१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

जीवजन्तुबाट कोरोना कहर

तस्बिर : दिपक राजवंशी

हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको उहान प्रान्तमा उत्पत्ति भई विश्वभर  महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड₋१९) वन्यजन्तुको मासुबाट  सुरु भएको तथ्य पत्ता लगाएको छ । वैज्ञानिकले पनि कोरोना भाइरस चमेरो प्रजातिको जीवमा रहेको र उक्त चमेरोबाट सालक हुँदै मानवमा सरेको दाबी गरेका छन् ।  

विश्व स्वास्थ्य संगठनले ७० प्रतिशत नयाँ भाइरस जनावरबाट फैलिएको बताएको छ, कोरोना भाइरस पनि वन्यजन्तुको मासुबाट फैलिएकोले मासु खरिद बिक्रीमा कडा प्रतिबन्ध लगाउन विश्व समुदायसमक्ष आग्रह गरेको छ । विश्वव्यापी रुपमा संक्रमण बढ्दै गएर मानिसको मृत्यु हुन थालेपछि विश्व स्वास्थ्य संगठनले ३० जनवरी २०२० मा स्वास्थ्य संकटकाल घोषणा गरेको थियो । विश्वका मानव जातिको जीवनरक्षाका दृष्टिले लगाइएको संकटकाल एवं वन्यजन्तुको मासु नखान र व्यापार नगर्न गरिएको यस आग्रहलाई निकै स्वागतयोग्य कदम मानिन्छ ।

हालसम्मको प्रकाशित तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ लाख २२ हजार २९२ रहेको छ । त्यसमध्ये २ लाख २८ हजार २७० जनाको मृत्यु भइसकेको र १० लाख ५ हजार ४४९ जनाको उपचार भएको तथ्य सार्वजनिक भएको छ । मानवजातिले प्राकृतिक निम र सीमाभन्दा बाहिर गएर प्रकृतिप्रदत्त जीवहरुको अनधिकृत रुपमा उपभोग गरेकैले यो विपत्ति निम्तिएको भन्नेमा कुनै शंका छैन ।

यस्तो भयावह स्थिति नियन्त्रणमा राख्ने हेतुले चीनले यस रोगको प्रकोपपछि २६ जनवरी २०२० देखि वन्यजन्तुको ओसारप्रसार र व्यापारका साथै तिनको मासु सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । कोरोना भाइरस नियन्त्रणको प्रसंगलाई लिएर विश्व स्वास्थ्य संगठनका प्रमुख डा। टेड्रोस एडहनामले भनेका छन्, जीवित जनावरको बिक्री हुने बजारलाई भोजन र स्वच्छताका सबै मापदण्ड कडाइका साथ पालना गरेपछि मात्र फेरि खोल्न दिनुपर्छ । उनको यो भनाइ पनि लागू गर् योग्य नै देखिन्छ ।

एक अध्ययन अनुसार विश्वभर २० करोड डलरभन्दा बढी वन्यजन्तु तस्करी  हुने गरेको छ । वन्यजन्तुका कुख्यात तस्करहरुले ठुला वन्यजन्तुको तस्करी र चोरी सिकार अनादिदेखि गर्दै आएको भन्ने सुनिँदै आएको छ र जानिएको पनि हो । वन्यजन्तु तस्करको जालो विश्वभर फैलिएको हुँदा  संगठित अपराधका रुपमा नेपालबाट तस्करी भइरहेछ, रोकिएको छैन । 

नेपालमै पनि उच्च घरानाका व्यक्ति, शासकवर्ग, उच्च पदस्थ कर्मचारीहरुले गुह्य रुपमा वन्यजन्तुको मासु उपभोग गरिरहेछन भन्ने सरकारबाहिरका संरक्षणविद्को भनाइ  छ । यसरी वन्यजन्तुको अवैध रुपमा तस्करी गर्ने र उपभोगको प्रक्रिया निरन्तर जारी रह्यो भने कुनै दिन नेपालमा मात्रै होइन, विश्व नै सखाफ हुने स्थिति आउँछ र निश्चित रुपमा पारिस्थितिक प्रणालीमा असन्तुलन देखा पर्नेछ ।

वन्यजन्तु तस्करहरुले मुलुकमा द्वन्द, अराजकता, राजनीतिक तरलता आदि अवस्थाको मौका छोपी एकसिंगे गैंडा, पाटेबाघ, जंगली हात्ती जस्ता दुर्लभ वन्यजन्तुको अवैध रुपमा चोरी सिकार र व्यापार गर्ने गर्छन् । तर साना वन्यजन्तुको जुनसुकै बेला चोरी सिकार गर्ने र व्यापार गर्ने क्रम भने रोकिएको छैन । नेपालबाट बर्सेनि  रेड पान्डाको छाला, सालकको खपटा, विभिन्न प्रजातिका जीवित चरा, मृगको छाला, भालुको पित्त, बाघको छाला, बँदेलको मासु, गैंडाको खाग, गौरीगाईकाे सिंग, कस्तूरी मृगको बीना आदि वन्यजन्तुका उपउत्पादन (वाईप्रडक्ट) को अवैध ओसारपसार तथा व्यापार गर्ने आपराधिक गिरोह अझै पनि सक्रिय  छ । यस्ता अवैध क्रियाकलाप नियन्त्रण गर्न सम्बन्धित निकायबाट मुद्दा दायर गर्ने बाहेक अन्य भरपर्दो प्रक्रिया अपनाउन सकेको देखिँदैन ।

वन्यजन्तुको अवैध चोरी सिकार तथा व्यापार नियन्त्रणका लागि अन्तर्राष्ट्रियस्तरमा साउथ एसियन वाइल्ड लाइफ इन्फोर्समेन्ट नेटवर्क र टास्क फोर्स जस्ता संयन्त्रहरुको गठन गरिएको छ । नेपालमा पनि बाघ संरक्षण समिति गठन, शून्य चोरी सिकार वर्ष घोषणा, वन्यजन्तु अपराध ब्युरो गठन, आधुनिक ड्रोन एवं कुकुरको परिचालन, महाहन्ट अपरेसन (भरपुर जनशक्ति र उपकरणसहितको गस्ती परिचालन) जस्ता नियन्त्रणका उपायहरु अपनाइएको छ । यसरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नियन्त्रणका प्रयास गरिए पनि चोरी सिकार र तस्करी गतिविधि अझै रोकिएको छैन ।

 वन्यजन्तुको अवैध चोरी सिकारी तथा तस्करीमा कमी हुँदै गएको भनी राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष विभागबाट दाबी गरिए पनि चोरी सिकारी गर्ने गिरोहको जबसम्म अन्तर्राष्ट्रिय सञ्जाल रहिरहन्छ, तबसम्म यो अवैध गतिविधि रोकिँदैन  । कोरोना भाइरसले निम्त्याएको संक्रमणकालीन अवस्थामा पनि ती अपराधीहरुबाट तस्करी हुन सक्ने हुँदा सम्बन्धित पक्ष बेलैमा निकै चनाखो हुनुपर्ने देखिन्छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ९पाँचौं संशधन०को दफा ५ ९१ ० (क) अनुसार अधिकारप्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुन्ज तथा आरक्षभित्र वन्यजन्तुको सिकार गर्न वा आखेटोपहार ओसारपसार गर्न निषेध गरेको छ । त्यसैगरी, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐनमा दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा सोको नमुनाको कारोबार वा व्यापार गर्न वा गराउन नहुने उल्लेख छ । 

तर, सो ऐनहरुको बर्खिलाप गरी मुट्ठीभरका तस्करहरुले नेपालबाट मुख्य रुपमा बाघ, गैंडा, हिउँचितुवा, ध्वाँसे चितुवा, कस्तूरी मृग, सालक, रेडपान्डा, हिमाली कालोभालु, काठेभालु आदि वन्यजन्तुको अवैध चोरी सिकारी तथा व्यापार गरिरहेका छन् । यी वन्यजन्तुहरु साइटिसको अनुसूची १ मा सूचीबद्ध छन् । जसलाई कानुनबमोजिम बेचबिखन र ओसारपसारमा पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन र साइटिस महासन्धिअनुसार संरक्षित भनिएका अर्थात् संकटापन्न अवस्थाका उपरोक्त वन्यजन्तुहरुमध्ये सालक प्रजातिबाट मानिसमा कोरोना सारेको भन्ने वैज्ञानिकहरुको मतैक्य रहेको छ । सालक व्यापारको दृष्टिले विश्वको सबैभन्दा बढी कारोबार र तस्करी हुने प्राणी हो, चमेरोबाट त्यही सालकमा कोरोना संक्रमण हुँदै मानिसमा सरेको हो । त्यसैले, मानिसमा सालकबाट कोरोना सरेको भन्ने कुराको तत्काल अखबार, समाचार, चेतनामूलक कार्यक्रममार्फत् जानकारी गराउन ढिला भइसकेको छ । त्यसजीवको पालन तथा प्रजनन नीति, रणनीति एवं कार्यविधि बनाई तत्काल संरक्षण र रेखदेख पुर्याउनुपर्ने आवश्यक देखिएको छ ।

मानिसबाट मानिसमा संक्रमित भइरहेको सांघातिक खालको कोरोना भाइरसको जीवाणु वन्यजन्तुमा हुँदो रहेछ भन्ने कुरा पत्ता लगाउनुअघि मुसा जातिमा प्लेग, चरा प्रजातिमा बर्ड फ्लु, बँदेल प्रजातिमा स्वाइन फ्लु जस्ता सूक्ष्म जीवाणुहरु रहेको प्रमाणित भइसकेको छ । वन्यजीवबाट मानिसमा जीवाणुजन्य रोगको संक्रमण हुन्छ भन्ने जान्दा जान्दै पनि चीनमा सालकको आलो मासुको असावधानीपूर्वकको उपयोगले गर्दा अहिले मानवजातिको इतिहासमा सबैभन्दा दुस्खान्त परिस्थिति भोग्नुपरिरहेको छ । विगतका दिनहरुमा ती रोगहरुको प्रकोप मानव प्राणीले सहेकै हो र तिनलाई जितेको पनि हो  । 

 विश्वका हामी मानव जातिले अबका कुनै दिनमा वन्य जीवजन्तुको अंगप्रत्यंग उपयोग गर्नेछैनौं भनी प्रण गरेमा कोरोना भाइरसलगायतका वन्यजन्तुबाट सर्ने कुनै पनि रोगलाई अवश्य जितिनेछ ।

मानिसको बाँच्ने आधार भनेको वरिपरिको वातावरण हो, मानिसले सोही वातावरणबाट खाद्यान्न, पानी, इन्धन, अक्सिजन जस्ता तत्त्वहरु निरन्तर उपभोग गरिरहेको हुन्छ ।  मानव जातिको असीम चाहनालाई पृथ्वीको सीमित साधनस्रोतले थेग्न सक्दैन, यो कुरा सुनिश्चित नै छ । तसर्थ, प्राकृतिक वस्तुको दिगो उपयोग गर्नु जरुरी छ । दिगो उपयोग भनेको वर्तमान पुस्ताले उपभोग गर्दैआएका प्राकृतिक साधनस्रोतहरु सोही परिमाण र अवस्थामा भावी पुस्ताले उपभोग गर्न पाउने हो । त्यसैले, पृथ्वीमा वर्तमानमा उपलब्ध प्राकृतिक वस्तुको उचित र प्रभावकारी संरक्षण एवं संवर्धनसँगै प्रभावकारी व्यवस्थापन गर्नु नितान्त आवश्यक छ ।

मानवद्वारा सिर्जित अवैध क्रियाकलापका कारण पारिस्थितिक प्रणालीमा असन्तुलन आएको कुरामा निर्विवाद छ, यो कुरा विश्वका वातावरणविद्ले पुष्टि गरेका छन् । प्राकृतिक अवस्थामा रहेका जैविक तथा अजैविक वस्तुहरुको लापरवाहीपूर्वक प्रयोगबाटै वातावरणमा दखल पुगेको हो ।

हाम्रै असावधानीले कोरोना भाइरस जस्ता अनेक खालका रोगहरुको उत्पत्ति र संक्रमण फैलिरहेको छ र त्यसको हरेक कालखण्डमा सामना पनि गरिरहनुपरेको छ । प्राकृतिक न्यायको सिद्धान्तले प्रकृतिमा सृष्टि भएका हरेक प्राणीको अस्तित्व समान रहेको बताउँछ त्यसैले वन्य जीवजन्तुको हिंसा गर्नुहुँदैन । वन्य जीवजनतुको अनधिकृत उपयोगले पारिस्थितिक प्रणालीमा असन्तुलन ल्याउँछ । यसको सर्वश्रेष्ठ र प्रभावकारी उपाय भनेको नै प्राकृत वस्तुको व्यवस्थित र दिगो उपयोग हो । यस दिशातर्फ सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App