७ वैशाख २०८१ शुक्रबार
विचार

सहिद र राजाले ल्याएको प्रजातन्त्र

राजा र जनताको नेतृत्व र सक्रियताबाट नै नेपालको एकीकरण भएको हो र हामी एक नेपाली जातिमा परिणत भएका हौँ । त्यस्तै २००७ सालको क्रान्तिमा राजा र जनताको संयुक्त प्रयासमा जसरी प्रजातन्त्रको उदय भयो त्यो नेपालीहरूको सहअस्तित्वको प्रतिफल हो । राष्ट्रका घटना, काण्ड र परिवर्तन सय वर्ष नाघेपछि पुरातात्विक बन्छ र पचास वर्ष नाघेपछि इतिहास हुन्छ । १९०३ सालदेखि नेपालमा राणाको एकलौटी जहानिया शासन चल्यो । जहानिया राणा शासनसँग प्रारम्भदेखि नै राजा र जनता दुवै असन्तुष्ट थिए । नेपालमा प्रजातन्त्र स्थापनाका लागि जहानिया राणा शासनविरुद्ध विक्रम संवत् १९९७ मा बलिदान दिने चार अमर सहिद र राजा त्रिभुवनको योगदान इतिहास बनिसकेको छ ।

समय समयमा राणा शासनविरुद्ध कार्य हुँदै आए तापनि १९९७ सालपछि राणाहरूको निरंकुशताविरुद्ध उठेको लहरले प्रजातन्त्र प्राप्त गर्न सकेको थियो । जहानिया राणा शासनविरुद्ध सक्रिय भएको आरोपमा जासुसहरूको भनाइमा राणाले खोजी–खोजी कैयौँ कर्णधारलाई जेलमा कोच्दै अराजक कार्य गरेका थिए । निरंकुश जहानिया शासन लम्ब्याउने उनीहरूको रणनीति थियो ।

राजा त्रिभुवन निरंकुश शासनबाट मुक्त हुन भित्रभित्रै प्रजातन्त्रवादी व्यक्ति र त्यतिबेलाका जुझारुहरूको नेतृत्वदायी प्रेरक बनेकाले नेपालमा प्रजातन्त्र स्थापना हुन सकेको हो ।  

राणा शासनविरुद्ध प्रचण्ड गोर्खा नामक संस्था खोलेको अभियोगमा खड्गमान सिंहलाई भद्रगोल जेलभित्र पिँजरामा राखिएको थियो । प्रचण्ड गोर्खापछि प्रजापरिषद् स्थापना भएको थियो । विक्रम संवत् १९९७ सालको सुरुमा प्रजापरिषद्बाट राणा विरोधी पर्चा छरिएको निहुँमा कैयौँ व्यक्ति पक्राउ परेका थिए । त्यसबेला अनेकौँ निर्दोष व्यक्ति पनि समातिएका थिए । त्यही १९९७ साल राणाको विशेष अदालतले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई ज्यान सजाय र सर्वश्वहरण गरेको थियो । टंकप्रसाद आचार्य, रामहरि शर्मा, चुडाप्रसाद शर्मा, गणेशमान सिंह, हरिकृष्ण श्रेष्ठ, गोविन्दप्रसाद उपाध्याय, पुष्करनाथ उप्रेती, बलबहादुर पाण्डेलाई जन्म कैद र सर्वश्वहरणको सजाय सुनाएको थियो । अन्य २०–२५ जनालाई विभिन्न कैद हुने र प्रजापरिषद्का संस्थापक अध्यक्ष टंकप्रसाद आचार्य र महामन्त्री रामहरि शर्मा ब्राह्मण भएकाले चार पाटा मुडेर जात झारेर सर्वश्वहरणसहित जन्म कैदको घोषणा माघ ६ गते सुनाएको थियो । बलबहादुर पाण्डेको जेलमै मृत्यु भएको थियो ।  

यसै क्रममा १९९७ माघ ९ गते राति शुक्रराज शास्त्रीलाई टेकुको एक रुखमा झुण्ड्याइयो । माघ ११ गते धर्मभक्तलाई सिफलको रुखमा झुण्ड्याइयो । दशरथ चन्द र गंगालाललाई शोभाभगवतीपूर्व विष्णुमती किनारमा माघ १५ गते निर्ममतापूर्वक गोली ठोकेर मारियो । गणेशमान सिंह २००१ असारमा जेलभित्रैबाट भागेका थिए । सिद्धिचरण श्रेष्ठ तथा केदारमान व्यथित जस्ता कैयौँ जेलभित्रै कोचिएका थिए ।  

सबैभन्दा पहिले झुण्ड्याइएका शुक्रराज शास्त्रीका बारेमा यहाँ केही उल्लेख गर्न उचित ठान्छु । शुक्रराज एक कर्मठ समाजसेवी र विद्वान्का रूपमा परिचित हुन थालेको अवस्थामा उनको विद्वतामाथिको आक्रमण भयो । त्यो बेलाको निरंकुश अत्याचारी राणा शासनले उनको विद्वता सहन सकेन । नेपालमा सहिदको बाटो प्रारम्भ गर्ने शुक्रराज शास्त्री हुन् । विशाल नेपालको एकीकरणमा बलिदान दिनेहरूलाई सपुत भनिन्छ भने देश र जनाताको हितमा बलिदान दिने सहिद हुन् । नेपालका सहिदमध्ये सबैभन्दा पहिला शुक्रराज शास्त्रीलाई बुझ्न सकियो भने तमाम नेपालीलाई आफ्नो देशको राष्ट्रियता र प्रजातन्त्र बचाउन पे्ररणा मिल्छ ।  

सहिद शब्दलाई हलुकारूपले हेर्न थालियो भने सभ्यताको नै विनाश हुन्छ । नेपालमा अमर चार सहिदको गाथा अध्ययन गर्‍यो भने मात्र वास्तिवकतामा पुगिन्छ । मैले जीवनको प्रारम्भमा शुक्रराज शास्त्रीको बारेमा जानकारी पाउँदा म आकुल व्याकुल बनेको थिएँ । अमर सहिदलाई सम्झँदा कहिले कहिले रुन्थेँ पनि । शुक्रराज शास्त्री सहिद बनेको बेलाको कुरो र विशाल नेपालको एकीकरणका निर्माता पृथ्वीनारायण शाहको महान् दूरदर्शिता र ५२ वर्षको उमेरमा स्वर्गीय भएको दुःखद अवस्था र पृथ्वीनारायण शाहपछि उनका कान्छा छोरा बहादुर शाहले बाइसी, चौबीसी हिन्दु राज्यहरू, कुमाउ, देहरादुन, नैनीताल, गडवाल हुँदै पश्चिम काँगडासम्म हिन्दु राज्यहरूलाई एकीकरणको महायज्ञमा सफलता हासिल गरिरहेका थिए । त्यस्ता योद्धालाई दरबारिया षडयन्त्रबाट ४० वर्षको उमेरमै हत्या गराइएको कुरा र भीमसेन थापालाई जबर्जस्त आत्महत्या गराइएको कुराले राष्ट्रियताको पीडाले सताउँछ । शुक्रराज शास्त्रीको पनि त्यस्तै षडयन्त्रमा फसाएर एक सुयोग्य समाज सुधारक महामानवलाई पनि टेकुको एक रुखमा झुण्ड्याएर फाँसीमा चढाइयो । यस कुराले राणाहरूको अत्याचार सम्झेर जति धिक्कारे पनि चित्त शान्त हुँदैन ।  

२०१९ सालमा राजा महेन्द्रको चाहनाअनुसार भद्रकालीअगाडि चार अमर सहिद र राजा त्रिभुवनको सालिक निर्माण गरेर सहिदहरूप्रति न्यानो अभिवादन गरियो । तर कतिपय बुजु्रक राजा त्रिभुवनप्रति नकारात्मक सोचाइ राखेर सहिद गेटमा राजा त्रिभुवनको सालिक रहेको कुरामा विरोध उठाउने गर्छन् । जहानिया राणा शासन फ्याँकेर मुलुकलाई आधुनिक युगमा प्रवेश गराउने काम राजा त्रिभुवनकै सहकार्यमा भएकाले सहिदद्वारमा चार सहिदसँगै त्रिभुवनको सालिक राखिएको थियो । सहिद गेटका डिजाइनर इन्जिनियर शंकरनाथ रिमाल हुन् । 

पहिला राजा त्रिभुवन र चार सहिदको सालिक राख्ने कुरा नभएर प्रजातन्त्रको स्तम्भ राख्ने मात्र कुरा भएको र पछि चार सहिद र राजा त्रिभुवनको सालिक राखियो । तर राजा महेन्द्रबाट राजा त्रिभुवनको सालिक त्यहाँ राख्ने भनिएको थिएन । पछि सबैको सल्लाहले राजा त्रिभुवनको समेत सालिक राख्नु सर्वमान्य कुरा रहेकाले त्यस्तो निर्णय भएको हो । सहिद गेटको उपेक्षा गर्न खोज्नु अनुचित कुरा हो । २०७५ माघ १० गते काठमाडौँ महानगरपालिका, १२ वडाले ठूलो आत्मीयताका साथ त्यही रुखको छेउमा महान् सहिद शुक्रराज शास्त्रीको पूर्ण कदको सालिक उभ्याएकामा साहै्र खुसी लागेको छ ।  

अन्तमा, २०६३ सालपछिको सत्ताले सहिद दिवस हटाएको र सो दिनको बिदासमेत कटौती गरेको छ । सहिदहरूको सम्मानका लागि वर्षमा एक दिन सार्वजनिक बिदा दिनैपर्छ । प्रजातन्त्र स्थापनामा अमर सहिदहरू तथा राजा त्रिभुवनको बलिदान र समर्पणलाई आत्मसात गरौँ ।

प्रकाशित: १६ माघ २०७७ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App