८ आश्विन २०७७ बिहीबार
विचार

बारुदको ओछ्यान

माओले सत्ता लिएपछि २०१६ सालदेखि हजारौँ तिब्बती भागेर नेपाल र भारततिर लागे। राष्ट्र संघले तिनलाई शरणार्थी दर्जा दियो। उनीहरूलाई काठमाडौँ, पोखरा जस्ता ठाउँमा आश्रय दिइयो। हिमाली जिल्लामा शरण लिएका पूर्वी तिब्बतको खाम क्षेत्रका बासिन्दालाई ‘खम्पा’ (खामबासी) भनिने ती लडाकु जाति भएकाले चीनको सेनासँग छापामार युद्ध गर्ने तयारीमा लागे। अमेरिका, युरोपेली राष्ट्रहरू तथा भारतले ‘चीनको सेखी झार्न’ ती विद्रोहीलाई सहायता दिन थाले। नेपाल चीन विरोधीहरूको स्टेसन भयो। समयमै विद्रोह नरोकेको भए नेपाल ऊबेलै कुरुक्षेत्र बन्न सक्थ्यो।

खम्पा विद्रोह सुरु हुँदा राजा महेन्द्रले सबै सूचना संकलन गरेर हिमाली क्षेत्रमा राजा त्रिभुवनका पालामा बसेका भारतीय सैनिक क्याम्प हटाए। राजा त्रिभुवन र प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले नेपाल–चीन सिमानामा भारतीय चेकपोस्ट राख्ने अनुमति दिएकामा महेन्द्र रुष्ट थिए। उनी राजा भएपछि नेपालको राष्ट्रियतालाई सुदृढ गराउने योजनाहरू बनाए। राजा त्रिभुवनदेखि राजा वीरेन्द्रसम्मको सेवा गरेका सुरेन्द्रमान प्रधान (पुलचोक, ललितपुर) भन्थे– ‘व्यक्तिगत सुखसयल, मनोरञ्जन र आराम त्यागेर मध्यरातसम्म काम गरिबक्सन्थ्यो, महेन्द्र सरकार। ‘आराम गरिबक्स्योस्’ भनेर हामी विन्ती चढाउँथ्यौँ। सरकार हुकुम हुन्थ्यो– नेपाल आमालाई ठूलो संकटबाट मुक्त गरेपछि मात्र मलाई सन्तोष हुनेछ।’

राष्ट्रका बारेमा चिन्ता गर्दागर्दै २०२८ माघ १७ गते राजा महेन्द्रको निधन भयो। ‘प्रीति गरेर सबमा छोडुँ नाम–निशाना’ भजन लेखेका राजाले राष्ट्र सर्वोच्च हुन्छ भन्ने सन्देश दिए। बाउन्न वर्ष मात्र बाँचे पनि उनी नेपाली हृदयमा आज पनि सजीव छन्। नाम–निशाना छाडेर मनमनका प्रिय राजा भए।  

राजा महेन्द्रले प्रधानमन्त्री कीर्तिनिधि बिष्टलाई ‘नेपालमा रहेका सबै भारतीय सैनिक फिर्ता पठाउनुपर्छ’ भन्ने निर्देशन दिए। २०२६ सालमा सम्पूर्ण भारतीय चेकपोस्ट हटाइयो। पूर्वमा ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म स्थलगत अध्ययन गरेर दामोदरशमशेरको टोलीले पहिले नै सबै सूचना लिइसकेको थियो। टोलीका सदस्य तथा राजपरिषद् पूर्वसदस्य जीतबहादुर अर्जेल (विराटनगर) भन्छन्– नेपाल–चीन सिमाना अध्ययन गर्न सो कार्यदल बनाइएको थियो। स्थानीय बासिन्दा, गुम्बाका लामा र विभिन्न गाउँका थकाली (मुखिया) लगायतबाट सत्यतथ्य बुझेर हामीले महेन्द्र सरकारलाई रिपोर्ट बुझायौँ।

पूर्णरूपले विफल भइसकेको वर्तमान शासन प्रणाली अब संग्रहालयमा थन्किने निश्चित देखिन्छ।

दामोदर शमशेर कूटनीति, राजनीति, प्रशासन र राष्ट्रिय सुरक्षाका ज्ञाता थिए। चौध अञ्चलका सयौँ मानिसबाट सूचना लिएर राजालाई जाहेर गर्थे। काठमाडौँबाट झापासम्म उनको गाडीमा लामो यात्रा गर्ने अवसर पाएको थियो पंक्तिकारले। पहिलो दिन हेटौँडामा बास बसियो, भोलिपल्ट विभिन्न ठाउँमा भेला भएका प्रभावशाली व्यक्तिहरूलाई भेट्दै मध्यराततिर झापा पुगे दामोदर। टोलीमा सूर्यबहादुर थापा (पूर्वप्रम) का दाजु भैरवबहादुर थापा र दामोदरका निजी सचिव भरतजंग राणा पनि थिए। राष्ट्र बलियो बनाउने बाहेक उनको अर्को स्वार्थ थिएन। उनका भाइ सत्चितशमशेर (पूर्व प्रधानसेनापति) त्यस्तै सोच र दृढ अठोट भएका प्रवल राष्ट्रवादी थिए। खम्पा विद्रोह दबाउन उनको ठूलो भूमिका थियो।  

हिमाली क्षेत्रबारे गहिरो अध्ययन गरेका कृष्णलाल थकाली, ताम्ला उक्याब, जोन्देन उक्याब, डा. हर्क गुरुङ, डा. रमेशकुमार ढुंगेल, गोपालसिंह बोहरा (दार्चुला) आदिसँग कुरा गर्दा नेपाल–चीन सम्बन्धमा ठूलो समस्या छैन भन्ने बुझियो तर नेपाललाई आधारक्षेत्र बनाएर चीन विरोधी गतिविधि गर्ने तथा भारत र चीन युद्ध गराउने खेल पहिलेदेखि नै थियो भन्ने तथ्य, तर्क र प्रमाण धेरै छन्।

ताम्ला उक्याब गृहमन्त्रालयका पूर्वकर्मचारी हुन्। उनले एउटा आलेखमा भनेका छन्–‘नौवटा स्थलसेनाको बटालियन गणसहितको शाही नेपाली सेना हेलिकोप्टरसहित सशस्त्र खम्पाहरूलाई नियन्त्रण गर्न मुस्ताङ पुग्यो। तिनलाई हतियार बिसाएर आत्मसमर्पण गर्ने समयसीमा तोकियो। सेनाको अगुवाइमा तिब्बती खम्पा नियन्त्रणका लागि प्रयास थालेसँगै केही छापामार पक्राउ परे। केही भागेर भारत प्रवेश गरे। केहीले आत्मसमर्पण गरे।’

विदेशीको तालिम, हतियार र आर्थिक लगानीमा खम्पा विद्रोह चर्काउने हिसी तथा वाङ्दीबीच मतभिन्नता हुँदा नेपाली सेनालाई फाइदा भयो। खम्पाले नै गोप्य सूचना दिन थाले। भारतले २०५२ सालपछि दुई जना आज्ञाकारी ‘बाहुन खम्पा’ लाई नेता बनाएर नेपाली सेनाविरुद्ध खम्पाकै शैलीमा छापामार युद्ध गराएको कुरा दिल्लीका कैयन् नेता, पत्रकार र गुप्तचर अधिकारीले लेखेका छन्। भविष्यमा पनि नेपालमा चीन, अमेरिका र भारत आदिले नवीन शैलीमा विद्रोह गराइरहने छाँटकाँट देखिँदैछ। एमसिसी कि बिआरआइ, पहाडे कि मधिसे, चुच्चे कि थेप्चे, ॐकार परिवार कि इसाई ? लडाइँ गराउने र आगो सल्काउने बहाना हुन सक्छ। विदेशी योजनाअनुसार नेपालमा ठुल्ठूला घटना र दुर्घटना भइसके। नारायणहिटी राजदरवारमा २०५८ जेठ १९ गते राजा वीरेन्द्रको हत्या हुनुभन्दा महिनौँ दिनपहिले पनि षड्यन्त्र भएका थिए। भोलिका दिनमा ‘अमेरिकापरस्त’ भन्दै चीनले सिध्याइदिने र ‘चीनपरस्त’ भन्दै अमेरिका र भारतले नेपालमा ‘भिआइपी’ र ‘भिभिआइपी’ भनाउँदा राजस्वजीवीहरूलाई सिध्याउन सक्छन्। ब्रिटेनका युवराज चाल्र्सलाई कोरोनाले छोएझैँ ठुल्ठूला महलमा पनि विदेशीले उत्पात मच्चाउन  सक्छन्। यस्तै केही सूचना पाएर होला, राष्ट्रिय सुरक्षाका पहरेदारहरूले प्रधानमन्त्री केपी ओली नै खतरामा छन् भनेर रिपोर्ट दिएको मिडियामा आइसकेको छ। मदन भण्डारीको रहस्यमय मृत्यु षड्यन्त्रकै एउटा आयाम थियो।

पञ्चायतकाल (२०२८ साल) मा नेपालले कुनै पनि विदेशीलाई हिमाली जिल्लाहरूमा प्रवेश गर्न नदिने निर्णय थियो। अहिले ती क्षेत्र कलकत्ताको माछा बजार जस्तो देखिन्छ। पर्वतारोहण, घुमफिर, अध्ययन आदि बहानामा विदेशी गुप्तचर धेरै ठाउँमा छरिएका छन्।  

केही सूचना पाएर होला, राष्ट्रिय सुरक्षाका पहरेदारहरूले प्रधानमन्त्री केपी ओली नै खतरामा छन् भनेर रिपोर्ट दिएको कुरा मिडियामा आइसकेको छ।

युरोपमा चलेको ‘तीस वर्षे युद्ध’ तथा ब्रिटेनको गृहयुद्धपछि राष्ट्रिय सुरक्षाबारे गहन अध्ययन सुरु भयो पश्चिमी राष्ट्रमा। सम्राट, राजा, पोप आदिका फौज नै समस्या बन्दै गए। दार्शनिक इमान्युअल कान्ट जस्ता प्राज्ञिक व्यक्तिले राष्ट्र सुरक्षाका लागि सयौँ वर्षपछिसम्मको अवस्था अध्ययन गरेर चुनौती र सम्भावनाको मीमांसा गर्नुपर्छ भन्दै सचेत गराए। चीनका सुन जु तथा कन्फ्युसियस जस्ता गुरुले त्यस्तै तर्क गरेका छन्।  

नेपाल आज बारुदको ओछ्यानमाथि छ। राजनीति गर्नेहरू ससाना केटाकेटीझैँ ओछ्यानमाथि उफ्रिरहेका छन्। राष्ट्र संकटमा भए पनि पीर छैन। सत्ताको खीरमा मात्र ध्यान छ। जनता जुन स्तरका छन्, नेताको स्तर त्यस्तै हुन्छ। त्यसैले दोष नेताको मात्र छैन। राष्ट्रलाई यो अवस्थामा पु¥याउन जनताले पनि पटकपटक भुल गरेका छन्। बढी दोष नायककै हुन्छ। शुक्राचार्यले भनेका छन्– जहाँ पापी राजा हुन्छन्, जनता (प्रजा) पनि अधर्मी नै हुन्छन्। (महापापी यत्र राजा तत्राधर्मपरो जनः।)

एउटा नायकले अठोट गरेर गलत काम नगरे राष्ट्रको मुहार उज्यालो हुन्छ। ससाना चिया दोकानमा खाजा खाइरहेका केही सिपाही भन्दै थिए– शान्ति सेनामा जाने पालो मिचेर पहिले कतिपय जर्सापहरूले मनपरि गरे। पूर्णचन्द्र थापा चिफसाप भएपछि उनले पालो नमिचिने व्यवस्था गरिदिए। उनी जस्तै सबैले निस्वार्थ काम गरेको भए चित्त दुख्ने थिएन।

नायकलाई उनी मातहतका मानिसले मूल्यांकन गर्ने नै सत्कर्मले हो। प्रधानसेनापति थापाका पनि कमजोरी होलान् तर नेपाली सेनालाई तिखारिराख्न सके भने इतिहासले उनको उच्च मूल्यांकन गर्नेछ। सिपाहीहरूको कुरा सुन्दा उनीहरू ढुक्क देखिन्थे, थापाप्रति। बारुदमाथि बाँचेको नेपालमा सेनाभित्र भाँडभैलो गराउने प्रयास आज पनि भइरहेकै छ। कहिलेकाहीँ भ्रष्ट, पराधीन र मिर जाफर प्रवृत्तिको राजनीतिक नेतृत्वले ‘कोर्टमार्सल’ गर्नुपर्नेलाई ‘फिल्ड मार्सल’ बनाइदिन्छ। निजामती र नेपाल प्रहरीमा झैँ राजनीति विषाणु फैलियो भने सेना अखण्ड, अभेद्य र अमत्र्य रहँदैन। तसर्थ, पोलिटिकल कोभिडबाट बचाउने दायित्व पनि सेनापतिकै हो।

शास्त्रमा भनिएको छ– चोर (भ्रष्ट, तस्कर) मिलेर राष्ट्रको नास गराउँछन्। राजा (राष्ट्रनायक) ले जनताको एकता बचाएर त्यस्ता तŒवबाट राष्ट्रलाई बचाउनुपर्छ।

भारतको दार्जिलिङ, ब्रिटेनको अक्सफोर्ड, अमेरिकाको हार्वर्ड तथा जापानस्थित टोकियो विश्वविद्यालयमा अध्ययन गरेका सुपुत्रलाई नेपालको कुनाकुना भ्रमण गराएर जनजीवन अध्ययन गराउने राजा महेन्द्रको सदिच्छा थियो। युवराज वीरेन्द्र विदेशबाट फर्केपछि महेन्द्रले ‘नेपाल बुझेनौ भने वास्तविकता बुझ्न सकिँदैन’ भन्दै पैदल भ्रमण गर्नुपर्छ भनेछन्।

राजा महेन्द्र तथा राजा वीरेन्द्रको निकट भएर काम गरेका पुराना राजनीतिज्ञ वेदानन्द झाले लेखेका छन्– मैले महेन्द्र सरकारमा बिन्ति गरेँ, सरकार, सैनिक पोशाक लगाएर आफँैले भारी बोकेर भोकभोकै हिँड्नुपर्ने विकट क्षेत्रमा युवराज सरकारलाई पठाइबक्सन्छ ? अन्याय हुन्न र सरकार ? राजा महेन्द्रले सम्झाएछन्– योग्य राजा त्यही हुन्छ, जसले जनताको पीरमर्का बुझेको हुन्छ। त्यसैले वीरेन्द्रले गाउँगाउँ घुमेर धरातलीय यथार्थ हेरुन्, बुझून् भन्ने म चाहन्छु।  

पिताको आज्ञा शिरोपर गर्दै वीरेन्द्र उनका माहिला भाइ ज्ञानेन्द्र र अंगरक्षकहरूसहित सैनिक पोशाकमा बिकट पहाड घुम्न गए। झुप्रामा बास बसे। मकै, भटमास ढिँडो गुन्द्रुक, मूला, सिस्नु सबै खाए। गाउँलेले सिपाहीको टोली ठानेर सत्य कुरा सुनाए। गलत काम गरेर जनतालाई सताउने कैयन् सरकारी कर्मचारीमाथि कार्बाही भयो।  

पिताको वचन शिरोधार्य गर्दै वीरेन्द्र राजा भएपछि हरेक वर्ष एक महिना विभिन्न विकास क्षेत्रमा गएर बस्न थाले। त्यसले पनि उनलाई जनताको अवस्था बुझ्न सजिलो भयो।

राजा वीरेन्द्रले छब्बीस वर्षको उमेरमा राष्ट्रको बागडोर सम्हालेपछि विभिन्न देशको भ्रमण गरे। अल्जेरियामा २०३० सालमा भएको असंलग्न राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रले दिएको भाषण सुनेपछि एक जना कूटनीतिज्ञले अन्तर्वार्तामा भनेका छन््–सर्वोच्च शिखर माउन्ट एभरेस्टको देशका राजा पनि उच्च व्यक्तित्व र विद्वता भएका रहेछन्।

राजा दल, गुट वा संकीर्ण चिन्तनबाट मुक्त साँच्चैका राष्ट्रनायक हुन्छन्। त्यसैले उनले त्यही स्तरको इज्जत पाउँछन्। विदेशीले हेप्ने साहस गर्दैनन्। पूर्वराष्ट्रपति रामवरण यादवले सार्वजनिकरूपमै बोलेका थिए– ‘म धनुषामा भैँसी चराएको मान्छे। राष्ट्रपति पदबाट बिदा भएपछि भैँसी चराउन जान्छु।’  

राजाको सोच फरक हुन्छ। गद्दीमा बसे पनि, नबसे पनि राष्ट्रकै बारेमा चिन्तन गरिरहन्छन् राजाहरू। सत्ताच्युत भएका राजाहरूका पुस्तकमा त्यसको प्रमाण पाइन्छ। चीनका अन्तिम सम्राट पु यीलाई कम्युनिस्ट शासकहरूले ‘विदेश गएर बस्नुहुन्छ ?’ भनेर सोध्दा उनले भनेका थिए– बरु म मेरै दरवारको फूल हेरचाह गर्ने माली भएर बस्छु, कतै जान्न।

राजा ज्ञानेन्द्र पनि भागेनन्। ‘जघन्य अपराध र भ्रष्टाचार’ गरेको प्रमाणित गर्न सकेनन् गणतन्त्रका नेतागणले। मोटो किताब निकालेर विदेशीका सम्पूर्ण करतुत र नेपाली राजनीतिमा सक्रिय सुपात्र–कुपात्रहरूलाई उनले केही महिनापछि निर्वस्त्र पार्ने निश्चित जस्तै छ। लाखौँ प्रति बिक्री हुन सक्ने ज्ञानेन्द्रको आत्मकथा एउटा लामो कालखण्डको ऐना बन्न सक्छ।

बारुदमाथि ओछ्यान लगाएर मोजमज्जा गर्ने हजारौँ स्वार्थीजनलाई त्यागेर जनताले राष्ट्र बचाउन निर्णायक संघर्ष गर्ने प्रवल सम्भावना बढेको छ। पूर्णरूपले विफल भइसकेको वर्तमान शासन प्रणाली अब संग्रहालयमा थन्किने निश्चित देखिन्छ। त्यसपछि के होला, समयले चाँडै बताउला।

प्रकाशित: २८ असार २०७७ ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App