विज्ञान र प्रविधिको विकाससँगै जनसंख्याको संरचनामा पनि परिवर्तन भइरहेको छ। प्रश्न उठ्न सक्छ- विज्ञानको चमत्कारले हो वा जनसंख्या गतिशीलताको आफ्नै नियमले यसको संरचनामा परिवर्तन आउँछ। तर्क आ-आफ्नै हुन सक्छन् तर यस लेखमा ज्येष्ठ नागरिकको सम्बन्ध केवल विज्ञानको चमत्कारसँग मात्र नभई सारा द्वन्द्व रूपान्तरणको प्रकृयामा घनिष्ठताका साथ रहेको यथार्थ अघि सारिएको छ। जनसंख्या गतिशीलताको कारण यसको संरचनामा हुने परिवर्तनले पार्ने विकासका प्रभावबारे चर्चा गरिएको यस लेखमा ज्येष्ठ नागरिकलाई नै मुख्य विषय बनाइनुको कारण यस क्षेत्रको बढ्दो आकर्षणका वावजुद अवधारणात्मक ज्ञान अभाव नै हो। ज्येष्ठ नागरिकको सवाल विकसित र विकासोन्मुख सबै मुलुकमा परिरहेको सन्दर्भमा ज्येष्ठ नागरिकको सम्बन्ध विज्ञान र जनसंख्या संरचनाबीच गाँसेर हेर्दा कस्तो हुन्छ र यसले कसरी प्रभाव पारिहेको हुन्छ भन्ने जिज्ञासा उठ्न सक्छ। त्यही अन्तरसम्बन्धलाई कोट्टयाउने जमर्को गरिएको छ। अवधारणात्मक लेख आफंैमा पूर्ण नहुने प्रकृतिको यथार्थता छँदाछँदै पनि अवधारणात्मक सन्दर्भ गाँस्न सकिनेखालको भने पक्कै हुन्छ।
ज्येष्ठ नागरिक को?
साधारणतया ६५ वर्षभन्दा माथिको जनसंख्यालाई ज्येष्ठ नागरिक भन्ने गरिन्छ तर नेपालमा ६० वर्षभन्दा माथिको जनसंख्यालाई ज्येष्ठ नागरिक भन्ने गरेको पाइन्छ। पहिला पहिला नेपालको औसत आयु ६० वर्षभन्दा कम रहेको अवस्थामा ६५ वर्षभन्दा माथिको जनसंख्या एकदमै कम हुने भएकाले पनि ६० वर्षभन्दा माथिको जनसंख्यालाई नै ज्येष्ठ नागरिक भन्ने गरिएको हुन सक्छ तर अब जमाना परिवर्तन भयो। दिन/प्रतिदिन ज्येष्ठ नागरिकको संख्या बढदो गतिमा छ। त्यसैले ६५ वर्षमाथिलाई नै ज्येष्ठ नागरिक भन्नुपर्ने भइसकेको छ।
कति छन्?
सन् २०११ को अक्टोबरमा विश्वको जनसंख्या सात अरब पुग्दा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको प्रतिशत आठ पुगेको देखिन्छ। विकसित देशहरूको मात्र ज्येष्ठ नागरिकको तथ्यांक गणना गर्दा यो प्रतिशत १६ हुन आउँछ। यसको अर्थ विकसित देशहरूमा जनसंख्याको १६ प्रतिशत ज्येष्ठ नागरिक छन्। यता विकासोन्मुख देशमा भने केवल ६ प्रतिशत छन्। जनगणना २०६८ को प्रतिवेदनअनुसार नेपालमा ६५ वर्षभन्दा माथि ५ प्रतिशत र ६० वर्षभन्दा माथि ८ प्रतिशत जनसंख्या छ। प्रक्षेपण गरिएअनुसार हाल नेपालमा ज्येष्ठ नागरिकको संख्या ८-९ प्रतिशत छ।
चीनलाई हालसम्म पनि विकासोन्मुख देशकै रूपमा लिइएको छ। तसर्थ विकासोन्मुख देशहरूको सूचीबाट चीनलाई हटाउने हो भने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको प्रतिशत घटेर ५ मा आइपुग्छ। नेपालसहित ४९ अतिकम विकसित देशहरूको ज्येष्ठ नागरिकको संख्या त केवल ३ प्रतिसत मात्र हुन आउँछ।
ज्येष्ठ नागरिक र जनसंख्या सन्तुलन
ज्येष्ठ नागरिकको संख्या कम हुनु भनेको जनस्ांख्याको असन्तुलित संरचनाको अवस्था कायम हुनु हो। यसको अर्थ ज्येष्ठ नागरिकको संख्या कम भएका देशमा जनसंख्या तीव्ररूपमा बढिरहेको हुन्छ, जसले गर्दा युवाको जनसंख्या ठूलो हुन जान्छ वा क्रमशः बढिरहेको हुन्छ। नेपालमा २० वर्षभन्दा मुनिको जनसंख्या ५० प्रतिशत भन्दा बढी रहनुको मुख्य कारण पनि यही नै हो। अब हामी विस्तारै जनसंख्या सन्तुलनको संघर्षमा हाम फाल्न थालेका छौं। पाँच-पाँच वर्षको उमेर समूहमा बाँडेर हेर्दा नेपालको १०-१३ वर्षको उमेर समूहमा सबैभन्दा बढी सख्ंया देखिन्छ, जो २०५८ सालको जनगणनाको नतिजा भन्दा फरक उमेर समूहमा पर्छ। दश वर्षअघिको जनगणनामा ५-९ उमेर समूहमा सबैभन्दा बढी जनसंख्या पाइएको थियो। त्यस्तै आजभन्दा बीस वर्षअघि ० -४ वर्ष उमेर समूहमा जनसंख्याको आकार सबैभन्दा बढी थियो। यसको अर्थ अबका केही दशकमा नै २० वर्षभन्दा मुनिको जनस्ांख्या क्रमश घट्दै जाने र ६५ वर्ष माथिको जनसंख्या बढ्दै जाने रमाइलो जनसंख्याको सम्बन्ध हेर्न पाइनेछ।
ज्येष्ठ नागरिक कहाँ बढी हुन्छन्?
जुन देशको औसत आयु बढ्छ, त्यस देशमा ज्येष्ठ नागरिकको संख्या पनि ठूलो हुन्छ। उदाहरणका लागि विश्वमा सबै भन्दा बढी औसत आयु भएको देश पश्चिम युरोपको मोनाको हो, जहाँ महिलाको सरदर आयु ९३ वर्ष छ भने महिला र पुरुष मिलाउँदा सरदर आयु ९० वर्ष हुन आउँछ। त्यस देशमा ६५ वर्षभन्दा माथिको जनसंख्या २४ प्रतिशत छ। त्यस्तै जापानमा २४ प्रतिशत ज्येष्ठ नागरिक छन्, जसको औसत आयु ८३ वर्ष छ। यता चीन द्रुततर आर्थिक विकासको बाटोमा अघि बढेको भए पनि यस देशको औसत आयु खासै बढ्न सकेको छैन। यस देशको औसत आयु ७५ वर्ष पुगेको देखिन्छ भने ६५ वर्ष माथिका ज्येष्ठ नागरिक ९ प्रतिशत मात्रै छन्। त्यस्तै ६५ वर्षमाथिका सबैभन्दा कम जनसंख्या भएको मुलुकका रूपमा आसियान क्षेत्रभित्र पर्ने नाउरु भन्ने देश छ, जहाँ १ प्रतिशतमात्र ज्येष्ठ नागरिक छन्।
युवासँगको सम्बन्ध
नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका मानिसलाई युवा भन्ने गरिन्छ। पारिवारिक र सामाजिक सम्बन्धका आधारमा युवा र ज्येष्ठ नागरिकबीच तीन पुस्ता अर्थात् नाति/नातिना र हजुरबा/हजुरआमाको सम्बन्ध हुन्छ। यसरी ४० वर्ष उमेर पुगेका बयस्कलाई पनि युवा नै भन्ने हो भने ज्येष्ठ नागरिक र युवाबीच रहनु पर्ने तीनपुस्ते सम्बन्ध ध्वस्त हुने भयो किनभने २० वर्ष र ४० वर्षका विवाहित दम्पतीले सन्तान पाउँदा पनि पुस्ता त एउटै हुने भयो तर इच्छा र आवश्यकताचाहिँ फरक। त्यसैले संयुक्त राष्ट्र संघले १५ देखि २४ वर्षका उमेर समूहलाई मात्र युवा भन्नुपर्छ भनेको हो। युवा हुने रहर सबैलाई हुन्छ। त्यसैले ४० वर्ष पुग्दासम्म युवा नै हुन पाए हुन्थ्यो भन्ने पनि सबैलाई लाग्नु स्वाभाविकै हो। तर विश्वका अरु देशमा भने २४ वर्षलाई नै युवा उमेरमा सीमित गरेर सो भन्दा माथिको जनसंख्यालाई वयस्कमा राख्ने गरिएको छ। ज्येष्ठ नागरिकका सम्बन्धमा पनि युवाको दर्जा स्थापित गर्नुपर्छ भन्ने तर्क अघि सारिएको छ। ज्येष्ठ नागरिकका सम्बन्धमा गरिने नयाँ प्रकृतिको परिभाषाले एकातिर ढल्कँदो उमेरका पाका व्यक्तिलाई कति वृद्ध, कति युवा र कति वयस्क-वृद्ध थाहा पाउन सजिलो पर्नेछ। त्यसमाथि पनि युवा उमेरमा जस्तै वृद्ध उमेरमा पनि फरकफरक इच्छा र चाहना हुन्छन् भन्ने कुरालाई यसको प्रकारको उमेर समूह विभाजनले थप जानकारी प्रदान गर्नेछ।
जनसांख्यिकीय दृष्टिकोणले युवा र ज्येष्ठ नागरिकबीच सम्बन्धमा तीन पुस्ते हुनका साथै संख्यामा पनि विपरित सम्बन्ध स्थापित भइरहेको हुन्छ। जनसंख्याको बढ्दो वृद्धिदरमा युवाको संख्या बढी हुने र ज्येष्ठ नागरिकको संख्या घटी हुने स्थिति देखा पर्छ। त्यस्तै जब जनसंख्या घट्दो दरमा वृद्धि हुँदै जान्छ, त्यसबेला ज्येष्ठ नागरिकको संख्या पनि बढ्दै जान्छ। विश्वका विकसित र विकासोन्मुख मुलुकको ज्येष्ठ नागरिक र १५ वर्ष मुनिको जनसंख्याको तथ्यांकीय विष्लेषणले यही सत्य स्थापित गर्छ।
ज्येष्ठ नागरिक र संक्रमण
केही वर्षअघिसम्म नेपालमा पुरुषको भन्दा महिलाको औसत आयु कम थियो। हाल नेपालको औसत आयु महिलाको ६९ वर्ष, पुरुषको ६८ वर्ष र दुवै मिलाउँदा ६८ वर्ष हुन पुगेको छ। नेपालको औसत आयु द्रुत गतिमा बढेको पाइएकाले केही वर्षभित्रै यहाँको औसत आयुले अझ ठूलो फड्को मार्नेछ।
ज्येष्ठ नागरिकको संख्या यसरी दिन/प्रतिदिन बढिरहेको छ। उनीहरूको उचित सम्मान तथा मर्यादा राख्ने तरुण तन्नेरीको आवश्यकता पनि दिन/प्रतिदिन बढ्दो छ। दुवैको संख्या बढोत्तरी हुने अवस्था विश्वका मुलुकमा धेरै कालपछि एक समयमा आउने गर्छ। त्यो अहिले हामीले पाएका हौं, जो विकसित मुलुकले धेरै पहिला पाए। र, विकासको अवसरमा प्रवेश गरे। अब भन्न सक्छौं कि हामी विकासको अवसरका लागि तत्पर हुने अवस्था सिर्जना गरिरहेका छौं। यो नै संक्रमणको समय हो र यसले नै आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक हरक्षेत्रमा संक्रमण ल्याउँछ। जुन स्वाभाविक थियो।
ज्येष्ठ नागरिक र द्वन्द्व
ज्येष्ठ नागरिक, युवा तथा यसको सम्बन्ध राजनीतिक संक्रमण वा द्वन्द्वमा प्रत्यक्षरूपमा परिरहेको हुन्छ। यो सम्बन्ध राजनीतिक दलका नेता, कतिपय द्वन्द्व विश्लेषक एवं शान्तिकर्मीले चासो नदिएको वा कतिपय अवस्थामा थाहा नै नपाएको तर महŒवपूर्ण विषय पनि हुन सक्छ। जे होस्, जनसंख्याको संरचनाअनुसार द्वन्द्व एवं राजनीतिक संक्रमण घट्ने वा बढ्ने हुन्छ। जुन देशमा युवाहरूको संख्या बढी हुन्छ, त्यस देशमा राजनीतिक द्वन्द्व तीव्र हुन्छ। यसका मुख्य दुई कारण छन्- पहिलो, बढोत्तरीमा रहेका युवालाई रोजगारीलगायत् विषयमा राज्यले तत्काल सम्बोधन गर्न सक्दैन, जसले गर्दा युवामा विरक्ति छाउँछ र यसले द्वन्द्वलाई प्रश्रय दिन थाल्छ। दोस्रो, युवाको संख्या बढेको बेला ज्येष्ठ नागरिकको संख्या कम हुन्छ। त्यसको अर्थ ज्येष्ठ नागरिकको अनुभव, ज्ञान तथा सीपको भरूपुर उपयोग हुन पाउँदैन, अनि द्वन्द्व छरूपष्ट अघि बढ्छ।
यस्तै भइरहेको छ नेपालमा पनि। जति पनि द्वन्द्व देखापरेका छन्, तिनका अधिकांश मुद्दा युवासँग नै केन्द्रित छन्। हालैका वर्षमा ज्येष्ठ नागरिकको संख्या क्रमशः बढिरहेको छ। यसको अर्थ परूिपक्व जमातले युवा पुस्तालाई डोर्या उनेछ र यसैले द्वन्द्व रूपान्तरणमा महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ। त्यसैले भविश्यको जीवन कोर्ने युवाहरूले राजनीतिक दलका केही नेताले भावनामा बगेर बोलेजस्तो विनाअध्ययन पस्कने द्वन्द्व रूपान्तरणको खाकालाई तुरुन्त विश्वास गरिहाल्नुहँुदैन। नचाहेर पनि हामीले युवा र ज्येष्ठ नागरिकको जनसंख्या सन्तुलनलाई पर्खिएर मात्र द्वन्द्व रूपान्तरणको अवस्थालाई मूर्त रूप दिन सक्छौं।
त्यसो भए के द्वन्द्व रूपान्तरणका लागि जनसंख्याको सन्तुलन नै पर्खने त भन्ने महŒवपूर्ण र निराशाजनक प्रश्न पनि उब्जन्छ। त्यस्तो पनि हैन। अहिलेको जनसंख्याको असन्तुलित वृद्धिको अवस्थामा द्वन्द्व रूपान्तरणका क्रममा देखिएका समस्यालाई सही विश्लेषणमार्फत् सहजीकरण गर्न सक्नु नै दल, नेता, राज्य तथा राष्ट्रसेवकलगायत् सबै नागरिकको कर्तव्य हो।
निश्कर्ष
औसत आयुमा देखिएको प्रगतिसँगसँगै नेपालमा ६५ वर्षमाथि उमेरका व्यक्तिलाई नै ज्येष्ठ नागरिक भन्नुपर्ने भइसकेको छ, जसले गर्दा अरु देशहरूको ज्येष्ठ नागरिकको संख्या, सवाल र समग्र विषयवस्तुको तुलनात्मक अध्ययन गर्न सजिलो हुनेछ।
विश्वका विकसित देशहरूमा उनीहरूको संख्या दु्रततर गतिमा बढिरहेको छ भने नेपाललगायतका विकासोन्मुख देशमा त अझै कम छन्। यसले गर्दा जनस्ांख्याको असन्तुलित संरचना सिर्जना भएको छ। यसको अर्थ ज्येष्ठ नागरिकको संख्या कम भएका देशमा जनसंख्या तीव्ररूपमा बढिरहेको हुन्छ जसले गर्दा युवाको जनसंख्या ठूलो हुन जान्छ वा क्रमशः बढिरहेको हुन्छ।
नेपालमा केही दशकमा नै २० वर्षभन्दा मुनिको जनस्ांख्या क्रमशः घट्दै जाने र ६५ वर्षमाथिको जनसंख्या बढ्दै जाने आधार लगभग तयार भइसकेको छ। औसत आयु बढेको देशमा ज्येष्ठ नागरिकको संख्या पनि ठूलो हुन्छ। युवा र ज्येष्ठ नागरिकबीचको सम्बन्ध घनिष्ठ रहेको सन्दर्भमा नेपालमा ४० वर्ष उमेर समूहका मानिसलाई युवा भन्नु उचित देखिँदैन किनभने पारिवारिक र सामाजिक सम्बन्धका आधारमा युवा र ज्येष्ठ नागरिकबीच तीन पुस्ता अर्थात नाति/नातिना र हजुरबा/हजुरआमाको सम्बन्ध हुन्छ। ज्येष्ठ नागरिकका सम्बन्धमा पनि युवाको दर्जा स्थापित गरिनुपर्छ। जसअनुसार ५० देखि ७० वर्षको उमेर समूह अर्थात् युवा ज्येष्ठ, ७१ देखि ८० उमेर समूह अर्थात् बयस्क ज्येष्ठ र ८१ वर्ष माथिको समूह अर्थात् ज्येष्ठ ज्येष्ठ अर्थात् ज्येष्ठ श्रेष्ठ पनि भन्न सकिन्छ। यस परिभाषाले ढल्कँदो उमेरका पाका व्यक्तिलाई कति वृद्ध, कति युवा र कति वयस्क-वृद्ध थाहा पाउन सजिलो पर्नेछ।
प्रकाशित: २३ मंसिर २०६९ २२:५४ शनिबार