राष्ट्र या राष्ट्रियताको विकासका लागि उद्योगधन्दा या व्यापार/वाणिज्यको जति महत्व हुन्छ कविताको पनि त्यत्तिकै महत्व हुन्छ। विश्वकै धनी र शक्तिशाली देश अमेरिकामा पनि यो कुरो महसुस गर्न दुई सय वर्ष लाग्यो। सन् १९६१ को जनवरी २० तारिखमा राष्ट्रपति जोनएफ केनेडीको सपथग्रहण समारोह हुँदा उनले प्रसिद्ध अमेरिकी कवि रबर्ट फ्रस्टलाई कविता वाचन गर्न निमन्त्रणा गरे। उनले पठाएको टेलिग्रामको जवाफमा रबर्ट फ्रस्टले लेखेका थिए– तिमी त्यो उमेरमा अमेरिकाको राष्ट्रपति पद सम्हाल्ने साहस गर्छौ भने मैले यो उमेरमा डिसीसम्म आउने साहस गर्नै प-यो। केनेडी अमेरिकाका सबैभन्दा कान्छो उमेर (करिब चौवालीस वर्ष) का राष्ट्रपति थिए। कवि फ्रस्ट त्यतिखेर पचासी वर्षका थिए। तैपनि उनी म्यासाचुसेट्स्बाट वासिंगटन डिसी गए र कविता वाचन गरे। त्यो एक प्रतीकात्मक घटना थियो। पछि राष्ट्रपति बिल क्लिन्टनको सपथग्रहण समारोहमा कवयित्री माया एन्जेलुले पनि कविता वाचन गरेकी थिइन्।
नेपालको कुरा गर्दा देवतामा पशुपतिनाथ, नेतामा पृथ्वीनारायण शाह र कविमा भानुभक्त आचार्यको नाम सुनेको छैन भने त्यसले नेपालको नाम सुनेको रहेनछ भन्नुपर्छ। ती नेपाली राष्ट्रियताका प्रतीक हुन्– धार्मिक÷सांस्कृतिक, राजनीतिक र भाषिक÷साहित्यिक। आज नेपाली स्वदेशमा मात्र होइन, नेपाल बाहिर पनि सयौँ देशमा गएर बसेका छन्, काम गरेका छन्। कति त भर्खर देश छाडेर बाहिर गएका छन्। घरको सम्झनाले नियास्रिएका पनि होलान्। यसरी स्वदेश सम्झिएर नियास्रिएको कुनै एक नेपालीले विदेशको कुनै सहरमा अरू दुई जना मानिस नेपाली भाषामा कुरा गरिरहेको सुन्यो भने ऊ खुसी भएर नजिक जान्छ र भन्छ– ‘म पनि नेपाली हुँ।’ अनि उनीहरू नजिक हुन्छन् र आत्मीयता अनुभव गर्छन्। चाहे ती अस्ट्रेलियामा होउन् चाहे जापान, कोरिया, ब्रुनाइ, सिंगापुर, मलेसिया, थाइल्यान्ड, चीन, भारत, बंगलादेश, पाकिस्तान, कुवेत, कतार, बहरेन, साउदी अरेबिया, इजरायल, फ्रान्स, जर्मनी, स्पेन, पोर्चुगल, बेलायत, क्यानडा वा अमेरिकामै किन नहोउन्। अहिले धेरै देशमा गैरआवासीय नेपालीको संस्था (एनआरएन) समेत बनेको छ। उनीहरूलाई एक÷अर्काको नजिक ल्याउने मुख्य कारक तत्व नेपाली भाषा हो र नेपालको माया हो। यसरी हेर्दा नेपाली भाषा र साहित्य, नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको माध्यम बनेको स्पष्ट देखिन्छ।
नेपाली वाङ्मय आज एउटा विशाल वटवृक्ष बनेको छ र यसको विकासमा नेपाली मातृभाषी बाहुन/छेत्रीको मात्र होइन, अन्य धेरै जातजातिको पनि ठूलो योगदानछ।
आज नेपाली भाषाको जुन अवस्था छ, त्यसको विकासको पहिलो कर्तृकारक भानुभक्त हुन्। सूर्यविक्रम ज्ञवाली (१९५५–२०४२) भन्नुहुन्थ्यो– दोस्रो विश्वयुद्धमा भाग लिन गएका नेपाली सैनिकहरू राति ब्यारेकमा भानुभक्तको रामायण पढ्थे। सुरुमा रामायण काठमाडौँ र नेपालका केही पहाडी जिल्लाका बाहुन क्षत्रीहरूले पढे होलान् तर पछिपछि आसाम, बर्मा, मलयातिरबाट फर्केका सैनिकहरूले त्यो रामायण घर ल्याए र नेपालका सबै जिल्लातिर फैलियो र धेरै लोकप्रिय पनि भयो। मेचीदेखि महाकालीसम्मका नेपालीले मात्र होइन, दार्जिलिङ, सिक्किम, आसाम र बर्मातिर समेत रामायण लोकप्रिय भयो। नेपालमा राणाशासन समाप्त हुनुअघि नै दार्जिलिङमा भानुभक्तको सालिकसमेत बन्यो संवत् २००६ साल (१८ जुन, १९४९) मा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) को पहलकदमीमा। त्यही ठाउँमा पछि २०५५ सालमा पूर्ण कदको सालिक स्थापित भएको छ। अहिले नेपालका विभिन्न सहरमा र नेपाल बाहिर पनि उनका सालिकहरू खडा गरिएका छन्। नेपालभित्र मात्र होइन, नेपाल बाहिर पनि भानु जयन्ती मनाइन्छ। भानुभक्त नेपाली राष्ट्रियताका प्रतीक बनेका छन्। उनको रामायण पुरानो भइकन पनि त्यसको लोकप्रियता कम भएको छैन, झन् बढेको देखिन्छ।
२०५५ सालमा म्युजिक नेपालले १३२ जना मानिसले वाचन गेरको रामायणको क्यासेट बनाएर नेपालभित्र बाहिर वितरण गरेको थियो। हालै आएर सरू गुरागाईंले सम्पूर्ण रामायणलाई एक्लै सुमधुर स्वरमा संगीतसहित वाचन गरेर युट्युबमा विमोचन गर्ने कुरा पनि सुनिएको छ। यसरी भानुभक्तको कृति संसारका कुनाकुनामा पुगेर बसेका नेपालीका लागि नयाँ प्रविधिमार्फत उपलब्ध हुनु खुसीको कुरा हो। त्यसले नेपाली जातिको विश्वव्यापी एकतालाई थप मजबुत बनाउनेछ। त्यसैलाई राष्ट्रियता भनिन्छ।
नेपाली राष्ट्र निर्माणको प्रक्रियामा भानुभक्तदेखि भूपी शेरचनसम्म अनेकानेक नेपाली कवि, कथाकार, उपन्यासकार, निबन्धकारहरूको योगदानबारे विचार गर्दा के देखिन्छ भने नेपाली वाङ्मय आज एउटा विशाल वटवृक्ष बनेको छ र यसको विकासमा नेपाली मातृभाषी बाहुन÷छेत्रीको मात्र होइन, अन्य धेरै जातजातिको पनि ठूलो योगदान छ। भानुभक्तअगाडि नै काठमाडौँ उपत्यकाका नेवार कवि सुन्दरानन्दले पनि नेपालीमा रामायण लेखेका थिए। तर भानुभक्त भने आधुनिक नेपाली भाषा र साहित्यको विकासको प्रस्थानविन्दु जस्तो भए र उनलाई आदिकवि पनि भनियो यद्यपि उनीभन्दा अगाडि केही कवि नभएका होइनन् तर तिनको प्रभाव भानुभक्तको जति देखिएन।
आज नेपालको राष्ट्रिय चेतना सशक्तरूपमा व्यक्त भएको देखिन्छ चाहे त्यो देशको सिमानाका विषयमा होस् वा वैदेशिक सहायताका विषयमा।
भानुभक्तभन्दा पछि त राष्ट्रिय स्तरका धेरै कवि÷लेखक भए– मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, लेखनाथ, पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे आदि जो नेपाली मातृभाषी थिए। तर गैरनेपाली मातृभाषी नेपाली लेखकहरूले पनि नेपाली राष्ट्रनिर्माणको यो महाअभियानमा ठूलो योगदान गरेका छन्। तीमध्ये केहीको मात्र नाम लिँदा पनि लामै सूची बन्छ– ऋद्धिबहादुर मल्ल, पारसमणि प्रधान, वैकुण्ठप्रसाद लाकौल, सत्यमोहन जोशी, केदारमान व्यथित, भवानी भिक्षु, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, रत्नध्वज जोशी, दमनराज तुलाधर, अलि मियाँ, शिवकुमार राई।
त्यसैगरी ओकिउयामा ग्वाइन, हरि श्रेष्ठ, गोविन्दबहादुर मल्ल गोठाले, लैनसिंह बाङ्देल, विजय मल्ल, वासु पासा, वीरेन्द्र सुब्बा, केशवलाल कर्माचार्य, इन्द्रबहादुर राई, काजीमान कन्दङ्वा, कवीन्द्रमान सिंह, धुस्वाँ सायमी, पासाङ गोपर्मा, मनबहादुर गुरुङ, ध्रुवकृष्ण दीप, राजनारायण प्रधान, शान्ता श्रेष्ठ, बुद्धकुमार मोक्तान, बमप्रसाद श्रेष्ठ, मदनमोहन मिश्र, उपेन्द्र श्रेष्ठ, वासु शशी, द्वारिका श्रेष्ठ, देवीचन्द्र श्रेष्ठ, पारिजात, युगेश्वर वर्मा, कुमार प्रधान, बैरागी काइँला, प्रेम थुलुङ, कृष्णभक्त श्रेष्ठ, गमनसिंह चामलिङ, पिटर जे कार्थक, कुमारबहादुर जोशी, तुलसी दिवस, पृथ्वी शेरचन, रामदयाल राकेश, परशु प्रधान, प्रेम शेर्पा विरोकी, तेजप्रकाश श्रेष्ठ, शैलेन्द्र साकार, मनबहादुर मुखिया, कृष्णभूषण बल, भागीरथी श्रेष्ठ, प्रेममान डंगोल, मोहन राई ‘दुखुन’, मदन राई, पवन चामलिङ, रमेश श्रेष्ठ, शैलेन्द्रकुमार सिंह, शंकरकुमार श्रेष्ठ, राजेश वान्तवा, अशेष मल्ल, वियोगी बुढाथोकी, अविनाश श्रेष्ठ, शान्तिकुमारी राई, शंकर सुब्बा फागो, विश्वविमोहन श्रेष्ठ, विजय वजिमय, सरुभक्त श्रेष्ठ, अनिता तुलाधर, प्रमोद प्रधान, कृष्ण प्रधान, भूपाल राई, ईश्वरकुमार श्रेष्ठ, कुमार तामाङ ‘यात्रु’ रमेश श्रेष्ठ, मोमिला जोशी आदि।
यी केही नाम घटराज भट्टराईको नेपाली लेखक कोश (२०५६) बाट लिइएका हुन्। त्यो कोश छापिएपछि प्रसिद्ध भएका युवा पुस्ताका कैयौँ लेखक पनि अवश्य होलान्। तिनको नाम यहाँ आएन। आधुनिक नेपाली राष्ट्रियताको अभिन्न अङ्ग बनेको वाङ्मयको निर्माणमा सबै जातजातिको योगदान छ भन्ने देखाउनु मात्र मेरो उद्देश्य हो। पृथ्वीनारायण शाह र भानुभक्त आचार्य नेपाली राष्ट्र निर्माण गर्ने अभियानका प्रमुख पात्र हुन् भने अहिले नेपालको राष्ट्रियताको नारा लगाउने युवा पुस्ता र अनेक विधामा कलम चलाउने लेखक कविहरू उहाँहरूकै आधुनिक अवतार हुन्।
आज नेपालको राष्ट्रिय चेतना सशक्तरूपमा व्यक्त भएको देखिन्छ चाहे त्यो देशको सिमानाका विषयमा होस् वा वैदेशिक सहायताका विषयमा। यत्ति हो कि त्यो चेतना केवल भावनामा मात्र सीमित नरहेर साँच्चै नै व्यावहारिक रचनात्मक क्रियाशीलता र पसिनामा परिणत होस्। नेपालमा सबै प्राकृतिक साधन स्रोत हुँदाहुँदै कामको खोजीमा नेपाली युवाले विदेशिन नपरोस्। साहित्य, राष्ट्रियता र विकासको त्रिगुणात्मक सम्बन्ध छ।
प्रकाशित: २१ असार २०७७ ०४:३१ आइतबार