२७ श्रावण २०७९ शुक्रबार
विचार

सन्तुलित सम्बन्ध

‘उप्रान्त यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने पृथ्वीनारायण शाहले भारदारहरूलाई भेला गरी व्यक्त गरिएका उपदेशहरू नैं नेपालको परराष्ट्र नीतिको द्योतक हो ।  यी विचार अध्यावधि अनुकरणीय छन् । चीन र भारत यी दुई ठूला देशसँग सन्तुलित सम्बन्धलाई निरन्तरता दिइनु नेपालको सफल परराष्ट्र नीति हो ।

नेपाल, चीन र भारतबीच आत्मीयता कायम भएमा चीनमा फ्रि तिब्बतको मुद्दा र नेपाल तथा भारतमा इसाईकरण गर्ने पश्चिमाहरूको षडयन्त्र पनि समाप्त हुनेछन् ।  

नेपालमा जुनसुकै सत्ता परिवर्तन भए तापनि चीन तथा भारतसँग सन्तुलित सम्बन्ध कायम राख्न सकिएमा नेपाललाई आत्मनिर्भर बनाउन कुनै बाधा अड्चन आउँदैन । चीन र भारतबीचको मैत्री सम्बन्ध धर्म, संस्कृति, व्यापार तथा वैवाहिक आधारमा विकसित हुँदै आएको हुनाले चीन तथा भारतसँग सन्तुलन कायम राख्न अप्ठ्यारो छैन । नेपाल, चीन र भारतबीचमा सुमधुर मैत्री सम्बन्धको आधार धर्म, संस्कृति नै बनेको हो । किरातकालदेखि नै नेपालको आर्थिक, सामाजिक र धार्मिक जीवनको क्रम बसिसकेको थियो भन्ने कुरा बुद्धग्रन्थ ‘मूुल सर्वास्थिवाद विनय संग्रह’ तथा ‘कौटिल्यको अर्थशास्त्र’ बाट थाहा हुन्छ ।  

नेपालका विभिन्न राजवंशले भोट, चीन, भारत र अन्य देशसँग व्यापारिक सम्बन्ध कायम गरेको र भारतवर्षमा अयोध्याका युवराज रामको विवाह यस क्षेत्रका जनक राजाकी छोरी सीतासँग भएको थियो । महान् अशोक बौद्ध धर्मप्रति आस्थावान भएर बुद्धको जन्मथलो लुम्बिनी आएका र आफ्नी छोरी चारुमतीको विवाह नेपालका राजा देवपालसँग गराएका र पशुपति क्षेत्रको पश्चिम उत्तरमा चारुमती चैत्य निर्माण गरेर नेपालप्रति आफ्नो आत्मीय सम्बन्ध राखेका थिए ।  

एसियामा नेपाल र भारतको प्राचीन गौरवमय प्रतिष्ठाको वर्णन विश्वव्यापी भएको छ । राजनीतिक परिवर्तन र साम्राज्यवादी शक्तिको प्रभावले हिमाली क्षेत्रलाई सर्वाधिक असर पर्ने गरेको छ । भारतमा मुसलमान साम्राज्यलाई हत्याउँदै अंग्रेजी साम्राज्यले प्रभाव जमाउन थालेपछि विक्रम संवत् १८०० देखि गोर्खाका राजा पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वबाट हिमवत्खण्ड नेपालका हिन्दु राज्यहरूलाई बचाएर विशाल नेपाल सिर्जना गरेका थिए । अग्रेजहरू अन्य मुलुकमा पस्दा पहिलो व्यापार, दोस्रो बाइबल, तेस्रो बुलेट लिएर पस्ने गर्थे । नेपालमा पनि व्यापार, बुलेट प्रयोग गर्नुभन्दा बाइबल र पैसालाई केन्द्रविन्दु बनाएर प्रवेश गरेका थिए । नेपालमा आफ्नो प्रभुत्व कायम गर्न सक्ने नदेखे तापनि भोटसँग व्यापार बढाउने निहुँमा नेपालमा अप्रत्यक्षरूपमा आफ्नो प्रभुत्व जमाउन छाडेको थिएन ।  

अंग्रेजहरू ठन्डी मुलुकमा बस्न चाहने भएकाले नेपाल जस्तो स्वस्थकर ठाउँको खोजीमा थिए । त्यसैले हिमवत्खण्डको यो क्षेत्रलाई कसैको डर थियो भने अंग्रेजको नै थियो । त्यसो भएकाले पृथ्वीनारायण शाहले बनारसबाट हतियार बनाउने मुसलमान र मुसलमान योद्धाहरूसमेत गोर्खामा लिएर आएकाले यहाँका साना राज्यका जनता र मुसलमानहरूसमेतको सहयोगका कारण अंग्रेजले नेपाललाई आक्रमण गरिहाल्न अप्ठ्यारो परिरहेको थियो । तर पृथ्वीनारायण शाहपछि कूटनीतिक षडयन्त्रबाट नेपालमाथि आफ्नो उपस्थिति जनाइरहे ।  

त्यो क्रमपछि भारत सन् १९४७ मा स्वतन्त्र भए तापनि नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउनमा स्वतन्त्र भारत पनि लागिरह्यो । भारतीय जनतासँग नेपालको सुमधुर सम्बन्ध रहिरहे तापनि भारतले नेपाललाई घेराबन्दी गर्ने अनेकौँ प्रयत्न गरिरहेकामा २०६३ सालदेखि २०७१ सालसम्म नेपालसँग आफ्नो प्रभाव जमाउन प्रयत्नशील भए तापनि भारतीय कांग्रेस (आइ) को सत्ता समाप्त भई २०७१ सालदेखि भारतीय जनता पार्टी नरेन्द्र मोदीको सरकार सत्तामा आएकाले २०७२ सालपछि २०७७ सालसम्मको परिस्थिति अध्ययन गर्दा कालापानीको २०१८ सालदेखिको विवाद समाधान हुने कुरा आफ्नै ठाउँमा छ । त्यसका बारेमा दुईृ देशका विशेषज्ञहरूको समझदारीपूर्ण वार्ता हुन सक्ने देखिन्छ । सोबाहेक नेपाल–भारतबीच नयाँ समझदारी कायम हुन सक्ने अवस्था देखिँदैछ ।  

उत्तरतर्फको छिमेकी राष्ट्रसँग भौगोलिकरूपमा अप्ठ्यारो हुँदाहुँदै पनि सांस्कृतिक र वैवाहिक सम्बन्धका कारणले नेपाल–चीन सम्बन्धमा धेरै आत्मीयता गाँसिन पुगेको छ । चीनका सम्राट स्रोङचन गम्पोसँग नेपालकी राजकुमारी भृकुटीको वैवाहिक सम्बन्ध कायम गराएका कारण र हिमवत्खण्डको बढ्दो प्रतिष्ठाबाट प्रभावित भएर नेपालका लिच्छवि राजाहरूकी छोरी गुप्त राजाहरूले विवाह गरेर आफ्ना मुद्राहरूमा लिच्छवि उल्लेख गर्ने गरेका जस्ता अनेकौँ प्रमाणित घटना अध्ययन गर्दा नेपालको सार्वभौमसत्ता र प्रतिष्ठाको प्रभाव प्रारम्भकालदेखि नै रहँदै आएको हो ।  

बाह्रौँ शताब्दीमा चीनका बादशाह कुवले खानको आग्रहमा अरनिकोलाई झिकाएर स्तूप तथा प्यागोडा शैलीका दरबार बनाएको र महेन्द्र मल्लको समयकालदेखि भोटमा नेपालको मुद्रालाई चलनचल्तीमा ल्याएको थियो । यी तथ्यका कारणले एसियामा नेपालको आफ्नै पहिचान र प्रतिष्ठा स्थापित भएको छ ।  

नेपाल चीनको मैत्री सन्दर्भको कुरा उठाउँदा २०१३ सालमा पहिलो सरकार प्रमुख टंकप्रसाद आचार्य र २०१६ मा बिपी कोइरालाबाट भएको हो भने २०१८ सालमा पहिलो राष्ट्रप्रमुखका रूपमा चीनको राजकीय भ्रमणमा जाने राजा महेन्द्र नै हुन् । दुवै प्रधानमन्त्री र राजा महेन्द्रबाट आधुनिक चीनमा सुमधुर मैत्री सम्बन्धको जग बसालिएको हो । नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि २०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र २०५२ सालमा नेकमा (एमाले) का नेता मनमोहन अधिकारीको प्रधानमन्त्रीको हैसियतबाट औपचारिक भ्रमण भएर नेपाल–चीनबीच सुमधुर मैत्री सम्बन्धमा वृद्धि भएको थियो ।  

भारतसँग जो जसले राम्रो व्यवहार गर्न खोजे तापनि कांग्रेस (आइ) को समयकालमा भारतसँग नेपालको सम्बन्ध चिसिएको हो । तर भारतमा हिन्दुवादी राष्ट्रवादी पार्टी (भाजपा) सत्तामा आएकाले नेपालको सार्वभौम अस्तित्वको कदर गरेर नेपाल–भारतबीचमा आएको चिसोपनमा सुधार ल्याएर समधुर सम्बन्ध कायम राख्नमा उदत्त देखिन्छ । नेपाल यी दुई ठूला राष्ट्र चीन र भारतबीच अवस्थित भएकाले नेपाल, चीन र भारतबीच उच्चस्तरीय समिति गठन गरेर तीन राष्ट्रबीच सौहाद्र्धता कायम रहेमा एसियाका लागि उदाहरणीय काम हुनेछ । नेपाल, चीन र भारतबीच आत्मीयता कायम भएमा चीनमा फ्रि तिब्बतको मुद्दा र नेपाल तथा भारतमा इसाईकरण गर्ने पश्चिमाहरूको षडयन्त्र पनि समाप्त हुनेछन् । अतः तीन राष्ट्रबीच समधुर सम्बन्ध कायम राख्न अहिले नेपाल, चीन, भारत तीनै पक्षको समझदारीका साथै सक्रियता पनि खाँचो छ ।

प्रकाशित: १२ पुस २०७७ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App