२१ फाल्गुन २०७७ शुक्रबार
विचार

बलात्कार र सामाजिक–मनोवैज्ञानिक पक्ष

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः।। (मनुस्मृति)

इच्छा विपरितको जबर्जस्ती संभोग र जबर्जस्ती महिलाको शरीर लुटेर आनन्द लिन खोज्ने दुष्प्रयास बलात्कार हो। नेपालमा मात्र नभएर विश्वका धेरै सम्पन्न राष्ट्रका तथ्यांकले पनि बलात्कारका घटनालाई न्यूनीकरण गर्न नसकिएका सोधपत्रहरू प्रकाशित गरेका हुन्छन्। विश्वकै तथ्यांक हेर्ने हो भने ३५ प्रतिशत महिलाले बलात्कारका घटना भोग्नुपरेको अवस्था छ। तर, हामीलाई हाम्रै समाजको, हाम्रै चेलीहरूले कलिलो अवस्थामा निर्ममतापूर्वक अन्याय भोग्नुपरेको पीडाले धेरै पिरोल्छ। कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाले दुई वर्ष भन्दा बढी समय नाघिसकेको भए पनि नागरिकको हृदयबाट उनले न्याय नपाएको सम्झना ताजै छ। यसबीचमा थुप्रै बलात्कार र हिंसाका घटना भए, कतिले न्याय पाए, पाएनन् सम्बन्धित पीडक, पीडित र न्यायालयले आफ्नो मूल्यांकन राखेका होलान्। त्यसमाथि बझाङकी १२ वर्षीया बालिका सम्झना बिकको पनि बलात्कारपछि हत्या गरिएको घटनाले व्यक्तिहरूमा चेतनाको अभाव र घृणित सोचाइबाट माथि उकास्न अझै धेरै जागृतिका शिक्षाहरू सिकाउन आवश्यक छ भनेर बुझ्नुपर्छ। जागृतिका शिक्षा अर्थात् बेहोसीमा बाँचिरहेको व्यक्ति र समाजलाई ब्युँझाउने अभ्यास। यस्ता घटना पटकपटक दोहोरिनुका पछाडि मानवीयताको निच चेतनाबाट उच्च चेतनामा उकास्ने प्रयासको निरन्तरताको खाँचो महसुस गर्नुबाहेक अरू सोच्न सकिने अवस्था छैन।

बलात्कारको पीडा भोग्ने महिला तथा बालिकामध्ये ४० प्रतिशतले मात्र आफू पीडामा परेको कुरा बाहिर ल्याउन सक्छन् भने ६० प्रतिशतले यो घटनालाई लुकाएरै राख्छन्। करिव २ प्रतिशतको घटना बाहिर ल्याउन नपाउँदै हत्या भएको हुन्छ। करिव १० प्रतिशत महिलाले मात्र कानुनी न्यायका लागि सहायता माग गरेका हुन्छन् तर तिनीहरूले समयमा न्याय पाउँदैनन्। न्याय दिन ढिलाइ गरिन्छ। अपराधमा संलग्न हुने केही प्रतिशत पुरूष प्रवृत्तिले सबै पुरूषलाई दाग लगाइदिएको हुन्छ। बलात्कार जस्तो जघन्य अपराधमा किन संलग्न हुन्छ व्यक्ति र त्यसको असर कुन–कुन क्षेत्रमा पर्छ भन्नेबारे केही महत्वपूर्ण पक्ष हेरौँ–

शारीरिक आवश्यकता  
उमेरको परिपक्वतासँगै व्यक्तिले विपरित लिंगीसँग शारीरिक सम्बन्ध स्थापित गर्न चाहन्छ। यो शारीरिक आवश्यकताभित्र पर्छ तर जबर्जस्ती सम्बन्ध मान्य हुँदैन। पुरुष प्रवृत्ति आक्रामक हुने र महिलाको स्वभाव निष्क्रिय अर्थात् खुलेर भावना व्यक्त गर्न नसक्ने हुँदा प्रायः बलात्कारका घटनामा महिला तथा बालिकामाथि पुरुष हावी भएको हुन्छ। हामीकहाँ यौन शिक्षा र यसको महत्व एवं आवश्यकतालाई प्रकाश पार्ने शिक्षाको अभावका कारण पनि दमित भएर बसेको शारीरिक आवश्यकता परिपूर्तिका लागि पुरुषले महिलालाई बलात्कार गर्न पुगेको तथ्य हुन सक्छ। प्रथमतः घरमा नै प्रेम, भावना, विश्वास, हेरचाहलगायतका मनोभावना व्यक्त गर्ने, सिक्ने र सिकाउने वातावरण नहुनुले यसको प्रभाव समाजमा नकारात्मक घटनाका रूपमा प्रस्तुत हुने गरेको अनुमान गर्न सकिन्छ। व्यक्ति किन बलात्कारका घटनामा उत्रन्छ भन्ने कारण जान्न शारीरिक शिक्षा, यौन शिक्षा, मनोवैज्ञानिक शिक्षा र व्यावहारिक शिक्षाको अभाव हो कि भनेर खोज्नुपर्ने जरुरी देखिन्छ।

समाजमा महिलाको कमजोर स्थान  
महिलाको निष्क्रिय स्वभाव, चूप लागेर बस्ने स्वभावले गर्दा आफू पीडामा पर्दा पनि खुलेर बोल्न नसक्ने तथा प्रतिकार गर्न नसक्ने स्वभावले गर्दा महिला तथा बालबालिका बलात्कारका सिकार हुन पुग्नु मनोवैज्ञानिक तथ्य हो। समाजमा जहिले पनि कमजोर पक्षमाथि आक्रमण हुने गर्छ। त्यसैका सिकार हुन पुग्छन् महिला। समाजले महिलालाई कमजोर प्राणीका रूपमा परिचित गराएको छ सदियौँदेखि। महिला अन्यायमा परेर कसैमाथि प्रतिकार गर्न खोज्दा पनि समाजले तिमी कमजोर मान्छे, चूप लागेर बस, तिमी मुद्दा लडेर पनि किन हार्ने, तिम्रो इज्जत जान्छ जस्ता कारण देखाएर अन्याय सहने शिक्षा दिइरहेको हुन्छ। पञ्च भलाद्मी बसेर मुद्दा मिलाउने नाममा घटना लुकाउने र भित्रभित्रै मिल्ने नाममा महिला तथा बालबालिका वास्तवमै अन्यायमा परेका छन् कि छैनन् सोच्नु आवश्यक छ। यस्ता भद्रभलाद्मीले शक्तिशालीलाई न्याय दिने र महिलालाई कमजोर पार्ने दुष्प्रयास गरिरहेका हुन्छन्। यो अभ्यास निरूत्साहित नहुन्जेल समाजमा महिलाको प्रतिष्ठा रहँदैन। जब मानसिकरूपमै महिला तथा बालबालिका पीडित हुन्छन् भने उनको इज्जत भनेको के हो ? उनले इज्जत केका लागि बचाएर राख्नु ? कुन आधारमा महिलाको इज्जतको मापन हुन्छ ?  

बलात्कारको पीडा भोग्ने महिला तथा बालिकामध्ये ४० प्रतिशतले मात्र आफू पीडामा परेको कुरा बाहिर ल्याउन सक्छन् भने ६० प्रतिशतले यस्तो घटना लुकाएरै राख्छन्।

हाम्रो सामाजिक संरचना, संस्कार, पितृसत्तात्मक सोच र व्यवहारले गर्दा पीडामा परेका महिला तथा बालबालिकालाई अन्यायमा पारेर पीडक पुरुषलाई इज्जत दिने संस्कार विकास भएको हो। जबसम्म महिलाका अन्यायका कुरा खुलेर बाहिर आउँदैनन् तबसम्म अन्याय कायमै रहन्छ। महिलालाई सशक्त बनाउने समाजको परिपाटी र व्यवहारले हो। महिलालाई सम्मान, इज्जत र सुरक्षा दिने समाजले हो।  अन्याय लुकाएर इज्जत जोगाउनु जरुरी छैन। यो कुराबाट समाजमा रहेका व्यक्तिहरू रूपान्तरण हुन नसक्दासम्म महिलाको आवाज बुलन्द हुन पाउँदैन।

सामाजिक सञ्जालको दुरूपयोग  
फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालमा प्रसारित हुने विविध अश्लील सामग्री र भिडियो हेर्ने आदतले गर्दा त्यस्तै नक्कल गर्ने प्रवृत्ति बढ्नुले बलात्कारका घटनालाई सहज बनाएको महसुस गर्न सकिन्छ। यसलाई न्यूनीकरण गर्नका लागि सामाजिक मिडियामा धेरै समय खर्च गर्नु केवल एक खराब बानी मात्र होइन, यसको वास्तविक नतिजा नै नकारात्मक हुन सक्छ भन्ने बुझाउनु र बुझ्नु जरुरी छ। विज्ञानले बनाएको एउटा प्रविधिले हाम्रो मानसिक उत्तेजनालाई विचलित बनाइरहेको छ, अस्थिर बनाइरहेको छ। आफ्नो स्वभावबाट पर पुगेर आपराधिक गतिविधि र अराजक कार्यमा उत्प्रेरित हुन मद्दत गरिरहेको छ भन्ने बुझ्नु जरूरी छ। कुनै विषालु नशा जस्तै अश्लील सामग्री भिडियो हेर्ने लत बसेपछि यसले मष्तिस्कमा नकारात्मक असर पु¥याइरहेको हुन्छ। एउटा अनुसन्धानले बताइसकेको छ– सामाजिक सञ्जाल प्रयोग गर्ने १० प्रतिशत व्यक्तिहरू मनोवैज्ञानिकरूपले दुव्र्यसनी बनिसकेका छन्। व्यक्तिका भावना, ध्यान र निर्णय क्षमतालाई समेत उत्तेजित पारी नियन्त्रणमा लिन सक्ने यस्ता सामाजिक सञ्जालबाट बच्नुपर्छ भन्ने ज्ञान आएन भने यसले मानिसलाई नकारात्मक मार्गतिर प्रेरित गर्छ।

पीडितलाई हेयको दृष्टिले हेर्ने संस्कार  
हाम्रो समाजमा महिला तथा बालबालिका बलात्कारका घटनामा पर्नु भनेको अब जीवनभर नै अस्तित्व गुमाउनु हो जस्तो गरी हेयको दृष्टिले हेर्ने संस्कार छ। विवाह नभएका चेलीबेटी छन् भने विवाह हुन्न। त्यही हकमा पुरुषले मान्यता पाउने, महिलाले भने अन्याय भोग्नुपर्ने परम्परा हावी छ। महिला र पुरुष भन्ने भेदभावको मानसिक सोच निरुत्साहित नहुँदासम्म समाजमा महिलाले सम्मान पाउँदैनन्। आफ्ना छोराहरू सुध्रेको र असल व्यक्ति बनेको हेर्न चाहनेले छोरीहरूलाई पनि प्रेम र सम्मान दिन जान्नुपर्छ। छोरीविनाको संसार र प्रेम कल्पना गर्न सकिन्छ ? छोरी जोगाउन, छोरीलाई प्रेम दिन उनको अन्यायलाई बाहिर ल्याउन सक्नुपर्छ।  

छोरीलाई न्याय दिन नसक्नु भनेको सत्यलाई लुकाएर अपराधलाई प्राथमिकता दिनु हो। छोरीका पहिरन, छोटा कपडा र स्वतन्त्रताप्रति धज्जी उडाउनेले छोराको स्वभाव र उत्तेजनाप्रति पनि जानकारी राख्ने गर्नुपर्छ। महिलाको पहिरनमा होइन, पुरुषको मानसिक प्रवृत्तिमा हिंसा र बलात्कारको भाव छिपेको हुन्छ। महिलालाई पुरुषसँग तुलना गर्नु जरुरी नै छैन। महिलाहरू भिन्न पहिचान, स्वभाव र शक्तिका छन् जसलाई अस्तित्वले आफ्नै गुणात्मकता दिएर सिर्जना गरेको छ। महिला–पुरुषको सम्बन्ध र सहकार्यमा प्रेम र सम्मानको भावना विकसित हुनुपर्छ। पुरुषले महिलामाथि अधिकार जमाउने दुष्प्रयास गर्नुभन्दा सुरक्षा र प्रेम दिने संस्कार विकास भयो भने हेयको भाव निर्मूल हुँदै जान्छ।  

न्यायमा ढिलाइ  
दस प्रतिशत महिलाले मात्र न्याय पाउन कानुनी सहयोगका लागि आवेदन दिएका हुन्छन्। त्यसमा पनि न्याय दिन ढिलाइ गरिने प्रक्रियाले गर्दा महिलामा उदासीनताको भाव बढ्दै गएको हुन्छ। न्याय पाएका फैसलामा अंकित गरिएको हुन्छ– महिलाको इज्जत लुटिएको...महिला या बालिकाउपर आजीवन सामाजिक दाग लाग्ने... जबर्जस्ती करणी... जघन्य अपराध...सामाजिक लाञ्छना आदि शब्द प्रयोगसहित मुद्दा टुंग्याउनुले महिला तथा बालबालिकाले न्यायालयमा जानु भनेको आफ्नो इज्जतलाई सार्वजनिक गर्नु हो जस्तो भाव महसुस गर्न सकिन्छ। त्यसैले एकातिर चेतना जागृत शिक्षा आवश्यक छ भने अर्कोतिर सामाजिक संरचना परिवर्तन गर्न पनि घर, समाज र राष्ट्रले महिलाका अन्यायका मुद्दा बाहिर ल्याउने, अपराधीलाई सार्वजनिक गर्ने र बलात्कारीलाई सजाय दिने कडा भन्दा कडा कानुन बनाउनुपर्ने जरुरी देखिन्छ।

प्रकाशित: २८ कार्तिक २०७७ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App