केही सातायता विश्वका चिन्तक कोभिड–१९ महामारी पछिको विश्व संरचना, शक्ति राष्ट्र बीचको सम्बन्ध, नयाँ बन्न सक्ने ध्रुवीकरण र वर्तमान विश्व व्यवस्थाको औचित्यबारे विश्लेषण, चिन्ता र चिन्तनमा केन्द्रित भएका छन्।
अमेरिका–चीन सम्बन्धमा आउन सक्ने नयाँ शीतयुद्धको खतरा र त्यसले बढाउन सक्ने विश्वव्यापी ध्रुवीकरण पनि बहसको केन्द्रमा छ। साथै विश्वव्यापीकरणको वर्तमान स्वरूप र प्रवृत्तिले पश्चगामी एवं अनुदारवादी धार वहन गर्न सक्नेतर्फ चिन्तक उत्तिकै चिन्तित छन्।
महामारीका बाबजुद राजनीतिक–आर्थिक योजनाका हिसाबले चीनको महत्वपूर्ण वर्ष हो, सन् २०२०। आफ्नो ‘दुई शताब्दी’ लक्ष्य अनुसार चीनले यस वर्षको अन्त्यबाट गरिबीलाई इतिहास बनाउँदै छ। पहिलेदेखि कार्यान्वयन भइरहेको कार्यक्रम भएकाले चीनलाई यो लक्ष्य हासिल गर्न अप्ठेरो पक्कै छैन। तर, कोभिड–१९ ले सिर्जना गरेको जटिलता र भविष्यमा पार्न सक्ने अप्ठेरोलाई लिएर चिनियाँ नेतृत्व गम्भीर गृहकार्यमा लागिपरेको पाइएको छ। परिपक्व तयारीसँगै रणनीतिक रूपमा अब्बल मानिने चिनियाँलाई राष्ट्रपति सी जिनफिङले अगाडिको बाटो अलि जटिल भएका कारण अत्यन्त गम्भीरतापूर्वक तयारी गरेर लागिपर्न निर्देशन दिएका छन्।
कोभिड–१९ लाई लिएर दुई ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीन बीचको वाक्युद्ध चरम रूपमा पुगेको छ। पत्रकारसँगको अन्तक्र्रियामा चिनियाँ विदेशमन्त्री वाङ यीले ‘अमेरिकाका केही राजनीतिक भाइरसहरू अमेरिका र चीनलाई नयाँ शीत युद्धतर्फ धकेल्न लागिपरेको’ विचार प्रस्तुत गरेका छन्। घटना सन्दर्भ हेर्दा कोभिड–१९ पछि कतै विश्वव्यापीकरणको वेगमा जटिलता आउने त होइन भन्ने प्रश्न उठिरहेको छ, जसरी पहिलो विश्वयुद्ध र सन् १९१८ को महामारीले विश्वव्यापीकरणको पहिलो संवेग मानिएको अवधि ९१८७०–१९१४० लाई नराम्रोसँग क्षति पु-याएको थियो। अहिलेको महामारीपछि विश्व संरचना देखिने गरी बहुध्रुवमा जाने भएकाले पनि मुख्यगरी अमेरिकी विज्ञ चीनको आलोचनामा बढी शक्ति खर्चन थालेका छन्।
हेगेमोनिक स्टाबिलिटी थ्यौरीका प्रणेता प्राध्यापक चाल्र्स किन्डलबर्गर पनि एकलभन्दा बहुध्रुवीय विश्व बढी अराजक र अस्थिर हुने तर्क गर्छन्। उनको विचारसँग असहमत हुनेहरू धेरै छन्, मुख्यगरी पश्चिमा इतरका विज्ञहरू। अमेरिकी प्रशासनलाई कसरी आफ्नो विद्यमान सामथ्र्य र प्रभावलाई कायम राख्ने भन्ने चिन्ता छ। त्यसैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महामारीको अप्ठेरोमा पनि दैनिकजसो अर्थतन्त्रलाई चाँडै ट्र्याकमा ल्याउने दाबी गरिहन्छन्।
यसको अर्थ यो हो कि महामारी पछिको अवस्थामा अमेरिका नै विश्वशक्तिकै रूपमा रहिरहनेछ। चीनको बढ्दो अर्थतन्त्रबाट अमेरिकी प्रशासन त्रसित भएको देखिन्छ। भलै चीनले सहकार्य र मेलमिलापमा आधारित बहुध्रुवीय विश्व संरचना चाहेको बताउँदै आएको छ। ब्रिक्स सम्मेलनका घोषणापत्रहरूमा पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ।
कोभिड–१९ पछिको अवस्थामा कुनै पनि मुलुक विजेता बन्ने छैनन्। सबैले धेरथोर गुमाउनेछन्, तर जसले सही व्यवस्थापन गर्न सक्छ, प्रविधिको उच्चतम् प्रयोग गरेर आर्थिक–सामाजिक गतिविधिलाई चलायमान बनाउँछ, उही चाँडै तंग्रिनेछ।
कोभिड–१९ ले प्रस्ट पारेको एउटा महत्वपूर्ण कुरा के हो भने, विश्व जति एकीकृत भयो भनिए पनि साझा समस्यासँग जुध्ने सन्दर्भमा अझै आपसिक सहकार्यको संस्थागत ठोस आधार तयार हुन सकेको रहेनछ। एकले अर्कालाई दोषारोपण गरिरहेको स्थितिले पनि आपसी विश्वासको डरलाग्दो खाडल बन्दै गएको देखायो। हुन त अमेरिकी राजनीतिज्ञका लागि आन्तरिक रूपमा अप्ठेरो पर्न थालेपछि बाह्य शक्तिलाई दोष देखाएर राजनीतिक फाइदा लिन खोज्नु कुनै नयाँ अभ्यास होइन। सन् १९९७ मा तत्कालीन संकट व्यहोरिरहेका अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले चीनलाई इतिहासको गलत धारमा रहेको शक्ति भनेका थिए। जर्ज बुस, बाराक ओबामा र हालका ट्रम्पले पनि आन्तरिक राजनीतिक लाभका लागि बाह्य कुटिल कार्ड प्रयोग गरेका छन्।
वास्तविकता के हो भने चीनबारे गरिने अधिकांश पश्चिमा विश्लेषण र भविष्यवाणी यथार्थभन्दा टाढाको हुँदै आएको छ। अमेरिकामा चीन विज्ञ मानिएका प्राध्यापक गोडर्न छाङले धेरैअघि चीनमा चाँडै आर्थिक–राजनीतिक विस्फोट आउने भविष्यवाणी गरेका थिए, उनले दुई साता अघिको आफ्नो लेखमा पनि यही दोहो-याएका थिए। इतिहासकार नील फर्गुसनचाहिँ उदारवादको वास्तविक विजेता चीन भएको दाबी गर्छन्। बहुआयामिक सम्बन्ध विस्तार, खुला र स्वतन्त्र व्यापारको प्रवद्र्धन, लचक बहुस्तरीय पारस्परिकता विस्तार जस्ता आधारले अहिलेको विश्व संरचनामा टेकेर चीनले योगदान गर्नुका साथै प्रवद्र्धन गरेको उनको तर्क छ।
कोभिड–१९ पछिको ‘न्यु नर्मल’ विश्व संरचनामा एसिया पुनः केन्द्रमा आउने प्रक्षेपण हालै प्रकाशित म्याक्किन्सेको प्रतिवेदनमा उल्लेख छ। ‘भविष्यको विश्व मानक वा कथा एसियाबाट सुरु हुनेछ’ उसको प्रतिवेदनको सार छ। कोभिड–१९ पछिको अवस्थामा पनि सन् २०४० सम्म एसियाले विश्वको कुल ग्राहस्थ्र्य उत्पादनको ४० प्रतिशत ओगट्ने प्रक्षेपण म्याक्किन्सेको छ। २१औं शताब्दी एसियन शताब्दी भनेर धेरै पहिलेबाटै विश्लेषण हुँदै आए पनि कोभिड–१९ ले अमेरिका सहितको पश्चिमा विश्वलाई पु-याइरहेको ऐतिहासिक धक्का र तुलनात्मक रूपमा अधिकांश एसियन मुलुकले गरिरहेको कुशल व्यवस्थापनले पनि अब एसियनको पोल्टामा विश्व परिदृश्य पुग्यो भनेर भन्न सकिने एथेष्ट आधार छन्।
जेफ्री सच, किशोर महबुबानी, मार्टिन ज्याक लगायत प्राध्यापक पश्चिमा शक्तिका एथेष्ट कमजोरीबाट पाठ सिकेर विश्वमा शान्ति, न्याय, गरिबीको अन्त्य एवं गहन सहकार्यका लागि उदाउँदा एसियन शक्तिहरूले योगदान दिनुपर्ने सुझाव दिन्छन्। तर प्राध्यापकहरू मिनसिन पेई, स्कट केनेडी लगायत एसियन मामिलाका विज्ञले ट्रम्प र सीको उच्च राष्ट्रवादी र चरम वैचारिक भिन्नताले अबको विश्व निकै टकराबपूर्ण, अविश्वासमा आधारित र पहिलेको भन्दा पनि अनुदार एवं अराजक परिवेशको ‘नयाँ शीत युद्ध’को अवस्था निर्माण हुने टिप्पणी गर्छन्।
हबेसियन एवं कान्तियन मोडलको उदारवादको ढाँचालाई सबैभन्दा पहिले अमेरिकी प्रशासनले नै चरम दुरुपयोग ग-यो भनिन्छ। जतिसुकै ताकतदार मुलुक भनिए पनि महामारीको समयमा मास्क र भेन्टिलेटरसम्म न्यूनतम रूपमा पनि उपलब्ध हुन नसक्नुले अमेरिकी नवउदारवाद मोडलको नांगोरूप विश्वसामु देखिएको छ। कतिपय विश्लेषकहरू कोभिड–१९ ले अमेरिकालाई पु-याउने सबैभन्दा ठूलो क्षति उसको प्रतिष्ठा र महाशक्तिको चमकमा विश्व समुदायको संशय, अविश्वास र बक्रेदृष्टि हुने बताउँछन्।
कोभिड–१९ पछिको अवस्थामा कुनै पनि मुलुक विजेता बन्ने छैनन्। सबैले धेरथोर गुमाउनेछन्, तर जसले सही व्यवस्थापन गर्न सक्छ, प्रविधिको उच्चतम् प्रयोग गरेर आर्थिक–सामाजिक गतिविधिलाई चलायमान बनाउँछ, उही चाँडै तंग्रिनेछ।
यो हिसाबले हेर्दा चीन, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया एवं दक्षिण पूर्वीएसियाका अधिंकाश मुलुक तुलनात्मक रूपमा चाँडै तंग्रिने र तीव्रतर सुधारतर्फ लागिपर्ने अपेक्षा गर्न सकिन्छ। कोभिड–१९ पछिको विश्वको ‘न्यु नमर्ल’ अवस्था कतिपयले विश्लेषण गरेजस्तै निकै असन्तुलित हुने खतरा छैन। बरु लामो सभ्यता, इतिहास र क्रमिक विकासबाट खारिएका एसियाली मुलुकको उदयको ‘दोस्रो इनिङ’ प्रारम्भ हुने हुँदा पश्चिमा मुलुकको मुठभेडको ध्येयका बाबजुद पनि विश्व–व्यवस्था सहकार्य, मेलमिलाप र गहन आदानप्रदानतर्फ नै अगाडि बढ्नेछ। विश्वको इतिहास हेर्दा पनि एसियाली मुलुकहरू केन्द्रमा हुँदा विश्व बढी शान्तिपूर्ण र विश्वासमा आधारित भएको, तर पश्चिमा मुलुकहरू हाबी हुँदा अशान्ति, असन्तुलन, अविश्वास र टकराबको स्थितिले सीमा नाघ्दै गएको स्पष्ट देख्न सकिन्छ।
अहिलेको भयावह महामारीको अन्त्यका लागि अन्तर्राष्ट्रिय सहकार्यको विकल्प छैन। अमेरिकी प्रशासनले अनावश्यक अहंकार, दोषारोपण गर्ने र अन्तर्राष्ट्रिय प्रचलनविरोधी गतिविधिलाई तत्काल बन्द गर्नुपर्छ। कोभिड–१९ पछिको विश्व ‘एसियाली शताब्दी’को रूपमा उदाउने यथार्थलाई स्वीकार गरेर अमेरिका नेतृत्वको पश्चिमा जगत्ले ‘थुसिडिडिज ट्राप’बाट पाठ सिकेर ठोस एवं बहुपक्षीय सहकार्यमै जोड दिँदा विश्वमा सबैको हित हुन्छ।
कोभिड–१९ को सन्देश पनि के हो भने मुख्यगरी सन् १९४५ यता विश्व संरचनामा भएको भनिएका संस्थागत प्रगति अपुग र भरपर्दो नभएकाले नयाँ विश्व सन्दर्भमा नयाँ चुनौतीलाई सामना गर्ने गरी नयाँ संरचना, मोडल र पद्धतिको निर्माण हुनु अति आवश्यक छ। प्राध्यापक युकोङ हुआङले भने जस्तो इतिहासबाट सिकेर मुख्य शक्तिहरू बीचको गहन संवाद र सहकार्यबाट नयाँ विश्वमा यथेष्ट सुधार गर्न सकिन्छ।
डा. शर्मा चीनको सिचुवान प्रान्तस्थित लसान नर्मल विश्वविद्यालयका सहप्राध्यापक एवं सेन्टर फर ट्रान्स हिमालय स्टडिजका सिनियर रिसर्च फेलो हुन्।
प्रकाशित: २० जेष्ठ २०७७ ०८:०५ मंगलबार