२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
विचार

बाढीको जोखिम न्युनीकरण

नेपालको कुनै न कुनै भूभाग हरेक वर्ष बाढीको विपत्तिबाट आक्रान्त हुने गरेको छ। बाढीप्राकृतिक, मानवीय वा दुवै कारणले हुने गर्छ। एक प्रतिवेदनअनुसार बाढीको जोखिमको हिसावले नेपाल विश्वमा तीसौं स्थानमा छ। नेपालमा प्राकृतिक विपत्तिबाट वर्षेनी सरदर हजार जनाले ज्यान गुमाउँछन् र १२ अर्ब ८ करोड रुपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति पुग्ने गरेको छ, जसमध्ये बाढी र पहिरोबाट मात्रै एक तिहाई क्षति हुने गरेको छ।

नेपालमा कुनै समय ऊर्वर कृषि भूमि रहेको झण्डै ४ लाख हेक्टर अहिले खोला, खहरे र नदीबाट बगरतुल्य बनेको अनुमान छ। हिमपहिरो बिष्फोटन, अत्याधिक वर्षा, तीव्र वन विनास र ताल तथा बाँध फुट्नाले हुन जाने बाढी तथा पहिरोका कारणबाट यो मात्रा हरेक वर्ष बढ्दो छ। पूर्वको कोशी, उदयपुरको त्रियुगा, सिन्धुलीको मरिन, धनुषाको कमला र रातु, बारा र रौतहटका पर्साहा र बकैया, मकवानपर र चितवनका राप्ती र नारायणी, रुपन्देहीको तिनाउ, स्याङ्जाको आँधीखोला, कास्कीको सेती र पश्चिम नेपालको भेरी, कर्णाली, महाकालीलगायत्का खोला र नदीमा वर्षेनि आउने बाढीले पुर्यााउने धनजनको क्षति कहालीलाग्दो छ। केही दिनअघि मात्रै सेती नदीमा तलाउ फुटी आएको अप्रत्याशित बाढीबाट भएको धेरै मानिसको मृत्यु यसको पछिल्लो उदाहरण हो।

नदीनाला अनियन्त्रित हुनाका कारण

चुरे पहाड र मध्य पहाडी क्षेत्र भौगर्भिकरुपले कमलो प्रकृतिका छन्। मानवीय चापका कारणबाट यी क्षेत्रमा वनविनास बढ्दो छ। फलस्वरुप अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति बढेका छन्। खोला, खहरे र नदीमा आउने बाढीबाट वरिपरिका बाली नष्ट हुने, मलिलो उब्जाउ माटो बग्ने र नदीको चौडाई फराकिलो हुने गर्छ। अनुसन्धाता रबट ब्राउनले सन् १९८१ मा गरेको एक अध्ययनअनुसार नेपालका नदीबाट प्रत्येक वर्ष ३३ करोड ६० लाख टन माटो बग्ने गर्छ। बगर क्षेत्रमा बालुवा, ढुङ्गा र चट्टान थुप्रिई थिगे्रनले गर्दा तराईका नदीको सतह बढेको पाइएको छ। सन् १९८४ मा डेन्टले गरेको अर्को अध्ययनअनुसार प्रत्येक वर्ष तराईका नदीको सतह ३५ देखि ४५ सेमीका दरले बढेको छ। यसकै परिणामस्वरुप वर्षात्मा रौतहट, सर्लाही, महोत्तरी र धनुषालगायत्का जिल्ला जलमग्न हुने गरेका छन्।

जोखिम न्युनीकरणका उपाय
सेतीमा पहिरोबाट बनेको तलाउ फुटी आएको बाढीबाट ठूलो धनजनको क्षति भयो। नेपालले बाँध फुटेर हिमताल बिष्फोट भएर तथा पहिरो तथा अधिक वर्षाबाट भएका बाढीका घटनाबाट पाठ सिकी पूर्व तयारी गरेको देखिन्न। सन् १९८१ म्ाा गएको बाढीमा भोटे कोशीमा र सन् १९९५ मा कोशी नदीमा गएको बाढी केही दिनअघि सेती नदीमा गएको बाढीको प्रकृतिसँग मिल्दो थियो। विपद् जोखिम विश्लेषण, पूर्व चेतावनी प्रणाली स्थापना र विपद् न्युनीकरणका लागि समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्न सकेको भए यति ठूलो विपत्ति सहनुपर्ने थिएन। बाढी र अन्य प्राकृतिक प्रकोपको पूर्व चेतावनी प्रणालीका लागि उच्च र अति उच्च आवृत्ति रेडियो केबुलकार, स्याटलाइट सूचना एवं अन्य स्थानीयस्तरमा प्रचलित पद्धति अवलम्बन गर्न सकिन्छ।
दशौं पञ्चवर्षीय योजनाले बाढी भूकम्प र सुख्खा क्षेत्रको विपद् जोखिम नक्शा तयार गरिने उल्लेख गरे पनि यो कार्यान्वयन भएन। बाढी निरन्तर आउने विपत्ति हो। त्यसैले यसको अल्पकालीन/दीर्घकालीन असरलाई जोखिम न्युनीकरणका उपयुक्त विधि अवलम्बनबाट कम गर्न सरोकारवालाको सक्रिय सहभागिता अनिवार्य हुन्छ।
खोला, खहरे र नदी, किनार, बाँध तथा हिमताल वरिपरि वा मुनि रहेका घरबस्ती बाढीबाट प्रभावित हुन सक्ने स्थान हुन्। जोखिम न्युनीकरणका लागि प्रथमतः ती स्थानको जोखिम विश्लेषण गर्ने, जोखिम न्युनीकरणका लागि कार्ययोजना कार्यान्वयन गर्ने र सम्भावित स्थानमा पूर्व चेतावनी प्रणाली विकास गरी सूचित गर्ने कार्य आवश्यक छ।
अध्ययन/अनुसन्धानबाट के देखिएको छ भने खहरे, खोला र नदी किनार वरिपरिको बगर क्षेत्रमा उपयुक्त प्रजातिका रुखबिरुवा रोपण, छेकबाँध तथा कृषि-वन प्रविधिको अवलम्वनबाट अनियन्त्रित बहाव कम गर्न सकिन्छ। त्यसैगरी अनुत्पादित बगर क्षेत्रलाई उत्पादनमूलक बनाई जोखिम केही कम गर्न सकिन्छ।

बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना
केही वर्षपहिले फार्म फरेष्ट्री प्रोजेक्टले मध्य पहाडी क्षेत्रमा स्याङ्जाको आँधीखोला, भित्री मधेसमा चितवनको कयरखोला, तराईमा पर्साको पसाहा र बाराको बकैया नदीको बगर क्षेत्रमा कृषि-वन पद्धतिका विभिन्न नमूना परीक्षण गरेको थियो। अनुसन्धानको उद्देश्य नदी प्रभावित क्षेत्रमा हुर्कन सक्ने रुख प्रजातिको वृद्धि तथा उत्पादन मापन गर्ने एवं बगर क्षेत्र पुनर्स्थापनाका लागि उपयुक्त कृषि-वन पद्धति सिफारिश गर्ने थियो।
अनुसन्धानबाट के देखिएको छ भने बगर क्षेत्रमा सिसौ, खयर, बकैनो र निलो मसला लगाउन उपयुक्त रुख प्रजाति हुन्। सिसौसँग मकै र आलु लगाएको क्षेत्रबाट सिसौको वृद्धि अति उत्तम देखियो भने 'टिक' (सागुआन) को वृद्धि सबैभन्दा कमसल पाइयो। सिसौसँग लगाइएको मकैको उत्पादन १९.२ क्वीन्टल प्रतिहेक्टर रह्यो, जुन अन्य कृषि भूमिमा सरदर २४.५७ क्वीन्टल प्रतिहेक्टर हुने गर्छ। यसैगरी कोदोको ४, आलु २०, अडहर १.६ र बोडीको २ क्वीन्टल प्रतिहेक्टर उत्पादन प्राप्त भयो। कृषि-वन पद्धतिअनुरुप बगर क्षेत्रमा लगाइएका कृषि बालीको उत्पादन बगर क्षेत्रमा प्रतिवर्ष प्रतिहेक्टर सबैभन्दा बढी अर्थात् हालको बजार मूल्यअनुसार १ लाख ९५ हजार ६ सय ६२ रुपियाँको पाइयो। साथै घाँसको उत्पादन मात्रै पनि ४५ हजार रुपियाँ बराबरको रह्यो। यसैगरी घाँस संकलनमा बचत भएको समयलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सकेमा यसबाट ८४ हजार ३ सय ७५ रुपियाँ बराबरको न्युनतम् आयआर्जन गर्न सक्ने देखिएको छ। साथै यसबाट काँस, सिरु, चकम्दे जस्ता माटोलाई अम्लीय बनाउने वनस्पतिहरुको फैलावटमा कमी ल्याई जैविक विविधता बढाउनसमेत सघाउ पुग्ने अनुसन्धानबाट प्रष्ट भएको छ।
यसरी समग्रमा बगर क्षेत्रमा कृषि-वन प्रविधि अवलम्बनबाट अनुत्पादक बगर क्षेत्रलाई उत्पादनमूलक बनाई केही समयपश्चात् सुक्ष्म वातावरणसमेत परिवर्तन ल्याई पुनर्स्थापना गर्न सकिने सकिन्छ। जसबाट स्थानीय जनताका दैनिक आवश्यकता (जस्तै- बाल्ने दाउरा, घाँस तथा स-साना काठको माग पूर्ति हुने) पूरा हुन गई प्राकृतिक वनजंगलमा समेत चाप कम हुने तथा कृषि उत्पादन बढाई स्थानीय बासिन्दाको आर्थिक अवस्था उकास्न सघाउ पुग्ने देखिएको छ। सफल प्रविधिलाई अधिराज्यका अन्य बगर क्षेत्रमा अवलम्बन गरी खेर गइरहेको संसाधनको सर्वोत्तम उपयोग गरी स्थानीय पीडितलाई आर्थिकरुपमा टेवा पुर्यारउन अति आवश्यक देखिन्छ। यस कार्यमा दातृसंस्था, गैरसरकारी संस्था तथा सरोकारित सबैको सहयोग उत्तिकै अपेक्षित छ।
(लेखक क्यानेडियन रेडक्रससँग आबद्ध एसियाका लागि प्राकृतिक विपद् न्युनीकरण विशेषज्ञ हुन्।)

प्रकाशित: ३ श्रावण २०६९ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %