आखिर यो स्थिति आएरै छोड्यो ।
वसन्तको मौसम हो यो । अनेक रूखमा, बोट÷बिरुवामा, कुनै दिन एउटा÷दुइटा फूल देखिन्छन्, अर्को दिन दश बाह्रवटा र कुनै एक दिन सिङ्गै रुखलाई ढपक्कै ढाक्छ फूलले । र, सौन्दर्यको विस्फोट भएझैँ हुन्छ । तर यतिबेला सौन्दर्यको हैन, त्रास र त्रासदीको विस्फोट भइरहेको छ । मकै भुट्दा सुरुमा प्याट्टपुट्ट एउटा दुइटा फूल फुटेजस्तै केही समयअघिसम्म पनि पिसिआर प्रमाणित कोभिड–१९ संक्रमणका केही केस मात्र थपिने गरेका थिए । केही दिनयता भने हाँडीभरिकै मकैको एकैचोटि फूल फुट्न थालेझैँ भएको छ । दिन दुईगुना रात चारगुनाका हिसाबले नयाँ केस फेला पर्न थालेका छन् ।
तयारीका निम्ति हामीले जति लामो समय पाएका थियौँ, त्यो समयलाई कति बुद्धिमानीका साथ सदुपयोग गर्न सक्यौँ वा कति मूर्खताका साथ गुमायौँ ? यसको लेखाजोखा गर्न अझै केही समय लाग्नेछ । जित्न सकिने लडाइँ हार्छौँ कि हार्ने नै सम्भावना भएको लडाइँमा नोक्सानी कम गर्न सक्छौँ ? यो पनि अलि पछि मात्रै स्पष्ट हुनेछ । तर यति नै खेरको यथार्थचाहिँ के हो भने अब हामी यो महामारीको अर्कै चरणमा प्रवेश गरि नै सक्यौँ । जीवन पहिलेभन्दा ठूलो जोखिमको चरणमा प्रवेश गरिसक्यो । अबका दिन पहिलेभन्दा कठिन हुनेछन् । धन्न अहिलेसम्म त कोरोनाकै कारण देशभित्र कसैको मृत्यु भएको छैन तर हामीलाई नयाँ कोरोना भाइरसले विशेष माया गर्नुपर्नेचाहिँ कुनै कारण छैन । देशबाहिर धेरै नेपालीको मृत्यु भइ पनि सकेको छ । अझै बढी सतर्कता नअपनाउने हो भने यति नै बेला भोग्नुपर्ने दुःख मात्रै हैन, कोरोनाको यो महामारी केही मत्थर भइसकेपछिका दिनहरूमा पनि पहिले अनुमानै नगरेका अनेक नयाँ दुःखले पिरोल्ने छन् । यी नयाँ दुःख स्वास्थ्य स्थिति र जीवन–मृत्युका मामलामा मात्रै हैन, जीवनका अनेक आयाममा प्रकट हुनेछन् ।
धन्न अहिलेसम्म त कोरोनाकै कारण देशभित्र कसैको मृत्यु भएको छैन तर हामीलाई नयाँ कोरोना भाइरसले विशेष माया गर्नुपर्नेचाहिँ कुनै कारण छैन ।
तर यो कालो बादलमा पनि चाँदीको घेरा बाँकी छ । जस्तै अन्धकारमा पनि उज्यालोको बीऊ बाँकी रहन्छ, उज्यालो जीउँदो रहन्छ – निक्खर कालो कोइलाभित्र आगोको बीऊ लुकेजस्तै । गरेदेखि अझै पनि गर्ने सकिने धेरै कुरा बाँकी छन् ।
हेरौँ न एकचोटि–
– झण्डै दुई महिना लामो लकडाउनमा जनताले गज्जबले साथ दिएका छन् । कतिपय पश्चिमा देशमा वा हाम्रै छिमेकका केही देशमा जस्तो छाडा भएका छैनन् नेपाली जनता । हो, लुकिछिपी यताबाट उता, उताबाट यता आउने÷जाने भएका उदाहरण छन्, सिमाना वारिपारिका अप्ठ्यारा समस्या छन् । तर यी यस्ता समस्या हुन् जो राज्य संयन्त्र प्रभावकारी र सक्षम हुँदो हो त अन्य कतिपय देशका तुलनामा हामीकहाँ सजिलै रोक्न सकिन्थ्यो ।
– केही समयअघि मात्रै अमित ढकालजीले बैङ्कर्स एसोसिएसनका अध्यक्षसँग लिएको अन्तर्वार्ताका अनुसार बैङ्कहरूमा सञ्चितिको स्थिति राम्रै छ । निकै सानो आकारको अर्थतन्त्र भएको हाम्रो जस्तो देशमा यतिको हुनु भनेको पनि निकै सुरक्षित रहनु हो ।
– दक्षिण एसियामा सूचना प्रविधिका क्षेत्रमा नेपाल साह्रै कमजोर छैन, बरू बलियै छ । राज्य थोरै मात्र ‘स्वस्थ’ हुने हो भने मात्रै पनि सूचना प्रविधिका क्षेत्रमा देश अझै धेरै बलियो हुनसक्छ । र, अबको युग सूचना प्रविधिकै हो । झन् झन् बढी शिक्षण संस्थाहरूले अनलाइन कक्षा सञ्चालन गर्न थालि नै सके । कतिले घरैबाट आफु काम गर्ने कार्यालयको महत्वपूर्ण औपचारिक जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
– अहिलेको जस्तो सबै घरघरमै थुनिएको स्थितिमा पनि नेपाली आआफ्नै किसिमका सिर्जनशीलताका साथ बाँचिरहेका छन्, केही न केही सिर्जना गरिरहेका छन् ।
– राज्यले नै गरिदिनुपर्ने कतिपय कामसमेत जनताका पंक्तिमा रहेका विभिन्न व्यक्ति वा समूहले स्वस्फूर्तताका साथ जो सकेको गरिदिएका छन् – स्वास्थ्यकर्मीका निम्ति पिपिइ बनाइदिने काम होस् वा गरिबका निम्ति राहतमा सघाउने काम होस् ।
– यस्तो अप्ठेरो समयमा पनि राष्ट्रको सीमाबारे जनता सचेत छन् र राज्यलाई झक्झकाइरहेका छन् । आफ्ना तर्फबाट जनता मिचाहा छिमेकीसँग लडिरहेका छन् ।
राज्य साँच्चै नै जिम्मेवार हुँदो हो त आफू यस्तो जनताको प्रतिनिधि हुन पाएको साँच्चै गर्व गर्नुपर्ने हैन ? उत्तरदायित्वबोधको गहन भारीलाई अनुभूत गर्नुपर्ने हैन ? अनेक विकृत मानसिकताका प्रतीक बनेका गुटवाद, तात्कालिक लोभ, अहंकार जस्ता फोहोरलाई एकातिर पन्छाएर ‘हिरा फोरेरै’ भए पनि अहिलेको चुनौतीसँग जुझेर देखाउन सक्नुपर्ने हैन ?
यस्तो अप्ठेरो समयमा पनि राष्ट्रको सीमाबारे जनता सचेत छन् र राज्यलाई झक्झकाइरहेका छन् । आफ्ना तर्फबाट जनता मिचाहा छिमेकीसँग लडिरहेका छन् ।
यी त केही उदाहरण मात्र हुन् । यो कठिन परिस्थितिमा पनि यो देशमा अरू धेरै सम्भावना जीउँदा छन् । यति असल नागरिक र माथि उल्लिखित सकारात्मक पक्ष भएका बेला राज्यले विश्वकै सामु आफुलाई अब्बल देखाउन पाउने अवसर पनि हो यो चुनौती । अझै पनि समय छ सरकारका लागि ।
उत्तरदायित्वबोध गर्ने हो भने कम्तीमा पनि अब कुनै ढिलाई नगरी देशका सबै अस्पतालमा पिपिइ, स्वास्थ्य सामग्री र औषधिमुलोको प्राप्यता सुनिश्चित गर्ने काम सरकारले गर्नैपर्छ । दिनको १५ हजारसम्म पिसिआर गरिदिन्छौँ भन्ने गैरसरकारी प्रयोगशालाहरू नै छन् ! सरकारले त अत्यन्त द्रुत गति र विशाल संख्यामा प्रामाणिक जाँच गर्ने काममा जसरी भए पनि ध्यान दिनैपर्छ । सबभन्दा पहिले प्रभावित भएको उत्तरी छिमेकी चीनमा यतिबेला पक्कै पनि केही महिनाअघि जस्तो हाहाकारको स्थिति छैन । उनीहरूले सदाशयताका साथ मद्दत गर्ने तत्परता देखाएको कुरा पनि सञ्चारमाध्यमबाट सुनिरहिएकै छ । सुरक्षा र उपचारका सामग्री प्रशस्त मात्रामा उत्पादन गर्ने सामथ्र्य पनि छ उनीहरूसँग । पिसिआरकै निम्ति समेत तिनले मद्दत गर्न सक्लान् । यस्तो बेलामा पनि मुख्य प्राथमिकता दिएरै पिपिइको बन्दोबस्त गर्न अझै ढिलाइ भयो भने यो सरकारलाई भविष्यका कुनै कालखण्डका नेपालीले क्षमा दिने छैनन् ।
यो अत्यन्त कठिन र इतिहासमै कहिल्यै नबेहोरेको स्थिति हो । यस्तो स्थितिमा जनताका दैनिकीलाई सिर्जनात्मक बनाउन मद्दत गर्ने काम राज्यको हो । लकडाउनलाई कायमै राखेर अब सबै शिक्षण संस्थालाई पूर्णतया अनलाइन सञ्चालन गर्न सरकारले सघाउनुपर्छ । विभिन्न संघ÷संस्था, समूह र व्यक्ति यस काममा सघाउन तत्पर नै छन् । सरकारी कर्मचारीतन्त्रभित्र पनि पक्कै केही असल, सक्रिय, मानिस होलान्, सबका सब नै भ्रष्ट, कामचोर र अक्षम त नहोलान् ! नागरिक तप्का र भएका असल कर्मचारीमा निहित क्षमता, स्वस्फूर्तता र तत्परतालाई कुशलपूर्वक संयोजन गरे सरकारले यतिबेला धेरै असल काम गर्न सक्छ । निश्चित व्यक्तिगत दूरी कायम राख्नेलगायत सुरक्षाका अनेक उपाय अवलम्बन गर्दै गर्न सकिने उत्पादन र निर्माणका काम प्रशस्त छन् । उत्तरदायित्वबोध गर्ने हो भने अहोरात्र खटिएर तर्कसंगत, विज्ञानसम्मत निर्देशिकाहरू तयार गर्दै, कोभिड आतङ्कसँग जुझ्दै पनि आर्थिक क्षति कम गर्न सक्छ सरकारले । यति गर्नैका निम्ति न त नेपाल सरकार पश्चिमा संसारका केही शक्तिशाली भनिएका शासकहरूझैँ दुर्बुद्धि हुनु आवश्यक छ न हामी नागरिक नै तिनका समर्थकझैँ छाडा हुन ।
सिङ्गै देशलाई वातावरणीय सांग्रिला बनाउनका निम्ति र वातावरणमैत्री अर्थतन्त्रतर्फ उन्मुख हुनका लागि तयारी गर्ने यो अत्यन्त उत्तम बेला हो । जस्तो पायो त्यस्तो लाजलाग्दो अध्यादेश ल्याएर आफ्ना संकुचित निहित स्वार्थका निम्ति बेइज्जति खप्नुभन्दा बरु केही कालजयी निर्णय गर्न सक्नुपथ्र्याे सरकारले । अझै पनि सकिन्छ । यही बेलादेखि नै पुराना गाडीको विद्युतीकरण र अब आयात गर्ने गाडी विद्युतीय नै हुनुपर्नेतर्फ तयारी थाले हुन्छ सरकारले ।
यसपालिको यो महामारी अन्त्यका लागि संसारभरकै जनता कुनै न कुनै किसिमको खोप पर्खिरहेका छन् । त्यतिन्जेलसम्ममा मानिसका बानीबेहोरासँग सम्बन्धित कुरामा, एउटा गरिब देशको सरकारले बुद्धि पु¥याउँदा हुनसक्ने रोकथामका बारेमा, र कम खर्चमै प्राप्त गर्न सकिने सफलताका बारेमा पनि केही उदाहरण हाम्रै जस्तो गरिब देशबाट समेत निस्किन सक्लान् । नागरिकलाई साँच्चै सम्मान गर्ने, जनतामा रहेको असीमित सम्भावनालाई देख्न सक्ने सरकार हुने हो भने धेरै कुरा हुन सक्छ । संविधानसमेत समाजवाद उन्मुख भएको यो देशमा आफूलाई समाजवादप्रति समर्पित भनेर गफ दिने पार्टीको सरकारले गरिबका निम्ति अझै केही गर्न नसकेको आलोचनाबाट मुक्त हुन कोसिस गरे सक्नैपर्ने हो ।
भाग्यमानी भन्नुपर्छ यो सरकारलाई– एकपछि अर्को गल्ती गरे पनि जनताले अझै मौका दिइरहेकै छन् । तर अनित्य छ संसार । कसैलाई पनि सधैँ उस्तै अवसर मिलिरहँदैन । अब बाँकी समयमा केही गर्न सकोस् राज्यले । शुभकामना मात्रै हैन यो, नागरिकको अपेक्षा पनि हो ।
प्रकाशित: २ जेष्ठ २०७७ ०२:४५ शुक्रबार