२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

जबजकाे जगमा नेकपाकाे सत्ता

संसारका कुनै पनि देश कम्युनिस्ट शासनमा समृद्ध भएका छैनन्। अहिले चीन संसारको दोस्रो अर्थतन्त्र भएको छ। जापानको एउटा संस्थाले गरेको अध्ययनका आधारमा सन् २०२८ सम्म चीन विश्वको पहिलो अर्थतन्त्र बन्ने आकलन गरेको छु। तर चीनको यो समृद्धि कम्युनिस्ट शासन व्यवस्थाकै कारण भएको मान्न सकिँदैन। किनभने त्यहाँको अर्थतन्त्र पूरै पुँजीवादी छ र त्यसले पुँजीवादका सबै प्रवृत्ति र विकृति अपनाइसक्यो भन्दा फरक पर्दैन।  

जसले कम्युनिस्ट दर्शन पढेको तथा बुझेको हुन्छ उसले संसदीय अभ्यासबाट कम्युनिस्ट शासन स्थापना गर्ने कल्पना गर्दैन। 

सन् २०१० ताका करिब ४ दिनको बेइजिङ बसाइका क्रममा त्यहाँको चालचलन हेर्दा कुनै पनि हिसाबले समाजवादी व्यवस्थाजस्तो लागेन। बाटााघाटा चौडा र चिल्ला छन् तर छिनछिनमा टोल ट्याक्स तिर्नुपर्छ। हामी बसेको सम्भवतः तीनतारे होटल थियो, त्यहाँ कारको त कुरै छाडौं, मोटरसाइकलको समेत पार्किङ शुल्क उठाइएको थियो। फेरि त्यहाँ भव्य विवाह समारोह पनि आयोजना भइरहेको थियो। जहाँ चलचित्रमा पनि नदेखेको सम्भवतः फ्रान्सको लक्जरी कार औडीको भीड थियो, अर्थात् विवाह समारोहमा उपस्थित सबै एकैखालको महँगो कारमा आएका थिए।  

हामी बाहिरका पर्यटक थियौं, तर होटलले हामीसँग हरेक कोठाको ८० डलरका दरले तीन दिनको भाडा डिपोजिट गर्न लगायो। त्यसपछि मात्र हामीलाई बस्न दियो। सुरुमा १५० डलर भनिएको होटललाई मोलमोलाइ गर्दागर्दा ८० मा झरेको थियो। साँझ हुन नपाउँदै सम्भवतःदलाल हुनुपर्छ, उनीहरूले वेश्यावृत्तिमा लागेका महिलाका तस्बिरसहितको सानो कार्ड वितरण गर्दै हिँडेका थिए। जसमा सम्पर्क नम्बर थिए। सुनिएअनुसार त्यस्तो पेसा बेइजिङमा वैधानिकजस्तै छ। मैले विद्यार्थी कालमा सुनेको चीन र अहिलेको चीनमा आकाश-जमिनकै फरक थियो। 

त्यतिबेला हाम्रा कम्युनिस्ट नेताहरूले चीन स्वर्गैजस्तो भएको, सबै समान, नागरिकको सबै जिम्मा राज्यले लिएको, व्यक्तिगत सम्पत्ति कसैको नहुने हुँदा लोभलालच र झैझगडा पनि नहुने, चोरी नहुने भएकाले कुनै घरमा ताल्चा पनि लगाइँदैन इत्यादि। सम्भवतः कम्युनिस्ट शासनमा यस्तै सुखी समाज हुन्छ भनेर चर्चा गरिने भएकाले होला, नेपालमा बाहिरकाले मात्र नभई तुलनात्मक रूपमा समृद्ध काठमाडौंका रैथाने नेवार समुदायले समेत आफूलाई कम्युनिस्ट भन्ने व्यक्तिलाई आश्रय मात्र दिएनन्, आफ्ना छोरीचेलीसमेत दिए। वर्तमान प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य तिनैमध्ये एक उदाहरण हुन्।

कम्युनिस्टको संख्या धेरै भए तापनि उनीहरूबीच धेरै विभाजन भएको हुँदा लाभ भने सधैँ कांग्रेसले लियो र लामो समय सत्ताभोग गर्यो। कम्युनिस्टहरू एकजुट नहुँदासम्म एकमना सरकार बनाउन नसकिने बुझेर नै केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गरे र करिब झन्डै दुईतिहाइको सरकार बनाउन सफल पनि भए। तर उनीहरूमा गुट र फुटको संस्कार पहिलेदेखि नै जब्बर भएको हुँदा अहिलेको अवस्था आएको हो भन्न कुनै विज्ञानको सहायता लिन पर्दैन। 

जसले कम्युनिस्ट दर्शन पढेको तथा बुझेको हुन्छ उसले संसदीय अभ्यासबाट कम्युनिस्ट शासन स्थापना गर्ने कल्पना गर्दैन। किनभने शासन भनेको वर्गीय हुन्छ र जो धनी र सत्तासीन हुन्छ उसले सेनालाई आफ्नो अधीनमा राखेको हुन्छ र उसैमार्फत शासन गर्छ। अतः जबसम्म सेनालाई पराजित गरेर सर्वहारा वर्गले आफ्नै सेना तयार गर्न सक्दैन, तबसम्म कम्युनिस्ट शासन स्थापना हुँदैन र भइहाले पनि त्यो टिकाउ हुँदैन। 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठले सशस्त्र संघर्षबाट कम्युनिस्ट शासन ल्याउने विचार कहिल्यै राखेनन्। जीवनभर उनले कांग्रेससँगको सहकार्यमा मात्रै पञ्चायत ढाल्न तथा संसदीय अभ्यासबाटै कम्युनिस्ट शासन स्थापना गर्न सकिन्छ भन्ने धारणा राखे। त्यसैका विरोध गर्दै कम्युनिस्ट तथा माक्र्सवादी चिन्तक मोहनविक्रम सिंंहले गद्दार पुष्पलाल भन्ने पुस्तक नै लेखे। पुष्पलालको देहावसान पञ्चायतकालमै भयो, उनका अनुयायी मनमोहन अधिकारीहरूले पनि कांग्रेससँगको सहकार्यमै पञ्चायत ढाल्नुपर्ने ‘लाइन’ जारी राखे तापनि त्यसले व्यापकता पाउन सकेन।  

यता झापा विद्रोहबाट उदाएको कम्युनिस्ट समूहलाई मोहनविक्रमको समूहले उग्रवामपन्थी धार मान्थ्यो र उग्रवादको अन्त्य अवसरवादमा हुन्छ भन्ने मान्यता राख्थ्यो। अथवा उनीहरू घोर संशोधनवादी भएर अन्ततः पुँजीवादकै ताबेदारी गर्छन् भन्थ्यो। मोहनविक्रमको यो व्याख्या अहिले कत्तिको सान्दर्भिक छ, त्यो विचार गर्ने जिम्मा पाठककै। 

पुष्पलालकै समूहबाट प्रशिक्षित मदन भण्डारी तत्कालीन मालेको नेतृत्वमा आए। उनले मोहनविक्रम सिंहको मार्क्सवादकाे व्याख्यालाई राम्ररी बुझेका थिए र के कुरामा विश्वस्त थिए भने पुष्पलालले जस्तै सीधै कांग्रेससँगको सहकार्य र संसदीय व्यवस्थाको वकालत गर्दा मोहनविक्रमजस्ता कम्युनिस्ट चिन्तकले उनको सजिलै धज्जी उडाउनेछन् र उनको सिद्धान्त कम्युनिस्ट खेमामा टिक्न सक्दैन। अतः उनले त्यसलाई व्याख्या गर्ने आधार मार्क्सवादी चिन्तकको लाइनलाई नै बनाए। 

कम्युनिस्टले देवताजस्तै पुज्ने ५ व्यक्ति हुन्- मार्क्स, ऐङ्गेल्स, लेलिन, स्टालिन र माआत्सेतुङ। संसारभरिकै कम्युनिस्ट उनीहरूले देखाएकै बाटोलाई सच्चा कम्युनिस्ट क्रान्तिकारी धार मान्छन्। माक्र्सको आधारभूत ऐतिहासिक भौतिकवादको सिद्धान्तलाई आधार मान्दै पुँजीवादलाई फ्याँकेर लेलिनले रुसमा वोल्सेभिक क्रान्ति गरे। माक्र्सका सबै सिद्धान्तको प्रयोग औद्योगिक क्रान्ति भएको पुँजीवादी शासनमै गरिएको हुँदा पुँजीवाद नभएको कृषिमा आधारित अर्थतन्त्र भएका देशमा कसरी गर्ने भन्ने प्रश्न अनुत्तरित नै रहेका बेला माओत्सेतुङले किसानलाई नै संगठित गरेर जुन क्रान्ति सफल  पारे, त्यसले नेपालजस्तो कृषिप्रधान र किसानै किसान भएको देशमा पनि त्यस्तो गर्न सकिन्छ भन्ने बाटो देखाइदियो।  

त्यसकारण नै नेपालका सबै कम्युनिस्ट पार्टी, केशरजंग रायमाझीबाहेकले माओत्सेतुङ विचारधारा अंगीकार गरेको देखिन्छ। ऐतिहासिक भौतिकवादले पहिले आदिम साम्यवाद, त्यसपछि सामन्तवाद, पुँजीवाद, समाजवाद तथा साम्यवादको परिकल्पना गरेको छ। सबैजसो मार्क्सवाद पुँजीवाद नभई समाजवाद आउँदैन भन्ने मान्यता राख्छन्। माओत्सेतुङले पुँजीवाद र समाजवादबीचमा अर्को एउटा चरण ल्याए, त्यो हो- नौलो जनवाद। जसमा सामन्तवादका अवशेष प्रशस्तै हुन्छन्, अल्पमतमा पुँजीवादी राजनीतिक पार्टी पनि रहन्छन्, तर त्यसलाई कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको सरकारले परास्त गर्दै समाजवादको बाटो सुनिश्चित गर्छ। 

माओत्सेतुङको यही सिद्धान्त मदन भण्डारीले पनि अनुशरण गर्दै सशस्त्र क्रान्ति नगरी पनि बहुदलीय प्रतिस्पर्धाबाटै नौलो जनवाद प्राप्त गर्न सकिन्छ भन्ने अभियान अघि बढाए। यसको प्रयोग मालेले पञ्चायतकालमै गरिरहेका थिए, त्यतिबेला राष्ट्रिय पञ्चायतलाई उपयोग गर्ने भन्दै जनपक्षीय उम्मेदवारका नाममा धेरैलाई रापस बनाएका थिए, तीमध्ये अग्रणी नाम हुन्- पदमरत्न तुलाधर, जागृतप्रसाद भेटवाल, सोमनाथ प्यासी इत्यादि।  

झापा विद्रोहमा असफल भएको तत्कालीन मालेले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्ने आँट गर्न सकेन। सशस्त्र संघर्षको वकालत गर्ने मोहनविक्रम तथा निर्मल लामाहरूको समूहले त्यस्तो संघर्षको अवस्था पनि देखेन। यस्तो अवस्थामा २०३६ सालको करिब एकहप्ते विद्यार्थी आन्दोलनबाटै तर्सिएर पञ्चायतले विद्यार्थी संगठनहरूलाई छुट दिएको तथा जनमत संग्रह गरेको अवस्थामा माले र अन्य कम्युनिस्ट घटकले तत्कालीन पुष्पलालको लाइन समातेर संयुक्त वाममोर्चा बनाए।  

जबजकै आडमा एमाले र हालको नेकपालाई संसारबाटै लगभग लोप हुन लागेको कम्युनिस्ट सिद्धान्तले नै सत्तासीन बनायो। 

जसले कांग्रेससँग मिलेर २०४६/०४७ सालमा गरेको पञ्चायतविरोधी आन्दोलन सफल भयो। यो सफलता मिल्नुमा पुष्पलालको लाइन तथा कम्युनिस्ट एकजुट गराउन मदन भण्डारीको जनताको बहुदलीय जनवाद कारक तत्व भएकाले खासगरी एमाले पक्षधरले भण्डारीलाई नेता, प्रणेता तथा सिद्धान्तकार मान्छन्। भण्डारी अहिलेसम्म जीवित रहेका भए के हुन्थ्यो, त्यो त अनुमानको विषय भयो। तर उनकै सिद्धान्तकाे आडमा एमाले र हालको नेकपालाई संसारबाटै लगभग लोप हुन लागेको कम्युनिस्ट सिद्धान्तले नै सत्तासीन बनायो। 

तर त्याे सिद्धान्त उनीहरूलाई सत्ता प्राप्त गर्ने  भर्‍याङ मात्र भयो। कम्युनिस्टले गरिब तथा निम्नमध्यम वर्गको हितमा काम गर्छन् र देशलाई समृद्धितर्फ डोर्‍याउँछन् भन्ने विश्वास गरेर जनताले करिब दुईतिहाइ बहुमत दिए र सत्तामा पुर्‍याए। तर त्यो जनमतको घोर अपमान भएको छ। यो पृष्ठभूमिमा मदन भण्डारीको जबज कति सफल कति असफल, यसको निर्क्याेल गर्ने जिम्मा पनि पाठकलाई नै।  

प्रकाशित: २१ पुस २०७७ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App