२५ फाल्गुन २०७७ मंगलबार
विचार

निर्लज्जताको पराकाष्टा !

नेपाल कम्युनिस्ट पार्टीभित्रको झगडा सिद्धान्तको हो कि पद प्राप्ति, पद लिप्सा र पद संरक्षणको हो भन्ने दोधार भएको छ। नेकपाका दुई अध्यक्षबीचको रडाको देखिएको डेढ वर्ष नाघ्यो। एमाले र एकीकृत माओवादीबीच एकीकरण हुँदा भएको भद्र सहमतिअनुसार अढाइ वर्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने, दोस्रो अढाइ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने भन्ने रहेछ। तर जब प्रचण्डलाई लाग्यो, यस्तो ओलीजीको पूर्वापर हेर्दा त्यो सहमति ओलीबाट पालना हुने परिपक्का छैन तब प्रचण्ड भुट्भुटिन थाले र भद्र सहमतिका बहिखाता पल्टाउन लागे। ओलीको ध्यानाकर्षण गराउन थाले। ओलीबाट त्यो सहमति पालना नहुने बरु उल्लंघन हुने अपसगुन देख्न थालेपछि यी दुई शिखर पुरुषबीच अनवन सुरु भो।  

केही दिनसम्म यो रडाको यी दुई जनामा मात्रै अटाएको थियो। तर पछि अटाएन र बाहिर पोखिन थाल्यो। जब यी दुईपट्टिका नेताहरूको तहमा पुग्यो दुवै पक्षकाले यसलाई भकुण्डो बनाएर गोलमा छिराउन खोजे। यो मुद्दा ओली–प्रचण्डमा मात्र सीमित हुन सकेन। तब गएको मंसिरमा मुद्दा जुर्मुराउन खोज्यो। को को भएर थामथुम पारे, मत्थर भयो। अब उप्रान्त पार्टीको सम्पूर्ण सञ्चालन या नेतृत्व पूर्णरूपेण प्रचण्डले गर्ने, सरकारको नेतृत्व ओलीले गर्ने। तब प्रचण्डले पार्टीको पूर्ण नेतृत्व प्रारम्भ पनि गरे। पार्टीका सचिवालय वैठक, पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लाग्यो। दुवै अध्यक्षको आसन पनि समान हुन लाग्यो।  

नेताहरू, जनताको हुनुहोस्
पार्टीभित्र झगडा भएन भने आफ्नो विशिष्ट व्यक्तित्व वा विशेषतः प्रदर्शन गर्ने ठाउँ हुँदैन भन्ने कुण्ठा सक्रिय भयो। केपीका हनुमान र पुष्पकमलका हनुमानलाई खाएको पचेन। तब नेता उचाले। उनीहरू पनि उचालिए। नेपालको राजनीतिमा रकम लगानी गर्ने नयाँ वर्ग पैदा भएको छ अहिले। नेताहरू केही समयदेखि यही राजनीतिमा लगानी गर्नेहरूको हुँदो गर्छन्। जनताकहाँ चुनावका बेला मत माग्नमात्र जान्छन्। पैसो सस्तो भयो  २००७ सालताका पार्टी जनताकहाँ जान्थे, जनतासँग पैसा माग्थे, जनताकै घरमा सुत्थे, जनताकै भान्छामा खान्थे। अब पैसा धेरै चाहिने भयो, नेताहरू जनताकहाँ जाने, खाने, बस्ने गर्न छाडे। होटेलमा बस्छन्, होटेलको खर्च कुन लगानीकर्ताले चुक्ता गर्छ। त्यो नेता सत्तावाला, सत्ताको नजिक पुगेपछि त्यो रकम ब्याज र स्याजसमेत असुल गर्छन्।  

यस्तो राजनीति चलेका बेला ओली र प्रचण्डबीच को को प-यो, गरायो झगडा। गराउनेहरूले झगडा गर्न दुरुत्साहित गरे पनि नेताहरू झगडामा फस्न हुने थिएन। तसर्थ राजनीतिमा अनर्थ हुन लाग्यो। क–कसले क–कसमा झगडा गराउँछ, त्यो थाहा नहुने भयो। नेताहरू हो, तपाईँहरू मिल्नोस् र जनताको सेवामा अनवरत लागिरहने प्रण गर्नोस्। पैसा जनतासँग माग्नोस्। जीवनस्तर घटाउनोस्। नगरी नहुनेमा मात्र खर्च गर्नोस् जसले तपाईँलाई स्वतन्त्र राख्न, जनताको रहिरहन प्रेरित गर्छन्।  

नेकपाभित्रको आजको कोलाहल ओली र प्रचण्डको व्यक्तिगत हो कि पार्टीगत ? पहिला त्यो टुङ्गो भयो भने मुद्दा किनारा लाग्न सरल हुनेछ।

झगडालाई कलात्मक पार्ने ?
संख्याको हिसावले ठूलो पार्टी, सत्तामा भएकाले विभिन्न स्वार्थ समूहले घेरेको पार्टी नेकपा सारै तनावमा छ। त्यसमाथि पार्टीका दुई अध्यक्षबीचको तुलो कहिल्यै मिलेको होइन। सत्तासीनहरूभित्र चर्को झगडा छ। एक पक्षले पायो भने सत्ता अर्कै हुन सक्छ। सत्ता सेवाका लागि हुनुपर्नेमा ढेवाका लागि हुन लागेको छ। यस्तो अवाञ्छनीय पृष्ठभूमि को को नेता को को पैसावालतिर हुन् अनुमान गर्नै कठिन। धेरै लामो समय भैसक्यो पार्टीका दुई अध्यक्षबीचको भगडा। तर फेरि भेट गराउँछन् तेस्रो, चौथो र पाँचौ पुस्तका नेता कार्यकर्ताले। नेता हुनेहरूको विशेषता नै त्यही भयो। पार्टीका दुई अध्यक्षबीच अघिल्लो साता भएको कुराकानीमा नमीठो भनाभन भएछ। भगडा पनि कलात्मक गर्नतिर लागेनन् हो। नेताबीचको झगडा कलात्मक भयो भने त्यसको प्रभाव नै अर्को पर्छ। तर तोरीलाहुरे झगडाले के सन्देश दिन्छ जनतामा ?  

नेकपा पनि नेताप्रधान पार्टी भो  
पहिलो तहका नेता भए ओली र प्रचण्ड। दोस्रो तहका नेतामा दुई वरिष्ठ माधवकुमार नेपाल र झलनाथ खनाल। बाबुराम भट्टराई पनि नेकपामै रहेका भए यही श्रेणीमा पर्थे होला। तेस्रो तहको नेतामा सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ पर्छन् होला। अनि चौथोमा भीम रावल, विष्णु पौडेल, जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा पर्छन् होला। वामदेव आफ्नो कित्ता छुट्याउन तयार छैनन् क्यार। तसर्थ उनी श्रेणीविहीन जस्तो लाग्छ। रामबहादुर थापा कुन श्रेणीमा ? असजिलो टार्न एकथरीलाई श्रेणीविहीनभन्दा माथि राख्ने कि ? अमृतकुमार बोहोरा, सिद्धिलाल सिंहहरू उपमाका लागि। नेपालका दलमा कार्यकर्ताभन्दा नेता धेरै। यो राम्रो लक्षण होइन।  

अकर्मण्यता
दुई अध्यक्षबीचको विमतिको टुङ्गो लेनदेनबाट होइन, विधि र प्रक्रियाद्वारा लाग्नुपर्छ– एक पक्षको विचार। राम्रो विचार। हो त नेताबीचको मतभेद लेनदेनबाट टुङ्ग्याइन्छ भने गलत परिपाटी बस्न सक्छ। तसर्थ पद्धति, विधि र प्रक्रियाद्वारा समाधान हुनुपर्छ। तर त्यसो भइरहेको छैन। त्यो प्रक्रिया थालिएको पनि छैन।  

सधैँ दुई अध्यक्षबीचको व्यक्तिगत महत्वाकांक्षाका कारण राज्य संयन्त्र नै मूर्छित जस्तो अवस्थामा रहनु पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता वर्गको अकर्मण्यता हो भन्यो कसैले भने नेकपा परिवार के उत्तर देला ?

नेकपाभित्रको आजको कोलाहल ओली र प्रचण्डको व्यक्तिगत हो कि पार्टीगत ? पहिला त्यो टुङ्गो भयो भने मुद्दा किनारा लाग्न सरल हुनेछ। तर नेकपाका नेताहरूले एउटा नौलोखालको बाटो समाते। दुई नेता बसेर के गर्ने ? समाधान खोज। सधैँ दुई अध्यक्षबीचको झण्डै झण्डै व्यक्तिगत महत्वाकांक्षाका कारण राज्य संयन्त्र नै मूर्छित जस्तो अवस्थामा रहनु पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता वर्गको अकर्मण्यता हो भन्यो कसैले भने नेकपा परिवार के तार्किक उत्तर देला ? नेता आफू पनि नहिँड्ने अरूलाई बाटो पनि नछाड्ने के दर्शन हो ? के सिद्धान्त हो ?  

त्यही फोटो सहमतिमा ऊर्जा प्रवाह गर्ने विमतिमा ?  
शुक्रबारसम्म नेकपाको स्थिति हेर्दा सत्ताको पांग्रो उल्टो घुमेन भने केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत दुवै पदबाट राजीनामाको माग स्थायी समितिका बहुमत सदस्यको र एउटा पनि नछाड्ने किनभने यो भारतको माग भन्ने अडान प्रधानमन्त्री ओलीको यो बुझाइ कत्तिको सही छ, त्यो आफ्नै ठाउँमा छ। गएको साउन १ मा फेरि ओली, प्रचण्ड र माधव नेपालसमेतको भेटघाट र कुरो अलिकति भएछ। २ साउनको एउटा दैनिकमा नेतात्रयको सामूहिक लाल अभिवादनको तस्बिर छापिएको छ। तिनै नेताको भुँडी पुटुस्स लागेको इन्द्रचोकको कपडा साहू जस्ता पो लागे।  

कम्युनिस्ट पार्टीका नेताको भुँडी लागेको देख्दा पनि के हो, के हो लाज लाज लाग्न खोज्ने ! यो विद्यमान विमति, असहमति वा रडाकोको मूल जरा उहाँहरू नै हो। यी नेतात्रय सहमतिको मञ्चमा यसरी हँसिलो मुखमुद्रामा झुलुक्क मात्र देखिँदा पनि कति धेरै ऊर्जा प्रवाह हुन्थ्यो, शक्ति सञ्चार हुन्थ्यो, सामन्तवाद, साम्राज्यवादविरुद्ध आगो बल्थ्यो, रगत उम्लन्थ्यो। तर आज असहमति, विमतिको पृष्ठभूमिमा यी तीन अनुहार हेर्दा घ्यु बेचुवा कुन, तरवार बेचुवा कुन भनी आक्रोश पो आउँछ।  

मुद्दा केन्द्रीय कमिटीमा जाने भो ?
लामो दबाबपछि स्थायी समिति बैठक गत असार १० मा बसेको हो। सो बैठकको शृंखला अन्त्य नभएको अवस्थामा १४ असारमा प्रधानमन्त्री ओलीले आफूलाई भारतीय षड्यन्त्रले हटाउन खोज्दैछ, त्यसमा नेकपाका नेता पनि मिसिएका छन्, दुवै पद छाड्दिन भनेछन्। यसबाट नेकपाभित्र बलेको आगोमा घ्यु थप्ने काम ग¥यो। दुई अध्यक्षबीचको व्यवहारले बैठकमा अन्य नेताले बस्न पनि असजिलो मानेर र उनीहरूलाई मात्र सहमतिमा पुग्न आग्रह गरे। तर मरिगए सहमतिमा पुगेनन्। गएको बिहीबार दुई अध्यक्षका साथै माधव नेपाललाई पनि सहभागी गराइयो। त्यसपछि केन्द्रीय कमिटी नै बोलाउने निर्णय भयो। फेरि सचिवालय बैठक हुने रे, केन्द्रीय कमिटी त कता हो कता ?

नेताहरूले देश हेरेनन्
लाग्छ, ओली विरोधी शक्ति पनि ओली कुनै हालतमा पनि प्रधानमन्त्रीबाट राजीनामा दिँदैनन् भन्नेमा छन्। यो कुरा हामीलाई भन्दा अर्का अध्यक्ष प्रचण्डलाई धेरै थाहा छ। दुवै पदबाट राजीनामा मागेपछि एउटा पदबाट मुक्त हुन मान्नेछन् भन्ने रणनीति छ माधव–प्रचण्ड पक्षको। अन्ततोगत्वा हुने त्यही होला। सरकार ओलीको नेतृत्वमा सञ्चालन हुने पार्टी प्रचण्डको नेतृत्वमा चल्ने। आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः ६ गते मंगलबारका लागि सरेको छ।  

दुई नेताबीच नौ नौ पल्ट लामा लामा वार्ता भए तर परिणाम केही निस्केन। यो समय देशको समृद्धि कसरी गर्ने, जनतालाई सुखी कसरी गराउने भन्नेतिर लगाउन सकेको भए ! एकातिर भारतले अतिक्रमित लिम्पियाधुरा क्षेत्र खुरुक्क छाड्ने दिशातिर मौनव्रत धारण गरेको छ, इपिजीको प्रतिवेदन ग्रहण गर्नसमेत रुचि छैन। यी दुई छिमेकी राष्ट्रबीच यसरी सम्बन्ध बिग्रिएको कहिल्यै थिएन जस्तो लाग्छ। नेता हो, नेतृत्व गर्नेहरू हो, मुलुकको अवस्था अत्यन्त गम्भीर हुँदैछ। यो कुरा मलाई भन्दा बढी तपाईँहरूलाई थाहा छ। यस्तो बेला भारतसँग कसरी सम्बन्ध सामान्य बनाउने ? मुलुकलाई कसरी समृद्धितिर उचाल्ने ? भन्नेमा गम्भीर हुनुपथ्र्यो तर ठट्टा गर्ने जस्तो पो त भयो। समय छँदै विचार गर्नूस्।

प्रकाशित: ५ श्रावण २०७७ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App