वैदिक कालमा गौतम ऋषिले कोशल र विदेह मिथिला प्रदेशमा वैदिक धर्मको प्रवर्द्धन गरेको वर्णन पाइन्छ। जुन ठाउँमा याज्ञबल्क्य आदि ऋषि मुनि शास्त्रचर्चा गरिरहन्थे ठीक त्यसै बेला गौतम ऋषिले नै नेपाल मण्डलमा पनि वैदिक नीप गणकै साथमा आएर प्रभाव फैलाएको देखिन्छ। विदेहका नामले विदेह देश भनिएजस्तै नीप गणको नामले नेपाल नाम रहन गएको देखिन्छ। यस हिसाबले विचार गर्दा नेपाल विदेह प्रदेशको सभ्यताको विकास एकै समयमा वैदिक गणहरूले नै गरिदिएको देखिन्छ। गौतम बुद्धको समयमा नारायणी पूर्व विदेह देशमा बृजिक गणको शासन थियो। उता नारायणी पश्चिममा क्रमैले लिच्छवि, मल्ल, शाक्य, कोली, मौर्य, आदि गणहरूको प्रभुत्व थियो। यिनको प्रभाव कुनै न कुनै रूपमा पहाड प्रदेशमा पनि फैलिएकाले तिनको आवतजावत थियो। त्यसबेला पहाडमा नाग, यक्ष, किन्नर, किरात, कोक, कोल आदि जातिको आवादी थियो। केही समयपछि कोलिको कोलिग्राममा रहेको बुद्धको स्तूपबाट अस्तु धातु संग्रह गर्ने क्रममा मगधका राजालाई नाग जातिले हराएको वा रोकेको घटना बौद्ध ग्रन्थमा उल्लेख भएकाले पहाड, तराईमा पनि नागहरूको प्रभाव देखिन्छ। बुद्धकै पालामा बुद्धका चेला र शाक्यहरू पनि नेपाल पसेका अन्य व्यापारीहरूको चल्ती फिर्ती भएको हुँदा उताका प्रसिद्ध लिच्छिवि बृजिक, मल्ल, शाक्य, कोलीहरू नेपालमण्डल अर्थात हालको काठमाडौंमा बसोवास गर्न लागिसकेका थिए। पछि लिच्छविहरू नेपाल दुनमा पसेर राज्य अधिकार जमाएका थिए।
लिच्छविहरूको हिउँदे राजदरबार टिस्टुङ, पालुङतिर थियो। तिनको सैन्यमा तराईबाट हात्ती ल्याइन्थे भने हिमाल तिरबाट घोडाहरू ल्याइन्थे। यसबेला यसरी तराई, पहाड, हिमालको एक किसिमले सम्बन्ध नै थियो। मध्यकालमा पश्चिम मानसखण्डको सिंजा प्रदेशमा खस मल्लहरूले साम्राज्य नै खडा गरेका थिए। तिनको राज्यको प्रभाव केदार खण्डदेखि नेपाल दुनसम्म फैलिएको थियो। तराईको लुम्बिनीमा अशोक स्तम्भमा ती राजाको नाम अंकित भएको देखिँदा तिनको राज्य विस्तार तराईसम्म थियो भन्ने निश्चित हुन्छ। ठीक त्यस्तै बेला नान्य देवले मिथिला–तेह्रौँत प्रदेशको सिम्रौन गढमा राज्य स्थापना गरेका थिए। तिनका सन्तानको राज्य नारायणीदेखि कौशिकासम्म तराई र समस्त पूर्वी पहाडको तल्लो भाग पर्थ्याे। अन्तिम राजा हरिसिंहका पालामा मुस्लिम आक्रमणबाट सिम्रौनगढ ध्वस्त हुँदा महाभारत शृंखलाको किल्लामा आइबसेका थिए। त्यहीं तिनी परलोक भए। यसरी मध्यकालमा पनि हिमाल, पहाड, तराईको एकात्मकता देखिन्छ।
पछिल्लो कालमा सेन राजवंशको उदय भयो। तिनमा प्रसिद्ध राजा मुकुन्द सेनले आफ्नो उक्त राजधानी पाल्पामा खडा गरे। उनले खस मगरको सैन्य बलले समस्त पूर्वी तराई, पहाड, जित्दै आफ्नो देशको पूर्वी सिमाना टिष्टासम्म पुर्याए। अब उनका छोरा नातीले राज्य टुक्राउँदा पनि पाल्पाको तराई–मधेसको सम्बन्ध नै थियो। जस्तो साधारणतः पाल्पा, प्यूठान, तनहुँ, राज्यको अधीनमा अहिलेको बुटवल, नवलपरासी, रूपन्देही, रामनगर आदि थिए। मकवानपुर राज्य खडा भइसकेपछि यसमा नारायणीदेखि पूर्वका तराईको सबै भाग थियो भने विजयपुर राज्य छट्टिएपछि कोशी पूर्वका पहाड, मधेसको भाग र लिम्बुवान पनि यस राज्यमा पर्थ्यो। चौदण्डी राज्य छुट्टिँदा कमला पूर्वको तराई र माझकिरात यस राज्यमा पर्थ्यो। मकवानपुर कमला पश्चिममा सीमित भयो। एकीकरणपछि पनि पहाड तराईको सम्बन्ध उस्तै यथावत् रहिआएको छ। पहाड, मधेसको यो सम्बन्धको प्राचीन कालदेखिको यथार्थ यही हो।
यो यथार्थ नबुझेर वा स्वार्थवश अहिले यसमा भयंकर विप्रतिपत्ति खडा गरिँदै छ। तराई भनेको पहाडबाट छुट्टै र अलग हो यसको सम्पूर्ण पहिचान पहिलेदेखि अलगै छ भन्ने एक किसिमको विवादलाई प्रश्रय दिइँदै छ। यसरी तराईलाई छुट्याउने एक किसिमको उद्योग नेपाल अंग्रेज युद्ध पछिदेखि नै भएको हो। त्यस बेलाको विशाल नेपाललाई खुम्च्याएर तराईलाई पनि छुट्याउने योजना भारतमा रहेको ब्रिटिस साम्राज्यको हो। यसमा मेची, महाकालीभित्रको तराई अलग गर्ने काममा नेपाल सरकारले कतै मन्जुर नगर्दा र फेरि दोहाराएर युद्ध गरिरहँदा ब्रिटिशलाई ठूलो क्षय हुने ठहर्याई अंग्रेज सरकार राप्तीदेखि मेचीसम्मको तराई छोडेर सुगौली सन्धि गर्न बाध्य भएको थियो। त्यसबेला अंग्रेजी साम्राज्यको जुन विस्तार भएको थियो त्यसको सुरक्षाका लागि रेल मार्ग बिछ्याउन ऊ लागेको थियो। यसका लागि नेपाल तराईका किम्मती सखुवाकाठ र गिट्टी बालुवाको पनि आवश्यक परेकोले तराईको प्राकृतिक सम्पदाको दोहन गर्नेतर्फ लाग्यो। अहिले पनि सो दोहन कार्य स्वतन्त्र भारतका लागि पनि उत्तिकै आवश्यक भइरहेछ। यो क्रम चलिरहेको छ। अहिले प्रकृतिक साधनको दोहनमात्रै होइन विशाल भारतले नेपालप्रति आर्थिक, सामाजिक, राजनीतिक प्रभाव फैलाउन पनि ब्रिटिस कालभन्दा बढी नै गिद्धे दृष्टि लगाइरहेको छ। विसं २००७ सालपछि नेपालको आर्थिक व्यवसायमा आफ्नो हात फैलाउने उद्देश्यले छ वटा व्यापारी घरानालाई नेपाल प्रवेश गराएको थियो।
नेपालको राजनीतिमा हलचल गराउने काममा छिमेकीले हात हाल्ने क्रम बेग्लै छ। आर्थिक र सामाजिक विषयमा उसको हस्तक्षेप बढिरहेको छ। पहिले विशाल चीन सँग पं. जवाहरलाल नेहरूले पञ्चशीलको आधारमा सन्धि गरी 'चीन भारत – भाइ भाइ' भन्ने नारा लगाएका थिए। पछि उनैका पालामा उससँग युद्ध हुँदा नेहरूलाई ठूलो चोट पर्यो। भारतको अरू छिमेकी कसैसँग पनि सुमधुर सम्बन्ध रहेन। पाकिस्तानसँग युद्धै भयो, त्यसमा सीमा विवाद अहिलेसम्म सुल्झेको छैन। त्यस्तै विवाद चीनसँग बढ्दै छ। इन्दिरा गान्धीले त छिमेकी सँग झन् उग्रता बढाइन्, पूर्व पाकिस्तान छुट्याइदिइन् भने सानो सुखिम राज्यलाई भारतमा विलयै गराइदिइन्। तामिल विद्रोहले लंकामा अशान्ति फैलिएको थियो भने नेपालमा पनि उनका कटाक्षपात पर्न लागे। नेपालको तराईमा पहिले अत्यन्त पिछडिएको विहार प्रान्तका कर्म करहरूको ओइरो लाग्थ्यो।
त्यसमाथि इन्दिरा गान्धीको पालामा झोले कुटुरेदेखि ठूला व्यापारीलाई नेपाल प्रवेशमा प्रोत्साहन हुन थाल्यो। यस हिसाबले दिन प्रतिदिन भारतीय आप्रवासीको संख्या बढ्न थाल्यो। यसरी आर्थिक सहयोग दिई सीमान्त क्षेत्रका भारतीयलाई प्रवेश गराई, तराईको जनसंख्या बढाएकोमा एकजना पत्रकारले इन्द्रकुमार गुजराललाई सोध्दा उनले 'ठूलो देशका सम्पन्न देशका मानिस गरिब देशमा किन जान्छन्?' भनेर प्रतिवाद गरेका थिए। यो उनको सोह्रै आना झुटो कथनको प्रतिवाद गरी उहीबेला मैले लेखेको थिएँ। जनगणनाले पनि यस तथ्यलाई प्रष्ट देखाइरहेको छ। हुन त औलो उन्मूलनपछि स्वास्थ्यका दृष्टिले तराई बस्न उपयुक्त भएको र पञ्चायत कालमा जंगल फडानी भएकोले पनि पहाडका मान्छे तराईमा झर्न लागेका थिए। यसले पनि तराईको जनसंख्यालाई थप बृद्धि गरिरहेको थियो। पछि भारतकै इसारामा भुटानले नेपाली मूलका १ लाख बासिन्दालाई जबर्जस्ती निष्कासन गर्यो। तिनलाई भारतले आफ्नो देशमा नराखी सुरक्षा बल लगाएर नेपालतिर हुलिदियो। फर्केर जान पनि प्रतिबन्ध लायो। यस शरणार्थी समस्याले नेपाललाई अहिलेसम्म सताइरहेको छ। ती नेपाली भाषी भुटानीले विदेशतिर पुनः शरणार्थी भई जानु परिरहेको छ। भारतले विहार, बंगालका आफ्ना मान्छे भुटान पसाएर कर्मकर बनाई नेपालीको ठाउँ पुर्ताल गरिरहेको छ। प्रजातन्त्रको पुनः बहालीपछि नेपालमा प्रजातन्त्र विरोधीले आतङ्क मच्चाए। यस शक्तिलाई उचालेर नेपालको र दिल्लीको दरबारले नेपालमा सशस्त्र विद्रोहको आगोमा ध्यु थपिदिए। ११ वर्षसम्म चलेको 'जनयुद्ध' नामको निहत्था जनहत्याले नेपाललाई तहसनहस बनाइदियो। ११ वर्षको यस युद्धपछि स्वराष्ट्रिय बहुराष्ट्रिय दबाबले गर्दा र असफल हुनबाट बच्न सहमति सम्झौतामा आए पनि सशस्त्र विद्रोही प्रजातन्त्र प्रक्रियामा समाहित भए पनि कार्यरूपमा अझैसम्म परिणत भई आउनसकेका छैनन्।
माओवादीकै यही सिकोमा मधेसी मूलका तराईबासी केही नेतालेे फेरि सशस्त्र संघर्ष चलाएको र सुरुमा यो माओवादीको विरोधमा लक्षित भए पनि २७–२८ पहाडे मूलका माओवादीलाई नै मारेकै भए पनि पछि पाहाडे मूलका बासिन्दा हटाऊ भन्ने उग्र अभियान चलाइयो। यसमा हजारौं नेपाली विस्थापित बने भने यता माओवादीले पनि खस बाहुनविरुद्ध भनेर पहाडमा जातीय विद्वेषलाई बढाइरहेको थियो। उता मधेसमा क्षेत्रीयताको विद्वेष फैलाइयो। नेपालको इतिहासमा यो अभूतपूर्व घटना थियो। यहाँ न सहमति हुन सक्यो, न सरकार सुचारुरूपले सञ्चालित नै भयो न त चार वर्षसम्मको मिहिनेतले पनि, त्यत्रो धनको व्ययले पनि, संविधानै बन्न सक्यो। यो झगडा जातीय क्षेत्रीयमात्र नभएर भित्रीरूपमा उग्र वामपन्थी र प्रजातान्त्रिक शक्तिबीचको संघर्ष हो। अधिनायक वादीको र प्रजातन्त्रवादीको बीचको तानातानी हो।
जनताको नाममा अधिनायकवाद चलाउने प्रकारको शासन पद्धतिको पुनरावृत्ति गर्ने उग्र वामपन्थीको उद्देश्य यथावत् कायम नै छ। बाहिर मुखले जे भने पनि सम्झौतामा हस्ताक्षर गरे पनि उसले कार्यरूपमा प्रजातन्त्री प्रक्रिया अपनाउन वा ल्याउन चाहेको नै छैन। त्यसैले त ऊ विभिन्न प्रणालीको कुरा गरिरहेकोे छ। यसलाई सफल पार्नलाई जातीय, संघीय राज्यमा र क्षेत्रीयतामा देशलाई विभाजित गरी लैजान ऊ लागिपरेको छ। विपरीत सिद्धान्तका शक्तिसँग घाँटी जोड्दै छ। प्रजातन्त्र प्रक्रियामा संसद् नै सर्वशक्तिमान् हुन्छ। शासन पद्धति चलाउने प्रधानमन्त्रीलाई त्यसलेे नियुक्ति गर्छ अविश्वासद्वारा बर्खास्त गर्न सक्छ। कार्यपालिका, न्यायपालिका, विधायिका, छुट्टाछुट्टै स्वतन्त्र रहन्छन्। यही सन्तुलनले नै प्रजातन्त्री प्रकिया स्वतन्त्र, सौम्य, स्वावलम्बी र दीगो पनि हुन्छ। यसमा तलमाथि पर्ने भयो भने संविधान सभाको निर्वाचन भए पनि संविधान बन्न गाह्रो छ। संविधान सभा जातीय संघीयतातर्फ वा मधेसवादीको क्षेत्रीय सङ्घीयतातर्फ जाने हो भने संविधान पनि बन्दैन देश पनि बन्दैन। देशको सार्वभौमिकता, एकता, अखण्डतामा पनि आँच आउँछ। यसैले त मधेसी मूलका नेताहरू आफूलाई नेपाली नभनेर 'मधेसी' भन्न रुचाउन थालेका छन् भन्न लागिपरेका छन्। भारतको मध्य देशबाट मधेस बनेको हो र व्यवहारमा आएको हो। वास्तवमा भाषामा तरी तराई शब्द नेपालमा ७–८ सयवर्ष पहिलेदेखि चल्दै आएहो हो। तराईका पुराना बासिन्दा यही शब्दबाट पुकारिन्थे। संस्कृतमा तीरभुक्ति भनिन्थ्यो, त्यसको भाषारूप तेह्रौत(देश) तेह्रौते (तराईवासी) कहिन्थे। मध्यदेशबाट आएको आप्रवासी मधेसे भनिन्थे। मुगलको शासन हुँदा आउने मुगलाने मुगलानियाँ (तराईमा) भनिन लागे। पहाडे पनि नानाथरी छन्, अनेकौं नाम वतन थरले पुकारिन्छन्। भोटबाट आएका र आउने भोटे भने जस्तै। जहाँबाट आए पनि जहिले आए पनि हिमाल पहाड तराई जहाँ बसे पनि सबै नेपाली नै हुन्। नेपाली भन्नु नै गौरव हो। यस कुराको रहस्यलाई नेपाली जनताले हृदयङ्गम नगरून्जेल नेपालको संक्रमण काल हटेर शान्ति, सुस्थिरता आउन सक्तैन। जातीयवादीको संघीयताजस्तो मधेसवादीको क्षेत्रीय सङ्घीयताको मागले तीब्रता पाइरहेछ, यसको मूल जरो अधिनायक तन्त्रमा जाने कि प्रजातन्त्रमा भन्ने हो। राजनीति अहिले यही दुई धु्रवमा अडि्कएको छ। अहिले नेपाली राजनीतिको यस्तै गुत्थी नसुल्झेकाले जे गरे पनि सहमति, सहकार्य एकता हुन नसकेको हो। यही रहस्य यसमा छिपेको छ। राष्ट्र प्रेमी नेपालीले बुझ्नु पर्ने रहस्य पनि यही हो।
प्रकाशित: ८ श्रावण २०७० २३:४२ मंगलबार

