१३ फाल्गुन २०७७ बिहीबार
विचार

जनता नै राम, जनता नै भगवान

धर्मलाई मानिसले खासमा के कारण र उद्देश्यले आविष्कार गर्‍यो ? शायद यसको ठ्याक्कै मिल्दो जवाफ अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन । धर्मको बारेमा पढ्दा सुन्दा यो व्यक्ति, समाज र विश्वलाई सुखी, शान्त र अनुशासित राख्नका लागि उत्पत्ति भए जस्तो लाग्छ । तर मानव व्यवहारमा हेर्दा यत्तिका लागि धर्मको उत्पत्ति भए जस्तो देखिँदैन । देवता र ईश्वरवादसँग जोडिएर आएको धर्म मानिसका लागि अध्यात्म, सुख र शान्तिको मार्ग भन्दा बढी आजको समाजमा ढोँग भएको देखिन्छ । कसैका लागि यो पापकर्म, अपराध र कुकर्म लुकाउने बलियो खोल भएको देखिन्छ भने कसैका लागि सत्ता र शक्ति टिकाउने गतिलो हतियार भएको देखिन्छ । 

सरकार कि राज्यको ढुकुटी सकेर भ्यु टावर निर्माण गर्दैछ कि त मन्दिर र मूर्ति ठड्याउँदैछ ।  

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई हेर्दा धर्म राजनीतिको एक महत्वपूर्ण पहेली भएको देखिन्छ । राजनीतिमा सत्ता टिकाउन कसरी धर्मको प्रयोग र व्याख्या गरिन्छ भन्ने कुरा अहिले नेपालको राजनीतिक अवस्था हेरे थाहा हुन्छ । पूर्वीय दर्शनले धर्मलाई मानव कल्याणसँग व्याख्या गरिरहँदा माक्र्सले धर्मलाई अफिम भनिदिए । त्यही ‘माक्र्स–मन्त्र’ घोकेर दीक्षित भएका नेपालका केही कम्युनिस्ट अगुवा भनिएकाले खै कसको स्वार्थ पूरा गर्नका लागि हो कुन्नि, नेपालको संविधानमा रातारात ‘धर्म निरपेक्षता’ उल्लेख गर्न पुगे । समाज रूपान्तरणका लागि भन्दै धार्मिक मान्यता र परम्परामाथि निर्मम प्रहार गर्दै र मन्दिर भत्काउँदै, मन्दिरमा दिसापिसाब गर्दै दश वर्षसम्म रक्तपात मच्चाउँदै हिँडेकाहरूले पनि संविधानमा उल्लिखित उक्त ‘धर्म निरपेक्षता’ शब्दमा लालमोहर मात्र लगाएनन् धर्म नमान्ने, धर्म र ईश्वरको नाममा शपथ नखाने तिनै कम्युनिस्टहरू अनेक धार्मिक अनुष्ठानहरूमा सगर्व उपस्थित हुँदै, अनेक किसिमका दानधर्म र पूजापाठ गर्दै हिँडेको देखियो । शायद तिनका अन्तरमनले आफ्ना जघन्य अपराधको प्रायश्चित खोजिरहेको हुन सक्छ । यही कारणले हुन सक्छ, उनीहरू अनेक बहुरूपी गेरुवा वस्त्रधारी ढोँगी ‘बाबा’ हरूका चरण र शरण परेको पनि देखियो ।  

यतिबेला नेपाली कम्युनिस्ट राजनीतिको एउटा तप्का सत्ता र शक्तिमा पुगेको छ । सत्ताको केन्द्र मानिएका प्रधानमन्त्री केपी ओली अत्यन्त धर्मान्ध र ईश्वरवादी भएर निस्केका छन् भने ‘धर्म’ अहिले तिनै केपी ओलीको ‘धर्मराएको सत्ता’ टिकाउने बलियो हतियार बनेको छ । कुनै बेला ईश्वरको नाममा सपथसमेत नखाएका ओली अहिले ज्ञात/अज्ञात देवताको खोजीमा लागेका छन् । केही समयअघि जब विश्व कोरोना महामारीसँग जुध्दै थियो, नेपाली जनता कोरोना महामारीका कारण रोग, भोक र शोकसँग लडिरहेका थिए, ठीक त्यही बेला विश्वका कैयौँ वैज्ञानिक कोरोनाविरुद्धको खोप पत्ता लगाउन दिलदिमाग लगाइरहेका थिए र कैयौँ राष्ट्रका सरकार प्रमुख उनीहरूलाई तन, मन र धनले हौसला बढाइरहेका थिए तर नेपालका सरकार प्रमुख केपी ओली भने एउटा मिथकीय पात्र ‘राम’ को खोजीमा थिए, रामको जन्मभूमि पत्ता लगाउन व्यस्त थिए र एक दिन भनिदिए– ‘राम नेपालको ठोरी भन्ने ठाउँमा जन्मेका हुन् । अब हामीले उनको जन्मभूमि भएको ठाउँ उत्खनन गरेर यो कुरा प्रमाणित गरिदिनुपर्छ ।’ ठोरीमा ओलीले अयोध्या त पत्ता लगाए/लगाएनन् कुन्नि, अहिले सुनिन्छ– उनी ठोरीमा राम मन्दिर बनाउन लगाउँदैछन् र यता बालुवाटारमा राम, सीतालगायत रामायण परिवारका मूर्ति तयार गर्न लगाउँदैछन् ।

राज्य कोषबाट ३० करोड (घोषित) खर्च गरेर पशुपतिनाथलाई सुनको जलहरी लगाइदिँदैमा के भगवान पशुपतिनाथ साँच्चिकै प्रसन्न हुनुहोला त ? 

यतिबेला ओली सत्ताको तारणहार कि त राम बनिरहेका छन् कि पशुपतिनाथ । उता ठोरीमा राम मन्दिर बन्ने भयो यता पशुपतिनाथमा सुनको जलहरी तयार हुने भएको छ । कुर्चीको लडाइँमा छँदाखाँदाको बहुमतको संसद् भंग गरेर ओलीले निर्वाचनको बाटो मात्र देखाइदिएनन्, जनमत बटुल्न धर्म र देवताको बलियो आधार पनि तयार गर्दै गए । किनकि धर्म मानवीय संवेदनासँग जोडिएको हुन्छ । कुनैबेला ‘होलिवाइन’ का कारण धमिलिएको कम्युनिस्टप्रतिको जनआस्थालाई संग्ल्याउने अवसरका रूपमा पनि ओलीले राम र पशुपतिनाथलाई प्रयोग गरेको हुन सक्छ । मानिसले कि त स्वार्थका निम्ति धर्मलाई प्रयोग गर्छ कि आत्मबल कमजोर हुँदै गएपछि धर्मको सहारा लिन्छ । पशुपति क्षेत्र विकास कोषको २०७७।१०।१४ गते बसेको सञ्चालक परिषद्को निर्णय नंं. १ मा उल्लेख भएअनुसार ‘आराध्यदेव श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीलाई सुनको जलहरी बनाइराख्ने सम्बन्धमा राष्ट्रपतिबाट बेलाबेलामा चासो राख्ने गर्नुभएको, मिति २०७७।१०।१२ गते प्रधानमन्त्रीबाट मन्दिर निरीक्षण तथा अनुगमनका क्रममा सरकारबाट रु. ३० करोड उपलब्ध गराउने बेहोरा अवगत भएकाले देहायअनुसारको कार्यविधि अपनाइ जलहरी निर्माण गर्ने कार्य अघि बढाउने निर्णय गरियो ।’ (स्रोत : जनआस्था २०७७, माघ २१)

यसरी राष्ट्रपतिको चाहनालाई मूर्त रूप दिन प्र.म. ओलीले पशुपतिनाथमा एक अरब रुपियाँ बराबरको १०८ किलो सुनको जलहरी निर्माण गर्ने आदेश दिनुले महामहिम राष्ट्रपति मात्रै खुसी हुने नभई केही धार्मिक अतिवादीहरू पनि खुसी हुने पक्कापक्की छ । तर राज्यकोषबाट ३० करोड (घोषित) खर्च गरेर पशुपतिनाथलाई सुनको जलहरी लगाइदिँदैमा के भगवान पशुपतिनाथ साँच्चिकै प्रसन्न हुनुहोला त ? उहाँलाई कोरोना महामारीले थिल्थिलो भएका नेपाली जनताको अवस्था ज्ञात छैन होला र ? यसै त शिवलाई सुन शैव मत विपरित हुने रहेछ त्यसमा पनि खरानी घस्ने, श्मशानमा बस्ने, सर्पको गहना लगाउने, रुद्राक्षको माला भिर्ने दिगम्बर महादेव पशुपतिनाथलाई ज्याला मात्रै दुई करोड लाग्ने अरबको सुन के काम ? बरु त्यतिका पैसा जनताको सुखसुविधामा खर्चेको भए त भगवान भोलेनाथ त्यसै खुसी भइहाल्नुहुन्थ्यो नि !  

भोलेनाथ शिव सादा जीवनशैली रुचाउने हुनुहुन्छ भन्ने कुराको एउटा उदाहरण यहाँ उल्लेख गर्न चाहेँ । सबै देवीदेवता झपक्क सुनका गहना लगाउने र भव्य महलमा बस्ने गरेको देखेर देवी पार्वतीले महादेवसँग आफ्नो पनि एउटा भव्य महल बन्नुपर्ने जिद्दी गर्नुभयो । शिवले जति सम्झाए पनि पार्वतीले नमानेपछि अन्ततः विश्वकर्मालाई बोलाएर एउटा रमणीय समुद्री टापुमा भव्य स्वर्णमहल बनाउन लगाउनुभयो । महल तयार भयो, पार्वती प्रसन्न हुनुभयो । धूमधामले गृहप्रवेश हुने भयो । ऋषि विश्रवालाई ब्राह्मण पुरोहितका रूपमा बोलाइयो । सबै कार्य सम्पन्न भएपछि ब्राह्मणलाई दक्षिणा माग्न भनियो । भगवान भोलेनाथले सुटुक्क ऋषि विश्रवाको मनमा लोभको प्रवेश गराइदिनुभयो र विश्रवाले दक्षिणामा त्यही स्वर्ण महल माागे । भोलेनाथ खुसी हुनुभयो तर आफ्नो अति प्रिय स्वर्ण महल नै दानमा मागेपछि पार्वती रिसले आगो बन्दै ऋषिलाई श्राप दिनुभयो कि यो महलमा जो बस्नेछ त्यसको वंश नाश हुनेछ । त्यो महल विश्रवाले आफ्नो छोरा कुबेरलाई दिए । सौतेनी दाजु कुबेरबाट विश्रवा र कैकसी पुत्र रावणले खोसेर लियो । अन्ततः त्यही महलमा रावणको समूल विनाश भयो । यता रुष्ट भएकी पार्वतीलाई शिवले सुनलाई ‘अपराध र पाप कर्मको जड’ भन्दै सादा जीवनशैली र मानव कल्याणबारे कुरा बुझाएर शान्त पार्नुभयो ।

उता यस्ता शिवलाई अरब पर्ने सुनको जलहरी बनाउने आदेश भइरहँदा यता कोरोनाको खोप ल्याउनका लागि सरकार नै आमनागरिक र दाताहरूसँग चन्दा आह्वान गरिरहेको थियो । कति लाज मर्नु ! एकातिर कोरोना उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, डाक्टर, नर्सहरूले कोरोना उपचारवापतको जोखिम भत्ता र तलब नपाएर आन्दोलन गरिरहेका देखिन्छ, अर्कोतिर दाताले कहिले खोप देलान् र लगाउन पाउँला भन्ने आसमा नेपाली जनता बस्नु परिरहेको छ । धर्मका नाममा यसरी गरिने खर्च यता गरे हुँदैन ? कोरोनाले कति नागरिकको रोजीरोटी खोसियो तर खै उनीहरूलाई राहत ? यस्तो अवस्थामा सरकार कि राज्यको ढुकुटी सकेर भ्युटावर निर्माण गर्दैछ कि त मन्दिर र मूर्ति ठड्याउँदैछ । हो, मन्दिर र मूर्ति नबनाउनु भनेको होइन तर नागरिक स्वस्थ र सुखी बने भने आफ्नो आस्थाका यी मन्दिर र मूर्तिहरू नागरिक स्वयंले नै निर्माण गर्नेछन् । राज्यले त आमगरिब नागरिकलाई निःशुल्क शिक्षा, स्वास्थ्य र स्वच्छ पिउने पानीको व्यवस्था गर्नमा, नागरिकको सुख सुविधामा राज्य कोष खर्च गर्नुपर्छ ।  

के ठोरीमा राम मन्दिर बन्दैमा माडीका चेपाङहरूको जीवनस्तर उकासिन्छ ? उनीहरूले पेटभर खान, आङ ढाकिने गरी लुगा लगाउन र बिरामी पर्दा औषधि उपचार गर्न सक्लान् ? भगवानलाई सुन होइन, निष्काम भक्ति प्रिय हुन्छ । राज्यले धार्मिक संस्था र मन्दिरमा सुन चाँदी दान गर्ने परम्परा नभएको होइन ता कि त्यसरी दान गरिएको सुन, धन भोलि राष्ट्रमा प्राकृतिक विपत्ति आउँदा खर्च गर्न सकियोस् । तर कसैको व्यक्तिगत इच्छा पूरा गर्न सुनकै जलहरी किन ? चाँदीकै नयाँ बनाए हुँदैनथ्यो । बरु दुर्गमका अस्पलाललाई सुविधा सम्पन्न गर्न सके उपचार नपाएर अकालमै मर्नुपर्ने दुर्गमका नागरिकको नियति त फेरिन्थ्यो होला नि ! कोरोना महामारीका बेला नागरिक स्तरबाटै दुई चार पैसा गरी रकम जम्मा गरेर आविष्कार केन्द्रले भेन्टिलेटर मर्मत गर्नेदेखि स्ट्रेचर र पिपिइ बनाएर नागरिकको उपचारमा सहयोग गर्‍यो तर ओली सरकारले आविष्कार केन्द्रलाई एक रुपियाँ पनि सहयोग गरेको सुनिएन । धर्म मानिसको व्यक्तिगत विषय हो । यसको संरक्षण र संबर्धन कसरी गर्ने भन्ने कुरा जनता स्वयंले जानेका हुन्छन् ।  

राज्यको नजरमा जनता नै राम हुन्, जनता नै सबै भन्दा ठूला भगवान हुन् । जनता सुखी र समृद्ध भए भने राज्य त्यसै समृद्ध बन्छ । अतः सत्ता टिकाउन धर्मको नाममा अनेक किसिमका फजुल खर्च गरेर राज्यको ढुकुटी रित्याउनु भन्दा जनताको सुख सुविधाका क्षेत्र पहिचान गरी त्यसमा लगानी गर्न सक्ने विवेकशील शासक भएर जनताको मन जित्न सके शासन टिकाउ हुनेछ र सत्ता पनि ।

प्रकाशित: ११ फाल्गुन २०७७ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App