२३ फाल्गुन २०७७ आइतबार
विचार

कोरोना कहरको व्यवस्थापन

‘पिसिआर’ परीक्षणले कारोना लागेको पुष्टि गरेपछि आफूलाई सम्हाल्न नसक्दा ‘स्ट्रोक’ का कारण धनुषा जिल्ला बटेश्वर निवासी विष्णु निरौलाको गत हप्ता काठमाडौँमा निधन भयो। परिवारजनका अनुसार उनमा पूर्ववत् कुनै शारीरिक समस्या थिएन। तरउनको मानसपटलमा भने प्रारम्भदेखिनै कोरोना लागेका मानिस मरिहाल्छ नि भन्ने डर भने थियो भन्छन् उनका आफन्त। नभन्दै त्यस्तै भयो। कोरोना लागेको थाहा हुनेबित्तिकै आन्तरिक त्रासका कारण विष्णु निरौला बिते। कोरोनालाई परास्त गर्न सक्छु भन्ने आत्मविश्वास हुँदो हो त शायद अन्य कुनै पूर्ववत् शारीरिक समस्या नभएका विष्णु निरौलाले मृत्यु वरण गर्नुपर्ने थिएन होला भन्छन् स्वास्थ्य विश्लेषकहरू।  

गत हप्ता नै काठमाडौँको मूलपानीमा हार्डवेयर पसल सञ्चालन गरेर बसेका राजविराजका स्थायी बासिन्दा कृष्ण पोखरेललाई ‘हर्टअट्याक’ भयो। मुटुमा समस्या आएको थाहा पाउनेबित्तिकै परिवारजनले उनलाई तुरुन्तै अस्पताल लगे। तर अस्पतालले भर्ना लिन कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ भएको प्रमाण पेस गर्नुपर्ने भन्यो। पोखरेलका परिवारजनले अस्पतालले भनेअनुरूपको कागजात पेस गर्न सकेनन्। ‘कोरोना फ्रि’ प्रमाणको अभावमा अविलम्ब अस्पताल भर्ना गरी सघन उपचारमा रहनुपर्ने रोगीको कुनै इलाज भएन। राजधानीको साधन र स्रोतको पहुँचमा हुँदाहँुदै पनि उपचारपछि सहजै सन्चो हुनुपर्ने अवस्थाका कृष्ण पोखरेल मृत्यु वरण गर्न पुगे।  

कोरोना महामारी सुरु हुनेबित्तिकै संसारभरका मानिसको दैनिकी परिवर्तन भयो। नेपाल अछूतो हुन सम्भव थिएन। अन्यत्रझैँ छोटो समयमै नेपालमा समेत कोरोनाले आफ्नो आयतन बढायो। नेपालीको कार्यतालिका फेरियो। अफिस कार्यालयहरू अनियमित भए। स्कुल कलेजहरू बन्द भए। विद्यार्थीहरू दूरशिक्षाको सहारा लिन पुगे।  

कतिपय गाउँठाउँमा प्रत्येक घरका युवा विदेश गएका र उनीहरूले पठाएको पैसाको भरमा परिवार खर्च चल्ने गरेको यथार्थ लुकेको छैन। विविध कारणले विदेशजान नसकेका गरिबका सन्तान परिवार पाल्ने आशमा सहर पसे, मुग्लान भासिए। महामारीको मारबाट कुनै पनि भूगोल अछूतो रहेन। भाइरस संक्रमणसगै कामधन्दा घटे। मजदूरीकालागि विदेशिएका र सहर पसेकाहरू गाउँ फर्कने अवस्था आयो। विविध कारणले गाउँ फर्कन नसक्नेहरूले समेत पर्याप्त काम पाएनन्। परिणामस्वरूप श्रमिकहरूको आम्दानी घट्यो। गरिब परिवारले पाउने प्रेषण रकम कम भयो। आन्तरिक तथा बाह्य रोजगारीको अवसर घट्दा गरिब परिवारको मुखमा माड लाग्न कठिन हुँदोछ। एक नवीन अध्ययनले नेपालका झण्डै ५४ लाख घरधुरीमध्य झण्डै ५६ प्रतिशत परिवारको आम्दानी कोरोनासँग सबन्धित आर्थिक मन्दीले प्रभाव पारेको देखायो। साथै, उक्त कोरोना सिर्जित सुस्तताका कारण धेरैले ज्यान गुमाउन सक्ने उक्त अध्ययनको ठहर देखियो। कति मानिस वर्तमान समस्याका कारण मर्छन् भन्ने कुरा कोरोनाको भ्याक्सिन कहिले आउने अनि सरकारी नीति तथा अनुगमनले तय गर्नु अस्वाभाविक भएन। त्यसो त एउटा राष्ट्रिय दैनिकमा केही महिनाअघि मात्र कोरोना सिर्जित बन्दाबन्दीका कारण खान नपाएर भारी बोकेर गुजारा गर्ने सूर्यबहादुर तामाङको मृत्यु भएको खबर सार्वजनिक भएकै हो। 

विभिन्न देशमा गरिएको अध्ययन÷अनुसन्धानले भाइरसका कारण भएको ‘लकडाउन’ का कारण एकांकी जीवन जिउन बाध्य हुँदा वयस्क मात्र होइन, केटाकेटीसमेत मानसिक रोगको सिकार भएको देखायो। जन्मँदादेखि नै नियमित दिनचर्यामा समय बिताएको मानिसका लागि एक्लोपनले जटिलता ल्याउनु अनि स्कुलमा सहपाठीसँगको अन्तरक्रियामा प्रफुल्ल रहने बच्चामा एकान्तबासले मानसिक रोग भित्र्याउनुलाई असामान्य मान्दैनन् मनोविज्ञानविद्हरू। संयुक्त राज्य अमेरिका तथा युरोपियन मुलुकमा गरिएको अध्ययनले कोरोनाका कारण परिवर्तन भएको दिनचर्याका कारण मनोरोगीको संख्या मात्र बढेको देखाएन बरु मानसिक सन्तुलन खलबलिँदा आफ्नो तथा अर्काको ज्यान लिने प्रकृतिका घटना धेरै बढेको देखियो। अहिलेसम्म सूक्ष्म अध्ययन नभए पनि कोरोनाका कारण परिवर्तन भएको सामाजिक अन्तरसम्बन्धका कारण नेपालमा समेत मर्ने र मार्नेको संख्या निकै बढेको कुरामा दुई मत रहेन।  

उपरोलिखित परिच्छेदमा नमुनामा रूपमा प्रस्तुत गरिएका विष्णु निरौला, कृष्ण पोखरेल तथा सूर्यबहादुर तामाङको कथाले कोरोना भाइरसका कारण परोक्षरूपले कसरी मानिस मरिरहेकाछन् भन्ने यथार्थ भन्छ। अब, कोरोना संक्रमणका कारण सिर्जित शारीरिक पीडा धान्न नसकेका कारण मर्ने र भाइरस आतंकको उचित व्यवस्थापन गर्न नसकी भित्रिएका सहायक समस्याका कारण परलोक जानेमध्ये कुन संख्या अधिक होला त? त्यसको आकलन गरौँ।  

प्रकाशित भएका वैज्ञानिक निचोडलाई हेर्दा चीनबाट सुरु भएको भाइरसले विगत १० महिनामा आफ्नो अणुवांशिक पदार्थ ‘जिन’ मा व्यापक परिवर्तन गरेको देखिएको छ। सामान्यतः‘जिन’ को परिमार्जनले जीवको बनोट र चरित्रमा परिवर्तन ल्याउँछ। प्रारम्भिक दिनमा वैज्ञानिकहरूले जिनमा परिवर्तन आएपछि भाइरसको चरित्र फेरिने, जीवाणुको संक्रमण क्षमता स्खलित हँुदै जाने अनि अन्त्यमा कोरोना स्वतः मासिनेसम्मको आकलन गरे। त्यस्तो सोच्नुको कारण विगतमा यस्तै प्रकृतिको ‘सार्स’ भाइरस अणुवांशिक पदार्थमा परिवर्तन आएका कारण आपैmँ नासिनु थियो। तर, अहिलेसम्मको अन्वेषणले विभिन्न स्थानमा भेटिएका कोरोनाको अणुवांशिक पदार्थ उद्गम स्थान चीनको उहानमा भेटिएको जीवाणु भन्दा फरक देखियो। तर जिनमा आएको परिवर्तनले कोरोना भाइरसको संक्रमण क्षमता र आयतनमा फरक आएको देखिएन। त्यसैले भाइरसले संसारका अन्य स्थानमा जस्तो चरित्र देखायो त्यस्तै प्रकृतिको संक्रमण नेपालमा रहेको मान्नुपर्ने हुन्छ। अब कोरोना भाइरसको चरित्र कस्तो छ त त्यता हेरौँ।  

केही हप्ताअघि प्रतिष्ठित जर्नल ‘नेचर’ ले संसारका विभिन्न देशमा कोभिड–१९को संक्रमणका कारण कस्तो उमेर र वर्णका मानिस अधिक मरे अनि कोरोना लागेमा कुन उमेर समूहका मानिस मर्ने सम्भावना अधिक छ त भन्ने जानकारी दिने उद्देश्यले एउटा विश्लेषणात्मक रिपोर्ट प्रकाशित ग¥यो। उक्त समीक्षात्मक आलेख नेपालीका लागि समेत उत्तिकै लाभप्रद् हुने देखीनिचोड प्रस्तुत गर्ने अनुमति लिएँ।  

बेलायत, स्पेन, इटली, स्विट्जरल्यान्डलगायत कोरोनाबाट अत्यधिक प्रभावित संसारका धेरै देशका वैज्ञानिकले आफ्ना देशमा नवीन भाइरसबाट कुन उमेर समूहका कति मानिस मरे भन्ने तथ्यांक प्रस्तुत गरे। अनुसन्धानहरूले कोभिड–१९का कारण मरेका मानिसको उमेर विचार गर्दा पाकोपनसँगै भाइरसको संक्रमणले मृत्युको मुखमा पु¥याउने सम्भाव्यता बढ्ने देखायो।  

कस्तो उमेरका मानिसलाई भाइरसले धेरै खति गर्छ भनी हेर्न सबै भेगबाट प्रकाशित तथ्यांकलाई तुलनात्मक अध्ययन गरियो। अनि उक्त विश्लेषणले ५० वर्ष भन्दा कम उमेर समूहका कोरोना संक्रमित १ हजार बिरामीमध्ये एक जना पनि भाइरसका कारण मरेको देखिएन। अथवा ५० वर्ष भन्दा कम उमेरका मानिसका लागि भाइरस मृत्युको कारण हुने सम्भावना निकै कम देखियो। तर ५० वर्ष भन्दा माथि उक्लिएपछि भने भाइरसको संक्रमणले मानिसलाई मार्ने सम्भाव्यता अत्यधिक बढेको देखायो। उदाहरणका लागि ७० वर्ष कटेकाको हकमा १ हजार रोगीमध्ये ११६ मर्ने गरेको आकडाले देखायो। अथवा ५० वर्षको मानिस भन्दा ७० वर्षको वृद्धमा भाइरसको प्रभाव झण्डै ५ सय गुणाले बढ्ने देखियो। त्यतिमात्र होइन, एकै उमेर समूहका पुरुष र महिलामा समेत भाइरसको प्रभाव फरक फरक देखियो। स्पेनमा गरिएको एउटा अनुसन्धानले ८ दशक टपेका महिला भन्दा पुरुषमा भाइरसको प्रभाव तीन गुणा भन्दा अधिक रहेको देखियो। अथवा कोरोनाका कारण ८० वर्ष उमेर समूहका महिला भन्दा पुरुष भाइरस संक्रमणका कारण मर्ने सम्भाव्यता ३ गुणा बढी रहेको देखायो।  

नेपाल सरकारले कोरोना संक्रमित र मृत्यु वरण गर्नेको संख्या आवधिकरूपले जानकारी गराएको देखियो। सरकारले कोरोनालाई आतंकका रूपमा प्रस्तुत ग¥यो कि रोगको वास्तविकता जनसमक्ष ल्यायो त्यसको विवेचना आवश्यक देखियो। कोरोनाको प्रभावलाई वास्तविकता भन्दा अत्यधिक आकलन गरेर बसेका विष्णु निरौला जस्तालाई भाइरसको यथार्थ जानकारी गराउन सके धेरै ज्यान जोगाउन सकिने देखियो। त्यस्तै अन्य शारीरिक समस्याका कारण अविलम्ब इलाज गर्नुपर्ने व्यक्तिलाई कोरोनाको रिपोर्टको बहानामा अस्पतालले भर्ना नलिने प्रवृत्तिलाई निरुत्साहित गर्न सके धेरै कृष्ण पोखरेलको ज्यान जोगाउन सकिन्थ्यो। अनि ५० वर्ष भन्दा कम उमेरका मानिसमा कोरोनाको घातकता निकै कम हुने यथार्थका अतिरिक्त देशव्यापी बन्दाबन्दी गर्दा धेरै सूर्य तामाङको ज्यान जान्छ भन्ने सबैले बुझ्न आवश्यक देखियो।

अहिलेसम्म प्रकाशित तथ्यांकले ५ दशक कटेका मानिसमा कोरोना घातक देखियो भने कम उमेरका नागरिक भाइरसका कारण मर्ने सम्भावना निकै कम छ। कोरोना र नागरिक उमेरबीचको असन्तुलित सम्बन्धका अतिरिक्त भाइरस नियन्त्रण गर्न सबै क्षेत्रलाई बन्दाबन्दी गर्दा भोकमरी अनि मानसिक रोगले विष्फोटक अवस्था ल्याउन सक्ने देखियो। कोरोना भाइरसको प्रत्यक्ष संक्रमणका कारण मर्ने ५ सय भन्दा कोरोनाले भित्र्याएका सहायक समस्याका कारण मर्ने अर्को ५ सयको मरण फरक हो भन्ने अवस्था रहन्न नै।  

कोरोनाको अविलम्ब नियन्त्रणकालागि खोप अचुक ओखती हो तरअत्यधिक भरोसा गरिएका ‘इलाइ लिली’ र ‘जन्सन एन्ड जन्सन’ का तेस्रो चरणको क्लिनिकल ट्रायलमा रहेका भ्याक्सिनमा समस्या देखिएका कारण परीक्षणमा अहिले लागेको अर्धबिरामलाई मध्यनजर राख्दा खोप बजारमा आउनकेही महिना अभैm कुर्नुपर्ने देखियो। सबै कुरा अनुकूल रहे पनि बजारमा भ्याक्सिन भित्र्याउन समय लाग्छ नै। अन्तर्राष्ट्रिय बजारमा भाइरसको भ्याक्सिन आएको एक वर्षपछि पनि सबै नेपालीले कोरोनाको खोप लगाउन पाउलान् भन्ने अवस्था देखिन्न। कोरोनाको प्रत्यक्ष प्रभाव अनि भाइरसले पारेको सहायक जटिलतालाई विश्लेषण गर्दा कोरोना नियन्त्रण गर्न देश बन्द गर्नु बुद्धिमानी होला जस्तो देखिन्न। कोरोनाको आयतनको बहुआयामिक विश्लेषण गरी ५ दशक भन्दा कम उमेर समूहका लागि दैनिक कार्यसञ्चालनमा परिचालन गर्ने अनि पाका नागरिकलाई विशेष सुरक्षा कवचको व्यवस्था गरी मुलुकलाई कोरोनापूर्वको अवस्थामा फर्काउन आवश्यक देखियो। कोरोना नियन्त्रणकालागि बन्दको सहारा लिँदा झन भयानक समस्यामा त फसिन्न भन्ने कुरामा सबै सचेत बनौँ।

प्रकाशित: ४ कार्तिक २०७७ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App