२८ असार २०७७ आइतबार
विचार

‘साम्राज्यवादी अतिक्रमणविरुद्ध उभिनुपर्छ’

सन्दर्भ: युगकवि जन्मजयन्ती

विराट काव्य प्रतिभाका धनी नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठ(१९६९–२०४९) का कवितामा मूल रूपमा देशप्रेम, सामाजिक विसंगतिप्रति व्यंग्य एवं विद्रोहको क्रान्ति चेतना र युग बोधको प्रबल भावना व्याप्त पाइन्छ। युगकवि श्रेष्ठका अनुसार, उज्यालो घामका निम्ति जिउँदो अन्धकारसित लडन्त–भिडन्त गरिरहनु नै मानव जीवन हो। यो लछार–पछारमा आफूलाई अघि बढाउने बल साहित्यले दिइरहेको हुन्छ। भइरहेको सामाजिक विकृति र विसंगतिलाई पनि कलापूर्ण ढंगले अभिव्यक्त गरेमा त्यो शाश्वत साहित्य हुन सक्छ।

कवि सिद्धिचरणका बारेमा विद्वान् साहित्यकार गाविन्द भट्टले सही मूल्यांकन यस प्रकार गरेका छन्, ‘सिद्धिचरणले राष्ट्र भाषामा रचना गर्दै र नेपालभित्रका सम्पूर्ण जाति वा समुदायबाट बनेको नेपाली जनताको सर्वांगीण हित कल्याणका लागि चिन्तनशील रहँदै व्यापक राष्ट्रिय व्यक्तित्व प्राप्त गर्नुभयो र उहाँ मुलुकभित्र र बाहिरका सम्पूर्ण नेपालीका सम्माननीय एवं प्रिय युगकवि हुन पुग्नुभयो।’

नेपाली साहित्यका यशस्वी प्रतिभा कवि श्रेष्ठले स्वच्छन्दतावादी भावनाबाटै आफ्नो काव्ययात्रा प्रारम्भ गर्नुभयो, तर पछि नेपालीका पीडा व्यथाबाट युगबोध गरेर उहाँ सामाजिक, राजनीतिक चेतनातर्फ उन्मुख हुनुभयो, ओजस्वी कविता लेख्न थाल्नुभयो, यत्र–तत्र ज्वालामुखी भएरफुट्न थाल्नुभयो।  

सन् १९६६ मा पेइचिङमा आयोजित अफ्रो–एसियाली लेखन सम्मेलनमा श्रेष्ठले भनेका थिए, ‘ठूला शक्तिशाली मुलुक तथा साम्राज्यवादी उपनिवेशवादीहरूबाट हुने अतिक्रमण तथा हस्तक्षेपको विरोधमा उभिनु र कराउनुपर्छ।’

सन् १९६६ मा पेइचिङमा आयोजित अफ्रो–एसियाली लेखन सम्मेलनमा उहाँले जुन उल्लेखनीय मन्तव्य दिनुभएको थियो, त्यो ऐतिहासिक बनेको छ, ‘साहित्यकारहरूले आफ्नो समाज र राष्ट्रका जनताको न्यायपूर्ण संघर्षलाई आड, समर्थन दिनुपर्छ, ठूला शक्तिशाली मुलुक तथा साम्राज्यवादी उपनिवेशवादीहरूबाट हुने अतिक्रमण तथा हस्तक्षेपको विरोधमा उभिनु र कराउनुपर्छ। आफ्ना सुन्दर रचनाहरूबाट जनमानसलाई जागृत तुल्याउनुपर्छ। यो नै उनीहरूको सामाजिक उत्तरदायित्व पनि हो।’

वास्तवमा आजका वर्तमान सन्दर्भमा पनि युगकवि श्रेष्ठले आफ्ना कविता र मन्तव्यबाट प्रदान गरेका सन्देश अत्यन्त महत्वपूर्ण, सटीक, प्रेरणादायी र दिशा निर्देशकको रूपमा छन्।

वास्तवमा मानवीय हितको संरक्षण र मानवीयताको कल्याणमा सहयोग गर्ने दायित्व साहित्यको हो। साहित्य सिर्जनामा सामाजिक दायित्वको पक्ष प्रबल र विश्व–बन्धुत्वको भावना मुखरित हुने गर्छ। विश्व बन्धुत्वको भावनालाई बलियो बनाउन पराधीनता, निरंकुशता, शोषण र अत्याचारविरुद्ध स्वतन्त्रता, समानता र प्रजातान्त्रिक भावनालाई सुदृढ गर्ने दायित्वपूर्ण कार्य साहित्यले गर्दै आएको छ। विश्वका महानतम् साहित्यिक रचनामा हामी यस प्रवृत्तिलाई देख्न सक्छौँ। अन्याय, असमानता र पराधीनताका विरुद्ध सम्पूर्ण, जनतालाई संचेतता प्रदान गर्ने काम सचेत, जिम्मेवार साहित्यकार वर्गको हो। नेपालको एक सय चार वर्ष लामो राणाशासनको क्रूर पन्जाबाट नेपाली जनतालाई मुक्त गर्ने कार्यमा नेपाली साहित्यकारको ठूलो भूमिका रहेको अविस्मरणीय छ। २००७ सालको पूर्वसन्ध्यामा कवि सिद्धिचरण श्रेष्ठले ओजस्वी शङ्खनाद गर्दै भन्नुभएको थियो:

‘मानिस तैंले उड्नैपर्छ
दुःख र संकट भोग्नैपर्छ
युगको उर्दी माने पो ता
मानिस यो मानिस बन्छ।’

नेपालमा प्रजातन्त्र ल्याउनका निमित्त खट्दा सर्वस्वहरण भएको र ६ वर्ष जेलमा बसेको चेतनशील अग्रणी कवि सिद्धिचरणले ‘नेपाली हुँ कठिन गिरिमा चढ्नलाई सिपालु’भनेर सम्पूर्ण नेपालीमा जन–जागरणका लहर व्याप्त गर्नुभयो र देशका भावी कर्णधार युवाशक्तिलाई उद्बोधित गर्दै यसरी प्रोत्साहित गर्नुभयो–

‘अघि सर, अघि सर, साहस जोड  
कातरपन ली प्राण नछोड
पाइन बलको अब देखाऊ
वैरीलाई मार भगाऊ
चम्क युवक। अब चम्क न चम्क !’

संकट मानिसमाथि नै आउँछ। त्यस संकटबाट भाग्ने होइन बरु संघर्षका निम्ति तयार रहनुपर्छ भन्ने अत्यन्त जोशिलो भावनालाई प्रवोधित गर्दै कवि भन्नुहुन्छ–  

‘संकट पर्दछ मानिसलाई  
ढुंगालाई के पर्छ’

...

‘रोइरोई बाँच्न पुग्यो अब हाँसी–हाँसी मर्न सिकूँ  
रुखमा झुन्डिनुलाई डोरी गरम ओठले चुम्न सकूँ।’

देशलाई मार्गदर्शन दिने क्रममा र राणाकालीन अत्याचारलाई समाप्त गर्ने दिशामा लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’मा जुन जागरण सन्देश छ, देवकोटाको ‘पहाडी पुकार’, ‘झन्झा वर्णन’ जस्ता रचनामा नेपाली जनमानसमा प्रजातन्त्रका निम्ति संघर्षका तीव्र शंखनाद कवि सिद्धिचरणका कवितामा गुञ्जायमान भएर सम्पूर्ण नेपालीलाई उत्प्रेरित गरेको छ।

‘तातोतातो रगत रिपुको प्युन हर्दम तयार  
मेरो प्रिय खुकुरी यो हेर भै होसियार।’

स्मरणीय छ कि कवि सिद्धिचरणका काव्यात्मक अभिव्यक्ति सामाजिक राजनीतिक सन्दर्भबाट नै जन्मिएको छ। देशमा व्याप्त तत्कालीन राजनीतिक गतिविधिले उहाँको कविव्यक्तित्वलाई झकझकाएको छ।

‘बाटो मेरो छेकिरहेको अजंगको साँढेलाई  
लौरो लिईकन दूर लघारे मैले कविता लेखेँ।’

आफ्नो अनेकानेक कृतिहरूको माध्यमबाट कविले सामाजिक समस्याहरू, देशीय समस्याहरू, युगीन भावनाहरूलाई अभिव्यक्त गरेर समाजमा सजगता र चेतना व्याप्त गर्नुभयो र समस्या समाधानका दिशामा पथ–पदर्शन गर्नुभयो। लोकपथगामी कवि श्रेष्ठले आफ्नो जीवनको उद्देश्य सार्वजनिक गर्दै मनका भावनालाई यसरी व्यक्त गर्नु भएको छ :

‘सुखसागरमा लय भई आखिर
गर्ने जीवन सुन्दर सुन्दर
छ यही मेरो मनको इच्छा
भित्र बनूँ कवि बाहिर योद्धा।’

देशका तत्कालीन अन्योलको बेला जनतालाई जागरण सन्देश दिँदै र अलमलमा परेका शारदाकालीन साहित्यकारहरूलाई हौसला प्रदान गर्दै कवि श्रेष्ठले भन्नुभएको थियो, ‘खोजेको प्रजातन्त्र हामीले पाइसकेका छौँ। अब कुनै पनि साहित्यकारलाई कल्पना एवं सपनाको लोकमा पूर्ववत् गुडुल्किएर बस्न र पुरानै राग अलाप्न सुहाउँदैन। यथार्थको धरातललाई छेक्न आउनु र आर्थिक, सामाजिक एवम् सांस्कृतिक क्षेत्रमा नयाँ आस्था अनुरूप सांस्कृतिक परिवर्तन ल्याउन सक्ने साहित्य लेख्नु हामी सबैको साझा कर्तव्य हो।’

सन्दर्भ २००७ सालको क्रान्तिको होस् अथवा त्यसपछिका सामाजिक, सांस्कृतिक, राजनीतिक, क्रान्तिका लागि उहाँका विद्रोही भावना त्यत्तिकै समर्थवान् ओजस्वी र प्रेरणादायी रहेको छ। सामाजिक विसंगतिप्रति सचेत उनका क्रान्तिकारी भावना आज पनि हाम्रो रगत तातो गर्नका लागि त्यत्तिकै प्रेरणादायी र प्रभावशाली छन्। हाम्रो हृदयलाई झंकृत गर्नमा समर्थ छन्।

‘हिमालको माथि चढी बिगुल म फुक्छु  
अन्याय यो सधैँ सधैँ हुन्न म यो भन्छु।’

कविको अनुसार वर्ण, जाति, धर्म आदिका नाममा भेदभाव गर्नु हाम्रो हृदयको संकीर्णता हो। समानताको भावनालाई समाजमा व्याप्त गर्दै कविले प्रखर स्वरमा भन्नुभएको छ।

‘एकै पृथ्वीका सन्तान
हामीमा केही भेद छैन  
तिमी मेरो, म तिम्रो।’

यसरी देशमा एकता र समानता ल्याउने प्रयास र देश निर्माण र देशमा शान्ति सुरक्षाका लागि आह्वान कविका रचनामा प्रचुर मात्रामा व्याप्त छन्। देशभक्तिले ओतप्रोत कविका यी शब्दहरू सम्पूर्ण देशवासीका लागि प्रेरणाका स्रोत बन्न पुगेको छ।

‘क्यारुँ म क्यारुँ यो देशको निम्ति क्यारुँ  
नाचूँ कि गाऊँ कि गला मिलाउँ
सहर्ष काटी शिर नै चढाउँ
या श्वास जम्मै यसमै मिसाऊ’

वास्तवमा कवि सिद्धिचरण एउटा असल कवि योद्धाको रूपमा क्रान्तिकारी र ओजस्वी कविताहरू लेखेर जनतालाई सदैव प्रेरित गरिरहनुभयो र आज पनि उहाँका कविताहरूले समाजमा ओज र उत्साह प्रदान गरिरहेका छन्।ध्यान दिने कुरा यो छ कि एउटा सुधारवादी देशभक्त कविको रूपमा उहाँका कविताको प्रासङ्गिकता आज पनि त्यत्तिकै महŒवपूर्ण छ। कविलाई अत्यन्त दुःख छ कि असीम त्याग, बलिदान र सङ्घर्षबाट ल्याएको प्रजातन्त्रको उचित अर्थ र मूल्य–मान्यता आज हराइरहेको छ। देशको भविष्यप्रति चिन्तित कवि श्रेष्ठ भन्नुहुन्छ–

‘युग बदलिसक्यो
राणा ढलिसक्यो
भन्दछ जन्जीर टुटिसक्यो
अझ पनि आजादी आएको छैन  
प्रगति आएको छैन
प्रजातन्त्र आएको छैन।’

युगले कोल्टो फेरेको भए पनि हाम्रो देशमा आजसम्म शान्ति व्याप्त भएको छैन, प्रगतिको बाटोमा कुहिरो लागेको छ। हाम्रो सुनौलो भविष्यलाई बादलले ढाकेको छ। हाम्री देशरुपी आमा आज पनि प्रतिपल शान्ति, सुरक्षा, असल स्वतन्त्रता र दिगो प्रजातन्त्रको आगमनको प्रतीक्षामा आतुर व्याकुल देखिन्छिन्। आज राजनीतिक सामाजिक विभेदका कारण देशमा जुन अशान्ति, अव्यवस्था व्याप्त भएको छ, त्यस सन्दर्भमा हेर्दा युगकवि सिद्धिचरणका कविता आजका वर्तमान समयमा पनि त्यत्तिकै मननीय, सार्थक र सान्दर्भिक देखिन्छ। स्मरणीय छ कि एउटा कलमको बलमा मात्र साहित्यिक क्रान्तिका शंखनाद गरेर उहाँ शान्ति, सुव्यवस्थाको कामनामा आफ्नो सम्पूर्ण जीवन बलिदान गर्नुभयो र असल युगकवि भएर युगयुगका लागि प्रेरणा सन्देश दिनुभयो। उहाँको सम्पूर्ण जीवन शान्ति र विश्वबन्धुत्वका लागि समर्पित भयो। शान्तिका पक्षधर कवि सिद्धिचरणका हार्दिक अभिलाषा थियो।

‘कविता रच्दै शान्ति फिजाऊँ  
प्राण–प्राणमा प्रेम जगाऔँ।’

संक्षेपमा युगकवि श्रेष्ठका कविताहरूले सबल राष्ट्रियताका शंखनाद गरेको छ, अन्याय, शोषण र अत्याचारविरुद्ध संघर्षका लागि आह्वान गरेको छ। मानिसलाई कर्म गर्ने प्रेरणा दिएको छ। मानवता विरोधी तत्वहरूलाई समाप्त गरेर विश्वमा शान्ति फिँजाउने सन्देश दिएको छ, साथै विश्व–बन्धुत्व र मानवतावादका चर्काे स्वरले बिगुल फुकेको छ। नेपाली वाङ्मय क्षितिजका ज्योतिस्तम्भ, शान्तिका पुजारी, प्रजातन्त्र, समानता, स्वतन्त्रता र मानवताका उद्घोषक कविवर सिद्धिचरण श्रेष्ठज्यूमा हार्दिक श्रद्धाञ्जलि।

प्रकाशित: ९ जेष्ठ २०७७ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App