८ वैशाख २०८१ शनिबार
विचार

आज बालुवाटार रिसाएको छ !

‘चुनाव त आओस्, यिनलाई ठीक पारिन्छ, भ्रष्टहरू ! हुँदाहुँदा यात्रा संकटाँसमेत खाने ?’ बेलुका तरकारी किन्न निस्कँदा करिब ६० वर्षीया बूढीआमाले रिस पोखिन्।  अनि सँगै साग बेच्न बसेका अर्का दाजु भन्दै थिए– के गर्नु बाबु, यिनले हामीलाई मार्ने भए !

चोक–चोक, घर–घर र इन्टरनेटका समाचारमा कमेन्ट पढ्दा थाहा हुन्छ, जनता दुईतिहाइको दुहाइबाट कति पीडित छन् तर बालुवाटारमा बसेका, जानेका, सुनेका र पढेकाहरूलाई लाग्छ– यी सब कुनै पार्टीका नूनबहादुरमात्र हुन्।

आजकल बालुवाटार बोल्दैन जनतासँग किनकि उसलाई यो महामारीको पीडामा डुबेका जनताका दुःखले पोल्दैन।  आजकल बालुवाटार बोल्दैन किनकि सर्वत्र छिटोभन्दा छिटो कमाउन पल्केकाहरू गेटमा पहरा दिएर बसेका छन्।  आजकल बालुवाटार आफ्नैसँग पनि बोल्दैन, केवल झर्कन्छ, झम्टन्छ र चिथोर्छमात्र।  आजकल किन हो कुन्नि हामी सबैसँग बालुवाटार निकै रिसाएको छ।

बालुवाटार चुर छ रिसले, भाउन्न भएर लगभग आँखा देख्न छाडेको छ र भन्छ– मिडियाले जे पनि लेख्दै हिँड्छ।  बडेमान नेताका बैठकमा जे पनि लेख्ने ? यसलाई र उसलाई कारबाही गर्नुपर्यो भन्नेबारे पो छलफल हुन्छ रे यस्तो संकटमा !

एउटा किंवदन्ती छ नि– कुनचाहिँ राणा शासकले आफ्ना भारदारलाई टुँडिखेलमा बोलाएर एउटा बाङ्गो रुख देखाएर सोधेछन्, ‘ल, भन यो रुख कति सिधा छ ?’ भन्दा सबैले हँमा हँ मिलाएर सिधा छ महाराज भन्दै गर्दा एकजनाले बिस्तारै हात उठाएर भनेछ– ‘महाराज ! मेरो घाँटी काटिनलाई चिलाएको हो कि के हो तर म त रुख बाङ्गो÷बाङ्गो पो देख्छु त !’ बालुवाटारमा केवल रुख सिधा देख्नेमात्रै छन्, बाङ्गो देख्नेबित्तिकै त्यहाँबाट चट् !

आज विश्व लर्बराएको छ।  बडेमान शक्तिराष्ट्रहरू समेत ‘मास्क’ का लागि लुछाचुँडी गर्दैछन्।  इटाली, स्पेन र अमेरिकामा कोरोनाबाट मर्नेको संख्या दिनानुदिन बढ्दो छ।  आज हाम्रो बन्दाबन्दीको सत्रौँ दिन।  जान्ने÷सुन्ने, पढेका÷नपढेका, गाउँ÷सहर, देश÷विदेश, सबैले छिटोभन्दा छिटो विदेशबाट आएकाको ‘टेस्ट’ गर्नुपर्ने कुरा चिच्याउँदासमेत दिनमा जति जनाको ‘टेस्ट’ हुनुपर्ने हो भएको छैन।  सरकारी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी आफ्नो पीडा सामाजिक सञ्जालमा पोख्न बाध्य छन्।  सरकार यस्तो अवस्थामा खटिने प्रहरीको तलब काटेर कोरोना कोषमा राख्ने तयारीमा छ।   सामान्य सुरक्षा अपनाउनका लागि चाहिने उपकरणसमेत छैनन्।  कोरोना वुहानबाट नेपालसम्म आइपुगेपश्चात् पनि दुई महिना मीठो निद्रामा सुतेको दुईतिहाइ उल्टै अहिले हामीसँग रिसाएको छ।  

अघिल्लो दिनसम्म चीनबाट ल्याएको सामानमा भ्रष्टाचार भएको ‘छैन, छैन’ भनेर चिच्याउने स्वास्थ्यमन्त्री र बालुवाटारका सल्लाहकारहरू भोलिपल्टै सो ठेक्का रद्द गरी ओम्नी समूहलाई कालो सूचीमा राख्ने निर्णय हुँदा बोली बन्द गर्न पुगे।  कसैले कारबाही भोग्नुपरेन।  ओम्नीबाट उल्टै फेरि करोडौँको सामान किन्ने तयारीमा छ हाम्रो शक्तिशाली सरकार।  बालुवाटारभित्रकै एक से एक सल्लाहकार एकपछि अर्को घोटालामा मुछिँदासमेत प्रधानमन्त्री चुँ पनि गर्दैनन् त ! ‘भ्रष्टाचारमा म कसैको अनुहार हेर्दिन’ भन्ने प्रम ओली घोटालाको जालोले बालुवाटारलाई पुरै घेर्दा पनि कारबाही गर्ने कुनै संकेतसमेत देखाइरहेका छैनन्।

सामाजिक सञ्जालमा नेतालाई सामान्य गाली वा अरुले लेखेको कमेन्टमा ‘लाइक’ गर्नेलाई पनि तुरुन्त समातेर जेल हाल्ने दुईतिहाइ त आफ्नाले नै गैरकानुनीरूपमा कसैको वेबसाइटबाट समाचार हटाएको स्वीकार गर्दा पनि कारबाही त कता हो कता, पदबाट बर्खास्त गर्न पनि सक्दैनन् त !

प्रधानमन्त्रीका वरिपरिकाको सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जाल पोखिने भावना हेर्दा लाग्छ, उनीहरू यति रिसाएका छन् कि त्यसको गणना साध्य छैन।  आफूविरुद्ध समाचार आउँदा त्यसलाई ‘युद्ध अपराध’ को संज्ञा दिने प्रमुख सल्लाहकार र भ्रष्टाचारबारे अख्तियारमा मुद्दा हाल्नु ‘गैरकानुनी’ हो भनेर जिकिर गर्नेहरूलाई अरुको वेबसाइटको समाचार गैरकानुनीरूपमा उडाइदिँदाचाहिँ केही गर्नु नपर्ने ? बालुवाटार चुर छ रिसले, भाउन्न भएर लगभग आँखा देख्न छाडेको छ र भन्छ– मिडियाले जे पनि लेख्दै हिँड्छ।  बडेमान नेताका बैठकमा जे पनि लेख्ने ? यसलाई र उसलाई कारबाही गर्नुप¥यो भन्नेबारे पो छलफल हुन्छ रे यस्तो संकटमा !  

कोरोना भाइरसविरुद्ध लागेका संसारभरका सरकार, वैज्ञानिक र विश्वविद्यालयका बारेमा पढ्दा रुन पो मन लाग्छ।  हाम्रा विश्वविद्यालय र सरकारी अस्पताललाई दशकौँदेखि राजनीतिले लात हानेर थिलोथिलो नपारेको भए, चोरेर, ढाँटेर जेनतेन ‘प्रोफेसर’ को उपाधि पाएका सामान्यभन्दा सामान्य ज्ञान नहुनेलाई त्यस्ता संस्थामा भागबन्डाको नाममा नचढाइएको भए आज यो महामारीमा ती संस्थाले भूमिका निर्वाह गर्न सक्थे।  कोरोनाविरुद्धको औषधि, खोप, उपकरणबारे कति गज्जबले काम गरिरहेका हुन्थे होला।  धत्, यो पापी मन यस्तो हुन नसक्ने कुरा पनि सोच्छ ! आज ‘मास्क’ का लागि पनि अरुलाई गुहार्नुपरेको छ।

यत्रो सर्वशक्तिमान दुईतिहाइले खुला सिमाना भएको हाम्रो दक्षिण सीमाबाट हजारौँ नेपाली घर फर्किनेछन् भन्ने आकलनसमेत कसरी गर्न नसकेको ? कमसेकम सिमाना नजिकका ठूला खाली ठाउँमा पर्याप्त क्वारेन्टाइन गर्ने व्यवस्था गरेको भए आज गाउँगाउँमा रोग पस्यो कि भनेर त्रस्त हुनुपर्ने त थिएन।  महाकालीमा पौडेर आफ्नो देश आउनुपर्ने त थिएन।  र, सीमापारि हाम्रालाई भारतीयले राखेकै ठाउँमा कुटेको पढ्न र सुन्न त पर्ने थिएन।  अनि बालुवाटार हामीसँग रिसाउँदैन त ? यस्ता जम्मै कुरा बाहिर ल्याइदिने ? खै दुईतिहाइको सम्मान ? 

बालुवाटार सबैसँग रिसाएको छ।  आफ्नैसँग झन् रिसाएको छ।  प्रश्न गर्नेसँग रिसाउँछ।  लेख्ने र बोल्नेसँग त झन् बालुवाटार सधैँ रिसाउँछ।  यो पुरानै रोग हो तर अहिलेको बालुवाटार अलिक विशेष रिसाउँछ।  यता गर्दा, उता गर्दा, यस्तो गर्दा, उस्तो गर्दा, जे गर्दा पनि कुरो बाहिर आइहाल्ने।  लेखिहाल्ने, बोल्दिहाल्ने अनि रिसाउँदैन त बालुवाटार ?

आँखामा जालो लागेर देशभित्रका हरेक आवाजलाई आफूविरुद्धको षड्यन्त्र मात्र देख्ने बालुवाटार यत्रो महामारीमा भताभुङ्ग अवस्थाप्रति कति संवेदनशील छ भन्ने त उसको स्वस्थ्यमन्त्रीका अभिव्यक्ति हेरे÷सुने पुग्छ।  कोरोनाविरुद्ध लड्नुपर्ने जनता र मिडिया अहिले बालुवाटारको भ्रष्टाचार, नलायकी र संवेदनहीनताविरुद्ध लड्नुपरेको छ।  अनि बालुवाटार हामीसँग निन्द्रामै नरिसाए कोसँग रिसाउँछ त ?  

सुतिरहेको मान्छेलाई उठाउँदा कति रिसाउँछ ? अनि सुतेको बालुवाटार रिसाउँदैन त ?

प्रकाशित: २८ चैत्र २०७६ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App