१० कार्तिक २०७७ सोमबार
विचार

बलात्कारवादी समाज !

बिहे गर्दा जात जाने, बलात्कार गर्दा नजाने !

‘प्रेम गर्ने नवराज विकलाई कुटेरै मार्ने पञ्च–भलाद्मीको समाज ‘उच्च जात’को बलात्कारीलाई चाहिँ पञ्चखत माफी दिन्छ । राजेन्द्र बोहरालाई अघिल्लो बलात्कार केसमै कारबाही गरिएको भए अहिले ऊ जेलमा हुन्थ्यो र सम्झना विकले आफ्नो अमूल्य जीवन गुमाउनुपर्ने थिएन । तिम्रो विवेक ऐन मौकामा सधैं कहाँ चर्न जान्छ भलाद्मी हो?’

प्रस्तुत पंक्ति कवि/लेखक अभय श्रेष्ठले फेसबुकमा लेखेको स्टाटस हो ।  

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विकलाई हालै (गत जेठ १० गते) रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८, सोतीको समाजले प्रेम गरेको ‘अपराध’मा ‘मृत्युदण्ड’को सजाय दियो । त्यति मात्र होइन, उनका ५ साथीको समेत प्राण लियो ।  

यही असोज १४ गते बझाङको मस्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया सम्झना कामी (विक), बलात्कारपछि बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा फेला परिन् । अनुसन्धान क्रममा प्रहरीले त्यही ठाउँका २० वर्षीय राजेन्द्र बोहरालाई  पक्राउ गर्यो । हाल हिरासतमा रहेका बोहराले सम्झनाको बलात्कारपछि त्रिशूलले घोचेर हत्या गरेको स्वीकार गरिसकेका छन् ।

तर अर्काे रहस्य के खुल्यो भने उनले बलात्कार गरेको यो पहिलो घटना होइन रहेछ ! डेढ महिनाअघि मात्र गत साउन २९ गते पनि बोहराले त्यसै ठाउँकी दलित समुदायकै १३ वर्षीया बालिकालाई बलात्कार गरिसकेका रहेछन् । तर त्यहाँका ‘भद्रभलाद्मी’ले बैठक बसेर जम्मा ५ सय रुपियाँ जरिवाना तिराएर उनलाई ससम्मान छुट्कारा दिएका रहेछन् ।  

यसैप्रतिको आक्रोश हो– सुरुमै उल्लिखित साहित्यकार श्रेष्ठको स्टाटस ।  

उसो त यो पंक्तिकारले नवराज विकको हत्या भएका बेला नै यही ‘नागरिक’ दैनिकमा ‘ज्यानमारा जात’ शीर्षक लेख लेख्दै भनेको थियोे– ‘यो समाजको नजरमा बरु बलात्कार उति ठूलो अपराध होइन, जति ठूलो अपराध ‘अछूत’ भएर पनि ‘उच्च’ जातिसँग प्रेम गर्नु हो । रुकुम चौरजहारीको हत्याकाण्डले यही तीतो यथार्थलाई पुनः एकपटक अझ बृहत् रूपमा पुष्टि गरेको छ । अर्थात् ‘ठूला जाति’का मानिससँग प्रेम गरेको ‘अपराध’मा फेरि एक जना दलितलाई ‘मृत्युदण्ड’ दिइएको छ । अझ यसपटक त अन्तरजातीय प्रेम गर्ने एक जना ‘डुम’को मात्र होइन, उसलाई साथ दिने अन्य ५ युवाको समेत एकैसाथ इहलीला समाप्त पारिएको छ ।’

हाम्रो समाजलाई प्रेममा भन्दा बलात्कारमा बढी रुचि छ भन्दा अत्युक्ति नहोला । यसैकारण त हाम्रा ‘पञ्च–भलाद्मी’ प्रेम सकेसम्म छुटाउन र बलात्कार सकेसम्म ‘मिलाउन’ सक्रिय भइरहेका छन् ।

अनि अगाडि प्रश्न गरेको थिएँ– ‘तर तपाईंले अहिलेसम्म यसरी गाउँ नै उल्टिएर कुनै बलात्कारीलाई मृत्युको सजाय दिएको सुन्नुभएको छ ?’

बरु यसविपरीत अहिले सुनियो– गाउँले मिलेर एउटा बलात्कारीलाई एक लबेटा पनि नलगाई नाम मात्रको जरिवाना (५ सय रुपियाँ) गराएर सजिलै उन्मुक्ति दिए ।  

उल्लिखित दुई विपरीत घटना संयोग मात्र होइनन्, हाम्रो समाजको वास्तविक सोच र चरित्र उदांग पार्ने प्रतिनिधिमूलक दृष्टान्त हुन् । जसरी नवराज विकले कथित उच्च जातिका मानिससँग प्रेम गर्ने दलित समुदायका पीडित प्रेमीहरूको प्रतिनिधित्व गर्छन्, त्यसैगरी राजेन्द्र बोहराले बिहे नगर्ने तर जबर्जस्ती वा प्रेमको नाटक गरेर दलित चेलीहरूको अस्मिता लुट्ने गैरदलित बलात्कारीहरूको प्रतिनिधित्व गर्छन् । यसका उदाहरण दिनदिनै सञ्चारमाध्यममा आइरहेका छन् ।  

भर्खरै मात्र रूपन्देहीको तिलोत्तमा–१४, तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्रीले सोही जिल्लाकै सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया दलित युवतीको यौन शोषण गरेपश्चात् गर्भ बसेपछि घरनिकाला गरेको घटना सार्वजनिक भएको छ । नागरिक दैनिकमै विनोद परियारले लेखेको खबरअनुसार युवतीका बुबा जयसवाल र आमा सार्की भएको भन्दै खत्री परिवारले झुक्याएर गर्भपतन गराई गत साउन १८ गते उनलाई घरनिकाला गरेको भनी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको हो ।

बिहे गर्दा जात जाने, बलात्कार गर्दा नजाने !
जाजरकोटका नवराज विक किन मारिए त भन्दा उनले ‘सानो जात’ (कामी) भएर ‘ठूलो जात’ (ठकुरी) की केटीसँग माया/प्रेम गरेका थिए । उनले बिहे गर्दा सम्बन्धित कन्याको मात्र होइन, माइती पक्षकै ‘जातजाने’वाला थियो । त्यही रक्षाका खातिर रुकुमचौरजहारी–८, का वडाध्यक्ष डम्बरबहादुर मल्लसहितका ‘पञ्च–भलाद्मी’को समूहले उनलाई लखेटीलखेटी मा-यो । अनि ‘जात जाने’ बिहेमा जन्ती बन्न गएका अन्य ५ कलिला किशोरलाई पनि कुटीकुटी हत्या ग-यो र भेरीमा बगाइदियो ।  

अर्कातर्फ बझाङका राजेन्द्र बोहराले पनि संसर्ग त ‘अछूत’ जातकै बालिका (पहिलो) सँग गरेका थिए, तर पनि उनको जात गएन । बरु समाजले उनलाई छाती फुकाएर हिँड्ने वातावरण बनाइदियो । त्यही ठाउँमा बोहराले ती दलित बालिकासँग प्रेम वा विवाह गरेका भएचाहिँ समाजको दृष्टिमा ठूलो अपराध ठहरिन्थ्यो र सकेसम्म छुटाइन्थ्यो, नसके उनको जात खसालिन्थ्यो । पानी नचल्ने ‘अछूत’ बनाइन्थ्यो ।  

साँच्चै ‘सानो जात’ले छोएको खाँदा वा ऊसँग शारीरिक सम्पर्क गर्दा कुनै अनिष्ट हुने भए त ‘अछूत’जातका स्त्री जति ‘ठूला जात’का बलात्कारी (प्रेमको नाटक गरेर यौन शोषण गर्ने पनि) पुरुषबाट सुरक्षित हुनुपर्ने ! तर देशभर बलात्कारको तथ्यांक हेर्ने हो भने निश्चित छ, नरपिचासहरूको सबैभन्दा बढी सिकार तिनै ‘पानी नचल्ने’ नारी भएका छन् । तर आजसम्म हामीमध्ये कसैले दलित महिला (बालिका/युवती) लाई बलात्कार गर्ने कुनै कथित उच्च जातिका व्यक्तिलाई यो समाजले बहिष्कार गरेको वा ‘पानी अचल’ बनाएको सुनेका छौं त ? तर दलित समुदायका युवक÷युवतीलाई साँच्चै प्रेम गर्ने र जीवनमा अपनाउने (अपवादबाहेक) ‘उच्च जाति’का व्यक्तिको हविगत हाम्रो समाजमा कस्तो छ ?

प्रेम छुटाउने, बलात्कार ‘मिलाउने’ समाज !
प्रेम कति महान् कुरा हो, बलात्कार कति घृणित ! प्रेम– स्त्रीको इच्छा र इज्जतको उच्च सम्मान गर्दै गाँसिने आपसी सहमतिको सुन्दर सम्बन्ध हो भने बलात्कार– नारीलाई मान्छे होइन, एउटा उपभोग्य वस्तु ठानेर उनको आत्मसम्मानलाई कुल्चिँदै गरिने कुकृत्य हो ।  

विडम्बना ! हाम्रो समाजलाई त्यस्तो प्रेममा भन्दा यस्तो बलात्कारमा बढी रुचि छ भन्दा अत्युक्ति नहोला । यसैकारण त हाम्रा ‘पञ्च–भलाद्मी’ प्रेम सकेसम्म छुटाउन र बलात्कार सकेसम्म ‘मिलाउन’ सक्रिय भइरहेका छन् । भर्खरै सप्तरीमा बलात्कारको मुद्दा मिलाउन ‘पञ्च’ले १० लाख रुपियाँको कपाली तमसुक बनाएको खबर सार्वजनिक भएको छ ।  

शीर्षहरूको सोच
अहिले प्रधानमन्त्री, मन्त्री अर्थात् सत्तामा जो जो छन्, उनीहरू भनेका ३ करोड नेपालीमध्येमै ‘उच्च कोटि’ का मानिस हुन् । किनकि उनीहरू समाजबाट छानिएर त्यहाँ पुगेका हुन् । कम्तीमा त्यस्ता शीर्षहरूको सोच त पक्कै पनि समाजका अन्याय, अत्याचार र हिंसाविरुद्ध होला भन्ने लागेको थियो, तर पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने ठाउँमा रहेकै गृहमन्त्री भन्छन्,‘विश्वको हेरी हाम्रो देशमा भएको बलात्कार पनि बलात्कार हो र !’ यो अभिव्यक्ति आम बलात्कारकै पक्षपोषण गर्ने खालको भए पनि उनले यो विचार त्यसबेला व्यक्त गरेका छन्, जतिबेला बझाङमा दलित बालिकाको बलात्कारपछि बीभत्स हत्या भएको छ । यसअघि नवराज विकको हत्या हुँदा पूर्वगृहमन्त्री जनार्दन शर्माको सोच सुनिएको थियो, अहिले सम्झना विकको बलात्कारमा वर्तमान गृहमन्त्री बादलको विचार पनि बुझियो । फेरि दुवै त्यस्ता क्रान्तिकारी कमरेड हुन्– जसले दलित, शोषित, पीडितकै मुक्तिका लागि भनेर १० वर्ष जनयुद्ध लडेका थिए । कम्युनिस्ट भनेका जातपात, छुवाछूत नमान्ने क्रान्तिकारी हुन्छन् भन्ने भ्रान्ती छ, समाजमा । त्यही भ्रान्तीमा परेर माओवादीले सञ्चालन गरेको सशस्त्र क्रान्तिमा कैयौं दलितले रगत बगाए । तर यतिबेला त्यसैको उपहार पाउँदै छन्, तिनका सन्तानले ।  

यसै क्रममा छुटाउनै नहुने अर्काे एउटा प्रसंग पनि याद आयो । नवराज विकको हत्याताका दलित समुदायप्रति नेपालका एक ‘वरिष्ठ’ पत्रकारको असली दृष्टि पनि देखियो ।

उसो त सत्ता भने पनि, सञ्चार भने पनि यही जातिवादी समाजका उत्पादन न हुन् । जसबाट सोतीको सोच र मस्टाको मानसिकताभन्दा माथिको अपेक्षा के गर्नु ?

जातीय विभेद दलितका लागि मात्र बाधक हो ?
धेरैलाई लाग्दो हो– जातीय विभेदले दलितलाई मात्र प्रेम वा विवाह गर्ने नैसर्गिक अधिकारबाट वञ्चित गरिरहेको छ । तर सोचौं त– ती गरैदलित युवक/युवती, जसले ती दलित, जो मारिए, सँग प्रेम गरे, तिनको जीवनचाहिँ कम्ता पीडादायी भएको होला र ! अनि ती तमाम युवा, जो अन्तरजातीय प्रेममा छन् वा प्रेम गर्न चाहन्छन्, तर जातीय पर्खालकै कारण आफ्ना इच्छा/आंकाक्षा दबाएर कुण्ठित र पीडित जीवन बाँच्न विवश छन् । आफूलाई मन परेको र आफूसँग मन मिल्ने मानिससँग निर्धक्कसँग मायाप्रिती गाँस्न र बिहे गर्न पनि नपाइने ? प्रेम त प्राकृतिक कुरा हो नि । जसलाई मान्छेले बनाएको कृत्रिम ‘जात’ले कहिल्यै रोक्न सक्दैन, सकेको छैन । सक्ने भए काभ्रेका अजित मिजार मारिएयता नवराज विकहरूले प्रेम नगर्नुपर्ने !  

त्यसकारण हत्या प्रेमीहरूको होइन, प्रकृतिको शाश्वत नियम र सृष्टिकै विरुद्ध विद्यमान जात–व्यवस्थाको गर्न जरुरी छ । जसले प्रेमको सुगन्धित फूलबारी मासेर बलात्कारको दुर्गन्धित घारी बढाउन मद्दत पु-याइरहेको छ । यस्तो अभिशापविरुद्ध प्रेमको सुन्दर फूलबारीमा रम्न चाहने सबै युवा एकजुट भएर अगाडि बढ्नुपर्ने होइन र ?

प्रकाशित: २३ आश्विन २०७७ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App