२८ असार २०७७ आइतबार
विचार

नेपाल–भारत सीमा पर्खाल आवश्यक

चार वर्षअघि २०७३ चैत्र १ गतेको यही नागरिक दैनिकमा नेपाल–भारत सीमा विवाद शिर्षकमा एउटा लेख प्रकाशित भएको थियो । सामान्य नागरिकले बुझ्नेगरी मैले त्यो लेख लेखेको थिएँ, किनकी म सीमाविद् होइन । जोकोहीलाई पनिआफ्नो देशको सीमा अधिक प्यारो लाग्छ । त्यसैले हुनुपर्छ जहिले जस्तोसुकै अवस्थामा पनि म आफूलाई आफ्नो देशको सीमाभित्र सुरक्षित भएको ठान्दछु । विदेशमा हुँदा चाहे त्यो धेरैको सपनाको देश अमेरिका बस्दा नै किन नहोस् मलाई कताकता संकोच नै लाग्छ । त्यसको अर्थ अरु देश सुरक्षित छैनन् भन्न खोजेको होइन । म विदेशमा हुँदा विदेशी नै हुन्छु ।

माथि उल्लिखित लेख त्यसबखत फेसबुकमा करिब ५ हजारपटक सेयर भएको थियो । त्यो लेख मेरो सर्वाधिक मन पराइएका थोरै लेखमध्ये पर्दछ । त्यसमा लेखेको थिएँ, ‘सुरक्षाका दृष्टिले र आ–आफ्नो साँध सधैंका लागि सुरक्षित राख्न बारबन्देज र सीमा पर्खाल पनि एउटा विकल्प हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोबीच सीमा पर्खाल बनाइछाड्ने भए । कुनैदिन भारत र नेपालबीच पनि यो सम्भव भयो भने दुवैको हितमा हुनेछ ।’  पछिल्ला दुई पंक्तिहरु लेखको हाइलाइटको रूपमा छापिएका थिए ।

नेपाल–भारत सीमा विवाद कहिल्यै निको नहुने रोगको रूपमा रहँदै आएको छ । तथापि यो रोगले नेपाललाई मात्रै च्याप्ने गरेको छ । रोग दुवैको हो, तर बिरामी पर्ने नेपाल र नेपाली मात्र रहँदै आएका छन् । यसको दीर्घकालीन उपचार विधि अति आवश्यक भइसकेको छ । त्यसका लागि भ्याक्सिन(खोप) नै बनाउनुपर्छ । सीमा विवादको भ्याक्सिन भनेको पक्की बारबन्देज वा सीमा पर्खाल नै हो । यो खर्चको हिसाबले महँगो पर्छ । तर सधैँको झगडा र पीडाभन्दा धेरै सस्तो पर्दछ ।

सीमा विवादको भ्याक्सिन भनेको पक्की बारबन्देज वा सीमा पर्खाल नै हो । यो खर्चको हिसाबले महँगो तर सधैँको झगडा र पीडाभन्दा धेरै सस्तो पर्दछ ।

अहिले भारतले नेपालको लिपुलेक क्षेत्रमा करिब १९ किलोमिटर (कतै १३ उल्लेख छ) भू–भाग मिचेर मानसरोबर जाने बाटो बनाएको समाचार छ । यसले नेपाल र नेपालीको घाउ फेरि बल्झाएर असाध्यै दुख्ने बनाएको छ । बितेकाकेही दिनदेखि मुलुकको राजनीति यसैमा बल्झिरहेको छ । बजेट बनाउन डाकिएको संसद् आरोप प्रत्यारोपमा उत्रिएको छ । सडक तात्तिएको छ । यसले कोरोनाका कारण गरिएको लकडाउन र अध्यादेश प्रकरण ओझेलमा पारेको छ । अहिले कम्तीमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालस्थित भारतका राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा डाकेर औपचारिक विरोध गरेको अवस्था छ । नेपालले वार्ताद्वारा समाधान निकाल्न कोभिड–१९ हल नहुँदासम्म कुर्न सक्दैन भन्ने सन्देश पनि दिएको छ ।यो सरकारको राम्रो कदममध्ये पर्दछ । यही सिलसिलामा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतसँग सधैँ विवाद गरिरहनुभन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउनु राम्रो भन्नुभएको छ । संसद्को अन्तर्राष्ट्रिय समितिमा बोल्दै उहाँले यो पनि भन्नुभयो,‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको काम भयो ।’ यो भारतको मिचाहा प्रवृत्तिको पराकाष्ठा हो ।अहिले सीमामा अतिक्रमण रोक्न पर्खाल लगाऔं भन्ने आवाज जताततै गुञ्जिरहेको छ ।

सीमामा पक्की बारबन्देज वा पर्खालको कुरा धेरैलाई पक्कै पनि पत्यारिलो लाग्दैन होला । आवेशमा पोखेका अभिव्यक्ति मात्र लाग्ला । दुई देशबीचको १ हजार ८ सय किलोमिटर (१२०० किमि जमिन सिमाना र ६०० किमि नदी सिमाना, सीमाविद् बुद्धिनारायण श्रेष्ठको तथ्यांकअनुसार) लामो सिमानामा काँडेतार वा अझ पर्खालै लगाउने हो भने त खर्बौं रुपैयाँ लाग्छ। फेरि यो काम एकतर्फी त हुनै सक्दैन । किनकी सिमानाको बीचमा दशगजा (नो म्यान्स ल्यान्ड) छ । काँडेतार वा पर्खालै लगाउने हो भने दशगजालाई केन्द्रबिन्दु मानेर लगाउनुप-यो। अर्थात्, दशगजालाई उतातिर वा यतातिर त्यसै छोड्ने कुरा आएन । त्यसैले यो काम दुई देश मिलेर मेगा प्रोजेक्टको रूपमा ल्याउनुपर्छ । के यो प्रस्ताव नेपालले भारतसमक्ष राख्न सक्छ वा राख्न उचित ठान्छ ? यदि राखेमा के भारतले मान्ला ? जे होस्, दुई देशबीच समझदारी भयो भने खर्च दामासाहीमा गर्नेगरी रकम जुटाउन खासै समस्या पर्दैन । त्यसमा पनि भारत नेपालभन्दा धेरै ठूलो र धनी देश भएकोले खर्चको धेरै भाग उसैले बेहोर्ने सदासयता पनि देखाउन सक्छ । त्यसो भयो भने त सुनमाथि सुगन्ध हुन्छ । खासमा सीमामा पक्की बारबंदेजले नेपाल र भारत दुवैलाई दीर्घकालीन फाइदा दिन्छ । नेपाललाई मात्र फाइदा हुने होइन । सिमाना खुला हुँदा भारतलाई वा नेपाललाई के फाइदा छ, र बारबन्देज गर्दा के के बेफाइदा छन् लेखाजोखा होला ।  

फाइदाको कुरा गर्दा,पहिलो त चोरी तस्करी तथा अवैध निकासी पैठारी रोकिन्छ । यसले भन्सार शुल्क तथा करमा दुवै देशका सरकारले बेहोरिरहेको अर्बाैं रुपैयाँको नोक्सानी रोकिन्छ।दोस्रो, अवैधरूपमा निकासी पैठारी हुने बालीबिरूवा, खाद्यान्न तथा पशुपन्छीका साथ नेपालबाट भारत पस्ने र भारतबाट नेपाल पस्ने लाग्ने हानीकारक र रोग कीरा आदिको पनि धेरै हदसम्म नियन्त्रण हुन्छ ।हुनत, आल भएका क्वारेन्टिन चेकपोस्टबाट पनि खासै नियन्त्रण हुन सकको छैन, तर स्थिति सधैंं यस्तै नरहला । तेस्रो, बालीबिरूवा र पशुपन्छी मात्र होइन मानिसको रोग जस्तै कोरोना भाइरस जस्ता भविष्यमा आउनसक्ने रोग व्याधि नियन्त्रणका लागि पनि सुरक्षित सीमा चाहियो। अहिले खुला सिमाना भएका कारण कोरोना भाइरस संक्रमण भित्रिरहेको सर्वविदितै छ।चौथो, अपराध र आतंककारी घटना धेरै कम हुन जान्छ । नेपालमा अपराध गरेर भारततिर भाग्नेरलुक्ने अनि भारतमा अपराध गरेर नेपालतिर भाग्नेर लुक्ने तथा नेपालको बाटो भएर आतंककारी भारत पस्ने र भारतको बाटो भएर नेपाल पस्नेमा पनि धेरैे नियन्त्रण हुन्छ ।पाँचौं, यो त भन्नै परेन कि नेपाल र भारतबीच बेलाबेला भइरहने मनमुटाव स्वात्तै घट्छ । अरु पनि कतिपय प्रत्यक्ष र अप्रत्यक्ष फाइदाहरू होलान् ।

बेफाइदाका कुरा गर्दा सायद् नेपाललाई केही क्षेत्रमा अप्थ्यारो पर्नसक्ने देखिन्छ । खासगरी बाढी आउने बेला पानीकोे प्राकृतिक बहाव रोकिन्छ यदि पर्खाल बनायो भने । त्यसको लागि पनि केही न केही प्रविधि त अपनाउन सकिन्छ । अहिले पनि ठाउँठाउँमा भारलले सिमानामा बाँध बाँधेर वा कोसीमा बाँध बन्द गरेर नेपालतर्पm जलमग्न गराउँदै आएको छ । जुनबेला भारतलाई पानी चाहिन्छ बाँध खोलेर लाने गरेका छन् । यसको लागि पनि दुवै देशको हितमा हुनेगरी समझदारी त बन्नुपर्ने नै हो ।  

जमिन सीमा भएको ठाउँमा त काँडेतार वा पर्खाल लगाउन सकिन्छ । नदी सिमाना भएको ठाउँमा के गर्ने ? ठूल्ठूला नदीले बेलाबखत आफ्नो बाटो बदल्न सक्छन् । हिजोको नदीवारिको नेपालको भूमि भोलि नदीपारि भारतको देखिन गएको हुन्छ । यस्तो समस्या दुई देशबीच मात्र नभएर देशभित्रै वासिन्दा–वासिन्दाबीच पनि हुने गर्दछ । बुझिएअनुसार नेपाल–भारतबीच सुस्ताको एउटा समस्या त्यो पनि हो । नदी किनारमा कुनै स्तम्भ छैन । हुनत, स्तम्भ वा जंगे पिलर भएकै ठाउँमा पनि ती सारिएका र गायब गर्ने गरिएका पनि छन् । तर नदी किनारमा त्यसो हुने सम्भावना कमै हुन्छ । बाढीले नै बगाएर लगेको अवस्थामा बाहेक । तर सबै त लाँदैनन् । त्यसैले नदी किनारका निश्चित बिन्दुहरुमा स्थायी र बलिया स्तम्भ निर्माण गर्नु जरुरी छ ।

अन्त्यमा, कतिपय सीमा क्षेत्रमा दशगजा नै नभएको पनि बुझिन्छ । जसले गर्दा दुई देशका नागरिकबीच पनि किचलो हुने गरेको छ । केही दिनअघि एक टेलिभिजनमा प्रसारित समाचारमा देखाइएअनुसार कपिलवस्तुमा नेपाल र भारत दुईतिरका घरबीच एउटाको बार्दलीबाट अर्काेको बार्दलीमा आउजाउ गर्न सकिने रहेछ। यो कारणले गर्दा भारतबाट नेपाल आउनेहरूलाई यो लकडाउनको बेला चाहेर पनि रोक्न नसकिरहेको अवस्था छ । म आफैले कताकता देखेको छु, कुनै कुनै सीमाबजारमा एकै लहरका घरमध्ये कुनै नेपालतर्फका त कुनै भारततर्फका छन् । जे होस्, त्यहाँ त छिमेकी र परिवारजस्तै मिलेर बसेका छन् । समस्या नआउँदासम्म त ठिकै हो । झगडै नभए पनि त्यस्ता ठाउँ प्रयोग गरीअवैध निकासी पैठारी तथा तस्करी जस्ता अवैध कामभइरहेका हुन सक्छन्। त्यसकारण सीमामा जोडिएर रहेका यस्ता घर बस्तीलाई पनि उचित व्यवस्था गरी दुई देशबीच अन्तर्राष्ट्रिय मान्यताबमोजिम सिमाना कायम गर्नुपर्छ ।

प्रकाशित: २ जेष्ठ २०७७ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App