११ मंसिर २०७८ शनिबार
विचार

सुनिलबहादुरको कांग्रेस प्रवेश : विरासत कि बिलय

मुलुक कोरोना भाइरसको संक्रमणसँग जुँधिरहेको बेला राप्रपाका महामन्त्री सुनिलबहादुर थापा आफ्ना केही विश्वासपात्रसहित कांग्रेसमा प्रवेश गरेर राजनीतिक माहोल तताउने कोसिस भयो । तर नेकपा भित्रको अन्तरकलह र कोरोना भाइरसको बढ्दो ग्राफले उनको राजनीतिक दल परिवर्तनको विषय चर्चा बाहिर रह्यो । उनी कांग्रेसमा प्रवेशपछिको राजनीतिक भबिष्य के हुने ? उनका पिछा लागेर गएका नेता कार्यकर्ताको पोजिसन के हुने ? भन्ने विषय चर्चा बाहिर नै रहयो ।

पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका छोरा हुन्, सुनिल । बुबा थापाको आर्शिबादबाट राजनीतिमा होमिएका सुनिलबहादुर थापाको राजनीतिक इतिहास खासै लामो छैन । त्यो भन्दा लामो इतिहास संयुक्त राष्ट्र संघको परियोजनामा काम गरेको छ । करिब तीन दशक अन्तर्राष्ट्रिय परियोजनामा काम गरेका छन् । यसको तुलनामा उनको राजनीतिको ९ वर्षे यात्रालाई लामो मान्न सकिन्दैन । 

२०६९ सालमा आफ्नै बुबा अध्यक्ष रहेको राष्ट्रिय जनशक्ति पार्टीको सदस्यता लिएर राजनीतिमा पाइला चालेका थिए । बुबाकै प्रभावले पहिले केन्द्रिय सदस्य र पछि महामन्त्रीको जिम्मेवारी पाएका सुनिलबहादुरलाई धनकुटामा बुबा थापाको उतराधिकारी भनेर चित्रण गरिएको थियो । तर बुबाले तयार गरेको राजनीतिक बाटोलाई पुर्णविराम लगाएर उनी नयाँ यात्रामा निस्किएका छन् । उनको नयाँ यात्राको बाटो सुन्दा सहज होला । तर ब्यवहारमा कठिन र चुनौतिपुर्ण छ । 

राजा महेन्द्रदेखि वीरेन्द्र हुँदै अन्तिम राजा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री बनेका सुर्यबहादुर थापा राजाको संकटमोचकको रुपमा दरिएका थिए । तर उनले २०६२/६३ सालको जनआन्दोलनपछि राजतन्त्रको भरथेग गर्न छाडे र गणतन्त्रको पक्षमा उभिए । यही घट्नापछि दरबार निकट ब्यक्तिहरुसँगै थापा परिवारको राजनीतिक सम्बन्धमा चिसोपन सुरु भएको हो । त्यसैले उनका बुबाले नेतृत्व गरेको राप्रपामा टुटफुटको राजनीति झाँगियो । टुटफुटले राप्रपामा आबद्ध भएका पुर्वपञ्चहरु विभाजन भए । तितरवितर भए । २०५६ सालको संसदिय निर्वाचनमा २० सिट जितेको राप्रपाले २०७४ सालसम्म आइपुग्दा राष्ट्रिय पार्टी हुनको लागि आवश्यक ३ प्रतिसत मत समेत पाउन सकेन । यो विषय कार्यकर्तामा सर्बत्र निरासाको कारक बन्यो । यो निरासाबाट थापापनि अछतो रहेनन् ।

बुबाले खानेको बाटोमा हिड्दा गाली र ताली सँगै थिए । किनकि पञ्चायतको पक्षधरसँगै २०३६ सालमा धनकुटाको खोकु छिन्ताङ र आँखिसल्लामा भएको हत्याकण्डको दोष अझैपनि मेटिएको छैन । १६ जना मारिएको र सयौलाई जेलनेल हालिएको दोष सुर्यबहादुर थापालाई लगाइन्छ । उक्त हत्याकाण्डपछि थापाले बाचिन्जेल हत्याराको नाईके भनेर आरोप खेप्नु पर्यो । यो आरोप सुनिलबहादुरले पनि खेप्नु पर्थो । बुहुदलिय ब्यबस्थामा पनि यही हत्याकाण्डको कारण सुर्यबहादुर थापाले कहिलै खोकु छिन्ताङ र आँखिसल्लामा राजनीतिक कार्यक्रम गर्न सकेनन् । जिवनको अन्तिम घडीमा २०७० सालको दोस्रो संविधानसभाको निर्बाचनको बेला अकस्मिक रुपमा छिन्ताङ जाल्पादेवी मन्दिरको दर्शन गर्न पुगेका थिए । त्यो नै थापाको अन्तिम यात्रा थियो । २०७२ वैशाख २ गते थापाको निधन भयो । थापा, यो क्षेत्रका जनताको तिरस्कारको केन्द्र बनिरहे । त्यसैले बुबाले खनेको बाटोलाई पच्छ्याउदा यो तिरस्कार सँगसँगै बोकेर हिड्नु पर्ने अवस्था थियो । त्यसैले नयाँबाटो खोज्नु उनको लागि बाध्यता थिए । गएको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाको सबै स्थानीय तह नेकपाले जितेको थियो ।

बुबा थापाको ७० वर्ष लामो राजनीतिक जीवनमा धनकुटामा एकछत्र राज गरे । कांग्रेस र कम्युनिष्टका कार्यकर्ता उनको मतदाता बनिरहे । स्थानीय निकायको निर्वाचनमा एउटा वडा सदस्य समेत जित्न नसक्ने राप्रपाले धनकुटाको क्षेत्र नं. २ मा सांसद निरन्तर जिति रह्यो । ठुला राजनीतिक परिवर्तनपछि २०१५, २०४८ र २०६४ सालमा भएका निर्वाचनबाहेक सबै निर्बाचनमा सुर्यबहादुर थापाले जिते । तर उनको मृत्युपछि बिरासत थाम्न आएका सुनिलबहादुरसँग त्यो क्षमता देखिएन । पुर्ब पञ्चले समेत अपमानित भएको महसुस गरे । सुनिलबहादुरसँगको टकरावले राप्रपाको धनकुटा जिल्ला कार्यसमितिका अध्यक्षदेखि सदस्यसम्मले राजिनामा दिएर बाहिरिए । गाउँका कार्यकर्तासमेत कोही कम्युनिष्टतिर र कोही कांग्रेसतिर प्रवेश गर्न थाले । जिल्लामा एक्लिदै गएका सुनिलबहादुर थापाको लागि कांग्रेसको राजनीतिक बाटो नयाँ बिकल्प बन्न पुग्यो ।

धनकुटामा सुनिलबहादुरको लागि अरु पार्टी भन्दा कांग्रेस सहज छ । पहिले धनकुटाको क्षेत्र नं. २ मा कांग्रेसका आधाभन्दा बढी मतदाताले रुखमा मत हाल्दैन थिए । कांग्रेसको असली कार्यकर्ता र नेता भनिएका ब्यक्तिले समेत निर्बाचनको बेला सधै हलोमा भोट हाल्थे । तत्कालिन एमालेका केही कार्यकर्तासमेत भित्रीरुपमा हलो चिन्हको मतदाता थिए । त्यसैले एमालेका उम्मेदवार जितको नजिक पुगेरपनि हार्नु पर्थो । बुबा थापा भइन्जेल यो प्रक्रिया निरन्तर थियो । त्यसैले कांग्रेसका पुरै मतदाताको समर्थन पाउने अवस्थामा उनले रोजेको नयाँ बाटो सहि छ ।

थापाको कांग्रेस प्रवेशपछि कांग्रेसका नेता कार्यकर्ताले भन्दा धेरै नेकपाका कार्यकर्ताले सामाजिक सञ्जाल रङग्याए । ‘बल्ल वारपार चुनाव लड्न पाइने भयो’ । ‘बल्ल मतदाता खुल्ने भए’ भन्ने तर्कविर्तकले सामाजिक सञ्जाल भरिएका थिए । उनीहरुको तर्कवितर्कमा बाहिरी रुपमा नेकपालाई तनाव भयो भन्ने बुझाई हुनु स्वभाविकै हो । तर त्यसभित्र अर्को खास रहस्य थियो । धेरै कार्यकर्ता र बलियो संगठन हुँदा समेत हार्नुको पीडाभित्र अन्तर्घाती कार्यकर्ताको पहिचान र रहस्य घटना थियो । पहिले हलोमा भोट हाल्ने अनि कांग्रेसले हरायो भनेर तर्क गर्ने नेकपाका अन्र्तघाती कार्यकर्ताको लागि वारपार गर्ने दिन आएको संकेत गरेको थियो ।

धनकुटामा थापाको तीन चुनौती

बुबा थापाले मुगा गाउँबाट उठाएको राजनीतिको विरासत जोगाउने उद्घोष गर्दै कांग्रेस प्रबेश गरेका सुनिलबहादुरलाई कांग्रेसनै पहिलो चुनौति हो । ७५ बर्षको राजनीतिक इतिहास बोकेको कांग्रेसभित्र त्यतिनै इतिहास बोकेका नेता कार्यकर्ता जिवित छन् । कांग्रेसभित्रको अन्तरकलहबाट उम्म्रिएका नेता कार्यकर्ताले थापाको राजनीतिक भबिष्य निर्धारण गर्ने निश्चित छ । कांग्रेस पार्टीको केन्द्रमा देखिएको गुटगट राजनीतिको प्रभाव धनकुटामा पनि छ । देउवा पक्ष र पौडेल/कोइराला पक्षिय कार्यकर्ताको अन्तरसंघर्ष धेरै बर्षदेखि चलेको छ । हरेक निर्बाचनमा घातअन्र्तघात र असहयोग हुन्छ । दुई समुहमा विभाजित कांग्रेसलाई साथमा लिएर हिड्न उनलाई मुस्किल छ । कांग्रेसको झण्डा बोकेर हिडेका तर अन्तरसंघर्षले  अवसर नपाएका कार्यकर्ता समेत छन् । सुनिलबहादुरको प्रवेशले ती कांग्रेस कार्यकर्ताले अझै पद् र पावर नपाउने अवस्था छ । नवप्रवेशी थापाको नेतृत्वमा धनकुटा कांग्रेसको राजनीति चल्दा पुराना कार्यकर्ताको भुमिका समेत शंकास्पद हुनेछ । तमोर वारी र पारी, बजार र गाउँ, हलो कांग्रेस र रुख कांग्रेस भन्ने आरोप प्रत्यारोपमा श्रृंखला लामो समयदेखि छ । धनकुटामा पुर्वसभापति हरीकुमार राई र मनोहरनारायण श्रेष्ठ पक्षको दबदवा रहेको छ । यी दुइ समुहमध्ये एक समुहको नेतृत्व गरे अर्को समुहको असहयोग हुन्छ । दुवै पक्षलाई मिलाउन सक्ने अवस्था छैन । यी दुबै पक्षलाई छाडेर तेस्रोधार निर्माण गर्न थापालाई कठिन छ । त्यसैले धनकुटामा कांग्रेस जगाउने आशा गरिएका थापाको यात्रा सहज छैन ।

सुनिलबहादुरसँगै धनकुटामा राप्रपाका सबै नेता कार्यकर्तापनि सँगै हुन्छन् भन्ने धेरैको अनुमान थियो । तर बुबाको राजनीतिक सफलतामा सारथी बनेर हिडेका कुमारबहादुर थापा, टीकाप्रसाद घिमिरे, धर्मध्वज राई, श्याम गुरुङ, रेवतराम भण्डारी, पबित्रा श्रेष्ठ, मानबहादुर मिश्र लगायतका ३२ जना नेताले राप्रपा पुर्नगठन गरेको घोषणा गरे । टीकाप्रसाद, धर्मध्वज र मानबहादुर पटकपटक जनप्रतिनिधि निर्बाचित भएका ब्यक्ति हुन् । उनीहरुको साथसहयोगले धनकुटामा सुर्यबहादुरको राज चलेको थियो । उनीहरुको साथ नुहँदा सुनिलबहादुरको कांग्रेस यात्रामा अबरोध देखिन्छ । राप्रपाका ती नेता कार्यकर्तालाई कस्लाई के दिँदा भोट आउँछ भन्ने राम्रो हेक्का छ । भोटको राजनीतिमा पुर्बपञ्चहरुकै समुह थापाको लागि काँडेतार बन्नेछ ।

यी दुई चुनौति पार नगरेसम्म सुनिलबहादुरले धनकुटामा नेकपाको विरासतमा धावा बोल्नु मुर्खता मात्रै हुनेछ । धनकुटामा नेकपा आफैमा शक्तिशाली छ । नेकपाको बलियो संगठन र स्थिर मतदाता छ । त्यहिकारण जिल्लाको ७ वटै स्थानीय तहमा नेकपाको नेतृत्व छ । २०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा नेकपाबिरुद्ध कांग्रेस, राप्रपा र समाजबादी पार्टीले मोर्चाबन्दी गरेको थियो । 

तीनवटा पार्टी र नेकपा एक्लै हुँदासमेत सुनिलबहादुर, नेकपाका उम्मेदवार राजेन्द्रकुमार राईसँग १० हजार ४५९ मत अन्तरले पराजित भएका थिए । धनकुटामा समाजबादी पार्टीको करीब ६ हजार मतदाता रहेको छ । यो मत घटाउने हो भने थापालाई चुनाव जित्न र नेकपाको किल्ला भत्काउन ठुलै पापड पेल्नु पर्छ । नत्र विरासत थाम्न गएका सुनिलबहादुर कांग्रेसको राजनीतिक चंगुलमा बिलय हुनेछन् ।

लेखकः लामो समय धनकुटामा पत्रकारिता गरेका र हाल नागरिक दैनिकको जिल्ला ब्युरोमा कार्यरत छन् ।

प्रकाशित: ६ भाद्र २०७७ १७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App