व्यवहारमा सन्तोषजनक पालना भएको छैन। भवन ऐन २०५३ को आत्माअनुसार बनेको संहितामा सहरमा बन्ने अत्याधुनिक बहुतले भवनदेखि गाउँठाँउका सामान्य घरसम्म सुरक्षित बनाउने विधि उल्लेख छ।
पहिलो कोटिमा अन्तर्राष्ट्रिय स्तरको भवन राखिएको छ। नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई यो वर्गमा राख्न सकिन्छ। यस्ता भवन नेपालमा विरलै बन्ने गरेका छन्।
दोस्रो दर्जामा सामूहिक बसोबास गराउने वा कार्यालय प्रयोजनका लागि बन्ने बहुतले भवन छन्। तेस्रोमा तीन तलाभन्दा बढी वा हजार वर्ग फिटभन्दा बढी क्षेत्रफलको तीन तलेसम्मको घर छ। चौथोमा हजार वर्ग फिटभन्दा सानो छन्।
काठमाडौं लगायत सहरबजारमा केही आना जग्गा लिएर पछिल्ला दुई थरिका घर बनाउने गरिएको छ। हजार वर्ग फिटभन्दा बढीको तेस्रो कोटिको घर बनाउँदा इन्जिनियरको सुपरिवेक्षण अनिवार्य छ।
जत्रो आकारप्रकारको घर बनाउँदा पनि नगरपालिकामा नक्सा पास गर्नुपर्छ। मुलुकका दर्जनौं नगरोन्मुख गाउँमा पनि नक्सा पास गरेर मात्र जग हाल्न पाउने नियम छ। नक्सा पास गर्नुपर्ने नियम लगभग पालना भएको छ।
काठमाडौं, ललितपुर, भक्तपुर, धरान, पोखरा जस्ता नगरपालिकामा संरचनागत ढाँचा (स्ट्रक्चरल डिजाइन) नक्सा सँगै पेस गर्नुपर्छ। लाखौं महानगर र उपमहानगरवासीलाई सुरक्षित बनाउन स्ट्रक्चरल डिजाइन अनिवार्य गरिएको हो।
अधिकांश संख्यामा बनिरहेका मझौला र साना भवनले नगरपालिकामा दर्ता गरेर औपचारिकता पुर्याए पनि निर्माणका क्रममा त्यसको पालना गरेको देखिँदैन। स्ट्रक्चर डिजाइनमा जग, पिलर, बिम, ढलान, गारोदेखि झ्यालढोकासम्ममा प्रयोग गर्ने डन्डी, सिमेन्ट, बालुवा, गिट्टी, इँटाको मात्राबारे उल्लेख हुन्छ। घर बनाउँदा पालना गर्नुपने नक्सासमेत डिजाइन गरेर नगरपालिकाबाट स्वीकृति लिइएको हुन्छ।
नगरपालिकामा पेस गरेअनुसारै घर बनाउन इन्जिनियरको अनुगमन अनिवार्य हुन्छ। तर हामीले उत्साहसाथ ल्याएको नियम पालना भने खुसी हुनुपर्ने खालको छैन। सहरी विकास तथा भवन निर्माण विभागले पटकपटक गर्ने अध्ययन अनुसार नगर क्षेत्रमा बन्ने ९० प्रतिशत घरमा प्राविधिक अनुगमन हुने गरिएको छ। करोड रुपैयाँसम्म खर्च गरिने त्यस्ता घरमा डकर्मीको सल्लाहमा घरबेटीले मनखुसी निर्णय लिने गरेको देखिन्छ। भवनसंहिता पालना गराउने कर्तव्य नगरपालिकाको पनि हो। उसले यसलाई प्राथमिकतामा राख्न सकेको छैन।
इन्जिनियर राख्नुलाई घरबेटीले झन्झट र फुर्मास ठान्छन्। घर बनाउँदा प्राविधिक सल्लाह अत्यावश्यक छ भन्ने तथ्य सरकार र नगरपालिकाले घरबेटीलाई बुझाउन सकेका छैनन्। यस्ता मझौला र साना घर बनाउने व्यक्तिले वर्षौंको कमाइले एउटा घर बनाउँछन्। आफ्नो केही लाख साँवामा ब्याजमा ऋण काढेर तल्ला उठाउनेको संख्या धेरै छ। अवकाश जीवनमा पनि उनीहरु ऋण तिरिरहेका हुन्छन्। जीवनभरिको रगत पसिना सिंचेर घर बनाउँदा किन प्राविधिक सल्लाह सुझाव अनिवार्य छ त?
लम्बाइ, चौडाइ, उचाइको अनुपात
घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ, उचाइको अनुपात मिलाउनुपर्छ। थोरै जग्गामा आकाश छुने घर बनायो भने भुइँचालोको सानो झट्काले पनि गर्ल्यामगुर्लुम हुनसक्छ।
विशेषगरी उपत्यकाका भित्री सहरमा आधा/एक आना जग्गामा ७/८ तले घर बनेको देखिन्छ। त्यो सतप्रतिशत असुरक्षित तासको घर हो। मापदण्डअनुसार कहिँ पनि घरको चौडाइको साढे दुई गुणाभन्दा ठूलो घर बनाउन पाइन्न। यो नियमअनुसार जतिसुकै बलियो संरचना बनाए पनि १२ फिट चौडाइ जग्गा छ भने तीनतलेभन्दा ठूलो बनाउनु धरापै हुन्छ। नगरपालिकाले यो बन्देज लगाएको भए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।
निकास आवश्यक
भुइँचालोमात्र हैन, आगलागी, करेन्ट सट हुँदा वा अरु विपत्ति आइलाग्दा जोगिन घरबाट बाहिर निस्कने उचित प्रबन्ध आवश्यक छ। घरमा कम्तीमा दुईवटा मूलढोका हुनुपर्छ। त्यहाँसम्म पुग्ने बाटो फराकिलो र सुरक्षित हुन जरुरी छ। भर्याङ जहिल्यै फराकिलो र बलियो बनाउनुपर्छ।
ठूलो व्यापारिक भवन, अपार्टमेन्ट, स्कुल, कलेज, अस्पतालजस्ता सार्वजनिक भवनमा एउटा भर्याङले पुग्दैन। भवनको बाहिरबाट सिरानपुछार एउटा भर्याङ राख्न मापदण्डले अनिवार्य गरेको छ। अभर परेको बेला भाग्न मात्र हैन, उद्धार कार्यमा समेत सजिलो होस् भनेर बाहिरबाट भर्याङ राखिएको हुन्छ। सिंहदरबारमा नयाँ बनेका भवनमा यस्तो भर्याङ देखिन्छ। तर निजी क्षेत्रका धेरैजसो कम्प्लेक्सले केही लाखको लोभ गरेर बाहिरबाट भर्याङ राखेका छैनन्।
जग सबैभन्दा महत्वपूर्ण
जग बलियो हुनुपर्छ भन्ने विषयको ज्ञान सबैलाई छ। तर कस्तो जग बलियो भन्ने विषय असाध्यै जटिल छ। पिलर सिस्टमको घरमा कति गहिरो जग जाने? हात्तीपाइले (पिलरको जग) कत्रो बनाउने? डन्डी कसरी बाँध्नेजस्ता निर्णय असाध्यै जटिल छ। हचुवाको भरमा गहिराइ, लम्बाइ, चौडाइबारे भन्न सकिन्न।
जग खन्दा भेटिने माटोको प्रकार, घरको तल्ला, पिलरको आकार, लम्बाइ, चौडाइको आधारमा गहिराइ निर्धारण हुन्छ। घरको प्रयोजन के हो त्यसलाई पनि ध्यान दिनुपर्छ। उत्रै आकारप्रकारको आवासीय घर र विद्यालय भवनको जगको गहिराइ तथा अरु सामान भिन्न हुन्छ। आवासीय प्रयोजनका लागि बनाइने दुईतले घरको जग माटोको प्रकारअनुसार ३ देखि ५ फिटसम्म भए पुग्छ।
पिलर सिस्टमको घरको जग हात्तीपाइले हो। डन्डीको जाली बुनेर ढलाइ गरेर हात्तीपाइले बनाइन्छ। हात्तीपाइलेको लेभल जहिले पनि एक सय असी डिग्रीमै हुनु आवश्यक छ।
पिलर र बिम कस्तो?
पिलर गाउँघरको थाम जस्तै हो। थाम सबैभन्दा बलियो हुन्छ। आधुनिक घरमा पनि यही नियम लाग्छ।
हात्तीपाइलेमा अड्याएर पिलर ठडाइन्छ। मानिसको शरीरको मांसपेशीलाई हड्डीले थामेजस्तै घरको सबै बोझ पिलरले बोक्छ। त्यसैले पिलर सधैं घन्टी (नब्बे डिग्री) मा ठडिनुपर्छ। घरको मजबुतीको आधार पिलर हो। पिलरको साइज पनि घरको तलामै भर पर्छ। सामान्य घरमा पनि कम्तीमा ९ इन्च चौडाइ र १४ इन्च लम्बाइको पिलर चाहिन्छ। ती पिलरमा पाँच लाइन र चार लाइनको गरेर ८ वटा डण्डी राख्नुपर्छ। डन्डीमा कहिल्यै कञ्जुस्याइँ गर्नुहुन्न।
डन्डीमा लोभ नगरे पनि बाँध्ने तरिका मिलेन भने सबै खर्च व्यर्थ हुन्छ। पिलरको डन्डी बाँधेर आकार दिन चुरी (रिंग) चाहिन्छ। चुरीमा दुईलाइनको डन्डी प्रयोग गर्ने चलन छ। चुरीले घरलाई धक्का परेको बेला पिलरलाई जोगाएर राख्छ। त्यसैले चुरी बनाउने र बाँध्ने तरिका ठ्याक्कै मिल्नुपर्छ। चुरीको दुरी ४ देखि ६ इन्चभन्दा बढी हुनु हुँदैन।
पिलरको उचाइ आठदेखि नौ फिट हुन्छ। यसमा एकैपटकमा ढलान गर्ने चलन छ। आवासीय भवनमा सबैले यही गल्ती गरिरहेका छन्। पिलरलाई आधा गरेर दुईपटक ढलान गर्नु आवश्यक छ।
एक पटकमा ढलान गर्दा डन्डी नब्बे डिग्रीमा नबसेर बीचमा थोरै बांगिन सक्छ। अर्को नौ फिटमाथिबाट मसला खसाल्दा रोडामात्र पहिला हाम फाल्छ। यसले मुनिको केही फिटमा रोडाको मात्रा बालुवा-सिमेन्टभन्दा कम हुन सक्छ। पिलर कमजोर भए घर जोखिमपूर्ण हुने भएकाले एक पटकमा ५ फिट उचाइमात्र ढलान गर्न सके मजबुतीको अचूक उपचार हुन्छ।
बिमले पुराना घरमा निदालको काम गर्छ। पिलरमाथि बसेर ढलान थाम्छ। बिमको आकार पिलरभन्दा केही कम हुँदा पनि फरक पर्दैन। यसमा पनि डन्डी बाँध्ने तरिका मिलाउनुपर्छ। दुइटा पिलरको छेउछाउमा डन्डीको टुक्रा थपेर बिमलाई बलियो पार्नै पर्छ। चुरी बाँध्ने तरिका पिलरजस्तै हो।
पिलर र बिममा डन्डी गाँस्दा ध्यान पुर्याउनुपर्छ। डन्डीको मोटाइ र पिलर/बिमको लम्बाइअनुसार खप्टिने भाग (ओभर ल्याप) निर्धारित हुन्छ। कम्तीमा साढे दुई फिट खप्टाउनु अनिवार्य छ। पिलर वा बिममा धेरै डन्डी हुन्छन्। ती डन्डी काट्ने बेलामा अलगअलग लम्बाइको बनाउनु जरुरी छ। त्यसो नगरे एकै ठाउँमा गाँस पर्छ। यस्तो गल्ती भयो भने घरमा कुनै बोझ वा धक्का पर्दा गाँसिएकै ठाउँबाट क्षति हुन्छ।
ढलान अढाइ लाइनको डन्डी
सिमेन्टको घर बनाउँदा ढलानलाई सर्वाधिक महत्व दिने चलन छ। ढलान सकेर भोज खाने/खुवाउने चलन बसेको पनि त्यसैले होला! ढलान गाउँले घरमा तला छापेजस्तै हो। थाम, निदालमात्र बलियो हालेर हुँदैन, दलिन पनि भरपर्दो हुनुपर्छ भन्ने हाम्रा पुर्खाले उहिल्यै जानेका थिए। दलिन हालेपछि दाउरा, बाँस, माटो वा काठ जेले पनि छाप्न सकिन्छ।
आजभोलिका घरमा दलिनको काम डन्डीले गर्छ। सिमेन्ट, रोडा र बालुवा मिसाएको कँक्रिटले तला छापिन्छ। ढलान बलियो बनाउन डन्डीको जाली बाँधेको मिल्नुपर्छ। डन्डीको जाली ६ इन्चमा बाँध्नु राम्रो हुन्छ। बिमको नजिक र टपमा 'डबल' जाली बुन्नुपर्छ।
पिलर र बिममा कम डन्डी हाल्ने, अर्कातिर ढलानमा चाहिनेभन्दा बढी छाप्ने चलन छ। सामान्य घरमा अढाइ लाइनको डन्डी भए पुग्छ। यसको ज्ञान नभएर चार लाइनसम्मको डन्डी हाल्ने गरेको देखिन्छ। यस्तो गल्तीले घर बोझिलो त हुन्छ नै, खर्च पनि दोब्बर हुन्छ। पिलर र बिममा नारीजत्तिको मोटो डन्डी प्रयो गरिने ठूला भवनमा समेत ढलानमा अढाइ र तीन लाइनको डन्डी हाले पुग्छ। आवासीय भवनमा ढलानको मोटाइ सामान्यतः ५ इन्च भए पुग्छ। ढलानको मसला हाल्ने बेलामा जालीभन्दा माथि हाल्नुपर्छ। जाली धेरै माथि पारेर मसला तल हाल्यो भने ढलान कच्चा हुन्छ। यस्तो गल्तीले भुइँचालो आएको बेला वा कोठामा धेरै भीड भएको बेला जालीलाई छाडेर ढलान खस्ने डर हुन्छ। ढलानको जाली फर्माभन्दा एक इञ्च माथि उठाए पुग्छ। जालीले ढलानलाई बोक्ने हो, झुण्ड्याउने होइन।
कँक्रिट बनाउने विधि
पिलर, बिम वा स्ल्यापमा कँक्रिटको प्रयोग गरिन्छ। पिलर र बिम र ढलानको बनोट दुरुस्त बनाएर इन्जिनियरले तोके अनुसारकै डन्डी हाल्दैमा घर बलियो हुँदैन। कँक्रिटको प्रयोग उपयुक्त हुनुपर्छ। पिलर, बिम वा स्ल्याप ढलान गर्न आवश्यक सिमेन्ट, बालुवा, गिट्टी र पानीको सम्मिश्रण कँक्रिट हो।
कँक्रिट बनाउने आफ्नै विधि छ। सामान्य घरमा एम १५ कँक्रिट तयार गरे हुन्छ। त्यसमा १ बोरा सिमेन्ट बराबर २ बोरा बालुवा र ४ बोरा गिट्टी हालिन्छ। योभन्दा ठूलो निर्माणमा एम २० र पुल, बाँध निर्माण गर्दा एम २५ प्रयोग गरिन्छ। एम २० मा १ सिमेन्टबराबर २ बालुवा र ३ गिट्टी हुन्छ। धेरै बोझ थाम्नु पर्ने निर्माणमा १ सिमेन्ट बराबर डेढ बालुवा र ३ गिट्टी मिसाइन्छ।
यतिविघ्न सामग्री जुटाइसकेपछि पनि घोल्ने तरिकामा गल्ती भइरहेको छ। सिमेन्ट, बालुवा र गिट्टीको आयतनका आधारमा अनुपात मिलाउने चलन सर्वथा गलत छ। त्यसलाई तुरुन्त सच्याएर घनत्वअनुसार हुनुपर्छ।
चारकोठे घर बनाउनेले पनि एक/एक बोरा बालुवा र गिट्टीको पनि वजन लिएर अनुपात मिलाउन सक्छन्। तर यो ज्ञान ज्यादै कमलाई छ। यी सामग्रीको मिसावट ठिक ढंगले गर्न मिक्स्चरबाट घोल्नुपर्छ।
कँक्रिटका लागि आवश्यक हरेक सामग्रीको गुणस्तर मापदण्डअनुसार हुनुपर्छ। सिमेन्टमा गुणस्तर चिन्ह र सिल ख्याल गर्नुपर्छ। बालुवामा माटो वा अभ्रख मिसिएको हुनु हुँदैन। दानेदार चाहिन्छ। गिट्टी साह्रो ढुंगाको हुनुपर्छ। नरम, बलौटे वा रातो ठिक हुँदैन। गिट्टी सानोठूलो चाहिन्छ। ४ देखि ६ लाइनको। सानो गिट्टीले ठूलोले बनाउने खाली ठाउँ भरिन्छ।
पानीको गुणस्तरको ज्यादै महत्व छ। ढलको पानी हाल्न मिल्दैन। आइरन अधिक भएको पानी पनि कँक्रिटमा प्रयोग गर्नु हुँदैन।
कँक्रिटलाई बलियो बनाउन तापक्रमको पनि उत्तिकै महत्व हुन्छ। अत्यधिक चिसो वा गर्मीमा ढलान गर्दा बलियो हुँदैन। खतिमात्र हुन्छ। १० देखि ३० डिग्री तामक्रम असाध्यै राम्रो। माइनस ३ वा ४० डिग्रीभन्दा बढीमा कँक्रिट काम गर्नु हुँदैन। धेरै गर्मीमा कँक्रिटको सबै पानी चाँडो सोसिन्छ। कम तापक्रम भयो भने चिसोले ढलान जम्न सक्दैन।
गारो ढलान सकेर
डकर्मीले पिलर सिस्टमको घरमा गारो बलियो चाहिँदैन भन्ने विश्वास घर बनाइरहेकालाई दिलाएका छन्। सबै घर पिलरले बोकिहाल्छ, गारोले बारको काम मात्र गर्ने हो भने जिकिर धेरैको छ।
यो सरासर गलत धारणा हो। घरको बोझ पिलरले बोक्दैमा दुर्घटना नहुने हैन। गारो कमजोर भयो भने त्यसैले थिचेर जनधनको क्षती हुन्छ। पिलरसँगै गार्रो उठाएर ढलानले थिच्ने काम सरासर गलत हो। यसले पिलर सिस्टम बिथोल्छ।
घरको स्ट्रक्चरको काम सकिएपछि मात्र गार्रो लगाउनुपर्छ। ढलान गरेको दुईचार दिनमै गारो लगाउन थाल्न बिम, पिलर कमजोर पनि हुन्छ। कँक्रिट जम्न २२ दिन लाग्ने भएकाले त्यति कुरेर मात्र गारो लगाउनुपर्छ।
ढलान भैसकेपछि गारो लगाउँदा सुरक्षित हुन्छ। तरिका पुर्याउनुपर्छ। गारो कुनै हालतमा ४ इन्च लगाउनु हुँदैन। ९ इन्च आवश्यक छ। गारो लगाउँदा ठाउँठाउँमा दुई लाइनको डन्डी ठाडो र तेस्रो राख्न आवश्यक छ। झ्यालको तल र माथि लिन्टन ढलान गर्नुपर्छ। त्यसैलाई लम्बाएर कोठालाई सानो खालको टाइजस्तो बनाएन भने घर झन् कमजोर भयो। तराईमा टाइको चलन चलिसकेको छ। झ्यालमुनि पनि त्यसैगरि लिन्टन कस्नु जरुरी छ।
गारो र प्लास्टरको मसला
गारो बलियो बनाउन मसला (सिमेन्ट र बालुवा) मुछेको तरिका मिल्नुपर्छ। गारोका लागि १ बोरा सिमेन्टबराबर ५ बोरा बालुवा हाले हुन्छ। जबकि प्लास्टरमा बालुवा घटाउनुपर्छ। सिलिङमा तीन बोरा र दायाँबायाँ ४ बोरा बालुवाको मसला बनाउनु उपयुक्त हुन्छ।
यी सबै तालमेल मिलाउन घर बनाउँदा इन्जिनियरको परामर्श अपरिहार्य छ। पिलर सिस्टममा बनेको सामान्य आकारको कँक्रिटको घरको वजन पनि सयौं टन हुन्छ। यति बोझिलो घर ढंग नपुर्याई बनायो भने जोखिमपूर्ण हुन्छ। उपयुक्त प्रविधि र प्राविधिकबिना बनाएको घरमा सानो त्रुटि भयो भने ठूलो नोक्सानी हुन्छ।
त्यसैले सही विधि अपनाउन सकिन्न भने तीन तलासम्मको घर इँटाढुंगाकै भर (लोड बियरिङ सिस्टम) को बनाउन सकिन्छ। यसमा घरभरिको भार प्रत्येक इँटा वा ढुंगाले बोक्छन्। यो घरमा सानो त्रुटि हुँदैमा ठूलो नोक्सानी हुँदैन।
प्रकाशित: ३ आश्विन २०६८ ००:५६ मंगलबार

