६ वैशाख २०८१ बिहीबार
विचार

भण्डार खनेर रछ्यान नपुरौँ

नेपाली युवा शक्त्ति श्रमका लागि विदेशिन थालेको दुई दशक भन्दा बढी भइसकेको छ। गाउँघर रित्तो र सुनसान थियो। गाउँमा मान्छे मर्दा घाटमा पु-याउने युवा नभएको अवस्थामा कोरोनाको कहरले फेरि लाखौँ युवालाई आफ्नो मातृभूमि फर्काएको छ। यसमा हामीले खुसी मान्नुपर्छ। परदेशमा धेरै हिउँद खाएर आफ्नो जीवनको ऊर्वर समय पचास डिग्रीको तातो घाममा बिताएर फर्किएका नेपाली आमाका सन्तानलाई अब हामीले आफ्नै देशमा बस्ने वातावरण सिर्जना गर्न हामी एकजुट हुनैपर्छ। वर्षौँसम्म बिछोडिएका सन्तान आफ्नो मातृभूमि फर्किएका छन्। वर्षौँ वर्षको प्रतीक्षापछि परिवारमा खुसी छाएको छ। सन्तानहरूले अनुहारै बिर्सिसकेका अभिभावक भेट्टाएका छन्। सन्तान भेट्ने प्रतीक्षा गर्दागर्दै कान सुन्न छाडेका, आखाँ राम्रोसँग देख्न छाडेका वृद्ध आमाबुबाले सन्तान पाएका छन्। श्रीमान्÷श्रीमतीको बाटो हेर्दाहेर्दे थाकिसकेका आँखाले आफ्नो जीवनसाथी पाएका छन्। चेलीबेटीले माइती र माइतीले चेलीबेटी पाएका छन्। आफन्त,नातागोता, साथीभाइ, छरछिमेकी सबै खुसी छन्, वर्षाँैपछिको मिलनले।  

श्रम गर्न विदेशिनु रहर नभएर बाध्यता हो। सरकारको स्पष्ट नीति नहुनु,बेरोजगारी समस्या,नातावाद, कृपावाद, राजनीतिक खिचातानी, राजनीतिक पार्टीकाकार्यकर्ता नियुक्ति,सरकार जनताप्रति उत्तरदायी नहुनु, बजारमहङ्गी र सामाजिक सुरक्षाको नीति नहुनु नै  विदेशिनुको कारक तत्व हुन्।  

यीबाहेक पनि यहाँ चुनौतीको चाङ नै छ भन्दा फरकनपर्ला। हामी घरबाट बिहान निस्केदेखि बेलुका घर पुग्दासम्म प्रत्येक दिन धेरै समस्या झेल्नुपर्छ। जताजतै बेथिति विशृंखलता र अप्ठारापन पाउँछौँ। सार्वजनिक बसमा चढ्यो भने न सुरक्षाका मापदण्ड अपनाएका छन् न त शिष्ट व्यवहार नै।चालक र सहचालकका तुच्छ र फोहोरी शब्दहरू सुन्नुपर्छ भने सार्वजनिक बसभित्रै बलात्कारका घटना पनि हुने गरेका छन्। कार्यालय गयो ठूलाले सानालाई हेप्ने/पेल्ने। राजनीतिक नियुक्ति पाएकाले योग्य कर्मचारीलाई राजनीतिक पहुँचकाआडमा अवमूल्यन गर्ने प्रवृत्ति छ। घरका धारामा पानी छैन तर महिनावारी बिल तिर्नुपर्छ।  फलफूल र तरकारी किन्यो विषादीको पोको छ। बच्चाहरूको स्कुलको बिलले ढाड सेक्छ, बिरामी भएर खल्तीका पैसा राखेर अस्पताल गयो रोग निको हुनुको सट्टा ऋणको भारी थपिन्छ। आखिर कहाँ छ त सुख ?

तर यसो भनेर हामी सबै विदेशिने हो भने हामीले मेरो देश, मेरो नेपाल, म नेपाली भन्नुको कुनै तुक छ ? आफ्नी आमा नराम्री,गाउँले र अशिक्षित छन् भनेर अरूकी राम्री सहरिया आमालाई आफ्नी आमा भन्न सुहाउने कुरा हो र ? आफ्नो परिवार जे/जस्तो भए पनि मिलेर त्यही परिवारमा बस्नुपर्छ। गाह्रोसाह्रो पर्दा त्यही परिवारले हेर्छ। आफ्नो घरको समस्या अरूलाई देखाउनु/सुनाउनु भनेको भण्डार खनेर रछ्यान पुर्नु बराबर हो। उसले सुनुन्जेल सुन्छ अलि पर पुगेपछि खुच्चिङ तलाई ठिक्क प-यो भन्छ। विदेशिनु भनेको पनि भण्डार खनेर रछ्यान पुर्नु बराबर हो।  

आफ्नो घरको समस्या अरूलाई देखाउनु/सुनाउनु भनेको भण्डार खनेर रछ्यान पुर्नु बराबर हो। उसले सुनुन्जेल सुन्छ अलि पर पुगेपछि खुच्चिङ तलाई ठिक्क प-यो भन्छ। विदेशिनु भनेको पनि भण्डार खनेर रछ्यान पुर्नु बराबर हो।

तर विदेशिने क्रम रोक्न राष्ट्र कट्टिबद्ध साथै प्रतिबद्ध हुनुपर्छ। आफ्ना नागरिकका लागि आधारभूत आवश्यकता पूर्ति गर्न सक्ने प्रष्ट नीति हुनुपर्छ र कडाइका साथ लागु गर्नुपर्छ। योग्यताअनुसारको रोजगारीको, सामाजिक सुरक्षाको ग्यारेन्टीगर्नुपर्छ। भ्रष्टाचार र राजनीतिबेथिति अन्त हुर्नुपर्छ।सबै क्षेत्रमा पारदर्शिता,समानता सही तरिकाको  कानुन बनाएर कडाइका साथ लागु गर्नुपर्छ त्यति गरेपछि पनि मानिस विदेशिन थाले भनेचाहिँभिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न भनेर भन्न सकिन्छ तर हालको परिस्थितिमा चाहिँ विदेशिनेहरूलाई नानाभाँतीका गाली गर्ने अधिकार हामी कसैसँग पनि छैन्।  

पाँच वर्षअगाडि आएको भूकम्पले भत्काएका घरले अझैसम्म राहत पाएका थिएनन्। त्यहीमाथि कोरोनाको कहर थपिएर राहत पाउने आशा मरेर गएको छ। कोरोनाका नाममा पनि धेरै चलखेल भएको कुरा प्रष्ट देखिँदा÷देखिँदै पनि सरकार आफूले उत्कृष्ठ काम गरेको डम्फु बजाउन पछि परेको छैन। काठमाडौँका मेयर आइसोलेसनमा बस्दा आएको बिल हेरेर राजधानीबासीलाई शायद गर्व महसुस भएको होला। हामीले कति स्तरीय र घरानिया मेयरलाई जिताएर पठाएछाैं भनेर। मेयरहरू तारे होटलको आइसोलेसनमा बसिरहँदा सर्वसाधारण बसेको क्वारेन्टाइनमा र कोरोना पोजेटिभ भएर आइसोलेसनमा  छट्पटाइरहेकाहरूलाई कस्तो तारे होटलले सुविधा देला ? काम कुरा एकातिर कुम्लो बोकी थिमीतिर जस्तै छ सरकार प्रमुखहरूको ताल।यो कुरा कतिसम्म लज्जास्पद हो हामी नेपालीको लागि ?

त्यसैले विदेशिनुलाई एउटा अवसरका रूपमा लिएर आफ्नो राष्ट्रलाई पनि केही योगदान ग-यो भने विदेशिनुको सार्थकता रहन्छ। विदेशमा सिकेको सिप नेपालमा ल्याएर सदुपयोग गरौँ। एक थुकी सुकी सय थुकी नदी भन्ने उक्तिलाई अनुशरण ग-यौँ भने नेपाली हुनुमा गर्व गर्न सकिन्छ।  

श्रमका लागि विदेशिएका युवाशक्ति देश सम्झेर फर्केका बेला  यो युवा शक्तिलाई ओली सरकारले सही ठाउँमा प्रयोग गरेको खण्डमा देशले नयाँ रूप फेर्ने कुरामा आशावादी हुन सकिन्छ। हाम्रा गाउँघरका डाँडापाखाँ रित्ता छन्, ऊर्वर डाँडापाखाले युवाशक्तिलाई नै पर्खिरहेको थियो। सही समय आएको छ। कृषिसम्बन्धीविदेशमा सिकेको सिप आफ्नै भूमिमा खन्याउन पाउँदा जोकसैलाई आत्मसन्तुष्टि प्राप्त हुन्छ। नेपाली श्रमले विश्व बजारमा धेरै ज्ञान र सिप प्रयोग गरिसकेका छन्, विकास निर्माणदेखि कृषिमा नयाँ आयाम थपेका छन् भने यही जनशक्तिले आफ्नो भूमिलाई नयाँ निकास दिन सक्ने कुरामा दुईमत नै छैन। तर यी जनशक्तिलाई सरकारको तर्फबाट मनग्य सहयोग आवश्यक छ।  

कोरोनाले अस्तव्यस्त बनाएको अर्थतन्त्रमा यी कुरा पनि त्यति सहज त छैनन् तर असम्भव पनि छैन्। प्रत्येक क्षेत्रमा  कुर्सीका लागि गरिने खर्च र असम्बन्धित ठाउँमा गरिने खर्चमात्र पनि कटाएर यी स्वदेश फर्केका जनशक्तिमा प्रयोग गर्ने हो भने अर्को वर्षदेखि नै  प्रतिफल दिने कुरामा सरकार विश्वस्त हुँदा फरक नपर्ला। नेपाल दैनिक प्रयोग हुने सम्पूर्ण कुरामा परनिर्भर भएको बेलामा आफ्नै स्थानीय  साधन,स्रोत पहिचान गरीअबको केही वर्षमा आफ्नो उत्पादनले धान्न सक्ने भयौँ भने हाम्रो अर्थतन्त्रको हरियो रेखा क्रमशः माथि उक्लनेछ भने बेरोजगारीको रातो रेखा क्रमशः ओरालो लाग्नेछ।  

सरकारले आफ्ना युवा जनशक्तिलाई आफ्नै देशको विकासका सम्पूर्ण क्षेत्रमा परिचालन गरेर विदेश जान पूर्णरूपमा रोक लगाउन सकेको खण्डमा हामी नेपाली विदेशी भूमिमा गएर पसिना चुहाउनुपर्ने दिनको अन्त हुन सक्छ। आफ्नै परिवारमा रमाएर गरेको श्रमले जोकसैलाई पनि सुखानुभूति दिन्छ भने रातो बाकसमा निर्जीव भई फर्कनेको संख्या नगन्य हुन्छ।  

आजैका दिनबाट ओली सरकार प्रतिबद्ध भई युवामा लगानी गरेर परिचालन गर्नमा ढिला नगरौँ। हाम्रो देशमा भएका अथाहा भण्डारहरूलाई आफ्नै देशमा खन्याउँ। अरूको देशमा लगेर रछ्याान नपुरौँ। 

प्रकाशित: १२ मंसिर २०७७ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App