१४ फाल्गुन २०८० सोमबार
विचार

प्रधानमन्त्री–प्रेस द्वन्द्व !

केही आफ्नै बोली/व्यवहार र केही आफ्नै पार्टीभित्रको घात/प्रतिघातका कारण पद नै गुम्न सक्ने संकटसँग जुधिरहेका छन् प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर। तर त्यसको रिसचाहिँ मिडियामाथि पोखेजस्तो गर्छन् उनी। आफ्नो जन्मोत्सवमा स्थानीय जनता हाँसिरहँदा पत्रकारहरू धुरुधुरु रोए भनी व्यङ्गय गरे उनले हिजोमात्र। उनले हेलिकप्टरमा आफ्नो जन्मथलो पुगेर नेपालको नक्सा बनाइएको केक काट्दै तामझामका साथ जन्मोत्सव मनाएपछि भएको आलोचनालाई लिएर यसो भनेका थिए। जुन आलोचना सबभन्दा बढी उनकै पार्टीका विरोधी खेमाबाट भएको थियो। हुन त मिडिया आफूप्रति पूर्वाग्रही रहेको, उसले आफ्नो खेदो खनेको, उडाएको, होच्याएको, बदनाम गर्न खोजेको, राम्रो काम गरेको समाचार पनि नदिएको आदि उनका सदाबहार गुनासा हुन्। प्रेसले यस्ता गुनासोको प्रतिवाद गर्ने अनि प्रधानमन्त्रीले प्रतिवादको प्रतिवाद गर्ने शृंखलै चलेको छ मुलुकमा दुई वर्षदेखि।

टकरावका सिलसिला
उद्योगी/व्यवसायीसँगको भेटका क्रममा गत पुसमा व्यक्त ‘आफूले गरेका राम्रो कामको समाचार प्रकाशन गर्ने मुटु भएका सम्पादक नै नभएको’ अभिव्यक्तिपछि प्रेससँगको उनको कटुता चुलीमा पुगेको थियो। पछि आफूलाई क्षति पुगिरहेको बुझेरै ठूला पत्रिकाका सम्पादकहरूलाई रात्रिभोजमा बोलाई सम्वादको थालनी गरेका पनि हुन् उनले। तपाईँहरूले निरन्तर प्रहार गरिरहेपछि मैले पनि आफ्नो प्रतिरक्षा त गर्नैप-यो भन्ने अर्थमा ‘बल आएपछि ब्याटिङ त गर्नैप-यो, चित्त नदुखाउनुहोला’ भनेका थिए। सम्बन्ध सुधारको दिशामा यो राम्रो सुरुवात थियोे तर जसले निरन्तरता पाएन। वास्तवमा ‘मुटु’ त सत्तासीन र शक्तिशाली प्रधानमन्त्रीको आलोचना गर्न पो चाहिन्छ, उनका पक्षमा लेख्न चाहिन्न।  उनको यो कथन आफैँमा विरोधाभाषीे थियो।

समग्रमा पहिलेका अल्पकालीन वा संयुक्त सरकारहरूको भन्दा केही भिन्न छैन झण्डै दुईतिहाइ बहुमतको यो शक्तिशाली सरकारको कामको गुणस्तर र गति पनि। सेवा प्रवाहको काम उस्तै जुम्सो छ।

हालैको एउटा कार्यक्रममा विदेशीको नक्कल गर्ने क्रममा नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्सँदै गएको बताएका उनले मिडियामा प्रयुक्त भाषालाई लिएर फेरि पनि असन्तुष्टि पोखे। ‘अंग्रेजीमा बाबुआमा, बाजेबज्यै सबैलाई ‘यु’ भन्छन् भन्दैमा हामीले पनि मान्यजनहरूलाई तिमी भन्नु नेपाली भाषा र हाम्रो सभ्यता सुहाउँदो कुरा होइन’– आफ्नो पहिलेदेखिको यो गुनासो र अर्तीलाई फेरि दोहो¥याए उनले। हो, मिडियामा प्रयुक्त भाषा, खासगरी प्रधानमन्त्रीले संकेत गरेका उच्च पदाधिकारी र समाजमा सम्मानित व्यक्तित्वहरूका सम्बोधन र क्रियामा प्रयोग गरिने भाषालाई लिएर बहस गर्न सकिन्छ। ससुराले बुहारीको विषयमा भनेको जस्तो राष्ट्रपतिले यसो गरिन्, यसो भनिन् भनिएकामा चित्त नबुझाउने र गर्नुभयो, भन्नुभयो जस्ता आदरार्थी क्रिया प्रयोग गर्नुपर्छ भन्ने थुप्रै छन्। प्रधानमन्त्रीले पनि यस विषयमा आफूलाई लागेका कुरा सुझावका रूपमा एकफेर भने, सकियो। कुण्ठासरी बारम्बार त्यही कुरा दोहो¥याउनु, त्यसलाई प्रतिष्ठाकै विषय बनाउनु वा अझ आफूलाई व्यक्तिगतरूपमा होच्याएको रूपमा लिनु आवश्यक थिएन।

प्रेसबारे गलत बुझाइ
असार महिनामा त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिकोत्सवका अवसरमा कीर्तिपुर पुगेका उनी हिँड्ने ठाउँमा रातो कार्पेट ओछ्याइएको रहेछ। प्रधानमन्त्रीले भनेर होइन कि आयोजकले गरेर भएको यो प्रबन्धमा प्रधानमन्त्रीको आलोचना गरिरहनु जरुरी थिएन। तापनि समाचारका साथ त्यसको चित्र प्रकाशित भएपछि खिसिट्युरी भए। जसलाई अभिव्यक्तिको स्वतन्त्रता भनेर वास्तै नगरे हुनेमा प्रधानमन्त्रीले त्यसलाई पनि (उनीविरुद्ध नियोजितरूपमा लागेको, खनिएको) मिसन पत्रकारिता भन्ने प्रतिक्रिया दिए।

कतिपय मन्त्री भ्रष्टाचारमा गनाउँदा पनि प्रधानमन्त्रीचाहिँ व्यक्तिगतरूपले स्वच्छै छन् है भन्नेहरू पनि यती सम्बन्धित एकपछि अर्का काण्ड र हालैको उनका विश्वासपात्र गोकुल बाँस्कोटाका घूस काण्डपछि अब मुख लुकाउँदै बसेका छन्।

त्यस्तै अघिल्लो साता उनले मिडियाले विकास निर्माणको समाचारलाई प्राथमिकता नदिएको गुनासो गरे। उपत्यकाको विद्युत्का तार भूमिगत बनाउने कार्यको शुभारम्भ गर्दै ‘देश विकास हुन लाग्दा किन पिर परेको हो ?.... छक्क लाग्छ’ भने। यसलाई पार्टीका नेता÷कार्यकर्तालाई रात्रिभोजमा बालुवाटार बोलाएर आफूलगायतका नेतागणले बाँसुरी बजाएको केही दिनअगाडिको असान्दर्भिक प्रसङ्गसँग जोडे। र भने–‘आजको यो विकासकोे समाचारको सट्टा केही सञ्चार माध्यमले फेरि पनि भोलि बाँसुरी बजाएकै समाचार दिनेछन्।’ हुन त उल्लिखित समाचार चित्र मिडियामा आउँदैमा वा सामाजिक सञ्जालमा भाइरल हुँदैमा केही नराम्रो भएको थिएन तर उनले त ‘यो प्रकरणमा बुद्धिजीवीको बौद्धिकता देख्दासमेत दया लाग्छ’ भनी बुद्धिजीबीलाई समेत लाञ्छित गरे। आफूले तुइन बिस्थापित गर्ने काम जोडतोडले गर्दैगर्दा पनि हटाउन बाँकी एक दुई तुइन खोज्ने क्रममा दार्चुला पुगिकन मिडियाले तुइनको फोटो खिचेर छापेको गुनासो गरे।

सत्ताको मनोविज्ञान र गलत उपचार
यो सब असमझदारी र परस्पराको अविश्वासको भित्री कारण के हो त ? फेरि उनी र उनको दल कम्युनिस्ट भए पनि प्रेस स्वतन्त्रताका हिमायती र लोकतान्त्रिक दल हौँ भन्छन् आफूहरूलाई। कट्टर कम्युनिस्ट भएका भए पार्टी नियन्त्रित प्रेसका पक्षपाती हुनु, स्वतन्त्र प्रेसप्रति असहिष्णु हुनु स्वाभाविक पनि हुन्थ्यो। वास्तवमा, आफ्ना कुरा एकोहोरो राखिरहने, त्यसैलाई अन्तिम सत्य ठान्ने, मिडिया होस् कि व्यक्ति अर्काको कुरा नसुन्ने र आलोचना मन नपराउने उनको स्वभाव छ। र, आफ्नो कुरालाई नै मिडियाले पनि अन्तिम सत्य मानिदिउन् भन्ने उनी चाहन्छन्। त्यस्तै विवादमा आउने गरी र बढी बोलिरहने उनको रोगै छ तर आफूले बोलेकै कुरा छापिँदा प्रेसदेखि रिसाउँछन्। आफ्ना यी कमजोरीले आफैँलाई धेरै नोक्सान भएको बोध उनमा देखिँदैन।

आलोचना रचनात्मक भए ग्रहण गर्ने र पूर्वाग्रही भए वास्ता नगर्ने गर्दा हुन्थ्यो। जनतालाई सही सूचना दिन आफ्नो टिम परिचालन गर्न सकिन्थ्यो। झुटा समाचार दिने केहीका विरुद्ध कानुनी उपचार खोज्न सकिन्थ्यो। तर उनले त्यस्तो केही गरेनन्। बरु मिडिया काउन्सिल र सूचना प्रविधि जस्ता विधेयक ल्याएर असल प्रेस र सिङ्गो सामाजिक सञ्जालउपर समेत नियन्त्रण गर्ने ध्येय लिए। जसले झन व्यापक विरोध निम्त्यायो। र, विधेयकहरू आफूले चाहेजस्तो गरी पारित गराउन उनले सकेनन्। उनका सल्लाहकार र विश्वासपात्रहरू पनि प्रेस–प्रधानमन्त्रीबीचको सम्बन्ध सुमधुर बनाउन अक्षम देखिए, अनिच्छुक नभए पनि।
हो प्रेसमा सुधार ल्याउनुपर्ने कुरा धेरै छन्। पत्रकारले आमजनतालाई सत्य÷तथ्य सूचित गरेका, वाणीविहीनहरूका वाणी बनेका र भ्रष्टाचारविरुद्ध खबरदारी गरेकामात्र छैनन्। पीत वा धाकधम्कीको पत्रकारितादेखि पार्टीको प्रोपोगन्डा गरेर पत्रकारिता पेसाको दुरूपयोग र अवमूल्यन गर्नेहरूको कमी छैन यहाँ। जसमा उनकै दलसँग सम्बद्ध पनि प्रशस्तै छन्। प्रेस काउन्सिल र गाली बेइज्जती ऐन जस्ता मौजुदा प्रबन्धहरू यस्ता प्रवृत्ति रोक्न र दण्डित गर्न खासै प्रभावकारी देखिएका छैनन्। तर तिनलाई प्रभावकारी बनाउन भन्दा पनि सबैको मुख थुन्ने, सबैलाई तर्साउने र प्रतिशोध लिने ध्येयले विधेयक ल्याइएपछि अब प्रेस सुधारको यो विषय पनि थान्को लागेको छ। 

प्रेस: सरकारको कार्यसम्पादनको ऐना
प्रधानमन्त्रीले आफू पदासीन भएपछि समृद्धितर्फको यात्रामा आफ्नो सरकार लम्किने वाचा गरेका थिए। समृद्धि र विकासको बिम्बका रूपमा मात्र होइन, देशका ठुल्ठूला नदीमा साँच्चै नै पानीजहाज चलाउने सगर्व उद्घोष गरेका थिए। पछिसम्म पनि पानीजहाजको टिकट काट्न ठिक्क परेर बस्नुहोस्, पानीजहाज आइहाल्यो भनिरहेका उनले काठमाडौँमै छिटै रेल ल्याउने आश्वासन पनि बारम्बार दिएका थिए। तर तिनमा ठोस र द्रुत काम होइन कि गफैमात्रै भइरहेपछि प्रेस जगत र नागरिक समाजमा प्रधानमन्त्रीको व्यापक आलोचना भयो, व्यंग्य गरिए। आफ्नो वाचानुसारको प्रगति नभएपछि मौन रहनुपर्नेमा प्रधानमन्त्रीचाहिँ ती आलोचनाकै आलोचनामा उत्रिए।

प्रेस सत्ताको सदाबहार प्रतिपक्षी पनि हो लोकतन्त्रमा। उसको कामै हो– सरकारलाई स्वेच्छाचारी र भ्रष्ट हुनबाट रोक्ने, हुन खोजेमा खवरदारी गर्ने र छिटो तथा राम्रो काम गर्न घच्घच्याउने। स्वतन्त्र प्रेसको आफ्नो व्यावसायिक धर्म हुन्छ, सरकारमा बस्नेहरूले सोचे वा चाहेजस्तो गरी उसले देख्दैन, लेख्दैन। यसैबाट सत्तासीनहरूलाई मिडिया त हाम्रो बैरी रहेछ भन्ने भ्रम पर्दोरहेछ। राम्रो काम गर्दा प्रेसले प्रशंसा गरेको पनि छ। पहिलोपटक प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दीविरुद्ध उनले लिएको दरो अडानका लागि प्रेसले नै उनलाई ‘राष्ट्रवादी हिरो’ बनाएको उदाहरण छ।

तर समग्रमा पहिलेका अल्पकालीन वा संयुक्त सरकारहरूको भन्दा केही भिन्न छैन झण्डै दुईतिहाइ बहुमतको यो शक्तिशाली सरकारको कामको गुणस्तर र गति पनि। सेवा प्रवाहको काम उस्तै जुम्सो छ। कतिपय मन्त्री भ्रष्टाचारमा गनाउँदा पनि प्रधानमन्त्रीचाहिँ व्यक्तिगतरूपले स्वच्छै छन् है भन्नेहरू पनि यती सम्बन्धित एकपछि अर्का काण्ड र हालैको उनका विश्वासपात्र गोकुल बाँस्कोटाका घूस काण्डपछि अब मुख लुकाउँदै बसेका छन्। अझै पनि उनले आफ्नो कार्य सम्पादनमा सुधार ल्याए र स्वच्छता देखाए (पदमा बसिरहे भने) भन्नै नपरीकन प्रेसले आफैँ उनको प्रशंसा र प्रतिरक्षा गर्नेछ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App