पूर्व युवराज पारस शाहको स्वास्थ्यका विषयमा आएका विभिन्न सूचना, जानकारी र भ्रमले गत साता नेपाली जनमानसलाई तताइरह्यो। लामो समयदेखि थाइल्यान्डमा बसिरहेका भनिएका पारस एक्कासि बेहोस भएपछि उनका सहयोगीहरूले त्यहाँको सुविधा समपन्न अस्पतालमा पुर्यााएका थिए। मुटुरोगी पारसलाई हृदयघात भएको जानकारी सुरुमा गराइएको थियो। सुरुमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल र केही वेबसाइटहरूमा पारसको स्वास्थ्यसम्बन्धी समाचार आए र त्यसमा आफनो अनुमानका भरमा केही कुरा थपघट गरी प्रचार गर्ने काम पनि भइरह्यो। पारसको स्वास्थ्य सम्बन्धमा व्यापकरूपमा भ्रम सिर्जना भएपछि उनको उपचार गरिरहेको बैंककस्थित समितिभेज अस्पतालले हरेक दिन नियमितरूपमा विज्ञप्ति जारी गरेर यथार्थ स्थितिबारे जानकारी गराउन थाल्यो। अस्पतालले पछिल्लो पटक जारी गरेको विज्ञप्तिअनुसार पूर्व युवराज पारस बोल्न थालेका छन् र पानी पनि आफैँ पिउन थालेका छन्।
जुन दिनदेखि अस्पतालले नियमितरूपमा विज्ञप्ति जारी गरेर उनको स्वास्थ्यबारे जानकारी गराउन थाल्यो, त्यस दिनदेखि भ्रमको खेती गर्नेहरू मत्थर भएका थिए अनि सामजिक सञ्जालहरूमा अनेक मनगढन्ते कुरा आउन पनि कम भएका थिए। केही वेबसाइट र सामाजिक सञ्जालमा उनीप्रति प्रकाशित विषयले आश्चर्य नै बनाएको छ। अहिलेको परिस्थिति जे/जस्तोसुकै भए पनि पारसको पूर्व पद र हैसियतलाई बिर्सन सकिँदैन। कुनै समय देशको मर्यादाक्रममा दोस्रो स्थान भएका पारस अवश्य पनि जनचासोको विषय छन् र भइरहने छन्। यसमा कुनै शंका छैन। अस्पताल भर्ना गराउँदा नै उनको परिचय नेपालका पूर्व युवराजका रूपमा गराइएको हुनुपर्छ। यदि समयमा रकम डिपोजिट नगरेकै कारण पारसको उपचारमा ढिलाइ गरिएको हो भने यसलाई अस्पतालको लापरबाही र हेपाहा प्रवृत्ति भन्नुपर्ने हुुन्छ।
अर्को सत्य कुरा के हो भने नेपालका पूर्व युवराज भन्ने थाहा पाएपछि अस्पतालले उनी भर्ना भएको दिनदेखि नै वक्तव्य जारी गर्ने व्यवस्था मिलाउनुपर्थ्यो। सामाजिक सञ्जालमा विभिन्न भ्रमहरू सार्वजनिक हुन थालेपछि मात्र अस्पतालले हरेक दिन साँझ वक्तव्य जारी गर्न थालेको थियो। यदि यो कुरा पहिले नै गरिएको भए उनका परिवार तथा शुभचिन्तकहरूले अनावश्यक चिन्ता लिनुपर्दैनथ्यो। कसैको ज्यानबारेको यति गम्भीर कुराले बिरामीलाई भन्दा उनका आफन्तलाई बढी चोट पार्न सक्छ। कतिपय अवस्थामा आफन्तमा चाहिँ गम्भीर घटना भएको पनि पाइएको छ।
अहिले सत्ता र शक्तिमा नरहे पनि पूर्व राजपरिवार नेपालीका लागि चाहे सकारात्मकरूपमा सोच्ने हुन् अथवा नकारात्मकरूपमा, सधैं चासोकै विषय बन्ने गरेको छ। यो स्वाभाविक पनि हो। किनकि नेपालमा २ सय ४० वर्ष शासन गरेको परिवारबारेमा मानव अभिरुचि हुनु प्राकृतिक कुरा हो। मुलुकमा अब गणतन्त्र आइसकेको अवस्थामा पूर्व राजपरिवार पनि जनतासरह भइसकेको छ। यस अवस्थामा अब पनि पहिला सक्रिय राजतन्त्रकालमा जस्तो 'गोप्यता नै राजतन्त्रको शक्ति हो' भन्ने किसिमको व्यवहार गरिरहनु आवश्यक छैन। पूर्व राजाले बेलाबेलामा जिल्ला भ्रमण गर्दा तथा धार्मिक स्थलहरूको दर्शनका लागि जाँदा पत्रकारहरूसँग पनि प्रत्यक्ष कुरा गर्ने गरेको परिप्रेक्षमा आफू र आफना परिवारबारे कुनै कुरामा भ्रम सिर्जना भएमा प्रत्यक्षरूपमा आफैँले वा आफ्ना सहयोगीमार्फत् त्यसको निवारण गर्ने गरिएको भए दुःख गरेको बेला झन् चोट पर्ने काम हुने थिएन र बेला परिस्थितिको समेत कुनै मूल्याङ्कन नगरी सधैं नकारात्मक सोच राख्नेहरूले पनि अन्य सकारात्मक र उत्पादनशील कुरामा ध्यान मोड्न सक्ने थिए।
नेपालमा पछिल्लो समयमा फेसबुक, ट्वीटर, लिंक्डइन जस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका छन्। स्मार्ट फोनको बढ्दो लोकप्रियताले लोडसेडिङमा पनि वेबसाइटप्रति पहुँच बढाएको छ। सूचना प्रविधिको नयाँ माध्यमप्रतिको यस किसिमको चासो राम्रो पक्ष हो तर यसको दुरुपयोगले सकारात्मकभन्दा नकारात्मक विचार प्रवाह हुने र त्यसले समग्र समाजलाई अनैतिक र भ्रष्ट पार्ने पक्का छ। यसको दुरुपयोग बढ्दै गयो भने ठूला ठूला दुर्घटना पनि हुनसक्ने सम्भावना रहन्छ। पहिले जस्तो अब सञ्चार प्रवाहका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकाको भर परिरहनुपर्ने आवश्यकता छैन। अहिले त जसले जुनसुकै बेला पनि कुनै पनि समाचारलाई विश्वभरि फैलाइदिन सक्ने भएको छ। खासगरी फेसबुक र ट्वीटरले यस किसिमका सुविधा उपलब्ध गराएपछि यो सम्भव भएको हो। यसलाई विज्ञानको वरदानका रूपमा सदुपयोग गरेमा संसारमा सकारात्मक परिवर्तन आउने छ भने दुरुपयोग गरिदिएमा क्षणभरमै अकल्पनीय दुर्घटना पनि निम्तिन सक्छ।
सामाजिक सञ्जालमा सूचना प्रवाहका लागि कतैबाट सेन्सर गराइरहनुपर्दैन। सामाजिक सञ्जाल प्रयोगकर्ता नै रिपोर्टर र सम्पादक दुवै हो। हरेक सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी कुनै सञ्चार संस्था सञ्चालकको भन्दा कम हुँदैन। जसरी कुनै मिडिया हाउसमा समाचार प्रकाशन/प्रसारणका लागि एकजना संवाददातादेखि अध्यक्षसम्मले गम्भीर भएर विचार गरेका हुन्छन्, त्यसैगरी सामाजिक सञ्जालमा कुनै कुरा पोस्ट गर्नुअघि हरेक व्यक्तिले गम्भीर भएर सोच्नु आवश्यक छ।
पूर्व युवराज पारसको स्वास्थ्यसम्बन्धी प्रसंगलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले अनावश्यक हल्ला फैलाउँदा भ्रमहरू फैलियो र जनमानसमा यस्ता सञ्जाल प्रयोगकर्ताको हैसियत खस्कियो अनि विश्वसनीयतामा कमी आयो। अर्कोतिर शिक्षण अस्पतालका निर्देशक डा. कोइरालाको राजीनामा प्रसंगले सरकार र सरोकारवालालाई ठूलो दबाब पुगेको छ। उनले राजीनामा घोषणा गरेपछि सामाजिक सञ्जालमार्फत हजारौं सहानुभूति पाएका छन्। सहानुभूति र दबाबले प्रधानमन्त्रीसमेत राजीनामा फिर्ता गराउन आग्रह गर्न बाध्य भएका छन्। दबाब बढ्दै जाँदा डा. कोइराला पूर्व जिम्मेवारीमै फर्कने सम्भावना बढेको छ। नेपालमा सामाजिक सञ्जालको आकर्षण बढ्नु शुभलक्षण हो। यसको सकारात्मक प्रयोग गर्न सबै सचेत हुनुपर्छ। देशको विकास र समृद्धि अनि नागरिकमा सकारात्मक सोच ल्याउने यो सरल र सहज माध्यम हुनसक्छ।
लेखक क्यापिटल एफएमका निर्देशक हुन्।
प्रकाशित: २८ फाल्गुन २०६९ २३:३७ सोमबार

