७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

विषवृक्षको माया

राष्ट्रको स्वतन्त्रता ढलेको दृश्य हृदयविदारक हुन्छ । त्यस्तो अवस्थामा धेरैले मालिक बदल्छन् । पुराना र शक्तिहीन शासक पुस्तकका पानामा र नयाँ शासक दरवारका छानामा देखिन्छन् । राष्ट्रको झण्डा बदलिन्छ । सहरका गल्लीगल्लीमा विदेशी फौजले परेड खेल्छ । राष्ट्रका परम्परागत शक्ति परास्त र पतनोन्मुख बन्छन् । जनताको मुहार कान्तिहीन हुन्छ । समाज शान्तिहीन बन्छ । कल्पना गरौँ, राष्ट्रको जीवनमा त्यस्तो कुदिन आयो भने के होला ! राष्ट्र पराधीन भए के होला ?

हिन्दुस्तान टाइम्स पत्रिकामा ६६ वर्ष पहिले एउटा आलेख छापियो– ‘नेपालमा रहेका खम्पाले गर्दा चीन हैरान ।’ सोही सेरोफेरोमा अमेरिकी अर्धसाप्ताहिक ‘द रिपोर्टर’ पत्रिकामा पिटर्सनले त्यस्तै लेख लेखे । उनकी पत्नी काठमाडौँमा युनाइटेड मिसन नेपालमा कार्यरत थिइन् । ‘देखाउने दाँत’ थियो चिकित्सक पेशा । नेपालका गौँडागौँडामा बसेर चीनको चियो गर्ने काम २००७ सालपछि बढ्दै गएको देखिन्छ । चन्द्रशमशेर प्रधानमन्त्री छँदा आजभन्दा ११७ वर्षअघि जापानी गुप्तचर इकाइ कावागुची भिक्षुको भेषमा नेपालको बाटो भएर तिब्बत पुगेका थिए । उनको अनुभव समेटेर लेखिएको पुस्तक ‘थ्रि इयर्स इन टिबेट’ ऊबेलाको कूटनीति, राजनीति र समाज हेर्ने आँखीझ्याल नै हो ।  

हातखुट्टा काटेर, कान थुनेर, आँखा फुटाएर भुइँमा लडाए पनि मानिस हत्पत्ति मर्दैन तर ऊ गतिमान हुँदैन । जीवित भए पनि पराधीन, परावलम्वी र पराश्रित हुन्छ ऊ । धर्म–संस्कृति, सभ्यता, परम्परा, संस्कार तथा हजारौँ वर्ष पुराना मूल्य÷मान्यतासँग गाँसिएका आधारभूत विचारलाई राष्ट्रनिर्माणका व्यवधान ठान्ने सोचले राष्ट्र कमजोर बन्छ, हातखुट्टा काटिएझैँ । नेपाललाई कमजोर बनाइरहेका व्यक्ति र शक्तिहरूले त्यही सूत्र अपनाएका छन् ।

विखण्डन, विष र विग्रहको वृक्ष ठहरिँदै गएको वर्तमान राजनीतिक प्रणालीले सीमित व्यक्तिको मात्र कल्याण गरेको देखिन्छ ।

अखबारमा लेखिरहने तराईतिरका एक जना ‘विश्लेषक’ छन् । काठमाडौँमा बसेर बोल्दा मधेसी, नेवार, तामाङ आदिलाई हजारौँ वर्षदेखि ‘दमन गरिएको’ कथा सुनाउँछन् । तराईमा यादव जाति धेरै भएको सभामा बोल्दा बाठा झा बाहुनहरूले यादवहरूलाई अत्याचार गरिआएकाले ‘यादवले विद्रोह गर्नुपर्छ’ भन्छन् उनी । सयौँ वर्षअघिदेखि कपिलवस्तु, रौतहट, बारा, पर्सालगायतका क्षेत्रमा सबैसँग मिलेर बसेका मुसलमानहरूलाई उकास्दै उनले एकपटक भनेका थिए– ‘तपाईँहरूलाई मधेसीहरूले शोषण गरे, अब विद्रोह गर्नूस् ।’ कुरा बुझ्दै जाँदा पश्चिमा शक्तिको एउटा गुप्तचर संस्थाले त्यस्तै जागिर दिएको रहेछ उनलाई । दर्जा नै विस्फोटक पदार्थ (एक्सप्लोसिभ) जस्तो छ । चार जना नेपाली मिलेर बसेको देख्नै नहुने । भाँड्ने कुरा मात्र गर्ने कार्यआदेश (ड्युटी अर्डर) पालना गरिरहेका छन् उनी जस्ता कैयन्बवुद्धिजीवी (?) र नेपाल भत्काउने कामका खटिएका बौद्धिक मजदूरहरू । राष्ट्रलाई धुलोपिठो पार्न चाहन्छन् यस्ता तत्व ।

भारतीय लेखक राजीव मल्होत्राको ‘ब्रेकिङ इन्डिया’ र सौरभ तथा सुजितद्वारा लिखित ‘ब्रेकिङ नेपाल’ जस्ता पुस्तकमा राष्ट्र भत्काउन खटिएका विदेशीका नेपाली मजदूरका उदाहरण धेरै छन् । अंग्रेजी भाषाको पि–ए–आर–टी (पार्ट) मा ‘वाइ’ थपेर बनाइएको पार्टी नै समष्टिको उल्टो (विपरितार्थक) शब्द हो । पार्टीमा ‘सर्वजनहिताय’ (सबैको हित) भन्ने कुरै हुँदैन । डग (कुकुर) झैँ हड्डीका लागि ‘फाइट’ खेल्ने प्रवृत्तिको बहुमत भए पनि तीमध्ये एउटालाई गड (देवता) मानिदिनुपर्ने हुन्छ, पार्टी व्यवस्थामा । नेपालमा त्यही देखिन्छ । राष्ट्र बचाउन राष्ट्रिय भावनाबाहेक अरू उपाय छैन । तर राष्ट्रिय भावनालाई नै कमजोर बनाइएको छ ।  

वि.सं. १७१७ मा द्रव्य शाहलाई गद्दीमा विराजमान गराएर गोर्खा दरवारमा सम्मान अर्पण गरिएको घटनालाई नेपाली सेनाको इतिहाससँग गाँसेका छन्, इतिहासकारहरूले । ४६० वर्षभन्दा लामो इतिहास जोगाएर अहर्निश सेवा गर्ने सेना विश्वमै थोरै छन् । ब्रिटेन, चीन, डेनमार्क र जर्मनीलगायतका केही पुराना राष्ट्रमा इतिहाससँग जोडिएर आएका परम्पराको आज पनि सम्मान गरिन्छ । धोती च्यातेर रुमाल बनाउन खोज्ने प्रवृत्तिले धेरै राष्ट्रको स्वतन्त्रता प्राण त्याग्न लागेको बिरामी जस्तो देखिन्छ । २०६२÷६३ सालको परिवर्तन (?) पछि नेपालमा जातीय, साम्प्रदायिक र सामाजिक विग्रहको विषवृक्ष रोपियो । आज त्यसैलाई मलजल गरिँदैछ ।

दलको घेराबाट बाहिर आएर जब नेपालीले सही बाटो हिँड्ने अठोट गर्छन्, तब मात्र राष्ट्र खतरामुक्त हुन सक्छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले जनता र सेनासँग मिलेर पचासाँै ससाना राज्यलाई समेटे । सिपाहीसँगै ढिँडो खाएर युद्धमा भाग लिने राजा कस्ता थिए होलान् ? हजारौँ किलोमिटर पैदल यात्रा गरेर पचासौँ किल्ला भत्काउँदै उनले एउटा बलियो राष्ट्र बनाए । राजा, जनता र सेनाको त्रिशक्ति मिलेर बनाएको राष्ट्रमा राजालाई इतिहासको मूकसाक्षी बनाइयो । जनतालाई दलको दलदलमा फसाएर विभक्त गरियो । सेनालाई क्षतविक्षत बनाउने प्रयास आज पनि निरन्तर छ । ‘नेपाली सेना बलात्कारी फौज हो’ भन्नेदेखि लिएर यो अभेद्य शक्तिको तेजोवध गर्न आज पनि अनेकौँ आधारहीन लाञ्छना लगाउने क्रम टुटेको छैन । सत्तारुढ दलकै कतिपय नेताले सेनाको मार्ग अवरुद्ध गर्न आफ्ना प्रियजनलाई उकासिरहेका उदाहरण देखिन्छ । हरेक वर्ष सयौँ चर्च बन्दा मौन बस्नेहरू र त्यसमा योगदान गर्ने माओवादी पृष्ठभूमिका नेताले सेनाले धर्म–संस्कृति मास्दैछ भन्ने आरोप लगाएका छन् । यस्ता प्रायोजित दुष्प्रचारलाई राष्ट्र भत्काउन खटिएका विदेशी शक्तिका इन्जिनियरहरूले पनि बल पु-याइरहेका देखिन्छ ।

सुन्दा धेरैलाई उदेक लाग्ला । दलहरूको जन्मले धेरै राष्ट्र कमजोर भएका छन् भन्दै युरोप, एसिया र अफ्रिकाका विद्वान्हरूले तर्क दिएका छन् । उनीहरूको निचोड छ– ‘राष्ट्र स्थायी समुदाय हो । यसको आधारभूत चरित्र परिवर्तन हुँदैन । दलहरू समय, परिस्थिति र स्वार्थअनुसार बदलिन्छन् ।’ क्षेत्रफल, जनता र सरकारले मात्र ‘राष्ट्र’ सजीव रहेको ठान्नु मूर्खता हुन्छ । स्वदेशको भन्दा विदेशको माया गर्ने बढ्दै गए भने त्यस्तो सरकार, त्यस्तो सेना र विदेशीका नोकरचाकर जस्ता जनताको के भरोसा ? भारतले कब्जा गर्दा सिक्किमका उन्नाइस वर्षे सैनिक वसन्तकुमार क्षत्रीले राजदरवारको ढोकामा उभिएर ‘म मेरो देश पराधीन हुन दिन्न’ भन्दै अन्तिम अवस्थासम्म लडाइँ गरे । भारतलाई सिक्किम बुझाउने लेण्डुप दोर्जे र वसन्तुकमार क्षत्रीमध्ये क्षत्री नै महान लाग्छ भनेर भारतका प्रसिद्ध पत्रकार सुनन्दाकुमारले ‘स्म्यास एन्ड ग्य्राब: एनेक्सेसन अफ सिक्किम’ पुस्तकमा सिक्किम विलयको मार्मिक चित्रण गरेका छन् ।

पल जेम्सले राष्ट्रलाई ‘अमूर्त समाज’ भनेका छन् । सिड्नीमा ‘सांस्कृतिक विविधता’ पढाउँछन् उनी । उनले राष्ट्रको कुरा गर्दा प्राचीन सभ्यता, संस्कृति र परम्परा बिर्सनु हुँदैन भनेका छन् । नेपाल घुम्न आएका बेला मेलबर्नकी एक प्राध्यापकले केही वर्षअघि पल जेम्सको चर्चा गरेकी थिइन् । मैले जिज्ञासा राखेँ– प्रजातन्त्रले प्राचीन धर्म–संस्कृतिको रक्षा गर्दै मूल्य÷मान्यता जोगाउनुपर्छ भन्ने तपाईँहरू जस्ता विद्वान्–विदुषीले राष्ट्र सेक्युलर (धर्म निरपेक्ष) हुनुपर्छ भनेको मैले त बुझिनँ ।

अन्दाजी पचास वर्षकी ती प्राध्यापक र उनका पतिले जवाफ दिए– युरोपमा राजा र चर्चमध्ये कसको आदेशमा धर्मका बारेमा निर्णय गर्ने भन्ने विवाद उत्कर्षमा पुगेपछि ‘राष्ट्र धर्म निरपेक्ष हुनुपर्छ’ भन्ने अवधारणा आयो । नेपालमा कहिले पनि त्यस्तो धार्मिक विवाद रहेनछ । तसर्थ बहुसंख्यक जनताको भावनाविरुद्ध संविधानमा धर्म निरपेक्ष लेखिनु प्रजातान्त्रिक हुँदै होइन । प्रजातन्त्रले बहुमतको सम्मान गर्नुपर्छ । अल्पमतलाई अवहेलना गर्नुहुँदैन ।

विखण्डन, विष र विग्रहको वृक्ष ठहरिँदै गएको वर्तमान राजनीतिक प्रणालीले सीमित व्यक्तिको मात्र कल्याण गरेको देखिन्छ । गणतन्त्र चाहिन्छ कि चाहिँदैन भनेर जनमत संग्रह गर्ने हो भने स्पष्ट जवाफ आउने निश्चित छ । यस्तै संघीयता र धर्म रिनपेक्षता जस्ता विषयमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले जनमत संग्रह गर्ने हो भने परिणाम राष्ट्रहितमै आउने देखिन्छ ।  

जनता अब पनि विषवृक्षलाई माया गर्ने पक्षमा छैनन् । देशभक्त, इमानदार, सज्जन र सम्वेदनशील नेपालीले अहिलेको प्रणाली नै घातक रहेछ भन्ने बुझेका छन् । २०६२/६३ सालमा गणतन्त्रका पक्षमा बोल्ने धेरैले ‘गल्ती गरिएछ’ भनिरहेका छन् । यस्तै गल्ती गर्दा इथियोपिया, कम्बोडिया, अफगानिस्तानलगायतका राष्ट्रका जनताले रगतका आँसु बगाउनुपरेको थियो । राष्ट्र नरहे पनि गणतन्त्र अमर रहोस् भन्ने विषालु सोचले कैयन् राष्ट्रका जनता रोइरहेका छन् । कोरोना त केही महिनामै हराउला तर विषवृक्षको फल कति घातक हुन्छ भन्ने कुरा कालान्तरसम्म रहिरहने देखिन्छ । तसर्थ दलको घेराबाट बाहिर आएर जब नेपालीले सही बाटो हिँड्ने अठोट गर्छन्, तब मात्र राष्ट्र खतरामुक्त हुन सक्छ ।  

विदेशी हस्तक्षेपका सबै ढोका खुला राखेर ‘राष्ट्रको सुरक्षा बलियो छ’ भन्नु लज्जास्पद हुन्छ । झण्डै, दुई हजार किलोमिटर खुला रहेको नेपाल–भारत सिमाना व्यवस्थित गर्न नसक्दाको परिणाम हामी स्पष्ट देखिरहेका छौँ । शरीरमा आगो लागेको बेला टाउको मात्र ढाकेर जोगिन खोजेझँै राष्ट्र नै कूटनीतिक, राजनीति र राष्ट्रिय सुरक्षाको भविष्यप्रति अनिश्चित रहेको अवस्थामा गणतन्त्र, संघीयता र धर्म निरपेक्षजडित ‘विभूषणहरू’ बचाउन राज्यको सम्पूर्ण शक्ति केन्द्रित देखिन्छ ।

हामी आत्मनिर्भर बन्न सकिने कुरा लुगाफाटो, खाद्यान्न, खाने तेल, साबुन, टुथपेस्ट, साइकल, कलम आदिदेखि केटाकेटीका खेलौनामा समेत पराश्रित बन्दै गयौँ । पचासौँ हजार गैरसरकारी संस्थाले महिनामा एक÷एकवटा मात्र असल काम गरेको भए देशमा ठूलो परिवर्तन आउन सक्थ्यो । यस्तै, शस्त्रास्त्र र अन्य केही अत्यावश्यक वस्तुबाहेक धेरै कुरामा जंगी, निजामती र प्रहरीलगायत तलवजीवीलाई स्वदेशी सामानमा गर्व गर्ने प्रवृत्ति विकास गर्न सकिन्थ्यो । धनी र गरिबको अन्तराल बढ्दै गएमा त्यसले राजनीतिलाई सदैव तरल बनाइरहने हुँदा अहिले देखिएको संकटले नेपाललाई कालान्तरसम्म पिरोल्ने देखिन्छ ।  

अर्बौँ रुपियाँको स्रोतसाधन दुरूपयोग गरेर राज्यका ‘एक्टरहरू’ जनताको पसिनामा रमाइलो गरिरहेका छन् । किसान–मजदूरको दल सरकारमा छ । तस्कर र भ्रष्टलाई काखमा राखेर झण्डाधीशहरूले बाँकी सबैलाई ‘छिः छिः दूरः दूरः’ गरिरहेका देखिन्छ । जति जति जनताका नाममा ‘क्रान्ति’ भएको छ, उतिउति नेपालीले दुःख पाएका छन् । योभन्दा ठूलो प्रहसन, व्यङ्ग्य र पीडा के होला !  

नेताका बारेमा एउटा ठट्टा प्रसिद्ध छ । नेता भन्छ– ‘सजिलो बाटोमा, भोजमा र उज्यालोमा म आफैँ नेतृत्व गर्छु । अन्धकार, विकट र भयाबह परिस्थिति आएमा जनताले मलाई जता डो-याउँछन्, उतै लाग्छु ।’ नेपालमा अत्यन्त जटिल अवस्था देखिएको छ । भविष्य भयाबह हुने संकेत टड्कारो देखिँदैछ । अन्योल बढ्दैछ । राष्ट्र कसले कसरी सम्हाल्छ र जनताको रक्षा कसले गर्छ भनेर प्रश्न गर्नेहरू धेरै छन् । यस्तो अवस्थामा कसले नेतृत्व गर्छ भन्ने बेचैनी बढिरहेको छ । ‘भाग्यमा छँदैछ’ भनेर कोही भविष्यको नायक बन्ने लालच मात्र बोकेर बसेका होलान् तर संकटमा राष्ट्र र जनताप्रति आँखा चिम्लनेहरू भविष्यहीन बन्ने निश्चित छ ।

प्रकाशित: १९ भाद्र २०७७ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App