१२ पुस २०८२ शनिबार
image/svg+xml
विचार

के सिक्ने दक्षिण कोरियाबाट ?

लि जोङ ह्वा

भरपर्दो र सर्वसुलभ स्वास्थ्य प्रणालीको महत्व महामारीका बेलामा जति अरू कुनै पनि बेला टड्कारो महसुस हुँदैन। आर्थिक विकासको गति धीमा बनेको अहिलेको समयमा आर्थिक विकास र स्वास्थ्य प्रणालीको विकास सँगसँगै लान सकिने कुराको कल्पना गर्न पनि असहज छ। तथापि, यस्तो अवस्थामा दक्षिण कोरियाबाट संसारले केही कुरा सिक्न सक्छ। दक्षिण कोरियाले बृहत् सामाजिक–आर्थिक विकासका प्रयास र प्रभावकारी स्वास्थ्य सेवालाई स“गस“गै लाने रणनीति अपनाएको छ।  

पछिल्लो दशकमा दक्षिण कोरियासँग भएको आधुनिक र बृहत् स्वास्थ्य पूर्वाधारले उसलाई ठूलठूला स्वास्थ्य संकट समाधान गर्न सक्षम बनायो। कोभिड–१९ पनि उसले सामना गरेको यस्तै एउटा संकट बनेको छ। चीनपछि पहिलो चरणमै सबभन्दा धेरै सङ्ख्यामा कोभिड–१९ फैलिएको देश दक्षिण कोरिया हो। तथापि देशव्यापी लकडाउन घोषणा गरेर ऊ छोटो समयमा नै भाइरस नियन्त्रण गर्न सफल भयो।  

तर दक्षिण कोरियाको यो सफलताको पृष्ठभूमि भने निकै लामो छ। एउटा न्यून आयको देशबाट उच्च आयको देशमा दक्षिण कोरियाको तीव्र शिखारोहण स्वास्थ्य क्षेत्रमा आएको आमूल परिवर्तनसँगै सम्भव भएको हो। सन् १९६० देखि १९९० सम्ममा शिशु मृत्यु दर प्रतिएक हजारमध्ये ८० जनाबाट १३ मा झरेको थियो। त्यही अवधिभित्र दक्षिण कोरियालीको औसत आयु ५५ बाट ७२ मा उक्लिएको थियो।  

यो कुनै संयोग थिएन। दक्षिण कोरियाली सरकारले आफ्नो विकासको प्रारम्भिक चरणमै ग्रामीण तथा गरिब जनताको स्वास्थ्य स्याहारका निम्ति लगानी गरेको थियो। सन् १९५० को दशकमा सरकारले हरेक सहर र गाउँमा खोप केन्द्रहरू स्थापना ग-यो। 

अनिवार्य स्वास्थ्य सेवा, समतामूलक पहुँच र प्रभावकारिता नै दक्षिण कोरियाली स्वास्थ्य प्रणालीका आधार हुन्। 

सन् १९६० को दशकमा दक्षिण कोरियाको आर्थिक विकासले गति लिन सुरु गर्दै थियो। त्यतिबेला सरकारले सबैतिर चिकित्सकको उपलब्धता सुनिश्चित गर्न ग्रामीण क्षेत्रमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित भत्ता व्यवस्था ग-यो। निजी क्षेत्रमा काम गरिरहेका चिकित्सकलाई सरकारी सेवामा काम गर्न उत्साहित गरियो। चिकित्सक बनिसकेपछि ग्रामीण क्षेत्रमा काम गर्न चाहने चिकित्साशास्त्रका विद्यार्थीलाई छात्रवृत्ति बन्दोबस्त गरियो। छात्रवृत्तिबापत उनीहरूले २ देखि ५ वर्षसम्म ग्रामीण क्षेत्रका सरकारी अस्पतालमा काम गर्नुपर्छ।  

दक्षिण कोरियाली सरकारले स्वास्थ्य पूर्वाधार सुनिश्चित मात्र गरेन। बरु जनतालाई ती स्वास्थ्य पूर्वाधार प्रयोगका निम्ति पनि उत्साहित ग-यो। सन् १९५४ मा चौध वर्षमुनिका सबै बालबालिकालाई सबैखालका खोप अनिवार्यरूपमा खुवाउनुपर्ने कानुनी बन्दोबस्त गरियो। यसले सामुदायिक स्वास्थ्य केन्द्रसम्म सर्वसाधारणको पहुँच र विश्व स्वास्थ्य संगठनका सल्लाहकारहरूको सहयोग अभिवृद्धि भयो। खोप खुवाउने मानिसको सङ्ख्या पनि बढ्यो। सँगै धेरै सरुवा रोग पनि निर्मूल भए। सन् १९६१ यता दक्षिण कोरियामा एक जना पनि बिफरका बिरामी फेला परेका छैनन्। सन् १९६८ देखि टाइफस र सन् १९८४ देखि पोलियो पूर्णरूपमा निर्मूल भयो।  

दक्षिण कोरियाको आर्थिक विकासले जनस्वास्थ्यमा प्रगति गर्न ठूलो टेवा पुग्यो। सन् १९६० मा त्यहाँको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५८ अमेरिकी डलर रहेकामा सन् १९९० सम्म पुग्दा ६ हजार ६१० पुग्यो भने सन् २००० सम्ममा १२ हजार २५७पुग्यो। प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै मजदूर र कम्पनीहरूको पनि अनिवार्य स्वास्थ्य बिमा प्रणालीमा समाहित हुने क्षमता बढ्यो। सन् १९७७ मा त्यहाँ अनिवार्य स्वास्थ्य बिमा प्रणाली लागु गरियो। हुन त सन् १९६० दशकको पूर्वाद्र्धदेखि स्वेच्छिक बिमा प्रणाली लागु थियो। तर दक्ष कर्मचारी र त्यो प्रणालीमा समावेश हुने स्वास्थ्य संस्थाको कमीले त्यतिबेला त्यो कार्यक्रम प्रभावकारी भएन। नयाँ बिमा कार्यक्रमले स्वास्थ्य क्षेत्रको आर्थिक स्रोत पनि बढ्यो। फलतः स्वरोजगार र अनौपचारिक क्षेत्रका मजदूरहरू पनि त्यसमा समावेश हुँदै गए। सन् १९८९ सम्ममा बिमा प्रणाली सबैका लागि अनिवार्य भयो। अनिवार्य बिमा भुक्तानीबाट उठ्ने पैसा स्वास्थ्य प्रणालीको प्रमुख आर्थिक स्रोत बन्यो।  

चीनपछि पहिलो चरणमै सबभन्दा धेरै सङ्ख्यामा कोभिड–१९ फैलिएको देश दक्षिण कोरिया हो। तथापि देशव्यापी लकडाउन घोषणा गरेर ऊ छोटो समयमा नै भाइरस नियन्त्रण गर्न सफल भयो।

दक्षिण कोरियामा स्वास्थ्य शिक्षाले पनि धेरै परिवर्तन ल्यायो। अधिकांश दक्षिण कोरियालीहरूको गुणस्तरीय विद्यालयसम्म पहुँच नभए पनि सरकारी निकायहरूले अत्यन्त जरुरी स्वास्थ्य सन्देश, जस्तै– सरसफाइ, स्वस्थ खाना, खोप, मातृ तथा शिशु स्वास्थ्य र परिवार नियोजन आदिबारे अखबार, पर्चा र टेलिभिजनमार्फत् शिक्षा दिइरहेका हुन्छन्।  

विशेषतः महिलाबीच स्वास्थ्यसम्बन्धी जनचेतना बढेसँगै स्वास्थ्यका तथ्यांकमा सुधार आउन थाल्यो। स्वास्थ्यसम्बन्धी चेतना बढेकाले मात्र होइन, जन्म दर पनि घटेकाले स्वास्थ्य सम्बन्धित तथ्यांकमा क्रमशः सुधार देखिएको हो। सन् १९६० मा एक जना महिलाको बच्चा जन्माउने जन्म दर ६.१ थियो भने सन् १९९० मा घटेर १.६ पुगेको थियो। आर्थिक र आय वृद्धिसँगै बालबालिकाको स्वास्थ्यमा लगानी थप वृद्धि गरियो। वास्तवमा सन् १९७० र ८० को दशकमा स्वास्थ्य क्षेत्रको खर्च कुल गार्हस्थ्य उत्पादनभन्दा बढ्यो। स्वास्थ्य सेवाको माग बढेसँगै सरकारी तथा निजी स्वास्थ्य केन्द्र र अस्पतालको संख्या पनि बढ्यो।  

दक्षिण कोरियाले आफ्नो स्वास्थ्य सेवा प्रणालीमा लगातार सुधार गरिरहेको छ। उदाहरणका लागि, स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न, प्रभावकारिता र लागत खर्चमा सुधार गर्न दक्षिण कोरियाले स्वास्थ्यसम्बन्धी तथ्य÷तथ्यांकको व्यापक प्रयोग गर्ने गरेको छ।  

अनिवार्य स्वास्थ्य सेवा, समतामूलक पहु“च र प्रभावकारिता नै दक्षिण कोरियाली स्वास्थ्य प्रणालीका आधार हुन्। यी कुरा कुनै पनि विकासशील देशले सिक्न सक्ने पक्ष हुन्। दक्षिण कोरियाको स्वास्थ्य उपचारको रणनीति आर्थिक विकासको मुद्दालाई टेवा पुग्ने गरी बनाइएको छ।  

यो रणनीतिअन्तर्गत अस्पताल र स्वास्थ्य चौकीजस्ता पूर्वाधारमा लगानीका साथै ती स्वास्थ्य संस्था चलाउन योग्य स्वास्थ्यकर्मी आकर्षित गर्न सक्नुपर्छ। योग्य स्वास्थ्यकर्मी विपन्न तथा ग्रामीण क्षेत्रमा पनि पुग्ने बन्दोबस्त गर्नुपर्छ। सर्वसुलभ स्वास्थ्य सेवा दिने लक्ष्य हासिल गर्न सरकारले एकद्वार राष्ट्रिय स्वास्थ्य बिमा प्रणाली लागु गर्नुपर्छ। दक्षिण कोरियामा त्यस्तै स्वास्थ्य बिमा प्रणाली छ।  

प्रगतिका लागि सरकारले लक्ष्य निर्धारण गर्नुपर्छ। जस्तै– गर्भावस्थामा शिशुको मृत्यु दर, सफा पिउनेपानी र सरसफाइको व्यवस्था, रोग निर्मूलन र स्वास्थ्य सेवाको सर्वसुलभतामा लक्ष्य तोकेर प्रगतिका कदम चाल्नुपर्छ। यस्ता लक्ष्य संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यअनुरूप हुनुपर्छ। यस्ता परियोजनामा अन्तर्राष्ट्रिय विकास साझेदारले सहायता गर्नुपर्छ।  

प्रभावकारी स्वास्थ्य सेवा प्रणालीले मानिसलाई दीर्घ र अझ उत्पादनमूलक जीवन दिन्छ। मानव पु“जीको विकासमा टेवा पु¥याउ“छ। अनि दिगो आर्थिक विकासमा मद्दत गर्छ। कोभिड–१९ जस्ता ठूला स्वास्थ्य विपद् र आगामी दिनमा आउने अरू महामारीबाट मानिसलाई जोगाउन यी सबै कुरा अपरिहार्य छन्। दक्षिण कोरिया संसारकै लागि प्रभावकारी उदाहरण छ। विकासशील देशहरूले यस्ता उदाहरणबाट सिक्नुपर्छ।  
(अर्थशास्त्रका प्राध्यापक– कोरिया विश्वविद्यालय।प्रमुख अर्थशास्त्री– एसियाली विकास बैंक। अन्तर्राष्ट्रिय आर्थिक मामिला सल्लाहकार– दक्षिण कोरियाका पूर्वराष्ट्रपति लि म्युङ बाक।)
स्रोतः प्रोजेक्ट सिन्डिकेट

प्रकाशित: १ भाद्र २०७७ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App