन्। त्यसैगरी मानवीय मूल्य र मान्यताअन्तर्गत काम थरीथरीका र काममा इमानदारी जस्ता पाठ उल्लेख छन्। नागरिक कर्तव्य र दायित्वअन्तर्गत नैतिक दायित्व र सामूहिक जीवन पद्धति र विविधताअन्तर्गत नैतिक अभ्यास र सबैको सम्मान जस्ता पाठ शिक्षण गरिन्छ।
यस विषयको पाठ्यक्रमको विशेषता नै प्रत्येक एकाइका सिकाई उपलब्धि र पाठबाट अपेक्षा गरिएका अपेक्षित व्यवहार स्पष्ट उल्लेख छ। यसका साथै कुनै पनि पाठ पढाउनका निम्ति शिक्षकले प्रयोग गर्नुपर्ने शिक्षण विधि र शिक्षण सामग्री स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था छ। नैतिक शिक्षाका पाठ्यपुस्तकमा शिक्षकले कुनै पाठ पढाइसकेपछि विद्यार्थीबाट कुन कुन कुराको अपेक्षा गर्नुपर्ने हुन्छ भन्ने स्पष्ट लेखिएका छन्। नैतिक शिक्षाको प्रत्येक पाठको प्रस्तुतिमा रोचकता तथा विविधतायुक्त हुनुपर्नेमा जोड दिइएको छ। यस्ता रोचकताका निम्ति कथा, कविता, गीत, खेल, संवाद, समाचार, चिठी जस्ता विधा प्रयोग गरिएको छ।
नैतिक शिक्षामा विद्यार्थी मूल्याङ्कनका विभिन्न माध्यम प्रयोग गरिएको पाइन्छ। यसको सबभन्दा उत्तम पक्ष नै अवलोकन र आत्ममूल्यांकन हो। आत्ममूल्यांकनबाट विद्यार्थीले आफ्ना उपलब्धिको मूल्यांकन स्वयम् गर्छन्। नैतिक शिक्षाले अपेक्षा गरेको विद्यार्थी उत्पादन भएमा उनले आत्ममूल्याङ्कन गर्दा म कुनै पनि काम लगनशील भएर गर्छु, म अप्ठ्यारो परिस्थितिमा पनि निराश हुन्न, मलाई असल चरित्र मनपर्छ, म ठूलो भएपछि समाज सेवामा लाग्छु र म अरुलाई सहयोग गर्न तत्पर रहन्छु जस्ता सकारात्मक वाक्यमा ठीक रेजा लगाउँछन् तर नैतिक शिक्षाले अपेक्षा गरेको विद्यार्थी उत्पादन नभएमा यी वाक्यको नकारात्मक उत्तर दिनेछन्। आजको अशान्त विश्वमा नैतिकवान व्यक्तिको सर्वत्र खाँचो हुँदै गएको छ। सभ्य समाजको निर्माणमा चरित्रवान व्यक्तिको सधैं खाँचो पर्ने गर्छ। यसले कुनै परिवार र समुदायको मात्र भलाई नगरेर सम्पूर्ण विश्वलाई नै लाभ पुर्याउन सक्छ। अचेल विद्यालय तथा महाविद्यालयमा बढ्दै गएको अनुशासनहीनताले सम्बद्ध सबै व्यक्ति दुःखी भएको अनुभव गर्न थालिएको छ। आफ्ना गुरुप्रति सम्मान देखाउने अभ्यास लोप हुँदै गएको छ। आफ्ना शिक्षकका निम्ति सम्मानजनक तथा नम्रतापूर्वक प्रस्तुत हुने अघिका आचरणमा नकारात्मक परिवर्तन देखिन थालिएको छ। विद्यालयस्तरमा बालबालिकामा आदर भाव देखिए पनि महाविद्यालय तहमा यसमा क्रमशः ह्रास हुँदै गएको पाइन्छ। विश्वविद्यालयका पदाधिकारीको अपमान तथा कार्यालयमा तालाबन्दी गर्नु केही विद्यार्थीका दिनचर्या बन्दै गएका छन्। शिक्षकका निम्ति प्रयोग गरिने आदरार्थी शब्दको सट्टा सर आयो, सर गयो भन्ने अनादर शब्द प्रयोग गर्ने गरिन्छ। धेरै विद्यार्थीलाई आफ्ना शिक्षकका नामसमेत आउँदैन, केहीले बीपी सर र केपी सर भनी दुई दुई अक्षरको अङ्ग्रेजी नाममात्र भन्न सक्छन्। विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीलाई तिनले पढ्ने गरेका पुस्तकका लेखकको नाम केही थाहा हुँदैन। कक्षामा शिक्षकले लेखाइदिएको नोटका आधारमा धम्क्याएर भए पनि पास गर्ने मनोवृतिले गर्दा विद्यार्थीमा पुस्तक किन्ने र पुस्तकालयमा गएर पढ्ने प्रवृति ज्यादै न्युन भएको पाइन्छ। राजनीतिक दलहरुद्वारा सञ्चालन गरिने बन्द र हड्तालमा प्रायः कक्षामा जान नरुचाउने विद्यार्थी नै बढी हुने गर्छन्। बालबालिकालाई सानैदेखि चारित्रिक शिक्षा दिएर भोलिका निम्ति नैतिकवान नागरिक तयार गर्नु नै नागरिक शिक्षाको मुख्य उद्देश्य हो। विद्यालयमा बालबालिका असल र चरित्रवान भएमात्र महाविद्यालयमा पनि यिनका सकारात्मक आचरण देख्न सकिन्छ।
नैतिक शिक्षाले सबै धर्म, लिङ्ग, वर्ण, जातजातिप्रति सद्भाव प्रदर्शन गर्न र चारित्रिक विकासमा जोड दिन्छ। यसले महापुरुषहरुका जीवन पढेर तिनलाई जीवनमा रुपान्तरित गर्न अभिप्रेरित गर्छ। यसमा प्रस्तुत गरिने चित्र तथा उद्धरणहरुले चरित्रवान नागरिक बन्न उत्प्रेरणा प्रदान गर्छ। यसले आफ्ना संस्कृति, धर्म, भाषा, साहित्यप्रति सम्मानभाव प्रदर्शन गर्न प्रोत्साहित गर्छ। आज विश्वको प्रत्येक भू–भागमा नैतिक शिक्षाको आवश्यकता छ। सम्पन्न तथा विपन्न सबै किसिमका मुलुकमा हिंसाले प्रश्रय पाउँदै गएको छ। महिला हिंसा र बलात्कारका घटनाले सञ्चार माध्यममा स्थान पाउने गरेका छन्। आत्मविश्वास र सहृदयताका कुरा पुस्तकका पानामा समेटिन पुगेका छन्। हत्या तथा आत्महत्या जस्ता अपराधले प्रश्रय पाउँदै गएका छन्। यस्ता विषम परिस्थितिबाट मुक्ति दिलाउन नैतिक शिक्षाको आवश्यकता पर्न गएको हो।
निष्कर्ष :
नैतिक शिक्षालाई सैद्धान्तिक विषयका रूपमा शिक्षकको व्याख्या र घोकन्ते विद्यामा आधारित गर्ने हो भने यसबाट अपेक्षा गरिएको उपलब्धि प्राप्त गर्न सकिंँदैन। कुनै पनि विद्यार्थीले हिंसा गर्नुहुन्छ भन्दैनन् तर हिंसा गर्न उद्दत हुन्छन्। तिनले आफ्ना मातापिता तथा छिमेक वा प्रवचनको माध्यमबाट नैतिक शिक्षासम्बन्धी नैतिक ज्ञान प्राप्त गरेकै हुन्छन्। त्यसै हुनाले विद्यालयमा अध्यापन गराइने नैतिक शिक्षामा शिक्षकले औंलो ठड्याएर सचेत गराउनुभन्दा तिनमा आएका व्यवहारको सुक्ष्म परीक्षण गरी असल कामका निम्ति निरन्तर प्रेरित गर्दै जानु नै सबभन्दा असल विकल्प हो। नैतिक शिक्षाको सम्पूर्ण मूल्याङ्कन स्वयम् विद्यार्थीबाट नै हुनुपर्छ। यसको आधार निर्माणमा शिक्षक र अभिभावकको भूमिका हुन सक्छ।
प्रकाशित: १७ भाद्र २०७० २२:५३ सोमबार

