७ वैशाख २०८१ शुक्रबार
विचार

मिडियाले झुक्याउन मिल्छ?

के समाचार हो, के समाचार होइन? पश्चिमा मिडियाहरु यसका निर्धारक आफैँलाई ठान्छन्। आलोचकहरु भन्छन्, बाँकी विश्वले उनीहरुले समाचार हुन् भनेका कुरालाई समाचार मान्नुपर्छ र समाचार होइनन् भनेका कुरालाई होइन रहेछ भन्ने ठान्नुपर्छ। बेलायती नवयुवराज विलियम्सको विवाह पनि यस्तै एक विवादित विषय बनेको छ। भारतमा विश्व सुन्दरी ऐश्वर्या रायको विवाह हुँदा र छोरी जन्मँदा मिडिया संयमित भएनन् र उनीहरुले निजी मामिलालाई अतिरञ्जित गरे भनेर टेलिभिजन सम्पादकहरु स्वयम्ले आचारसंहिता निर्माण गरी लागु गरेको सेरोफेरोमा बेलायती नवयुवराज विलियम्स र उनकी प्रेमिका केट मिडल्टनबीचको विवाह, रोमान्स र गर्भधारणले यति चर्चा पायो, मानौँ विश्वमा त्यसभन्दा ठूला समाचार योग्य विषय नै थिएनन्।

बेलायती राजपरिवारका तेस्रो पुस्ताका ज्येष्ठ सदस्य विलियम्सको विवाहमा सरकारी कोषबाट ठूलो रकम खर्च भयो र निकै धेरै तडकभडक भयो भनेर मिडियामा आलोचना नभएको होइन। फोटो पत्रकारहरुले अचाक्ली पिछा गरेकी कारण ज्यान गुमाएको ठानिएकी विलियम्सकी आमा युवराज्ञी डायनालाई झैँ पश्चिमा मिडियाले यो दम्पतीलाई पनि पिछा गर्न छाडेको छैन। गत नोभेम्बरको अन्तिम र डिसेम्बरको सुरुमा नवयुवराज विलियम्स बिहान बिहान लन्डनको किंग एडवार्ड सेभेन्थ अस्पताल जान थालेपछि मिडियाले अन्दाज गरे, उनकी श्रीमती गर्भवती भइछन्। उक्त समाचार पश्चिमा मिडियामा मात्र ठूलो महत्त्वका साथ प्रकाशन र प्रशारण भएन, बाँकी विश्वका मानिसले पनि थाहा पाउन बाँकी रहेन।
सन् २०१२ को डिसेम्बर ४ को बिहान किंग एडवार्ड सेभेन्थ अस्पतालको शाही उपचार कक्षमा आएको एउटा टेलिफोनपछि मिडियाका विषयमा बहस नै सुरु भएको छ। अस्पतालको शाही उपचार कक्षमा आएको टेलिफोन भारतीय मूलकी नर्स जासिन्था साल्डान्हाले उठाएकी थिइन्। फोन राजदरबाट महारानी एलिजाबेथ र युवराज चार्ल्सका तर्फबाट आएको र उनीहरुले गर्भवती नवयुवराज्ञी केटको स्वास्थ्य अवस्थाबारे जानकारी लिन चाहेको भन्नासाथ जासिन्थाले विलम्ब नगरी यथार्थ जानकारी दिन केट रहेको वार्डकी नर्सलाई टान्सफर गरिदिइन्। ती नर्सले निकै बेर लगाएर केटको स्वास्थ्य अवस्थाबारेमा सकेसम्म यथार्थ जानकारीसहित बेलिविस्तार लगाइन्।
तर त्यो फोन न बेलायती राजदरबारबाट आएको थियो, न त उक्त सूचना महारानी एलिजावेथ र युवराज चार्ल्सलाई नै चाहिएको थियो। उक्त फोन त अस्ट्रेलियाको टुडे एफएमबाट आएको थियो र फोन गर्ने व्यक्ति थिए, डिजेद्वय मेल ग्रिग र मिचेल क्रिस्चियन। यता नर्सलाई थाहै छैन, उता अस्टे्रलियाभरि त्यो कुराकानी प्रशारण भइसकेको थियो।
घटना यतिमै सकिएन। उक्त समाचारले अस्टे्रलिया र बेलायत दुवैतिर सनसनी फैलायो। दबाब अस्पतालमाथि पर्यो । फलतः तीन दिनपछि कमजोर मनस्थितिकी नर्स जासिन्थाले आफ्नै घरमा झुण्डिएर देहत्याग गरिन्। घटनाले नयाँ मोड लियो र पश्चिमा मिडियामा नयाँ बहस सुरु भयो, हक्स कल गर्नु कति उचित? कति अनुचित? जासिन्थाको आत्महत्याको जिम्मेवारी कसले लिने? जासिन्थाको शवलाई उनकै इच्छाबमोजिम भारतको म्यालोरमा ल्याएर समाधिस्थ गरिए पनि त्यस प्रकरणका प्रश्नहरु अहिले पनि बेलायती प्रेसमा जीवित छन्। मिडियाका अध्येता र कानुनवेत्ताहरु घोत्लिरहेका छन्, हक्स कल गर्ने ती दुई रेडियो प्रस्तोतालाई कानुनी कठघरामा उभ्याउन सकिन्छ कि सकिँदैन?
बेलायती प्रहरीले आफ्नो सम्पूर्ण अनुसन्धान पूरा गरेको छ र बेलायती कानुनअनुसार मुद्दाबारे थप निर्णय लिनका लािग क्राउन प्रोसेक्युसन सर्भिसलाई आफ्नो प्रतिवेदन हस्तान्तरण गरिसकेको छ। राजपरिवारको सूचना सार्वजनिक गरेकोमा कुनै सम्भावित कारबाही भोग्नुअघि जासिन्थाले संसार छाडेका कारण उनका बारेमा त कुनै निर्णय हुने कुरा भएन। तर, अस्ट्रेलियाका ती रेडियो प्रस्तोताका बारेमा के गरिन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।
हक्स कलका कारण त्यस्तो दुर्घटना निम्तिएला भन्ने कल्पना ती दुई रेडियो प्रस्तोताले पनि गरेका थिएनन्। घटनापछि क्षमायाचना गर्दै उनीहरुले भनेका छन्, 'अत्यन्तै दुःखदायी घटना भएको छ, कसैले पनि यस्तो होला भनेर भविष्यवाणी गरेको थिएन, कल्पना गरेको थिएन।' उता अस्ट्रेलियामा पनि उनीहरुमाथि छानबिन सुरु भएको छ। अस्टेलियन कम्युनिकेसन एन्ड मिडिया अथोरिटीले वक्तव्य निकालेर छानबिन गर्ने घोषणा गरेको छ भने प्रधानमन्त्री जुलिया गिलार्डका प्रवक्ताले अत्यन्त दुःखदायी वियोगान्त भएको टिप्पणी गरेका छन्।
यता जासिन्थाको आत्महत्याका बारेमा उनका पति बेनेडिक्ट बारबोजाले अस्ट्रेलियाली रेडियो सञ्चालक कम्पनी साउदर्न क्रस अस्टेरियोलाई २० वटा लिखित प्रश्न सोधेका छन्। भारतमा जासिन्थाको अन्त्येष्टिका बेला विद्यार्थीहरुले प्रदर्शन गरेका छन् र भारतीय मूलकी भएका कारण उनलाई अलगथलग, प्रताडित र अपमानित गरेर आत्महत्या गर्न बाध्य पारिएको भन्दै बेलायती हाइ कमिसनसमक्ष विरोध जनाएका छन्।
नर्स जासिन्था साल्डान्हाले मृत्युअघिसम्म पश्चिमी जगतका मानिसहरुलाई झुक्याउने टेलिफोन (हक्स कल) ले यति ठूलो भयाबह परिस्थिति निम्त्याउँछ भन्ने लागेकै थिएन। टेलिफोनका माध्यमबाट आफ्नो साथी वा चिनेको मानिस वा अलि ठूला मानिसलाई अर्कै मानिस बोलेको हो भनेर झुक्याएर टेलिफोनबाट ठट्टा मजाक गर्नुलाई पश्चिमाहरु हक्स कल वा प्य्रांक कल भन्छन्। तर अस्ट्रेलियाका दुई रेडियो पत्रकारले बेलायती नवयुवराज्ञी केटका बारेमा जानकारी लिन गरेको त्यस्तै कलको मूल्य चुकाउन अहिले पश्चिमी दुनियाँलाई निकै हम्मेहम्मे परिरहेको छ।
त्यसो त पश्चिमा ठूला राजनीतिज्ञहरु पनि यसअघि हक्स कलको फन्दामा नपरेका होइनन्। तर, तीमध्ये कतिपयले कुरा गर्दागर्दै थाहा पाए र त्यसलाई हाँसिमजाकका रूपमा उडाइदिए भने कतिपयले थाहा नपाए पनि खासै असर गरेन। सन् १९५० को दशकमा अमेरिकी रेडियोले सुरु गरेको हाँस्यव्यंगात्मक यो कार्यक्रमको सुरुवातकर्ताको श्रेय अमेरिका हाँस्य कलाकार स्टेभ एलेन र जोनी कार्सनलाई जान्छ। धनी र शक्तिशाली धेरै मानिसलाई उनीहरुले यस्तै कार्यक्रममार्फत् मूर्ख बनाएका धेरै उदाहरण पाइन्छन्। सन् १९९५ मा बेलायतकी महारानी एलिजाबेथले १७ मिनेट लगातार कुरा गरिसकेपछि मात्र थाहा पाइन्, तिनले क्यानाडाका प्रधानमन्त्रीसँग कुराकानी गरिरहेकी छैनन्। त्यसरी कुरा गर्ने मानिस क्यानाडेली त थिए तर प्रधानमन्त्री नभएर रेडियो प्रस्तोता पियर ब्रसार्ड।

सन् १९९८ मा बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले विपक्षी नेता विलियम हगको टेलिफोन भनेर हतारहतार रिसिभर हातमा लिए। तर कुरा गर्नासाथ उनले तत्कालै थाहा पाइहाले, उनीसँग कुरा गर्ने मानिस विलियम होइनन्। र, डिजे स्टेक पेन्कको योजनाअनुसार जन कलसावसँगको कुराकानीलाई उनले तत्कालै ठट्टामा रुपान्तरण गरिदिए। सन् २००६ मा बेलायती विदेश मन्त्री मार्गरेट ब्याकेटलाई पनि यस्तै भयो। उनले प्रधानमन्त्री गोर्डन ब्राउनको फोन भनेर कुराकानी गरे तर उनीसँग कुरा गर्ने व्यक्ति हाँस्य प्रस्तोता रोरी बे्रम्नर थिए। क्युबाका राष्ट्रपति फिडेल क्यास्टो पनि हक्स कलको शिकार भएका छन्। सन् २००४ मा भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज भनेर उनले कुरा गरेका व्यक्ति मियामी रेडियो स्टेसनका कार्यक्रम प्रस्तोता थिए।
सामान्यतयाः माथिल्लो ओहदामा भएका मानिससँग आममानिसले सिधै पहुँच राख्न सक्दैन। अझ उनीहरुले आफैँ टेलिफोन नउठाउने र अहिलेको द्रूततर प्रगतिको समयमा नचिनेको नम्बर नउठाउने भएका कारण यसरी ठगिने सम्भावना कमै हुन्छ। तर, अत्यन्त कला पुर्याबएर गरिने हक्स कलमा भने कसैगरी पनि सेलिब्रेटी पर्न सक्छन्। तर हाँस्य व्यंगका दृष्टिकोणबाट हेर्दा सहज मान्न सकिए पनि मिडियाका दृष्टिकोणबाट हेर्दा यस्तो कामलाई उचित मान्न सकिँदैन। किनभने पत्रकारितामा पत्रकारले आफ्नो परिचय ढाँटेर वा पत्रकारिताबाहेक अरु प्रयोजनका लागि भेष बदलेर सूचना लिनुलाई क्षम्य मानिँदैन र त्यसले पत्रकारिताको आधारभूत लक्ष्मणरेखालाई थाम्न सक्दैन। यस हिसावले जासिन्था प्रकरणमा गरिएको गल्तीलाई पश्चिमा मिडियाले मात्र होइन, विश्वकै मिडियाहरुले एउटा दुःखद् पाठका रूपमा लिनुपर्छ।

प्रकाशित: २३ पुस २०६९ २२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App