१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विचार

अचानामा नेपाली भाषा

काठको काम गर्नेलाई सिकर्मी, गाह्रो लगाउनेलाई डकर्मी भनिएजस्तै भाषाको काम गर्ने भाषाकर्मी भन्नु उचित हुन्छ। कर्मको कलाकार भएकाले कर्मीले आफ्नो काम र कलाको खुब माया र सम्मान गर्छ भनिन्छ। नेपालका मानवअधिकारकर्मीलाई हेर्दा त्यस्तै लाग्छ। उनीहरू आफ्नो अधिकारको जति माया अरू कसको गर्छन् र? नेपाली भाषाकर्मीका हकमा भने यो सूत्र उल्टो हुन्छ। नेपाली भाषाकर्मीको आधिकारिकताका दाबेदारबाटै नेपाली भाषा पीडित छ। गुनासो कहाँ र कसलाई गर्नु र?
नेपालको सम्पर्क भाषा नेपाली हो। सम्पर्क भाषा हुनाले अन्य नेपाली राष्ट्रिय भाषाबीच सम्बन्धसूत्र भाषा पनि यही हो। यसो हुँदा सार्वजनिक र सामाजिक क्षेत्रका कामकारबाही यसबाट गर्नुपर्ने व्यावहारिक अनिवार्यता छ। अध्येता, शिक्षक, विज्ञप्राज्ञ, सरकारी कर्मचारी, लेखक, सम्पादक, वकिल र न्यायअधिकारीहरू भाषाका माध्यमबाट काम गर्छन्। अनि, नेपाली भाषा तिनकै प्रहारको सिकार हुन पुग्छ।
मुख्य प्रहार विधिनिर्माता र व्याख्याता भाषाकर्मीबाट भएको रहेछ। मुलुकको संविधानले नै भाषाको पनि मान्यता हो। हाम्रो संविधानले पनि देवानागरी लिपिमा लेखिएको नेपाली भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको छ। 'सरकारी' कामकाजमा नपर्ने भएर होला, अचेल सर्वोच्च अदालत र अन्य अदालतका विशेष फैसलाका पाठ आधासरो देवनागरीमा नेपाली, आधासरो रोमन लिपिमा अंग्रेजी भाषामा लेखिएका पाइन्छन्।
कामचाहिँ अन्य भाषा बोल्नेबीच सम्पर्क र सामाजिक तथा सार्वजनिक जीवनका सबै व्यवहारका लागि गर्ने संवैधानिक हैसियतचाहिँ किन 'सरकारी' कामकाजमा सीमित? संविधानले नै भन्नुपर्ने होइन : 'देवनागरी लिपिमा नेपाली भाषा सार्वजनिक कामकाज, सम्पर्क र अभिलेखको भाषा हो'। संविधान र थुप्रै कानुनमा लेखिएको छ : 'प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि, प्रचलित कानुनअनुसार' आदि। नेपालीको मामुली पाठक म झुक्किन्छु र निचोडमा पुग्छु : कानुन प्रचलित र अप्रचलित गरी दुई प्रकारका हुँदा रहेछन्। होइन भने कानुनलाई 'प्रचलित' भन्ने विशेषणको फुँदा किन भिराइदिनुपर्ने?
नेपालीका ध्वनि, वर्ण, शब्द, वाक्य, अनुच्छेद, संकथन र अर्थका भाषावैज्ञानिक नाम दिने र मान्यताका अधिकारी भनेका नेपाली भाषाका प्राज्ञ र प्राध्यापक हुन्। नेपाली भाषाको शब्दहरूको स्रोत तिनले तत्सम, तद्भव र आगन्तुक भनेर वर्गीकरण गरेका छन्। प्रकृतिको अनुकरण गर्दै नेपालीमै उब्जेका अनुकरित (अनुकरणात्मक भनिँदै आएका) र जन्मसिद्ध झर्रा शब्दलाई मुख्य स्रोत मानेर पढ्ने, पढाउने चलन कमै छ। नेपाली भाषाको पहिलो शब्दस्रोत अनुकृत र झर्रा शब्द हुन्। यिनलाई नेपालीका जन्मजात शब्द नाम दिनु उपयुक्त हुन्छ। यस्तो नाम पाएर ठ्वाक्क, प्वाक्क, गाँठे, रेला, खातेजस्ता शब्दलाई पहिलो शब्दस्रोत कहिले मान्न थालिएला?
संस्कृत भाषाबाट तत्सम र तद्भवका रूपमा नेपालीकरण भएबाहेक अन्य भाषाबाट आएका सबै शब्दलाई आगन्तुकमा राखिएको छ। संस्कृतबाट नेपालकै भोटबर्मेली परिवारको अर्को राष्ट्रिय भाषाभित्र गएर रतिएर फेरि नेपालीमा आइपुगेका 'निगार' (निक्षार), दुर्खा (दुग्धखुवा) वा अर्को नेपाली राष्ट्रिय भाषाबाट नेपालीमा भित्रिएका चुकुल, छुर्पी, टोलुङ, जाँड, रक्सी, पारपाचुके, ज्याबल, खल जस्ता पौल शब्दहरू नेपाली भाषाका शब्द हुन्। यस्तै संस्कृतबाट मैथिली वा भोजपुरी हुँदै भित्रिएका फर्सा, छौँडाजस्ता शब्द कुन खालका? यी नेपाली भाषामा सम्मिलित शब्द हुन्। तर, यिनलाई आगन्तुक शब्द भनेर पढाइन्छ बुझाइन्छ। आगन्तुक भनेको पाहुना हो, फर्केर जान्छन्। जन्म रैथाने, जीवन रैथाने रहनसहन सबै रैथाने रहेका शब्द आगन्तुक कसरी भए? नेपाली माटोमै जन्मे हुर्केका यिनलाई 'सम्मिलित' वा 'सहजात' शब्द भनेर नामकरण गर्ने चेत खुल्ला त कतै!
नेपाली शब्दमा धनी हुनाको कारण उर्दू, फारसी, अरबी, अंग्रेजी आदि भाषाबाट थुप्रै शब्द आर्जिएर भित्रिनु पनि हो। दुई, अढाई सय वर्षदेखि भित्रिँदै उजुरको सुनवाइ गर्दै निसाफ दिँदै आएका 'मुद्दा' र 'अदालत' शब्दहरू पुस्ताका हिसाबले दस पुस्ताभन्दा बढी नेपालीले चलन गर्दै आएका शब्द हुन्। यस्ता अन्त जन्मे पनि नेपाली भाषामा रसाएरै मिलिसकेका शब्दको नामचाहिँ 'आगन्तुक'? नेपालमा आएर १५ वर्ष बसोबास गरेपछि कुनै विदेशी नेपाली नागरिकता पाउन योग्य हुन्छ र उसलाई अंगीकृत नागरिकता दिन राज्य राजी हुन्छ। वर्षौँवर्ष नेपालीमै भिजेर दुनियाँलाई निसाफ दिँदै आएका यी शब्दचाहिँ अझै आगन्तुक? विदेशबाट कमाइल्याएको रेमिटेन्सलाई विप्रेषणजस्तो सुन्दर सम्बोधन गर्ने हामीले पुर्खाले आर्जेर ल्याई ब्याजको स्याज ख्वाइसकेका यस्ता शब्दलाई हामीले किने विप्रेषित शब्द भन्न नसक्ने? जन्मसिद्ध र वंशज नमाने पनि 'अंगीकृत', 'वरित' 'आप्तगृहीत' वा 'विप्रेषित' शब्दको नाम दिँदा यी भाषाशास्त्रीको के खोटिने वा गुम्ने हो?
प्रयोगमा दुरुपयोग गरेर भाषामाथि प्रहार गर्नेमा न्याय अधिकारी, वकिल र पत्रकार पहिलो लाइनमा छन्। न्यायकर्ता आफूलाई न्यायाधीश भनिदिएकोमा गौरव गर्छन्। मान्छे कतै भगवान् होस् भनिदिँदा मख्ख पर्छ भने न्यायकर्ता हो। मानिसले न्याय सम्पादन गर्न सक्छ तर भगवान् नै बनिहाल्न सक्दैन। न्यायाधीश भनेको चाहिँ न्यायको भगवान् हुनाले तिनको वाणी यसै देववाणी हुने भइहाल्यो। त्यसैले फसेलामा लेख्छन् 'ठहरेको नठहर्ने वादीका नुनबेबसाईको बहससँग यस इजलास सहमत हुन सकेन। नठहर्ने ठहर्छ भन्न मिलेन'। मानौँ, निष्कर्ष के हो भन्ने अस्पष्ट हुनु र वर्णविन्यास र व्याकरणका नियम मिचेर लेख्नु बोल्नु नै न्याय हो, अदालती भाषाको चामत्कारिकता हो।
हाम्रा वकिलचाहिँ तिनै न्यायाधीशसँग बहस प्रस्तुत गर्छन् : 'मृतकले गरेको प्रहारको पीडाले रन्थनिएपछि प्रतिवादीले प्रतिकार गर्दा मृतक घाइते भएपछि अस्पताल लाँदालाँदै निजको मृत्यु भएको मिसिलमा देखिन्छ'। लास हिँडेको कथालाई के झूटो भन्नु, मृतकले प्रहार गर्ने कुरा वकिलले बहस गरेपछि, मिसिल भनेको ऐना हो र त्यहाँ मृत्यु भएको देखिनु? ठीक साँचो, अनुसन्धान तहकिकात, प्रतिनिधि वारेस, मनोमान राजीनामा, राजीखुसी इच्छापत्र, जबरजस्ती करकाप, सडक, बाटो, असुल, उपरजस्ता समानार्थी शब्दको अनुचित बहुआवृत्ति त नेपाली कानुनी वा अदालती भाषाको विशिष्टता हो भनेर वकिलहरू गौरवै गरिहाल्छन्।
सञ्चारकर्मी पत्रकारको भूमिका त्यस्तै छ। नेपालीमा आरोप लाउनेलाई 'आरोपी' र आरोप लागेकोलाई 'आरोपित' भनिन्छ। तर, पत्रिकामा पढ्न पाइन्छ, रेडियो वा टेलिभिजनमा सुनिन्छ, प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेको छैन। अर्थ लाग्छ : प्रहरीको काम जाहेरवालालाई पक्रने र थुन्ने हो, त्यसैले आरोपीलाई पक्रनुपर्थ्यो। बन्द वा हड्ताल लोकतान्त्रिक नेपालको विशेषता नै भयो। बन्द प्रायः भइरहन्छ। बन्द सकिएर यातायात चल्न थालेपछि पत्रिका लेख्न थाल्छ : यातायात सुचारु, एफएम फलाक्न थाल्छ, यातायात सुचारु। 'सुचारु' को अर्थ हो : अति सुन्दर। गाडी चलेपछि अति सुन्दर भन्ने थेको यसै आउने पो हो कि यी भाषाकर्मीलाई? बन्द भएको यातायात फेरि चल्यो भन्न खोजेको भए 'यातायात पुनःचालु' वा 'यातायात सुचालु' लेख्नु वा भन्नुपर्ने होइन र? पत्रिकाका समाचार वा अन्तरवार्ताहरूको शीर्षक उस्तै हुन्छन्। केही समयअघि एउटा अन्तर्वार्ताको शीर्षक थियो : 'शान्ति र संविधानका लागि अन्तिम सरकार यही हो'। भित्र पाठमा अन्तर्वार्ता दाताले दाबी गरेको कुरो त ठीकै थियो। उनले अहिलेकै सरकारले शान्ति र संविधान निर्माणको काम तुर्छ भनेका थिए। सम्पादकले चाहिँ त्यसैलाई उद्धरण बनाएर माथि उद्धृत शीर्षक दिएका थिए। अर्थ आयो : मानौँ यस सरकारपछि शान्ति र संविधान भन्ने कुरा बाँकी नै रहँदैनन्। होला त त्यस्तो कुरा? यो, भाषाकर्मीले भाषामाथि गरेको प्रहार, उपहास र जथाभावी नभए के हो?

प्रकाशित: १५ चैत्र २०६८ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %