२० श्रावण २०७७ मंगलबार
विचार

आत्महत्या गर्नेको संख्या किन बढ्दैछ ?

मानिसलाई सबैभन्दा डर लाग्ने विषय मृत्यु हो किनकि जीवन प्यारो छ, सुन्दर छ, मानिसले चाहँदैमा मानवीय जीवन प्राप्त गर्न सक्दैन। जीवन एउटा सर्वोत्कृष्ट उपहार हो, त्यसैले पाएको जीवन प्रेमपूर्ण र आनन्दित तरिकाले बाँच्न नै चाहन्छ मानिस। त्यसो हुँदाहुँदै पनि आत्महत्या गर्नेको संख्या नेपालमा मात्र नभएर विश्वमै बढ्दै गएका समाचार आइरहन्छन्। कहिले कुनै समस्यालाई आधार बनाएर त कहिले कुनै बहानामा मानिसले आफूलाई हीनताबोध महसुस गर्छ र जीवनदेखि हार खाएर आत्महत्या गर्न बाध्य भएका घटनाहरूले बताउँछन्।

अहिले कोरोना कहरका बीचमा पनि नेपालमा धेरै कारणले आत्महत्या गर्नेको संख्या थपिएको देखियो। कहिले विद्यालयमा युवा झुण्डिएको त कहिले उपचार नपाएर, कहिले भोकै र कहिले रोजगारी नपाएर, बैंकको किस्ता तिर्न नसकेरलगायतका घटना भएका समाचार आए। कतिपय अवस्थामा तनावका कारण आत्महत्याको बाटो रोज्नेहरूका कथा पनि बाहिर आए। धनी होस् या गरिब, शिक्षित होस् या अनपढ, आखिर आत्महत्याको बाटो रोज्न पुग्छ भने प्रमुख कारण त उसले आफ्नो मानसिक सन्तुलन गुमाएको हुन्छ। अभावका कारण भन्दा पनि मानसिक स्थिति गुमाउनुको कारणबाट यस्ता घटना बढ्दै जान्छन्। किन मानिस आत्महत्या रोज्छ त ? केही मनोवैज्ञानिक, सामाजिक र व्यक्तिगत धारणा बुझ्ने कोसिस ग¥र्यौँ भने यस्ता घटना न्यूनीकरण हुँदै जानेछ।

अभाव होइन अपेक्षा  
एउटा गरिव व्यक्तिले आत्महत्या ग-यो भने हामी सजिलै अनुमान गर्न सक्छौँ, उसको जीवनमा धेरै कुरा अभाव थियो त्यसैले उसले सहन सकेन। एउटा निम्न स्तरको गरिबले आत्महत्या रोज्नुपर्ने अवस्था आउँछ भने त्यसका लागि घर, समाज र राज्यकै दायित्व हुन आउँछ। एउटा व्यक्ति गरिबीले, भोकमरीले, स्वास्थ्य उपचारले जीवन त्याग्ने अवस्था आउँछ भने त्यो राज्यको कमजोरी हो।न्यूनतम आवश्यकता पूरा गर्न नसकी अभावमा बाँच्न कठिन हुने अवस्था आउनु भनेको त्यो घर, समाज, आफन्त र राज्यको ठूलो कमजोरी हुन आउँछ। घर, समाज र राज्यमा त्यस्ता व्यक्तिको पहिचान गरी सामान्य सुविधा र जीवन बाँच्न पाउने अधिकारबाट कोहि पनि वञ्चित नहोस् भनी राज्यले व्यवस्थापकीय तरिकाले सोच्नुपर्ने हुन्छ। त्यही देशको एउटा नागरिक उच्च ओहोदामा पुगेर राज्यको सम्पूर्ण सुविधा भोग गरिरहेको हुन्छ भने त्यही देशमा एउटा नागरिक अभावले छट्पटिएर जीवन त्याग्न पुग्छ। यस्तो अवस्थामा राज्यले अँगालेको समानता, मानवीयता र समृद्धिको नाराले के औचित्य राख्छ ?

सन्तुलनमा बाँच्ने कला नजान्नु  
आत्महत्या गर्ने व्यक्तिहरूको घटनाको प्रकृति र स्वभाव हेर्दा थाहा हुने गर्छ कि ठूलो समस्याको कारण उसले आत्महत्या गरेको हुँदैन। समस्या ठूलो जस्तो लागे पनि समाधानको उपाय सानो हुन सक्छ। जसरी प्रकृति आफ्नो सन्तुलनमा चलेको हुन्छ त्यसैगरी मानिसलाई पनि सन्तुलनको जीवन बाँच्न प्रेरित गरेको हुन्छ तर व्यक्तिले त्यो सन्तुलन कसरी कायम राख्ने भन्ने कला नै जान्दैन। जीवनका बहुआयाम छन्। कुनै एउटा सोच र सफलताले या विफलताले जीवनलाई निर्णय गर्न सक्दैन। जीवनमा सामान्य आवश्यकतादेखि लिएर परिवार सुख, भौतिक सुखभोग, स्वास्थ्य, ध्यान, योग, शान्ति, आनन्द साथसाथै कायम राख्दै यी विविध आयामबाट जीवनलाई सन्तुलितरूपमा जिउनुपर्छ।

जब आत्मानुशासन र आत्मसम्मानको बोध हुन थाल्छ तब नकारात्मक विचार र हीनताबोधको भावना अन्त्य भएर जानेछ।

जब एउटामात्र कारणले सफल, सर्वोच्च र प्रख्यात बन्छु भन्ने अहंकार र अपेक्षा राख्छ तब व्यक्ति सफल भए पनि मानसिकरूपमा अशान्त भइसकेको हुन्छ। व्यापार र पैसा कमाउनु नै ठूलो सफलता हो, पैसाले सबै किन्न पाइन्छ भन्ने व्यक्तिले साथीभाइ, सत्संग, परिवार, आफ्नो स्वास्थ्य, भोक, निद्रा थाहै नपाई गुमाइसकेको हुन्छ। राजनीतिले नै उच्च ओहोदामा पुग्ने व्यक्तिले, राजनीतिमा सफल हुनु र पद प्राप्त गर्नु अनि पदसँगै धन पनि आर्जन गर्नुलाई आहा मान्छ तर यो मात्रै भयो भने जीवन सन्तुलित हुँदैन। उच्च डिग्री हाँसिल गरेर, सबैलाई जितेको छु भन्दै आफूलाई अहंकारमा बाँच्न प्रेरित गर्नेले, आफ्नै जीवनसँग हारेको थाहै पाउँदैन। सफलता, धन, पद, सम्मानसँगै स्वास्थ्य, परिवार, मानवीयता, कल्याणकारिता र आत्मसम्मान पनि आवश्यक छ जीवनमा। यस्तै कला नजान्दा एउटा चिज प्राप्त भइरहेको हुन्छ तर अरू आयाम छुटाइरहेको हुन्छ।

प्रेम आत्महत्याको कारण हुनै सक्दैन  
कतिपय आत्महत्याका घटनाले बताइरहेका हुन्छन् कि प्रेममा धोका पाएकाले, प्रेम विवाह सफल हुन नपाएकाले, प्रेम छुटेकाले आदि आदि प्रेमलाई आधार बनाएर व्यक्तिले सुन्दर जीवन त्यागेको हुन्छ। प्रेमले जोड्ने काम गर्छ, छुटाउने होइन। मानिसले लौकिक प्रेम, शारीरिक प्रेम र विपरितलिंगीसँगको प्रेमलाई प्रेम मान्दै आएका छन्। प्रेम त अलौकिक हुन्छ, जुन छ, अनुभव गर्न सकिन्छ तर देखाउन जरूरी हुँदैन। आफ्नो परिवार, साथीभाइ, प्रेमी÷प्रेमिकालाई नदेखाइकन प्रेमको आभाष नहुन सक्छ तर नदेखाउँदैमा प्रेम छैन भन्ने हो भने त्यो वास्तविक प्रेम हुँदैन।

बोधमय प्रेम जान्ने र जीवनमा उतार्नेले कसैलाई धोका दिन, धोका पाएको महसुस गर्न र त्यसबाट आफ्नो जीवनलाई नै समाप्त गर्ने सोच विकास गर्नै सक्दैन। आत्महत्याको निर्णय गर्नुअगाडि आफ्ना आमा/बा, दिदी/भाइ जो पनि परिवारका सदस्य छन् तिनीहरूले आफूलाई दिएको प्रेम याद गर्ने हो भने शायद कसैले आत्महत्याको निर्णय लिन सक्दैन।

आत्महत्या न्यूनीकरणका उपाय  
हरेक समस्याका समाधान हुन्छन्।समाधान नहुने समस्या नै हुँदैनन्। आत्महत्या व्यक्तिको मनोवैज्ञानिक, सामाजिक र व्यक्तिगत धारणाको उपज हो। व्यक्ति जीवनबाट विक्षिप्त र निरिह महसुस भएपछि यो बाटो रोज्छ। यस्तो अवस्था नआओस् भन्नका लागि सबैमा चेतना जागृत हुने शिक्षा र उत्प्रेरणा आवश्यक छ। ध्यान, योग र सिर्जनात्मक कामहरूमा संलग्न भएर जीवनमा सकारात्मक ऊर्जा प्रवाह गराउनु जरूरी छ। मानसिक स्थिति सन्तुलनका लागि, सिर्जनात्मक क्रियाकलापमा प्रेरित हुनका लागि, जीवनको महत्व बुझ्नका लागि र जीवनलाई शान्ति, आनन्द र प्रेमपूर्ण बोधकासाथ बाँच्नका लागि ध्यानको अभ्यास हरतरहले उपयुक्त र जरूरी छ। कुशल कर्म, आत्मानुशासन र आत्मसम्मानमा बाँच्ने कलाको विकास गराउँछ। जब आत्मानुशासन र आत्मसम्मानको बोध हुन थाल्छ तब नकारात्मक विचार र हीनताबोधको भावना अन्त्य भएर जानेछ।

प्रकाशित: ९ श्रावण २०७७ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App