१३ मंसिर २०७७ शनिबार
विचार

कुलमान र डा.केसीले देखाएको चाँदीको घेरा

बितेका ५०० वर्षमा विज्ञानले गरेको तरक्कीको सटिक विश्लेषण गर्दै विख्यात् इजरेइली इतिहासकार युभल हरारीले आफ्नो प्रसिद्ध पुतक ‘ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ मा लेखेका छन्- ‘यदि स्पेनिस किसान सन् १००० तिर निदाएर कोलम्बसको पानीजहाजको कोलाहलसँगै ब्युँझियो भने उसलाई आफ्नोवरिपरिको वातावरण परिचितझैं प्रतीत हुनेछ। राजनितिक सिमाना र थोरबहुत तकनिकीमा आएको बदलावका बाबजुद ऊ आफूलाई आफ्नै घरमा भएको महसुस गर्नेछ। तर कोलम्बसको कुनै सहयात्री पन्ध्रौं शताब्दीतिर निदाएर २१सौं शताब्दीमा आइफोनको रिङटोनसँगै ब्युँझियो भने उसले आफूलाई स्वर्गमा भएको ठान्नेछ।’

आजका दिनसम्म पनि नेपाली कांग्रेसजस्तो पुँजीवादी पार्टीको त कुरै छाडौं, आफूलाई कम्युनिस्ट भन्न रुचाउने दलले समेत शिक्षालाई व्यापार बनाइरहेका छन्। जब शिक्षा व्यापार बन्छ,  तब सिर्जनात्मकता हराउँछ। सिर्जनात्मकताबिना विज्ञान जन्मिन सक्दैन। 

हो, पन्ध्रौं शताब्दीको तुलनामा आजको विज्ञानको चमत्कार निःसन्देह अकल्पनीय छ।  दैनिक जीवनयापनको भासमा रुमलिएको मानिस आज धर्तीको सीमा नाघेर  अन्तरिक्षमा विचरण गर्ने भएको छ। सूक्ष्मभन्दा सूक्ष्म उपपारमाणविक संरचनाभित्र पसेर तिनको दोहनमार्फत  जीवनोपयोगी यतिका यन्त्र निर्माण गरेको छ।  

भर्खर मात्रै नोबेल फाउन्डेसनले सबै विज्ञानका जननी मानिने प्राकृतिक विज्ञानका तीनवटै विधा– भौतिकशास्त्र, रसायनशास्त्र  र जीवशास्त्रलगायत साहित्य,  शान्ति र अर्थशास्त्रमा उल्लेखनीय योगदान दिने नोबेल लरियटहरूको नामावली सार्वजनिक गरेको छ। नोबेल पुरस्कार आफैंमा सम्मानित र बहुचर्चित त छँदै छ, विशेषत: विज्ञानमा भएका नवीन खोजले समग्र मानव जातिको उन्नयनमा टेवा पुर्‍याउनाका साथै यसको सर्वकालीक महत्व हुने भएकाले व्यापक चासो हुनु मनासिब ठानिन्छ।  

त्यसैले संसारका सामान्यदेखि चरम बौद्धिक मानिससम्मको ध्यान यतिखेर यसैतर्फ तानिएको छ। विज्ञानमा नोबेल विजेताको सूची हेर्ने हो भने युरोप-अमेरिकाजस्ता विकसित देशका नागरिकको ठूलो वर्चस्व देखिन्छ भने विकासशील देशका नागरिकले नगन्य मात्रामा मात्र यो सम्मान पाएका छन्।  

विज्ञान समृद्दिको निर्विकल्प बाटो हो। मानव जातिले भोगेका समस्या समाधानको औजार हो। प्रकृतिका पहेलीप्रति हाम्रो मगजमा उब्जिने जिज्ञासाको  एक मात्र उत्तर हो। त्यसैले आजको सचेत मनुष्यले विज्ञानको विकल्प कल्पना गर्दैन।  कृषि क्रान्तिपछिको १० हजार वर्ष लामो इतिहासमा धर्माधिकारिहरूले स्वर्ग र नर्कको झुटो आश्वासन बेचेर आफू त मोटाए, तर मानव जाति भोक,  रोग र प्राकृतिक विपत्तिको मारमा अविरल पिल्सिरह्यो। 

तर आज औद्योगिक क्रान्तिको २०० वर्षकै दौरान,  (कु) राजनीतिका चपेटामा परेका केही मुलुकबाहेक, पहिलेजस्तो विकराल भोकमरी एकादेशको कथा भइसक्यो। चिकित्सा विज्ञानमा भएका खोजले कुनै बेला यमराजझैं प्रतीत हुने घातक रोगहरूलाई आज हामीले धर्तीको सीमा कटाइदिएका छौं।  समग्रमा प्रकृतिका ताण्डव नृत्यका सामु निरीह मानव आज विज्ञानका सूत्रका बलमा एकहदसम्म  प्रकृतिको कोरियोग्राफर भएको छ।  

विडम्बना ! हाम्रोजस्तो अविकसित राष्ट्र र समाजमा विज्ञानप्रतिको सरकार र समाजको रवैया स्वाभाविक देखिँदैन। नोबेल पुरस्कार जित्ने  कुरो त एकादेशको कथा भैगो। समाज विकसित बन्न विज्ञान विकसित हुनुपर्छ। विज्ञान विकसित हुन वैज्ञानिक चिन्तन विकसित हुनुपर्छ। वैज्ञानिक चिन्तनको खुराक विद्यालय तथा विश्वविद्यालयको शिक्षामार्फत नागरिकका मन-मष्तिस्कमा सुविचारित रूपले रोप्नुपर्छ।  

वैज्ञानिक चिन्तन भनेको के हो?  

मानिस सिकारी अवस्थामा छँदा छाक टार्न यात्रा गरिरहन्थ्यो। सञ्चय गर्ने झमेला थिएन। चिन्तन गर्ने मष्तिस्क उति सारो विकसित भएकै थिएन। आजको छाक टार्नु नै उसको खुसी थियो। जब कृषि गर्न थाल्यो, उत्पादित अन्न सञ्चय गर्नुपर्ने भयो। आफूले जम्मा गरेका वस्तु,  बाली र जनावरको सुरक्षा गर्नुपर्ने बाध्यता भयो। जब उसलाई आफ्नो स्वामित्वका वस्तु/बालीमा कुनै प्राकृतिक विपत्ति उत्पन्न हुन थाल्यो,  तब तिनको रक्षाका लागि मानिसले कुनै अदृश्य शक्ति पुकार्न थाल्यो। 

कालक्रममा मानिसले आराधना गर्ने कैयौं देवीदेवता सिर्जना गर्‍यो।  समाजका जान्ने/सुन्ने अग्रणी सदस्यले भनेका कुरा बिनाप्रमाण स्वीकार्दै जाँदा धर्मग्रन्थका रूपमा परिणत भए। कालान्तरमा धर्मग्रन्थ नै ज्ञानका अन्तिम स्रोत मानिन थाले।  धर्मग्रन्थका कुनै पनि बुँदाप्रति प्रश्न उठाइएन।  जसले उठाए, तिनको निर्मम दमन गरियो। धर्म र धर्मग्रन्थका दुर्गुण भनेकै मानिसलाई प्रश्न गर्न बन्देज गर्नु र आफ्नो अज्ञानता स्वीकार नगर्नु हो।  

विज्ञानले धर्म वा अन्य कुनै विचारधाराले जस्तो आफूले जे भन्यो त्यो अन्तिम सत्य हो भन्ने हठ गर्दैन। बरु जस्तोसुकै सिद्धान्तलाई पनि निरन्तर प्रश्नको कसीमा जाँच्छ। धर्तीमा पहिलोपल्ट विज्ञानले अज्ञानता स्वीकार गर्योछ। कुनै पनि वस्तु वा प्रक्रियाप्रति प्रश्न गर्‍यो र विधिसम्मत प्रयोगमार्फत सही वा गलत ठम्याउने चेष्टा गर्‍यो। जब अनुमानका भरमा सबै जानेको भ्रमबाट मानिस मुक्त भएर अनुसन्धानका आधारमा मात्र सत्य निरुपण गर्ने प्रयत्न गर्छ, तब सही ज्ञानको उदय हुन्छ।  

यसरी आफ्नो अज्ञानता स्वीकार गरी यो विराट अस्तित्वमा हुने घटनालाई विधिसम्मत प्रयोगबाट मापन गरी यथार्थ पहिल्याउने प्रक्रिया नै विज्ञानसम्मत चिन्तन हो। यही चिन्तनले मानव जातिलाई विगत ५०० वर्षको दौरानमा उल्लेखनीय फड्को मार्न सघाएको हो।  

वैज्ञानिक चिन्तनको विकास कसरी गर्ने?  

हाम्रो चिन्तन रूढिग्रस्त पुरातन सोचले अभिप्रेरित छ। हाम्रा शिक्षालयको विकास गुरुकुलबाट भयो। त्यो कुनै तथ्यमा आधारित विद्या थिएन। आजको यस वैज्ञानिक युगमा पनि हामी तात्विक रूपले त्यसबाट बाहिर आउन सकेका छैनौं। विद्यालय शिक्षा नै यस्तो ठाँउ हो,  जहाँबाट वैज्ञानिक चिन्तनको बीउ रोप्न सकिन्छ। त्यो बीउ विश्वविद्यालयको प्रांगणमा हुर्किन्छ र समाजमा फूल्छ,  अनि फल्छ। 

हाम्रो शिक्षा कण्ठ गर्ने पुरातन सोचबाट मुक्त हुन सकेको छैन। जुन सिर्जनात्मक सिकाइको ठूलो शत्रु हो। खासमा उपलब्ध ज्ञानको सिर्जनात्मक प्रयोगमा हाम्रो ध्यान जानुपर्ने हो। युरोप र अमेरिकाका शिक्षालयमा कण्ठ गर्ने कुरालाई प्राथमिकतामा राखिँदैन। पंक्तिकार स्वंयमले आधा दशकभन्दा बढी समय प्राध्यापनका दौरान अमेरिकाका कुनै पनि शिक्षालयमा कण्ठ गर्ने परिपाटीलाई जोड दिएको देखेको छैन। 

सिकाइलाई वास्तविक जीवनसँग जोड्ने र सम्भावित नवउपायोगिताको खोजी गर्नेतिर ध्यान जान सके सिकाइ रुचिपूर्ण मात्र होइन, समाज र देशका लागि उन्नयनको सेतुसमेत बन्न सक्छ। त्यसैले हाम्रा स्कुलको शिक्षा पुनःसंरचना गरी सिर्जनात्मक बनाउनु अपरिहार्य भइसकेको छ।  

विद्यालय शिक्षाबाट सम्बन्धित विषयको ज्ञान/सीप ग्रहण गरिसकेपछि विद्यार्थी आफ्नो रुचिका विषयमा अनुसन्धान गर्न तयार हुन्छ। विश्वविद्यालयले विद्यार्थीको अनुसन्धानात्मक प्रवृत्तिको मलजल गर्ने हरतरहको प्रयत्न गर्नुपर्छ। हामीकहाँ अबुझ पहेली त के छ भने कलेज वा विश्वविद्यालयमा अध्यापन एउटाले गर्ने तर मूल्यांकन अर्कैले गर्ने! गुणात्मक शिक्षाका लागि सैद्दान्तिक परीक्षा वा अनुसन्धानको मूल्यांकन गर्ने सम्पूर्ण जिम्मा सम्बन्धित अध्यापकको हुनुपर्छ, किनकि आफूले पढाएका विद्यार्थीको सर्वाेत्कृष्ट मूल्यांकन उसैले बाहेक अरू कसले गर्न सक्छ र?  

विज्ञान र वैज्ञानिक चिन्तन विकसित हुन निःसन्देह समय लाग्छ। यो एक रातमै भइहाल्ने कुरो होइन। त्यसका लागि सामूहिक सचेत प्रयत्न जरुरी हुन्छ। पश्चिमा समाजमा शताब्दियौंको अनवरत प्रयत्न र संघर्षपश्चात् आजको विज्ञान विकास भएको हो।  सोह्रौं शताब्दीसम्म पनि धार्मिक अतिवादीले ब्रुनोजस्ता वैज्ञानिकको ज्यान लिने हर्कत गरे भने ग्यालिलियो ग्यालिलीजस्ता प्रायोगिक विज्ञानका अग्रणी  वैज्ञानिकले नजरबन्दमै ज्यान गुमाउनुपर्‍यो। युरोपको इतिहास हेर्ने हो भने विज्ञानले धर्मसँग गरेका संघर्ष र भोगेका प्रताडनाको फेहरिस्तको लामो देखिन्छ।  

हामीले लामो समय राजनीतिक खिचातानीकै गन्जागोलमा समय बर्बाद गर्‍यौं। त्यस्तो अलमलमा रुढिग्रस्त समाजले वैज्ञानिक चिन्तनको मार्ग समात्न सक्ने कुरै भएन। आजका दिनसम्म पनि नेपाली कांग्रेसजस्तो पुँजीवादी पार्टीको त कुरै छाडौं, आफूलाई कम्युनिस्ट भन्न रुचाउने दलले समेत शिक्षालाई व्यापार बनाइरहेका छन्। जब शिक्षा व्यापार बन्छ,  तब सिर्जनात्मकता हराउँछ। सिर्जनात्मकताबिना विज्ञान जन्मिन सक्दैन। 

पछिल्लो समय कुलमान घिसिङ र गोविन्द केसीजस्ता साहसी अभियन्ताले गरेका  प्रयासले कालो बादलमा चाँदीको घेरा देखिएको छ।  

चिकित्सा शिक्षा सुधारका निमित्त सन्त डाक्टर गोविन्द केसीले अठारौं पटकसम्म अनशन बस्दासमेत लज्जित नहुने हाम्रो सरकार आम शिक्षाको कायापलट गर्न उद्दत होला भनी कल्पनासमेत गर्न कठिन छ। विद्यालय शिक्षामार्फत वैज्ञानिक सोचको विकास र उच्च शिक्षा अनुसन्धानमुखी नबनाई समृद्धि हाम्रै पालामा मात्र भनेर देश समृद्द हुने होइन।  

नेपालको हकमा राजनीतिक नेतृत्व तहबाट शिक्षामा अब कुनै युगान्तकारी परिवर्तन होला भन्ने कुरो कम्तीमा यो पुस्ताका लागि असम्भवप्रायः कुरो हो।  

पश्चिमा समाजमा ब्रुनो वा ग्यालिलियो ग्यालिलीहरूले गरेको साहसझैं नेपाली सचेत बौद्दिक वर्गले हस्तक्षेप नगरी हाम्रा नेताहरूकै मुख ताक्ने हो भने अबको कैयौं पुस्तासम्म पनि हाम्रो समाज द्रुत उन्नतिको बाटोमा जान सम्भवै छैन। कम्तीमा हरेक क्षेत्रका नेतृत्वमा रहेका बौद्धिक तप्काले त्यो साहस गर्नैपर्छ। पछिल्लो समय कुलमान घिसिङ र गोविन्द केसीजस्ता साहसी अभियन्ताले गरेका  प्रयासले कालो बादलमा चाँदीको घेरा देखिएको छ।  

अहिलेजस्तो व्यापारीकरण र दलालीको मारमा परेको विज्ञानमारा शिक्षाले हाम्रो विकासको सपना कहिल्यै विपनामा परिणत हुन सक्दैन। 

विशेषतः शिक्षा क्षेत्रले आमूल परिवर्तन गर्न सक्ने कुलमानजस्ता प्रखर चेत र दृढ आत्मविश्वास भएको नेतृत्वकर्ता पाउने हो भने कम्तीमा अबको नयाँ पुस्ताले विज्ञानसम्मत चिन्तन गर्ने र त्यसको उपयुक्त प्रयोगमार्फत देश समृद्द गर्ने बाटो पहिल्याउँथे। अहिलेजस्तो व्यापारीकरण र दलालीको मारमा परेको विज्ञानमारा शिक्षाले हाम्रो विकासको सपना कहिल्यै विपनामा परिणत हुन सक्दैन।  

प्राध्यापक, नासभिल स्टेट कलेज, टेनेसे, अमेरिका  

प्रकाशित: १३ कार्तिक २०७७ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App