अजीवको हुनुहुन्थ्यो भीमबहादुर दाइ। हामी दुवैका प्रेरक पुरुष एकै हुनुहुन्थ्यो- शहीद सरोजप्रसाद कोइराला। नेपाल विद्यार्थी संघ गठनको सिलसिलामा दमन ढुंगाना र शंकर घिमिरे (हाल स्वर्गीय) ले मलाई जनकपुर पठाउनुभएको थियो। त्यतिबेला काठमाडौं आन्दोलित थियो र म भर्खर जेलबाट छुटेको थिएँ। जनकपुर मेरा लागि नयाँ ठाउँ थियो। भारतीय रेलको बाटोबाट मात्र पुगिन्थ्यो त्यहाँ। सुवर्णशमशेरले सुरु गर्नुभएको राजालाई सहयोग गर्ने अभियानअन्तर्गत सत्र सालपछि भारतमा निर्वासित कांग्रेसजनहरु स्वदेश फर्कंदै थिए। त्यही क्रमको पछिल्लो लटमा सरोज कोइराला पनि स्वदेश फर्कनुभएको थियो।
सरोज कोइरालाको क्रियाशील राजनीतिक जीवनका अभिन्न सहयोगी हुनुहुन्थ्यो भीमबहादुर दाइ। उहाँले कति पढ्नुभएको थियो र परिवार कहाँ थियो? त्यो हामीलाई थाहा थिएन। भीमबहादुर दाइ भनेपछि भीमबहादुर दाइ। त्यसैबेला सरोज कोइरालाले स्थानीय जन-आकांक्षा साप्ताहिक पत्रिकालाई प्रजातान्त्रिक आन्दोलनको मुखपत्रका रूपमा सञ्चालन गर्ने योजना बनाउनुभयो। यसका लागि म खटिएँ प्रधान सम्पादक माधव आचार्यलाई सघाउन। भीमबहादुर दाइ त्यतिखेर जनकपुरमा नै हुनुहुन्थ्यो। उहाँले हामीलाई पत्रिकाको ले-आउटको आधारभूत ज्ञान दिनुभयो। पत्रिका निस्कियो। त्यसको खास हैसियत र लक्ष्य देखियो। जनकपुरधामको सानो ट्रेडिल प्रेसबाट निस्किएको पत्रिका जति राम्रो हुन सक्थ्यो, त्यति भयो। तर त्यसले नियमित हुन पाएन। प्रशासनिक कोपको शिकार बन्यो जन-आकांक्षा।
त्यसपछि राजनीतिक क्रियाशीलताका क्रममा धेरै हुनु नपर्ने घटना भए। सरोज कोइरालाको हत्या भयो। कांग्रेसले सशस्त्र क्रान्ति सुरु गर्यो। प्रजातान्त्रिक राजनीति अँध्यारो खाडलतिर धकेलियो। भीमबहादुर दाइ हराउनुभयो। त्यो कालखण्डमा मेरो उहाँसँग गौशालामा भेट भयो। उही स्वाभाविक भीमबहादुर दाइ। शिरमा कालो टोपी। उही पहिरन र काँधमा उस्तै झोला। बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर काठमाडौं आउने पूर्व सन्ध्यामा। उहाँ भूमिगत हुनुहुन्थ्यो- मोष्ट वारेण्टेड। हामीले हतारहतार चिया पियौं। हतारहतार थोरै कुरा गर्यौं । त्यसपछि उहाँ हराउनुभयो।
बीपी फर्किसक्नुभएपछि भने उहाँसँग नियमित जस्तै भेट हुन थाल्यो। जनमत संग्रहका बेला बीपी राजनीतिक बहसमा सक्रिय रहनुहुँदा भीमबहादुर दाइ जयबागेश्वरीस्थित कोइराला निवासमा फूल गोडिरहेको देखिनुहुन्थ्यो। उहाँलाई यी बहसमा मानौं कि कुनै चासो नै थिएन। मानिसहरु आउने र जाने गरिरहेका हुन्थे। भीमबहादुर दाइ कसैप्रति कुनै चासो नै राख्नुहुन्नथ्यो। उहाँ फूलहरुसँगै मस्त हुनुहुन्थ्यो। फूलहरुको स्याहार-सम्भार र गोडमेल उहाँको सबभन्दा रुचिकर विषय थियो। अलिकति माटो पायो कि खोस्रिएर गोडमेल गरिहाल्ने। मैले आफूले गर्न लागेको काममा यतिविध्न एकाग्र मानिस अहिलेसम्म निकै थोरै देखेको छु।
भीमबहादुर दाइको व्यक्तित्व निकै रहस्यमय थियो धेरैका लागि। उहाँको निजी जीवनबारे थाहा पाउने मानिसको संख्या पक्कै पनि कम छ। उहाँको निजी जीवनबारे थाहा पाउनैपर्ने त्यस्तो खास कुरा केही थिएन। एउटा सरल र सहज जीवन, जसका आवश्यकता अत्यन्त सीमित छन, सम्पत्तिको नाममा जोसँग देखाउनु र लुकाउनुपर्ने केही छैन, जसका आशक्ति छैनन् र जो कुनै पनि आदत पाल्दैन। नेपाली कांग्रेसका नेताहरुमा किशुनजी र भीमबहादुर दाइ नै दुई यस्ता व्यक्तित्व हुन्, जो लोभ र मोहबाट विरत रहे।
भीमबहादुर दाइमा प्रखर राजनीतिक चेतना थियो र उहाँ तीक्ष्ण राजनीतिक विश्लेषणमा पनि खप्पीस हुनुहुन्थ्यो। त्यसका अतिरिक्त उहाँमा कूटनीतिक दक्षता पनि उत्तिकै थियो। खास गरेर साथीभाइसँग गफगाफमा बस्दा उहाँ अरुको विचार ध्यानपूर्वक सुन्नुहुन्थ्यो। आफूलाई टिप्पणी गर्न मन नलागेको विषय पर्यो भने निदाएको बहाना गरिदिनुहुन्थ्यो। यसबाहेक भीमबहादुर दाइमा कुनै प्रकारको राजनीतिक कलाकारिता थिएन। तर साहित्यमा भने उहाँको गहिरो रुचि थियो। नेपाली साहित्यका कतिपय कथा र आख्यानको विवेचना गर्दा रमाउने भीमबहादुर दाइ क्यामु, सार्त्र र डीएच लरेन्सका रचनाधर्मिताको चर्चा गर्नुहुन्थ्यो।
दोलखा उहाँको पुर्ख्यौली थलो थियो र दोलखेलीहरु उहाँलाई अत्यधिक माया र सत्कार गर्थे। जिरीका कतिपय जिरेल तन्नेरीलाई उहाँले प्रगतिपथमा अघि बढाइदिनुभयो। राजनीतिमा धेरै कम व्यक्तित्वले मात्र सर्वमान्यता प्राप्त गर्न सक्छन्। दोलखामा भीमबहादुर दाइको स्थिति त्यस्तै थियो। दोलखेलीहरुले उहाँको नाम राखेका थिए पानी मुसा। बिरालाहरुबाट जोगिँदै उहाँ आफनो राजनीतिक यात्रामा निरन्तर खटिनुहुन्थ्यो। जसले जतिबेला चाह्यो त्यहीँ पुग्ने चटकी शैली थियो उहाँको।
चुनावको परिणाम व्यक्तिको लोकप्रियताको कसी हुँदैन। भीमबहादुर दाइले चुनाव जित्नु पनि भयो र चुनाव हार्नु पनि भयो। चुनाव जित्दा र हार्दाको दुवै स्थितिमा भीमबहादुर दाइ मानिसले सक्ने जति निरपेक्ष रहनुभयो। उहाँ बीपीका अनुयायीका रुपमा रहनुभयो । बीपीको परिवारसँग उहाँको आत्मीय सम्बन्ध रह्यो। जीवनभर उहाँ त्यसबाट विचलित हुनुभएन। तर यो सम्बन्धको राजनीतिकरण हुन उहाँले कहिल्यै दिनुभएन। कांग्रेसहरु कोइराला क्याम्प, सिंह क्याम्प र भट्टराई क्याम्पमा विभाजित भएर आ-आफनो मूल्य खोजिरहँदा भीमबहादुर दाइ कांग्रेस क्याम्पमा अडिग रहनुभयो। पछिल्लो समयमा नेपाली कांग्रेसका सभापतिका उम्मेदवार बन्नुभएका भीमबहादुर दाइलाई कांग्रेसजनहरुले पराजित गरिदिए। मूल्य पद्धतिको अवसार भइसकेको पार्टीले उहाँजस्तो सत्पात्रलाई सभापतिका रूपमा थेग्न सक्ने पनि थिएन।
कांग्रेस अस्थिर राजनीतिको बाहक बनेका समयमा भीमबहादुर दाइ मन्त्री पनि बन्नुभयो- न्याय र कानुन मन्त्री। तर उहाँमा मन्त्री पदको अभिमान कतै देखिएन। उहाँ मन्त्री भएर फाइदा उठाउन कसैले पाएन, कसैले उहाँलाई सत्तोसराप पनि गर्नुपरेन। विवादास्पद मन्त्री परिषद्को सदस्य भएर पनि उहाँ विवादरहितरूपले सिंहदरबारबाट सोझै आफ्नो आवासमा आउनुभयो। उहाँको आवास अर्थात् सहृदयी मित्र राधेश्याम अधिकारीले उपलब्ध गराउनुभएको कोठा। साँच्चै शरणार्थीको जीवन बिताउनुभयो भीमबहादुर दाइले। राजनीतिमा यस्तो अविचलित इमान भएका मानिस कमै भेटिन्छन्।
'गोवुलढोक' शब्दको अर्थ मलाई थाहा छैन तर कुनै पनि गलत वा बेढंगे काम गर्ने व्यक्तिलाई मायालु पाराले 'कस्तो गोवुलढोक रहेछ' भन्ने गोवुलढोकले अब यो धर्तीबाट विश्राम लिएको छ। उसका साथी र सहयोगीहरुको मनमा सम्झनाका पहाड होलान्। नेपाली राजनीतिमा यो एउटा यस्तो मानिस पनि थियो भन्ने उदाहरणका रुपमा प्रस्तुत हुने सत्पात्रका रुपमा अब भीमबहादुर दाइ थुपुक्क चीर निन्द्रामा लीन हुनुभएको छ- नेपाली इतिहास सिरानी हालेर।
प्रकाशित: १६ मंसिर २०६९ २२:४१ शनिबार

