राष्ट्रको ध्यान एमालेमाथि केन्द्रित छ र एमालेले शान्ति, संविधान र राज्य पुनःसंरचनाका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरी राष्ट्रलाई सहमति, एकता र अखण्डताको दिशामा उन्मुख गराउने अपेक्षा गरिएको छ। यसैले यो बैठक दुई महाधिवेशनपछि आयोजना गरिने जम्बोरी र पार्टीको आन्तरिक संगठनात्मक कामका रूपमा सीमित हुनुहुँदैन।
समस्या नेतृत्वमै थियो र छँदैछ ।
एमालेको विशाल कार्यकर्ता पंक्ति लोभलाग्दो छ। लामो संघर्ष, नियमित जनकार्य, सामाजिक उत्तरदायित्व र जिम्मेवारीबोधका दृष्टिले तथा सैद्धान्तिक-वैचारिकस्तर, जनकार्य र जनसंघर्षका यावत् आयाममा एमाले पंक्तिको शक्ति, हैसियत र सामर्थ्यसँग प्रतिस्पर्धा गर्नसक्ने कार्यकर्ता अरू पार्टीमा छैनन्। अर्कातिर, एमालेमा अहिले मदन भण्डारी हुनुहुन्न। मनमोहन अधिकारी पनि हुनुहुन्न। तत्काल कुनै नेता विशेषबाट त्यो अभाव पूर्ति भइहाल्ने अवस्था पनि छैन। हुन त दुई/दुई जना पूर्व प्रधानमन्त्री, बहालवाला सभामुख, तीन/तीन जना पूर्व उपप्रधानमन्त्री, परराष्ट्रट र गृहमन्त्रीलगायत राज्य सञ्चालनको अनुभव भएका नेताको पनि एमालेमा अभाव छैन। तर नेता र राजनेताको अर्थ र भूमिका धेरै फरक हुँदोरहेछ। सामूहिक नेतृत्वको आधारमा झापा विद्रोहको सानो झिल्कोलाई मेची-महाकाली फैलाएर राष्ट्रिय राजनीतिमा प्रबल भूमिका स्थापित गरेको एमालेले नेतृत्वमा एउटै प्राधिकार स्थापित गरेर चमत्कार देखाइहाल्ने अवस्था पनि देखिंदैन।
अर्कातिर, एमालेका पाँचजना नेता झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओली, वामदेव गौतम र ईश्वर पोखरेलबीच हाल विद्यमान पदको भूमिका एवम् जिम्मेवारीअनुरुप मात्र होइन, पार्टी र राष्ट्रको सफल नेतृत्व गर्ने उद्देश्यमा आधारित एकता, सहमति र सामूहिक नेतृत्वको भावनामात्रै कायम हुने हो भने नेतृत्व संकट सहजै अन्त्य हुनेछ। व्यक्तिका रूपमा अध्यक्ष खनालको चिन्तनशील सैद्धान्तिक राजनीतिक छवि र व्यक्तित्व, वरिष्ठ नेता नेपालको सक्रियता, भौतिक गतिशीलता र व्यक्तिगत सम्पर्क-सम्बन्ध, नेता ओलीको वाक्पटुता र तर्क क्षमता, उपाध्यक्ष गौतमको आँट, हिम्मत र साहस तथा महासचिव पोखरेलको मेची-महाकाली मुस्ताड.-मर्चवार र युरोप-अमेरिका-जापान जहाँसुकैको पार्टी सञ्जाल एवम् तिनमा आबद्ध नेताकार्यकर्तालाई व्यक्तिगत क्षमता र विकासको सम्भावनासमेतको आधारमा बुझेर तदनुरुप परिचालन गर्नसक्ने संगठनात्मक सामर्थ्य, अझ सिंगो संगठनमा आँखा घुमाएर नियन्त्रण गर्नसक्ने सामर्थ्यको योगफल नै एमालेको नेतृत्वको आधारशीला रहेको छ। उल्लिखित हरेक नेताको पछिपछि यस्ता तमाम विशेषता र क्षमता युक्त युवा नेतृत्व हुर्किरहेको पनि छ।
तैपनि, हरेक महाधिवेशन पार्टीका निम्ति संकट बनेर आउने गरेको छ। छैठौं महाधिवेशनमा त एमाले विभाजनबाट जोगिनसमेत सकेन। पाँचौँ महाधिवेशनको सैद्धान्तिक/वैचारिक दिशाबोध सही थियो तर सातौं र आठौं महाधिवेशनले दुनियाँसामु राम्रा दृष्टान्त प्रस्तुत गरे पनि पार्टीको विभाजन नभएकोमै खुसी मान्नुपर्ने अवस्था रह्यो। स्पष्ट छ, एमालेको समस्या नेतृत्वपंक्ति र माथि छ र अझै पनि छ। तर नेताहरूले सानो प्रयत्न गरे पनि पार्टीले धेरै उत्साह र ऊर्जा प्राप्त गर्दोरहेछ भन्ने पछिल्ला दिनहरूमा एमालेमा भएको एकताको पहल र प्रभावले देखाएको छ। प्रमुख दलहरूलाई आन्तरिक खिचातानी र विवादको स्थितिबाट मुक्त गर्ने कामको अगुवाइ गत मंसीरयता अध्यक्ष खनालले गरिरहनुभएको छ। त्यसको लाभ झन्डै विभाजनको स्थितिमा पुगेको माओवादी र केन्द्रीय सदस्यबाटै राजीनामा दिई नेताको व्यक्तिगत संवादहीनतामा पुगिसकेको नेपाली कांगे्रसले समेत पाएका छन्। पार्टीका नेताहरू मुलुकलाई सामूहिक नेतृत्वको सामर्थ्यसहित अघि बढाउन अग्रसर हुँदा अझ कति राम्रो हुन्थ्यो होला? यसको हेक्का गरेर मूलतः नेतृत्वका प्रमुख व्यक्तित्वहरूले मन, भावना र गला मिलाउँदै राष्ट्रमा नयाँ मूल्य, मान्यता र पद्धति बसाल्न अग्रसर हुनुपर्ने देखिएको छ। यो अपेक्षा मूलतः एमालेको नेतृत्वतहबाट गरिएको छ।
राष्ट्रिय प्रतिनिधि परिषद्को दायित्व
चालिस वर्षअघि झापाको सुखानीमा पाँच योद्धाले आत्मोत्सर्ग गरेको ऐतिहासिक दिन काठमाडौंको खुलामञ्चमा जनसमुदायको विशाल उपस्थितिबीच उद्घाटित एमालेकोे राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकले सामान्य स्थितिमा पार्टीको आन्तरिक जीवन, केन्द्रीय कमिटीका निर्णय र कामको समीक्षा तथा बाँकी अवधिमा पार्टीको नेतृृत्वलाई ठोस मार्गनिर्देशन मात्रै गर्ने हो। तर यतिबेलाको स्थिति सामान्य मात्र होइन। बैठकको बन्दसत्रमा अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको संगठनात्मक प्रतिवेदन, अनुशासन र लेखा आयोगका प्रतिवेदन र आर्थिक विभागको प्रतिवेदन प्रस्तुत भएर तिनमाथि ११ वटा समूहमा व्यापक बहस र छलफल भइरहेको छ। विद्यमान मौलिक विशेषताअनुरूप मुलुकलाई शासकीय स्वरूप दिन, प्रतिस्पर्धा गरी श्रेष्ठता हासिल गर्नसक्ने उन्नत परिवेश निर्माण गर्न, जातीय/क्षेत्रीय वा अन्य अग्राधिकार वा भँँाडभैलो र गृहयुद्धको चपेटामा फस्नबाट जोगाएर वैज्ञानिक, आधुनिक, सभ्य र मानवीय संघीय संरचना तयार गर्ने कामको नेतृत्व गरेर मुलुकलाई नेतृत्व गर्न, तदनुरुप दिशाबोध गर्ने पहल गर्न र विद्यमान भ्रमको भुमरीबाट मुलुकलाई मुक्त गर्न एमाले सक्षम हुन्छ कि हुँदैन? देशका सामान्य नागरिकले भने एमालेलाई भनिरहेका छन् - शान्ति प्रक्रिया, संविधान निर्माण र राज्यको पुनःसंरचनाका प्रश्नमा मुलुकलाई स्पष्ट दिशानिर्देश गर्ने काम होस्, अरू केही चाहिँदैन।
यी प्रश्नको योग्यतापूर्वक समाधान गरेर एमालेले सिंगो कम्युनिस्ट आन्दोलन र राष्ट्रको दायित्व बहन गर्न सक्छ कि सक्दैन भन्ने आजको मूल प्रश्न हो। चुनौतीले अवसर, प्रश्नले उत्तर, संकटले समाधान सँगसँगै ल्याइरहेको हुन्छ। इतिहासको यस्तै परीक्षामा खरो उत्रिनु र चुनौती सामना गर्नु राजनीतिक दल र त्यसको अगुवापंक्तिको जिम्मेवारी हो। त्यसो गर्न सक्ने हो भने एमालेको भविष्यलाई कसैले तलमाथि गर्न सक्दैन। यसको हेक्का परिषद् बैठकमा सहभागी प्रतिनिधिहरुले गर्नसक्नुपर्छ। तबमात्रै मुलुकलाई अघि बढाउन हामीले थोरैमात्र भए पनि कर्तव्य पूरा गरेको ठहरिनेछ।
हामीले योग्यता, क्षमता र हैसियत प्रदर्शन गरेर पार्टी र नेताहरूलाई भावनात्मकरूपमै एकताबद्ध गर्ने तथा मुलुकलाई एकता र समृद्धिको स्पष्ट दिशामा बढाउने यो अपूर्व अवसर हो।
लेखक एमाले प्रचार विभाग सचिव हुन्।
प्रकाशित: २३ फाल्गुन २०६८ २३:५५ मंगलबार

