१ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

कोरोनाविरुद्ध हातेमालो गरौं

चु मेई (ललिता)
यतिबेला चीन कोरोना भाइस अर्थात् कोभिड–१९ को महामारीसँग संघर्ष गरिरहेको छ। कोरोना संक्रमण बढेसँगै भौगोलिक रूपमा यसको प्रभाव चीनमा कहाँ, कति छ भन्ने कुरालाई चीनको नक्सामा रङ भरेर देखाइने गरेको छ। चीनको रंगीन चित्रबाट कोभिड–१९ को संक्रमण देखाउँदा सबैभन्दा गाढा रातो रङले बढी संक्रमण भएको प्रस्ट्याउँछ। सधैं रातो रङ मन पराउने चिनियाँलाई यतिबेला चीनको नक्सामा देखिएको रातो रङले चिन्तित बनाएको छ।

कोभिड–१९ को महामारी फैलिएपछि केही सञ्चारमाध्यमले चीनका विभिन्न क्षेत्रमा संक्रमितको संख्याबमोजिम महामारीको नक्सांकन गरेका छन्। कोभिड–१९ को संक्रमणलाई बुझिने गरी देखाउने क्रममा चीनका विभिन्न क्षेत्रमा सेतो, हलुका रातो, चम्किलो रातो, गाढा रातो आदि रङले संकेत गरिएका छन्। नक्सामा गाढा रातो रङले कोभिड–१९ को संक्रमण सबैभन्दा गम्भीर भएको देखाउँछ। चीनको मध्यभागमा रहेको हुपेई प्रान्त र त्यसआसपासका केही प्रान्तका क्षेत्रलाई गाढा रातो रङमा देखाइनुको अर्थ ती ठाउँमा कोभिड–१९ को संक्रमण सबैभन्दा बढी र गम्भीर छ भन्नु हो। चीनको यस्तो नक्साले चिनियाँको मात्र नभई विश्वकै ध्यान तानेको छ।

यो मानव जातिका लागि एउटा परीक्षा मात्र हो। अहिलेसम्म जुनसुकै समस्या आइपरे पनि मानव जातिले समाधानको उपाय निकालेको छ। अहिलेको यो कठिनाइ परास्त गर्न पनि हामी अवश्य सफल हुनेछौं।

गत फेब्रुअरी १२ तारिख, नेपालसँग जोडिएको चीनको तिब्बत स्वायत्त प्रदेशमा कोभिड–१९ बाट संक्रमित एक व्यक्ति उपचारपछि ठीक भएर अस्पतालबाट डिस्चार्ज भए। त्यसैले तिब्बत कोभिड–१९ महामारीबाट मुक्त भएको चीनको पहिलो प्रान्त हो। त्यसपछि तिब्बतलाई कोभिड–१९ मुक्त प्रान्त मानिएको छ। त्यसैले वर्तमान अवस्थामा चीनभरिमा तिब्बत मात्र सेतो रङबाट देखाइने क्षेत्र बनेको छ। सबै चिनियाँको इच्छा पूरै चीनभरि तिब्बतजस्तै सेतो रङ भर्ने रहेको छ।

सेतो रङलाई शान्ति र भातृत्व जनाउने रङ मानिन्छ। कोभिड–१९ महामारीविरुद्ध लडिरहेका सबै स्वास्थ्यकर्मीले सेतो सुरक्षा–पोसाक लगाएका छन्। चीनमा उनीहरूलाई सेतो लुगा लगाएका भगवान् भन्ने गरिएको छ। सेतो रङले मान्छेलाई आशा र प्रेरणा भर्ने काम गरेको छ। वास्तवतमा आशाको प्रतिनिधित्व गर्ने रङ हरियो हो। सन् २०२० को वसन्त चाड असाधारण रह्यो। यो चाडपछि चीनमा वसन्त ऋतु प्रवेश गर्छ। यो हरियाली ल्याउने ऋतु हो। अनि आशा जगाउने ऋतु पनि हो। हाल चीन एकातिर कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा लागिरहेको छ भने अर्कातिर खेतीपाती र उत्पादन पुनः अघि बढाउँदै छ। कोरोना भाइरस डरलाग्दो भए तापनि यसले मानिसका आशा अवरुद्ध गर्न सक्दैन।

सबै ७ रङ मिलाउँदा इन्द्रेणी बन्छ। एउटा चिनियाँ गीतमा भनिएको छ– ‘वर्षा र घामको मिश्रणमा मात्र इन्द्रेणी देख्न सकिन्छ।’ चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएको छ– ‘इतिहासमा चीनले धेरै कठिनाइ भोगेको छ। तर कुनै पनि कठिनाइले चीनलाई परास्त गर्न सकेका छैनन्। बरु चिनियाँले कठिनाइ चिर्दै इतिहास सिर्जना गरेका छन्।’ त्यसैले हाल चीनमा व्याप्त महामारीको रोकथाम तथा नियन्त्रण अभियानले क्रमशः राम्रो उपलब्धि  हासिल गरिरहेको छ।

अहिले विश्वका धेरै देशमा कोभिड–१९ फैलिएको छ। विश्वव्यापी रूपमा फैलिएको यो महामारीविरुद्ध लड्न धेरै समस्या र चुनौती छन्। विभिन्न रङको मिश्रणबाट इन्द्रेणी बनेजस्तै सबै मानिस एकजुट भएर आशाको इन्द्रेणी सिर्जना गर्न सकिन्छ। त्यसैले सबै देश मिलेर कोरोना भाइरसविरुद्ध सहकार्य गरेमा मानव जातिले अवश्य विजय प्राप्त गर्नेछ। यस महान् अभियानमा चीनले आफ्नो सफलताको अनुभव अन्य देशसँग बाँड्नेछ। विभिन्न देशले आआफ्नो अवस्थाअनुसार विभिन्न कदम चाले तापनि हालसम्म यो सवालमा चीनले राम्रो परिणाम प्राप्त गरिरहेको छ। चीनले चालेका प्रभावकारी कदमबाट कोभिड–१९ महामारी एकदिन अवश्य नियन्त्रण हुनेछ भन्ने पुष्टि भएको छ।

त्यसैले कोरोना भाइरससँग धेरै डराउनुपर्दैन। यो मानव जातिका लागि एउटा परीक्षा मात्र हो। अहिलेसम्म जुनसुकै समस्या आइपरे पनि मानव जातिले समाधानको उपाय निकालेको छ। कठिनाइले नै मानव समाजलाई परिपक्व र जिम्मेवार बनाउँछ। हामी अवश्य पनि अहिलेको यो कठिनाइ परास्त गर्न सफल हुनेछौं।  तर त्यसका लागि उपयुक्त विधि हो– आपसमा समर्थन, सहयोग र सहकार्य। विश्व मानव समुदाले यस विधिबाट समाधान गर्न नसक्ने समस्या संसारमा केही छैन। आउनुहोस्, हामी सबै हातेमालो गरेर विश्वमा इन्द्रेणी सिर्जना गरौं।

(चु मेई (ललिता) चीनको राजधानी बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई), नेपाली सेवामा कार्यरत चिनियाँ पत्रकार हुन्।)

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App