१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

सरसफाइ अभियानमा जनचेतना

स्वस्थ जीवनका लागि सरसफाइको महत्त्वपूर्ण स्थान हुन्छ। सरसफाइ भन्नाले व्यक्तिगतदेखि लिएर सामूहिक, समाजिक, आन्तरिक र बाह्य वातावरणको सरसफाइसमेत बुझाउँछ। एउटा व्यक्ति व्यक्तिगतरूपमा जतिसुकै सरसफाइमा रहे तापनि यदि सामूहिक, सामाजिक, आन्तरिक र उसको बाह्य वातावरणको सरसफाइ राम्रो र उपयुक्त भएन भने त्यो व्यक्तिगत सरसफाइले मात्र केही तात्त्विक महत्त्व राख्दैन। यसो भनेर व्यक्तिगत सरसफाइलाई नजरअन्दाज गर्नचाहिँ खोजिएको होइन। व्यक्तिगतका साथै सामूहिक र सामाजिकरूपमा नै जनजागरण/जनचेतना आएको कारणले आन्तरिक र बाह्य वातावरणमा समेत राम्रो सरसफाइ हुन गई फोहोरमैला व्यवस्थापन र सरसफाइ अभियान उपयुक्त र राम्रो हुन गएमा त्यसको गुणात्मक परिणाम आउँछ। 
 यदाकदा समाजमा भएका विकृतिका कारण असामाजिक घटना हुने गरेको पनि पाइन्छ नै। तर त्यसलाई हामीले अपवादका रूपमा लिनुपर्छ र असामाजिक होइन, समाजिक क्रियाकलापमा नै आफूलाई र अरुलाई समेत उत्प्रेरित गर्नु हाम्रो लक्ष्य हुनुपर्छ। त्यही लक्ष्यअन्तर्गत हामीले सरसफाइ अभियानलाई लिनुपर्छ। व्यक्तिगतका साथै सामूहिक, सामाजिक, आन्तरिक र बाह्य वातावरणलाई सफा राख्न सकिएको खण्डमा त्यसको गुणात्मक परिणाम प्राप्त हुन्छ। कुरा फेरि व्यक्तिबाटै सुरु हुन्छ। समाज र वातावरण सफा राख्न पनि पहिले व्यक्ति आफैँ सफा हुनुपर्छ। उसमा जनजागरण/जनचेतना जगाउने शक्तिको झिल्को उजागर हुनुपर्छ। थोपा–थोपा मिलेर समुद्र बन्छ भनेझैँ व्यक्ति–व्यक्ति मिलेर घर, परिवार, टोल, शहर, देश र महादेश निर्माण हुन्छ। व्यक्ति–व्यक्तिमा सरसफाइको जनचेतनाको झिल्को उजागर हुन सक्यो भने त्यसले समाजमा विद्युतीय शक्तिको काम गर्छ।
यहाँ भन्न खोजिएको के हो भने कम्प्युटरको सफ्टवेयर र हार्डवेयर सबै ठीक दुरुस्त छ तर त्यसलाई सञ्चालनमा ल्याउन विद्युतीय शक्ति नै चाहिन्छ। व्यक्तिगतरूपमा सरसफाइमा आएको जनचेतनाको झिल्कोले सामाजिक रूप लियो भने त्यसले एउटा आगोको झिल्कोले दिएको प्रकाशको वीजजस्तै समाजको सरसफाइमा विद्युतीय प्रभाव पारी राम्रो परिणाम दिन्छ। व्यक्ति–व्यक्तिमा जनचेतना आएको खण्डमा घर, टोल, समाज, शहर अनि देशलाई नै सफासुग्घर राख्न कुनै जटिल समस्या हुँदैन। तर त्यसको विपरीत जनचेतनाको अभाव हुने हो भने एउटा व्यक्ति, संस्था वा निकायले चाहँदैमा सफाइ अभियानलाई मूर्त रूप दिई तार्किक निचोडमा पुर्‍याउन सकिँदैन र पुनः उही कम्प्युटरको जस्तै हार्डवेयर र सफ्टवेयर सबै दुरुस्त छ तर विद्युत्को झिल्कोको अभावमा कम्प्युटर सञ्चालनमा नआएजस्तै जनचेतनाको झिल्कोको अभावमा समाजमा सरसफाइ र फोहोरमैलाको व्यवस्थापन पनि चलायमान नभई स्थिर रही डंगुर भएर थुप्रिरहन्छ।
प्रसंग देशको एउटा अति नै पुरानो र ऐतिहासिक शहर नेपालगञ्जको हो। नेपालगञ्जका एक जना मित्रको मथिङ्गलमा २०६६/०६७ सालतिरको यहाँको हैजाको प्रकोपले सरसफाइको चेतनाबारे एउटा झिल्कोको उजागर गरिदिएछ। अब उनले यो झिल्कोलाई कसरी व्यक्ति व्यक्तिमा उजागर गर्ने भन्ने सोचका साथ ढिलै भए पनि हालसालै आएर केही स्थानीय व्यक्तिहरुको भेला गराएर एउटा अन्तर्क्रियाको कार्यक्रम आयोजना गरे। यो कुनै सरकारी/गैरसरकारी निकायले तारे होटलमा आयोजना गरेको गोष्ठी वा सेमिनार थिएन। उनले आफ्नै व्यक्तिगत पहलमा स्थानीय केही सक्रिय मित्र तथा भद्रभलाद्मीको जमघट गराई अन्तर्क्रिया गरेको हुनाले शायद यसलाई मिडियाले समेट्न सकेन र मैले यो लेखमा समेट्ने जमर्को गरेको छु। म आफैँ पनि नेपालगञ्जको बासिन्दा र त्यो कार्यक्रममा समेत मित्रको आमन्त्रणमा सहभागी हुन पुगेको थिएँ। नेपालगञ्जमा विद्वान्, शिक्षक, डाक्टर, इन्जिनियर, वकिल, समाजसेवी, मानव अधिकारकर्मी तथा शिक्षित समुदायको ठूलो उपस्थिति छ, त्यस्तो प्रबुद्ध वर्ग र चलायमान भएको शहर फोहोरमैलाको व्यवस्थापनमा अचलायमान भई स्थिर छ। फोहोरमैलाले यस्तो अस्तव्यस्त हुनुमा कुनै एउटा निकाय वा व्यक्ति वा समूहलाई दोषी भन्न मिल्दैन। यहाँको फोहोरमैला व्यवस्थापन र सरसफाइ कुनै व्यक्तिको वा निकायको मात्र जिम्मेवारी अवश्य पनि होइन।
मैले निकालेको निचोडमा यस्तो जीवन्त शहरमा जनचेतनाको कमीको कारणले नै फोहोरमैला व्यवस्थापन र सरसफाइ यस्तो स्थुल हुन गएको छ। शहर परिक्रमा गर्न हामी निस्कियौँ भने यहाँ हातमा लोटा र बोतल लिएर खुला ठाउँतिर गइरहेको जनसमुदायको दृश्य अवलोकन गर्न पाउँछौं। यो नेपालगञ्ज शहरमा यत्रतत्र/सर्वत्र पाइने दृश्य हो। पसलअगाडि, घरअगाडि दिसापिसाब गर्नु, नानीका दुवै खुट्टा च्यातेर दिसा गर्न राखेको दृश्य देखिनु यहाँका लागि कुनै नौलो कुरो होइन। चियापसल, मिठाई पसल अगाडि चियाका कप, गिलास, मिठाई र चाट खाएका पात, प्लाष्टिकका झोला थुपिँ्रदै नाली बुझिएको छ, नाली गुज–गुज पाकिरहेको छ, मानौँ कुनै पकवान्न। त्यो दृश्य धेरै लामो समयदेखि यथावत् छ। त्यहीँ मिठाई र चाटपसल छ। त्यहाँका झिँगा उडेर त्यही पकवान्नमा बसिरहेका छन्। हामी त्यही गएर ती पक्वान्न स्वाद लिएर खाइरहेका हुन्छौ। फोहरमैलाको कुरा गर्दा घरबाट निकालेको फोहोर, पुरानो लुगाफाटोसमेत कुनै ठीक स्थानमा नराखी नालीमा लगेर फालेको देखिन्छ। अस्पताल, नर्सिङ होम र औषधी पसलअगाडि त्यहाँबाट उपचारका क्रममा निस्केका फोहोर पनि फालेको देख्न पाइन्छ।
एउटा जनावर, जसलाई हामी सुँगुर भन्छौं, त्यसले मानिसको दिसा खाने गर्छ। यसलाई बिहान चराउन नेपालगञ्ज बजारभित्र ल्याइन्छ। यो बडो मार्मिक दृश्य हो। किनभने नेपालगञ्ज शहर खुला दिशामुक्त क्षेत्र होइन, हामी नगरबासीले नै यसलाई खुला दिसायुक्त शहरी क्षेत्रमा परिणत गरिदिएका छौं। यो दृश्यलाई हामी अनौठो मान्दैनौं। हाम्रो मानसिकताले यसलाई सहजै पचाइसकेको छ। यहाँ अर्को दृश्य पनि देख्न पाइन्छ। बूढा, बच्चाहरु प्लाष्टिक बालेर आगो तापिरहेका हुन्छन्। यसलाई पनि हामी सचेत वर्गले सरल किसिमले पचाइसकेका छौं। प्लाष्टिकको धुँवाबाट क्यान्सर जस्तो खतरनाक रोग हुने कुरा शायद उनीहरुलाई थाहा छैन। तर हामी थाहा पाउने वर्ग पनि मौन छौं। मल विसर्जनका कुरा गर्दा एउटा व्यक्तिले प्रतिदिन २०० ग्रामका दरले मल बिसर्जन गर्छ भन्ने मान्यता राख्ने हो भने नेपालगञ्ज यत्रो जनसंख्या भएको शहरमा अधिकांश खुल्ला ठाउँमा दिसापिसाब गर्दा यसको दुष्परिणाम कति भयावह होला? तपाईं यदि बिहान खुला ठाउँमा घुम्न जानुहुन्छ भने यो दृश्य देख्नुको साथै दूषित वातावरण र दिसापिसाबको गन्धबाहेक केही पाउनुहुन्न। यो दुष्परिणामको विश्लेषण गर्ने हो र यदि यो अवस्थालाई निरन्तरता दिँदै सुधार गर्न सकिएन भने त्यो दिन धेरै टाढा छैन जुन दिन कतै हामी सम्पूर्ण नेपालगञ्ज नगरवासीहरु डेंगु, मलेरिया, हैजा र इन्सेफ्लाइटिस जस्ता रोगको महामारीको कुचक्रमा पर्न सक्ने खतरा छ।
 जनचेतनाको कमीको कुरा त्यहाँबाट सुरु हुन्छ, जहाँबाट एउटा व्यक्तिले चेतनाको अभावमा जुन गर्न नहुने कार्य गरिरहेको हुन्छ, त्यहाँ हामी चेतना भएका व्यक्तिहरु पनि आँखा चिम्म, मुख बन्द गरेर बसिरहेका हुन्छौं र मूकदर्शकका रूपमा हेरिरहेका हुन्छौं। केही भन्न सकिरहेका हुँदैनौं। जुन कुराले हामी कतै जिउँदो लास त भएनौं भन्ने आभास दिन्छ। यदि हामी जीवित हौं र के खराब, के ठीक छ भन्ने कुरा छुट्याउन सक्छौं भने त्यो चेतना नभएकालाई हामीले मार्गदर्शन गर्नुपर्छ। यसका लागि झै–झगडा, मारकाट र गालीगलौज नगरी सभ्य र शालीन तरिकाले ठूलो परिवर्तन ल्याउन सकिन्छ। संसारमा यस्ता देश पनि छन्, जहाँ अरु कसैले थाहा पाई वा नपाई सडक वा बाटोमा केरा, सुन्तलाको बोक्रा, चुरोटको ठूटा, चक्लेटको खोस्टा वा अरु केही फोहोर वस्तु फालेको छ भने अर्को समकक्षीले त्यो टिपेर आफ्नो खल्तीमा राख्छ र उपयुक्त ठाउँमा लगेर त्यसलाई राखिदिन्छ। उसले फाल्ने व्यक्तिलाई केही भन्दैन तर उसको क्रियाकलापबाट त्यो व्यक्तिलाई यस्तो नैतिक दबाब पर्छ कि शायद उसले यो कुरा आफ्नो जीवनपर्यन्त अर्कोपटक दोहोर्‍याउने दुस्साहस गर्न सक्दैन। हामीले पनि यस्तै सिको गर्नुछ। जनचेतनाको झिल्कोलाई कसरी दन्काएर लैजाने भन्ने कुराको यो एउटा ज्वलन्त, शालीन, सभ्य उदाहरण र प्रदर्शन (डिमोस्ट्रेसन) हो, जसको अनुशरण हामीले किन नगर्ने?

प्रकाशित: १६ जेष्ठ २०७० ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %