९ मंसिर २०७७ मंगलबार
विचार

भारतीय मिडिया भ्रमका सौदागर

भारतीय मिडिया भनेपछि धेरै कुरा भन्नै पर्दैन। अझ त्यसमा पनि त्यहाँका टेलिभिजन, मिडियालाई बद्नाम गराउने मामलामा एक नम्वर भन्दा पनि अघि कुनैं अंक भए त्यसमा पुग्न चाहन्छ। अहिले भारतीय न्यूज च्यानल खोलियो भने पहिलो पटक हेर्ने मानिसलाई त्यो कुनै ‘सर्कस’ को न्यारेसन हो वा समाचार छुट्याउन मुस्किल पर्छ।  

भारतीय मिडियामा अहिले कोरोनाका समाचार भन्दा नेपाल चर्चामा छ। नेपालको नयाँ नक्सा, प्रधानमन्त्री केपी शर्मा ओली, कलाकार मनीषा कोइराला चर्चामा छन्। सन्दर्भ हो भारतले अतिक्रमण गरेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा को। भारतले धार्चुलाबाट एकतर्फीरुपमा मानसरोवर जाने बाटो नेपाली भूमि अतिक्रमण गर्दै  सडक निर्माण गरेपछि नेपाल सरकारले कुटनीतिक नोट पठायो। नेपाल स्थित भारतीय राजदूतलाई प्रश्न गर्योम। नेपाली भूमिमा किन डोजर चलाइयो?  संसदमा यस विषयमा गरमागरम वहस भए। प्रधानमन्त्री केपी शर्मा ओलीले कडा शब्दमा भारतीय अतिक्रमणको विरोध गरे। र उनले यो पनि भने, ‘भारतलाई प्रश्न गर्छु, सत्यमेव जयते कि सिंहेमेव जयते?’ उनको यो भनाइले त्यही दिन समाजिक संजाल तताइ सकेको थियो। यही क्रममा नेपालले अतिक्रमित भूमि समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्योय। अनि भारतीय मिडियालाई के चाहियो? उनीहरु जसरी पाकिस्तानविरुद्ध अन्टसन्त बोल्थे त्यही नेपाल र नेपाली विरुद्ध प्रयोग गर्न थाले।

भारतीय मिडियाले नेपाल भारतको समाचार दिँदै गर्दा सीमाका ऐतिहासिक तथ्य, सन्धी र दस्ताबेजका विषय उठाउन चाहँदैनन्। उठाइहाले पनि गलत तथ्यको भर परिरहेका हुन्छन्। भारतीय च्यानलहरु हेरिरहँदा प्रश्न उठ्छ, ‘दुनियाँको सबसे ठूलो लोकतन्त्रमा पत्रकारिताका विश्वविद्यालय र प्राध्यापकहरुले उनीहरुलाई के सिकाए होलान्?’    

अभिनेत्री मनीषा कोइराला जो बलिउडमा आफ्नो कलाका कारण चर्चामा रहिन्। एका एक भारतीय मिडियाले कोइरालालाई बलिउडमा दयाको ‘भिख’दिएको जसरी समाचार दिन थाले। उनी आफ्नो सशक्त कलाकारिताका कारण त्यहाँ जम्न सकिन् भन्ने उनीहरुले भेउ पाएनन्। कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई कोट ट्वीट गर्दै सोमबार लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद। तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं।’  यति भए पछि भारतीय मिडियालाई के चाहियो। उनीहरुको ‘सर्कस’ सुरु भइहाल्यो। भारतीय च्यानलले एबीपीले उनलाई यतिसम्म भन्यो, ‘भारतका खाओगी चीनका गाना गाओगी?’ अनि थप्यो,’नक्शा विवादमे मनीषा कोइरालाले नेपालका पक्ष लिया।’

नेपालले कुटनीतिक नोट दिएपछि भारतीय सेनाप्रमुखले एउटा प्रतिक्रिया दिएका थिए, ‘नेपालले कसैको इसारमा यो गर्दैछ।’ उनको संकेत चीनतर्फ थियो। यसलाई पनि भारतीय मिडियाले आफ्नो 'गरुमन्त्र' मानिरहेका छन् र भनिरहेका छन्, ’चिनियाँ उक्साहटमा नेपाल लागेर भारतविरुद्ध लागिरहेको छ।’ उनीहरु सँधै समाचारमा ‘कन्सपिरेसी थ्यौरी’ प्रयोग गरिरहन्छन् जसले समाचार सेन्सेसनल होस्, उत्तेजक र नागरिकलाई आक्रोसित बनाउन सकियोस्। रिपप्लिका टिभीमा अरनव गोश्वामीले कांग्रेस नेता मिनेन्द्र रिजाल, पत्रकार सुभास घिमिरे, प्रकाश रिमाल सहित भारतीय सेनाका पूर्वजनरलको वुधबार अन्तर्वार्ता लिए। अरनवले रिजाललाई प्रतिपक्षी दलको नेता भएपछि पछिल्लो विषयमा सरकारको विपक्षमा बोलाउन प्रयास गरे। तर रिजालले उनलाई बोली बन्द हुनेगरी जवाफ दिए। उनले भने, ‘मेरो देशको संसदमा म प्रतिपक्षको कुर्सीमा हुँला तर देशको सीमाको विषयमा प्रधानमन्त्रीसँगै अडिग छु।’ उनले अन्तर्वार्ता लिने शैली प्रति पनि टिप्पणी गरे। पत्रकार घिमिरेले भारतीय मिडियामा नेपालमा हुने विषयलाई ’चीनको हात’भन्दै गरिने गलत रवैया रहेको बताए।

एबीपी, आजतक, जीन्यूज, इन्डिया टिभी, रिपप्लिका टिभीमा समाचारको प्रस्तुति र भाषा हेर्दा लाग्छ अब नेपाल र भारतकाबीच धेरै कुरा विग्रिसक्यो र अब युद्धको घोषणा हुन मात्र बाँकी छ। भारतका टिभी च्यानलबाट त्यहीँका दर्शक पनि आजित छन्। जनताका सवालभन्दा सत्ताको वफादारितामा रम्न रुचाउने भारतीय मिडियाका लागि यो सानो कुरा भए पनि भारतीय लोकतन्त्रका लागि भने यो घातक छ। भारतीय नागरिकका लागि यो झन् विषाक्त छ। जनताका आवाज दवाएर सत्ताका आवाज बोल्ने मिडिया तानाशाह भन्दा खतारा हुन्। जनआवाज बोल्नेहरुलाई भारतीय लोकतन्त्रमा के गरिन्छ त्यो त गौरिलंकेश, सुजात बुखारीको हत्याले देखाइसकेको छ। द वायरका संस्थापक सिद्धार्थ वर्धराजन माथि अपराधीलाई जसरी लगाएको एफआइआरले आवाज दवाउन के सम्म गरिन्छ भन्ने प्रष्ट्याउँछ। यो भिडमा द प्रिन्टका संस्थापक शेखर गुप्ता पनि जोडिएका छन्। एउटा भिडियोमा उनले गलत तथ्यको सहारा लिदैं सूचनाको अफवाह दिएका छन्।

भारतका बरिष्ठ पत्रकार आनन्द स्वरुप वर्माले भारतीय मिडियालाई ब्यङ्ग्य गर्दै भनेका छन्, ‘एबीपी न्यूजदेखि एनडीटीवी सम्म अर्थात फर्जी र जेनुइन च्यानल सबैले एउटै राग अलाप गरिरहेका छन्, चीनले भने अनुसार नेपालले आफ्नो नयाँ नक्सामा भारतको क्षेत्र घुसायो।’  उनले भनेका छन्, ‘१९६२ मा भारत–चीन युद्धको समयमा कालापानीमा अस्थायीरुपमा भारतीय सेना राखिएको थियो। तर छल प्रपन्चले भारतले उक्त क्षेत्रलाई आफ्नो बनाउन चाहन्छ। यो नेपाली जनताले बुझेका छन्।’ नेपालले सन् १९९० देखि लगातार कालापानीको विषयमा आवाज उठाएको बताउँदै उनले भनेका छन् 'तर त्यहाँका नेता अधिकतम समय सत्ता प्राप्तिमै व्यस्त रहे।' नेपालले नयाँ नक्सा जारी गर्नुमा चीनको भूमिका देख्ने भारतीयलाई उनले प्रश्न गरेका छन्, ’उनीहरुले यो भुले सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको समयमा जारी संयुक्त वक्तव्यमा ’लिपुलेकको द्विपक्षीय व्यापार मार्ग’  उल्लेख गरेपछि नेपालले त्यसको विरोध गरेको थियो।’  नेपालले नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा तथा लिपुलेक समेटेर चीन र भारतलाई आफ्नो संप्रभुताबारे प्रष्ट सन्देश दिएको उनले बताएका छन्। यसबारेमा विस्तारमा लेख्न र पढ्न जरुरी भएको उनको भनाइ छ।

भारतीय मिडियाले नेपाल भारतको समाचार दिँदै गर्दा सीमाका ऐतिहासिक तथ्य, सन्धी र दस्ताबेजका विषय उठाउन चाहँदैनन्। उठाइहाले पनि गलत तथ्यको भर परिरहेका हुन्छन्। भारतीय च्यानलहरु हेरिरहँदा प्रश्न उठ्छ, ‘दुनियाँको सबसे ठूलो लोकतन्त्रमा पत्रकारिताका विश्वविद्यालय र प्राध्यापकहरुले उनीहरुलाई के सिकाए होलान्?’    

 

 

 

 

प्रकाशित: ८ जेष्ठ २०७७ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App