७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

सबै नेपालीको जय होस्

जीवन प्रकटमा नै जात्रा हो। उल्लासमय जात्रा। गीत, नाच, हाँसो र आँसुको जात्रा। जात्रामा मानिसले आफूलाई पूर्ण उन्मुक्ति र निर्भयताका साथ सम्पूर्णतामा अभिव्यक्त गर्छ। जात्रा शब्दले अरु कुनै अर्थ बुझाउँदैन। 'गाइजात्रा' शब्दको अर्थ हिजोआज राजनीतिकरूपमा परिवर्तित भए पनि यसका भाव र भंगिमामा कुनै परिवर्तन आएको छैन। ऐतिहासिक समयको गाईजात्रा वास्तविक अर्थमा शासनप्रतिको कटाक्ष थियो भने अहिले शासन आफैं गाइजात्रा भएको छ।

नेपालीहरु नयाँ वर्षको स्वागत जात्राहरुले गर्छन्। सबै जात्राले परिष्कार पाएका हुँदैनन्। देवता, घोडा र गोरु, सबैको जात्रा मनाउँछन् नेपाली। देशमा जात्राको सिजन सुरु भएपछि थाहा पाउनुपर्छ- नयाँ वर्ष आउँदैछ। नयाँ वर्षपछि पनि जात्राको शृङ्खला गाईजात्रासम्म निरन्तर चलिरहेको हुन्छ।
शहरमा अस्तिमात्र घोडेजात्रा सम्पन्न भयो। काठमाडौंको सदर टुँडिखेलमा देखाइने घोडेजात्रा अनुशासित घोडाहरुको चित्ताकर्षक दौड र सिपाहीहरुको कलात्मक शौर्य प्रदर्शनका लागि प्रख्यात् छ। पहिले पहिले घोडेजात्रा हेर्न उपत्यका वरपरका पहाडी भेगका नेपाली काठमाडौं ओर्लन्थे। त्यो चलन अहिले पनि टुटेको छैन। घोडे जात्राको आकर्षणले काठमाडौं वरपरका ग्रामीण बस्तीहरुबाट यसपटक पनि थुप्रै दर्शकलाई तान्यो। अश्व दौडको मज्जामा रमाउन दर्शकहरु टुँडिखेल वरपर बचेखुचेका रुखका हाँगामा चढे। सैनिक प्याभिलियनमा बसेका देशका गण्यमाण्य व्यक्तित्वहरु घोडाहरुको दौडमा कुन्नि कति रमाए तर फुटपाथमा उभिएका जनताका आँखा जात्राको खुशीमा टलक्क टल्किएका देखिन्थे।
वर्षान्तको यो सिजनमा तीन शहरमा जात्रा धेरै हुन्छन्- भक्तपुरमा बिस्केट, ललितपुरमा (राता) मच्छिन्द्रनाथ र काठमाडौंमा (सेता) मत्स्येन्द्रनाथको जात्रा आस्था र भव्यताका हिसावले अनुपम मानिन्छन्। त्यसपछि तीन शहरका टोलटोलमा दिनहुँ जात्रा हुन्छन् यो सिजनमा। बाजागाजासहित मन्दिर परिसरमा जम्मा भएका मानिस देवताको रथ तान्न झुम्मिन्छन्। मापसे जात्राहरुको स्वाभाविकता मानिन्छ। खास गरेर, घोडेजात्राको दिनमा मापसे गरेपछि राजाको घोडा किन्ने फूर्ती र जोश प्राप्त गर्नेहरुको अहिले पनि कमी छैन। शहरमा मापसे गरेर सवारी चलाउनेहरुविरुद्ध कारबाही द्रुतगतिले अघि बढाएर सरकारले आफ्नो खजाना बढाइरहेको छ। शायद सरकारलाई यो थाहा छैन, मापसे नगरी ती ठूलठूला देवताका गह्रुँगा रथहरु तान्न गाह्रो हुन्छ मानिसलाई।
देवताका जात्राहरु आस्थाका हिसावले जतिसुकै महत्त्वपूर्ण भए पनि मानिसको आकर्षणमा घोडाहरुको जात्रा नै पहिलो नम्बरमा पर्छ। किनभने घोडा शक्तिको प्रतीक हो र मानिसहरु, ती जुनसुकै देश र द्वीपका हुन्, लोकतान्त्रिक हुन वा अलोकतान्त्रिक, मूलतः शक्तिका पूजक हुन्छन्। घोडे जात्रा भन्नासाथ त्यो शक्ति र शौर्यको प्रदर्शन हो। अझ यो प्रदर्शनमात्र नभएर उच्चकोटीको प्रतिस्पर्धा हो घोडाहरुको। चिल्लो र हेर्दै खाइलाग्दो व्यक्तित्व भएको घोडालाई एउटा दुब्लो घोडाले पनि रेसमा हराइदिन सक्छ। कुन घोडा कति आकर्षक थियो, कुन घोडा चलाख थियो र कति नम्बरको घोडाले कति नम्बरको घोडालाई पछाडि छोड्यो? त्यसको हिसावकिताव हुँदैन। किनभने प्रतिस्पर्धामा जित्ने घोडा सधैँ एक नम्बरमा हुन्छ। यो शाश्वत नियम हो सृष्टिको। यही नियम राजनीतिमा पनि लागु हुन्छ।
रहँदा बस्दा, जात्राका महिमा र महत्त्वहरु खस्कन थालेका छन्। राजनीतिले, समयले र प्रविधिले मानिसलाई जात्राको तहबाट तमासाको तहमा ओरालेको छ। यसले पनि जात्राको अवमूल्यन भएको हुन सक्छ। तैपनि मानिसले जात्रा छाडेको छैन। समाजमा संस्कृति सबैभन्दा अग्लो स्थानमा रहेको हुन्छ। संस्कृतिले नै मानिसलाई अधीर र चञ्चल बनाएको हुन्छ। अधीर र चञ्चल मनस्थिति नभएको मानिसले फड्को मार्नै सक्दैन। देवताको रथ तान्नु आस्थामात्रै होइन, मानिसले देवतालाई पनि तान्ने र घिसार्ने क्षमता राख्छ भन्ने प्रमाणित गर्नु हो।
यही पृष्ठभूमिमा आजदेखि सुरु भएको छ २०७० साल। विक्रमादित्य नाम गरेका राजाको नामसँग जोडिएको हाम्रो यो पात्रो आफैमा अडबाङ्गे छ, दुनियाँको कुनै पात्रोसँग नमिल्ने। देश गणतन्त्र भइसकेपछि पनि हामीले यसलाई फेरेका छैनौं। राज्य र समाजको रुपान्तरणका लागि लडेकाहरुले पनि यो पात्रोको रुपान्तरणबारे सोचेका छैनन्। काम गर्न विदेश जाने नेपालीका छोराले सरकारलाई ठूलै रकम बुझाएर लिनुपर्ने एमआरपी पासपोर्टमा यो पात्रो नचले पनि यसले नेपाली संस्कृतिको कुनै पनि विधान उल्लंघन गरेको छैन। संस्कृति मानिसको जीवन्त उद्गार हो। हाम्रो पात्रो यही उदगारसँग जोडिएको छ। 'हामी फरक छौं नेपाली' भन्ने प्रमाणित गर्न हामीसँग यसबाहेक अर्को कुनै हतियार पनि छैन।
देशमा हरेक महिना परिवर्तन हुन्छ। बीपी कोइराला भन्नुहुन्थ्यो- हरेक संक्रान्ति परिवर्तन हो। बोट बिरुवामा नयाँ पालुवा चढ्नु परिवर्तन हो। पानीको मूल फुट्नु अर्को परिवर्तन हो। परिवर्तनले नयाँ विचारमात्र निम्त्याउँदैन। पुराना विचारलाई समेत स्थापित गर्छ। हाम्रो देशमा गणतन्त्र आइसकेपछि पनि केही पुराना मोडेलका विचार स्थापित हुने क्रममा छन्। ती विचारलाई कसैले आत्मसात गर्ने वा नगर्ने प्रश्न उठ्दैन। एकथरि, परिवर्तनतिर अग्रसर संस्कृतिविरुद्ध उभिएका छन्। अर्काथरि, मानिसलाई निचरेर अघि बढ्न खोजिरहेका छन्। देश अहिले पनि नयाँ र पुरानोको दोसाँधमा उभिएको छ।
आज सुरु भएको वर्ष नेपालको राजनीति र संस्कृतिबीचमा नयाँ उदाएका भ्रम तोड्न धेरै अर्थमा महत्त्वपूर्ण हुन सक्छ। पहिलो संविधान सभाको धङधङी बाँकी रहेकै अवस्थामा यो वर्ष चुनाव हुने लक्षण देखिएको छ। मंसिरसम्म जनताले मतपत्र समात्न पाउने सम्भावना बढेको छ। यो सम्भावना अहिले कुहिरोभित्र हराएको कागको अवस्थामा छ। चुनावका लागि सर्वसाधारणमा जति छटपटी छ, त्यति चासो राजनीतिक दलहरुमा छैन। चुनाव चैत पुग्न पनि सक्छ, मानिसको स्वविवेकीय अनुमान सुरु भएको छ। यस्ता अनुमानको निश्चित जवाफ कसैले दिन सक्दैन। जनताको मनमा के छ के छ - कसैले आँक्न सक्ने कुरा होइन यो। यसले एक प्रकारको अन्योल जन्माएको छ। यो अन्योलको जवाफ कसैले पाएको छैन। कसैले आँक्न सकेको छैन भविष्य।
नयाँ वर्षको निरन्तरतामा नयाँ नयाँ नव वर्ष मनाउने क्रम थपिएका छन्। यसको क्रमभंग भएको छैन। राजनीतिमा क्रमभंग गरेको दाबी गर्नेहरु पनि प्रकारान्तरले पुरानै विन्दुमा आइपुगेका छन। वर्ष नयाँ सुरु भए पनि आङको नाना फेरिएको छैन। देशको सरकार एमआरपी पासपोर्टका पृष्ठ थपेर मानिसलाई सुविधा बेच्न कम्मर कसेर लागेको छ। देश फेसबुक जस्तो मैदान भएको छ, जहाँ जसले जे पोष्ट गरे पनि हुन्छ। यो अवस्थामा आपसमा आदान-प्रदान गरिने शुभकामनासँग जोडिएका सुख र समृद्धिका अपरिभाषित शब्द त्यागेर यतिमात्र भन्न सकिन्छ- राजनीतिक संस्कृतिलाई विकृत बनाइरहेको विवेकहीनताको क्रमभंग होस्। देश मानवीय चेतनाको उपल्लो विन्दुमा पुगोस्। मंसिरमा चुनाव होस् र आउँदो नयाँ वर्षमा नेपालले नयाँ संविधान पाओस्। सबै नेपालीको जय होस्।

प्रकाशित: ३१ चैत्र २०६९ २२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App